हामीले एक हप्ता अगाडि सेतोपाटीको व्यवसायीक मोडल कस्तो हुने भन्नेबारे हाम्रा आदरणीय पाठकहरूसँग संवाद सुरू गरेका थियौं ।
हामीलाई थुप्रै पाठकहरूले आफ्ना अमूल्य विचार र सुझावहरू दिनुभएको छ, सेतोपाटीलाई कसरी व्यवसायीक रूपमा अघि बढाउने भनेर । तपाईँहरू प्रत्येकलाई अमूल्य सुझावको लागि हामी धन्यवाद दिन्छौं ।
स्वभाविक रूपमा पाठकहरूबाट विविध सुझावहरू आएका छन् । कसैले व्यवसायीक रूपमा चलाउनका लागि विज्ञापन उठाउन सुरू गर्न सुझाव दिनुभएको छ , कसैले विज्ञापन लिन सुरू गरेपछि सेतोपाटीको स्वतन्त्रता गुम्ने चिन्ता व्यक्त गर्नु भएको छ । कसैले सेतोपाटीलाई पूर्णरूपमा मुनाफारहित ‘च्यारीटी’को रूपमा अगाडि बढाउनु पर्ने र सुभेच्छुकहरूबाट चन्दा उठाएर चलाउनुपर्ने सुझाव पनि दिनुभएको छ ।
अर्कोतिर कतिपय पाठकहरूले पाठकहरूबाट नियमित शुल्क लिएर मात्र पढ्न मिल्ने बनाउन सुझाउनु भएको छ ।
कसरी अघि बढ्नेमा फरक फरक मत आएतापनि सबैको शुभेच्छा भने एउटै छ – सेतोपाटी निरन्तर अघि बढोस् ।
पाठकहरूसँगको संवाद र आन्तरिक वहसमार्फत हामी पनि एउटा निश्कर्षमा पुग्न सकेका छौ – सेतोपाटीलाई व्यवसायीक रूपले अघि बढाउन र यसको निश्पक्षता कायम राख्न बजार र पाठक दुबैको संलग्नता आवश्यक छ ।
एउटा डिजिटल पत्रिकाको आयस्रोतका लागि बजारमा मात्र भर पर्यो भने उसले आफ्नो स्वतन्त्रता र निश्पक्षता सदैव कायम राख्न सक्छ कि सक्दैन भन्ने हाम्रो चिन्ता हो । यस्तै सेतोपाटीको सम्पूर्ण आर्थिक भार आफ्ना पाठकहरूलाई मात्र बोकाउन जायज हुन्न भन्नेमा पनि हामी सचेत छौ ।
अन्ततः हामीले बिचको बाटो लिने निर्णय गरेका छौं । सिमित मात्रामा बजारबाट विज्ञापन लिने र न्यूनतम पाठक शुल्क पनि उठाउने । सेतोपाटीमा आजैदेखि विज्ञापन खुल्ला गरिएको र निश्चित समयपछि पाठकबाट मासिक शुल्क उठाउने जानकारी गराउन चाहन्छौं ।
व्यवसायीक रूपमा अघि बढ्दै गएपछि सेतोपाटी अन्ततः एउटा पब्लिक लिमिटेड कम्पनीको रूपमा अघि बढोस् भन्ने हाम्रो चाहना छ ।