‘आफूभित्रको दुराचारीविरुद्ध युद्व छेड। दुष्चरित्रलाई मार। हरेक नयाँवर्षले आफूलाई असल मान्छेका रुपमा खोजोस्।’
१७ औं शताब्दीका अमेरिकी लेखक तथा ‘फ्रिमेशन’ बेञ्जामिन फ्र्याङ्क्लिनको भनाई हो, यो।
लाग्छ– वेञ्जामिनका शब्दले हामीलाई प्रश्न गरिरहेका छन्। हामीले कतिवटा नयाँवर्ष मनायौं? आफूभित्रको दुराचारीविरुद्ध आफैंले कतिवटा युद्व छेड्यौं? आफ्नो दुष्चरित्रलाई कतिपटक मार्यौं? के कुनै नयाँवर्षले हामीलाई असल मान्छेका रुपमा खोज्यो? देख्यो? भेट्यो?
हरेक नयाँवर्षमा हामी अनेक नयाँ र राम्रा योजना बनाउँछौं। त्योभन्दा बढी अनेक बाचा र अठोट गर्छौ। राम्रा, मीठा र आदर्शभरी कुराले सामाजिक सञ्जाल भर्छौ। राष्ट्रपतिदेखि सर्वसाधरणसम्मले आफूलाई असल, इमान्दार, सादाचारी र सद्गुणी देखाएर शुभकामना दिने गर्छौ। शुभकामना व्यक्त गर्नु सधैं राम्रो हो तर त्यसको हेक्का राखेर स्वयंले जीवनलाई कतिको शुभ र कामनामयी बनाएका छौं? देशको राजनीतिक र हाम्रो सामाजिक अवस्थाले देखएको छ।
नयाँवर्षको शुभकामना दिनुभन्दा पहिला पछाडि फर्केर आफूलाई कसकसले हेरेका छौं? विगतका वर्ष पनि मैले यस्तै राम्रा र मीठा, बाचा र अठोट गरेको थिएँ तर ती मध्ये कति पुरा गरेँ? वर्षभरिमा मैले कति गल्ती गरेँ? कति सच्याएँ? छाड्न योग्य के थिए? अपनाउन योग्य के थिए? पुराना के के छाँडे? नयाँ के के अपनाएँ? कुनकुन कामकुरामा मैले निग्रह राख्न सकेँ? कस्कसले सोच्यौं?
नयाँ वर्ष लगायत हरेक अवसरमा मात्र होइन, हरेक दिन हामी अर्ति–उपदेशकार बनेका हुन्छौं, मुख्यतः सामाजिक सञ्जालमा। तर, व्यवहारमा सधैं त्यसको ठीक विपरित हिडेका छौं कि छैनौं?
एउटा नमूना–‘नयाँ बर्ष २०१५ पनि यस्तैयस्तै व्यस्तताकासाथ वितोस्र कसैको इस्र्या र ह्रिश गर्न नपरोस्र अरुको प्रगतिमा सघाउन सकूँ आफ्नो प्रगति भन्दा सामाजिक र सेवाका कामहरु गरेर दीन कटाउन सकूँ नेपाली साहित्य र संगीतको सेवामा लाग्न समय पुगोस्र ढाँटेर र चोरेर खान नपरोस यही नै मेरो नयाँ बर्षको आठोट छ हुन सके यहाँहरू पनि यस्तै अठोट गर्नुहोला यही नै सबैलाई मेरो शुभकामना! धन्यवाद।’
अमेरिकाको बोष्टन क्षेत्रमा बस्ने एक व्यक्तिले फेसबुकमा अंग्रेजी नयाँवर्ष २०१५ को शुभकामनामयी अठोट यसरी व्यक्त गरेका थिए। जसलाई उनैको भाषाशैलीमा जस्ताकोतस्तै यहाँ उल्लेख गरिएको छ। तर उनै व्यक्ति अहिले अमेरिकी नेपाली समाजमा विमा ठगीमा आरोपित छन्। यो एउटा प्रतिनिधि उपमा मात्र हुन सक्छ। जसलाई बेहोरेर चिन्ने अवसर मजस्ता धेरैले अहिले पाएँ। मैले पनि पाएँ र थाह भो। सामाजिक सञ्जालमा यस्ता बाचा र अठोट सहितका शुभकामान दिने हामी कति हुन्छौ? तर यसको उल्टो जीवनलाई अधर्मको मार्गमा हिडाउने झन् कति छौं?
हरेक नयाँवर्षमा म यसो गर्छु, उसो गर्छु र तपाइँहरु पनि यसो गर्नुहोस् भनेर अरूलाई उपदेश दिने भन्दा, अब म यो गर्दिन भनेर विगतका गल्तीलाई सच्याउने बाचा र अठोर गर्दा कसो होला? अर्को नयाँवर्षमा, मैले यो यो गल्ती सच्याएँ भनेर लेख्दा के फरक पर्ला?
नयाँवर्ष, नयाँ सुरुवातभन्दा बढी पुरानोको सिंहावलोकन हो। अब म के गर्छु भन्दा पनि मैले के गरेँ? गएको वर्षभरी के के गल्ती गरेँ? सच्याउँन सकेँ कि सकिन? सकिन भने किन सकिन? आफैंलाई सोध्ने र शुभकामना दिन हो की?
हरेक कुराका परिधि अर्थात लक्ष्मणरेखाहरु हुन्छन्। वितेको वर्षभरिमा कति नराम्रा कुरालाई हामीले जीवनको लक्षमणरेखा कटायौं? कुनकुन राम्रा कुरालाई त्यसभित्र ल्यायौं? सुरु गर्न कहिल्यै ढिलो नभए जस्तै आफूलाई सुधार्न पनि कहिल्यै ढिलो हुँदैन।
नयाँवर्ष, नयाँ सुरुवातसँगै परिवर्तन पनि हो। परिवर्तनलाई स्वागत गरौं तर आफूलाई परिवर्तन नगरे परिवर्तनको आगमन जीवनमा हुँदैन। हामीले राम्रा कुरा सधैं गर्यौं, धेरै गर्यौं तर नराम्रा बेहोरा कहिल्यै हटाएनौं। नराम्रा जन्माउँदै लग्यौं। जमाउँदै लग्यौं र बढाउँदै लग्यौं।
हुन त हामीमध्ये कतिपयको बुद्धि फेर्नका लागि टाउकै फेर्नु पर्ने पनि हुन्छ, जुन सम्भव छैन। तर, आफूले आफूलाई परिवर्तन गर्न असम्भव पनि छैन। चाह्यो भने सकिन्छ, आजै सकिन्छ। नागा प्रजातिको डाका रत्नाकर, वाल्मिकी बन्छ। रामायण ग्रन्थ लेख्छ। रत्नकारले आफैं प्रयत्नले असम्भवलाई सम्भव तुल्याउँछ।
हेरेक नयाँवर्षको पहिलो दिन भनेको हरेक मान्छेका जन्मदिन पनि हो भनेर किन नसोच्ने? आज म फेरि जन्मिएको छु। हिजोको जीवनमा मैले के गरेँ, आज के गर्दैछु, भोलि के गर्ने छु? सोच्ने समय र अवसर हरेक नयाँवर्षले हामीलाई दिएको छ।
असल अभ्यासहरु अप्ठारा हुन्छन्, तर तिनै कुराले जीवनलाई विस्तारै सजिलो बनाउँदै लैजान्छ। नयाँवर्षको विहानीसँगै आफूलाई निर्माण गर्न सुरु गरौं, पुरानो र खराबलाई भत्काउँदै जाऔं, फ्याक्दै जाऔं, नयाँ थप्दै जाऔं। अप्ठारो छ, साह्रो छ, गाह्रो छ तर कोशिश गरौं– ‘कोशिश गरेपछि हुन्छ।’
आफ्नो निमार्णकता आफैं बनौं। अर्काले बनाइदियो भने जसरी हतारमा बनाउँछ, त्योभन्दा हतारमा भत्काउँछ।
आफूले आफूलाई निर्माण गर्ने कला आफैंभित्र हुदो रहेछ। फेलापार्न सकियो भने खुसी खोज्न कतै जानु पर्दैन।
जीवनमा खुसीका फूल फुलाउन कति पनि गाह्रो रहेनछ। भोलि पनि कसैसामू यो शिर लज्जा र हिनताले निहुर्याउनु नपरोस्। कसैले आफूमाथि औंला ठड्याउन नपाओस्। आफ्नो खुसीका लागि कसैलाई रुवाउनु नपरोस्। आफ्नो सुखका लागि कसैलाई दुःखाउनु नपरोस्। बरु मागेर खानु परोस् तर ढाँटेर, छलेर, ढगेर खानु नपरोस् भनेर बेलुकी सुत्ने बेलामा शुद्ध विचारले मस्तिष्क सिञ्चन गर्न सकियो भने जीवनका बाँकी भोलिका फाँट–फगटा र पाखा–पखेरामा खुसीका फूलहरु आफैं फूल्न थाल्दा रहेछन्। जीवन फूलजस्तै बन्दो रहेछ। फक्रिन थाल्दो रहेछ। मुस्कुराउँन थाल्दो रहेछ।
मुस्कुराउँनु जीवनको सौन्दर्य हो। जीवनमा खुसीका फूल फुल्नथालेपछि सौन्दर्य भरिदै जादो रहेछ।
हाम्रो शरीर स्वस्थ रहन जति आवश्यक छ, सामाजिक जीवनका सम्बन्धहरु पनि स्वस्थ रहन त्यतिकै आवश्यक हुन्छ। मित्रता स्वस्थ हुनु पर्छ। बनाउन सकिदैन भने टाढा रहनु वेश हुदो रहेछ। विषाक्त, धोकेवाज र तथा चालवाजले त्यसैलाई ङ्याक्छ, जो नजिक हुन्छ। यीसँग समय वर्वाद नगर्दा नै आफूलाई खुसी र सुखी बनाउँन सकिदो रहेछ।
वर्षैभरी अरुलाई खराब देखाएर आफू सधैं असल देखिन खोज्छौं, हामीमध्येका कति। केही वर्ष साजिलो होला तर सधैं अरुलाई खराब देखाइरहन सजिलो छैन। र, सधैं अरुलाई खराब देखाउनु जति खराबी अर्को केही हुदैन।
मलाई लाग्छ, असल हुन केही गर्नु पर्दैन। खराब नगरे पुग्छ। असल र खराब मानिसलाई अनुहारले हैन कर्मले बनाउने हो। कर्म कहिल्यै ठूलो र सानो हुदैन। असल नियतले गरेको सानो कर्म पनि ठूलो र महान् हुन्छ। कुनै पनि कर्मका पछाडि खोटो नियत नराखे त्यो सफल हुन्छ। सम्पन्न हुन्छ। महान् हुन्छ। ।
असल कर्महरु सधैं बाच्छन्। बाँच्ने ‘क्वालिटी’ नै हो।
मान्छेको जीवनमा इमान्दारिता र बेइमानीको पनि हद् हुन्छ। मान्छे त्यति बेहद् इमान्दार पनि बन्न सक्दैनन, जसले जीवनको गतिलाई नै रोकिदिन्छ। त्यति बेहद् निलज्र्ज र बेइमान पनि बन्नु हुँदैन, जसले इमानको अर्थलाई जीवनभरका लागि मेटिदिन्छ।
आज मैले के राम्रो गरेँ, के नराम्रो गरेँ? पुनरावलोकन गरेर हामीले आफूलाई सुधार्नसके सायद सबैभन्दा ‘बढियाँ’ शुभकामना हुन्छ।
नयाँवर्ष सुखद अवसर हो, यो सुखद् अवसमा जीवनलाई सुखद् बनाउने कोशिश गरौं। जीवन, सङ्लो नदी जस्तै सलल् बगोस्। फूज जस्तै फक्रक्क होस्। पानी परेपछिको आकास जस्तै चङ्गा होस्। अंग्रेजीमा भनिन्छ नि ‘गुड भाइभ’ अर्थात ‘सुखद् अनुभूति’, आजै ल्याऔं, भोलिलाई नपर्खौ। हरेक दिनलाई असल दिन बनाऔं। शुभ बनाऔं।
त्यसपछि सायद दार्शनिक राल्फ इमर्सनले भनेजस्तो पक्कै हुनेछ– ‘आफ्नो हृदयमा लेख, वर्षका हरेक दिन मेरा लागि असल दिन हुनेछन्।’
अन्त्यमा, धेरै नपिऔं। पहिले तिमी रक्सी पिउँछौ, त्यसपछि रक्सीले रक्सी पिउँछ र त्यसपछि रक्सीले तिमीलाई पिउँछ। यसै भन्थे १९ औं शताब्दीको पूर्वीय कालखण्डका ‘प्याराडाइम्याटिक’ तर पियक्कड लेखक फ्रान्सिस स्कट फिट्जेरल्ड।
Keep Calm and Cary On! अधिल्लो वर्षलाई धन्यवाद। आउँदो वर्षलाई स्वागत। सबैलाई शुभकामना!