(सम्पादकीय नोट: भारतको बैंगलोरमा सामुदायिक स्तरमा सुरु सरसफाइ अभियानबारे ‘टेड टक’ मा आयोजित कुराकानीको सम्पादित अनुवाद काठमाडौंकालागि मननयोग्य ठानेर हामीले प्रकाशित गरेका छौं)
म नाम नखुलेको एक भारतीय हुँ। म भारतीय भएकोमा गर्व नै गर्छु। तर, एक भारतीय नागरिकका रूपमा मलाई एउटा प्रश्नले सधैं घोच्न आइरहन्छ– हाम्रो देश किन यति धेरै फोहोर छ?
मैले भारत बाहिर पनि भ्रमण गरेको छु। एसियाका छिमेकी मुलुकहरू गएको छु। मेरा केही साथी त अफ्रिकासम्म पुगेका छन्। हामी सबै एउटा कुरामा सहमत छौं, हामी भारतीयहरू सडकका दुर्गन्ध नाक थुनेर भए पनि सहेर बस्छौं। हामी मंगल ग्रहमा रकेट पठाउन सक्छौं, तर सडक सफा राख्न सक्दैनौं। घर सफा होस् भन्ने चाहन्छौं, तर सडक दुर्गन्धित नै छाड्छौं।
सस्तो खाजा खुवाउने म्याकडोनाल्ड हाम्रो सहर बैंगलोर आएको छ। विदेशमा त्यस्तो सफा हुने म्याकडोनाल्डले पनि हाम्रो देखासिकी गर्न थालिसकेछ। आफ्नो आउटलेटको सिँढी सफा राख्छ, बाहिरको फोहोर भने त्यत्तिकै छाड्छ। किन? उ त्यो फोहोर सफा गर्न अक्षम छ वा चाहँदैन?
उसो भए समस्या के त? हामी किन यस्ता छौं?
सबैलाई यसको उत्तर थाहा छ– ‘फोहोर मेरो समस्या हुँदै होइन। म आयकर तिर्छु, चुनावमा भोट हाल्छु, त्यतिले पुगेन र! मैले अरू के गर्नुपर्यो? सडकको फोहोर उठाउँदै हिँड्न मसँग फुर्सद कहाँ छ? त्यो मेरो काम हो र? फोहोर पनि मैले नै उठाउने भए मैले भोट हालेर जिताएको नेताले के गर्ने? मेरो आयकर केमा खर्च गर्ने?’
हामीमध्ये कतिलाई यस्तो पनि लाग्ला– ‘ठिक छ, यो समस्या मै समाधान गर्छु, तर कहाँबाट सुरु गरुँ!’
तपाईंहरूलाई म अब एउटा सपनाको संसारमा लिएर जान्छु, जहाँ भ्रष्टाचार छैन, जहाँ सरकार बलियो छ, जहाँको बजेट वार्षिक १० गुणा बढ्दै छ। हाम्रा सहर सपनाको त्यही संसारमा पर्ने भए सफा हुन्थे त? तपाईंहरूलाई के लाग्छ? मलाई त सफा हुन्थ्योजस्तो लाग्दैन। किनकि, सहर सफा राख्ने काम पैसाले गर्दैन, न त सरकारी प्रणालीले नै गर्छ। सहर सफा राख्छ, त्यहाँ बसोबास गर्ने मान्छेले। हामी मान्छेले।
सिंगापुर सरसफाइमा संसारकै एक उत्कृष्ट सहर हो। त्यहाँ नियमकानुनको पालना हुन्छ। उनीहरू धनी पनि छन्, त्यसैले सहरको छविप्रति सचेत छन्। तर, त्यही सिंगापुरमा भारतीय बाहुल्य रहेको ‘लिटिल इन्डिया’ भन्ने ठाउँ छ, जहाँ सरसफाइका मापदण्ड वा नियम–कानुन हावा खान्छन्। त्यहाँ पान खाएर सडकमा जथाभावी थुकेको देखिन्छ। सडक पार गर्दा अनुशासनहीनताले हदै नाघ्छ। कोही सिंगापुर गएर लिटिल इन्डिया मात्र घुमेर फर्कियो भने निश्चित छ, सिंगापुरप्रति उसको धारणा बेग्लै हुनेछ।
सिंगापुरभित्रको यो सानो इन्डियाले के सन्देश दिन्छ त?
यसले भन्छ, सिंगापुरजस्तो नियम–कानुनमा कडा राज्यले पनि भारतीयहरूलाई बाँध्न सकेन। उसका मापदण्ड नै खस्कने गरी भारतीयहरूले व्यवहार गरे। संसारकै राम्रो भनिएको प्रणालीलाई समेत पराजित गर्न हामी भारतीय सफल भयौं। सार्वजनिक स्थान फोहोर पार्नमा हामी भारतीय संसारमै उत्कृष्ट छौं।
बैंगलोरमा फोहोर फ्याँक्ने टोकरी राखिँदैन। फोहोर बटुल्ने मानिस नआएसम्म घरमै थुपारिन्छ। इन्दिरानगर टोलका बासिन्दाले भने सरसफाइको निम्ति फोहोर फ्याँक्ने टोकरीको बन्दोबस्त गरेछन्। त्यसो भए के इन्दिरानगर सफा भयो त? भएन। किनकि, हामी नियम–कानुन मान्दैनौंं। टोकरी राखिएको ठाउँसम्म फोहोर त लैजान्छौं, तर फ्याँक्ने बेला भुइँमै फ्यात्त मिल्काउँछौं।
फोहोरमैलाको मात्र कुरा होइन। ट्राफिक बत्ती हुँदाहुँदै त्यही ठाउँमा हामीलाई किन चाहियो प्रहरी? किनकि, हामी त्यस्तो समाजमा बस्छौं जहाँका सदस्य खुलेआम नियम–कानुनको धज्जी उडाउँछन्। अनि त, हामी अन्धकारमा रुमल्लिएकाहरूलाई बाटो देखाउन ट्राफिक बत्ती मात्र भएर पुग्यो त?
दोष हाम्रो समाजको हो, हामीले स्विकार्नुपर्छ। हामी सबै कुरूप भारतीय हौं। र, महत्वपूर्ण कुरा त हामी आफूले मात्र आफूलाई बचाउन सक्छौं। धेरैले त आश त्यागिसके। उनीहरू कि पर्खालले घेरिएको समाजमा बस्छन् कि त देशै छाडेर हिडिँसके।
केही मानिस भने अझै भन्दैछन्, ‘होइन, भारतीय मनोविज्ञान बुझेर भारतीय ढंगले नै समस्या समाधान गर्ने कोशिस गरौं त।’
यसका निम्ति सन् २०१० मा बैंगलोरको चर्च स्ट्रिटमा एउटा परीक्षण सुरु भयो। तरिका सरल थियो– संस्कृति र व्यावहारिक मनोविज्ञानको दृष्टिबाट भारतीय व्यवहार बुझाउने। यसको मुख्य उद्देश्य खराब भारतीयको व्यवहार बदल्न के गर्न सकिन्छ भन्ने हो। र, उनीहरूलाई थाहै नदिई परिवर्तनको बाटोमा डोर्याउने हो। हामीलाई कसैले यसो गर्नुस्, उसो गर्नुस् भनेको मन पर्दैन, त्यसैले हामीले झुक्याएर व्यवहार बदल्नुपर्नेछ।
तपाईंले ‘ब्रोकन विन्डो थ्योरी’ बारे सुन्नुभएको होला। यसले भन्छ– कुनै स्थान कुरुप छ भने अझै कुरुप हुँदै जान्छ। कुनै स्थान सुन्दर छ भने यसले सबैको सत्कार पाउँछ। अर्थशास्त्रमा अर्को पनि सिद्धान्त छ, हामी जति निजी स्थानको ख्याल राख्छौं, सार्वजनिक स्थानको त्यति वास्ता गर्दैनौं।
यी दुवै सिद्धान्त व्यवहारमा हेर्नु छ भने भारत गजबको उदाहरण हो।
सहरको सम्पन्न स्थानमा बसोबास गर्नेहरू पनि बस्तीको सडकमै फोहोर फ्याँक्छन्, जबकि त्यहाँका बासिन्दा प्रायः आलिशान महलमा बस्छन्। उनीहरू किन सडकमा फोहोर फ्याँक्छन् त? के त्यहाँका शिक्षित, सुसंस्कृत बासिन्दालाई सहर सफा राख्नुपर्छ भन्ने चेत छैन? होला, तर उनीहरू यसकारण बाटोमा फोहोर फ्याँक्छन्, किनकि उनीहरूभन्दा पहिल्यै त्यहाँ अरू कसैले फोहोर फ्याँकिसकेका छन्। पहिल्यैदेखि हुँदै आएको काम दोहोर्याउन कसैलाई संकोच हुँदैन। यो जनस्तरमा हुँदै आएको भारतको प्रतिनिधिमूलक समस्या हो।
पान चपाएर भित्तामा थुक्ने समस्यालाई नै हेरौं न। चर्च स्ट्रिटमा रहेको डेकन हेराल्ड न्युजपेपर अफिसको भित्ता सधैं पानको थुकले रंगिएको हुन्थ्यो। भित्ता फोहोर देखेपछि अरूलाई त्यही ठाउँमा पिसाब फेर्न पनि कुनै संकोच भएन। फोहोर यति बढ्यो, मान्छेहरूले बरु त्यो फुटपाथबाट हिँड्नै छाडिदिए, तर सफा गर्न कोही अघि सरेनन्।
केही सचेत मानिसले त्यो ठाउँ लामो समय निरीक्षण गरे।
उनीहरूले भित्ता रंग्याए। फूलका गमला राखे। नतिजा, त्यहाँ पान चपाएर थुक्न छाडियो। किन? किनकि, पान चपाएर थुक्ने मानिस पनि सहर सफा होस् भन्ने नै चाहन्थ्यो। अरूले पहिल्यैदेखि थुक्दै आएको, पिसाब फेर्दै आएको भित्ता देखेपछि उनीहरू आफूलाई नियन्त्रण गर्नै सक्दैनथे।
यस्ता भित्ता बैंगलोरमा दर्जनौं छन्।
सडकपेटीको समस्या उस्तै छ। सिमेन्टको टायल नभएकाले त्यहाँ ‘मृत्युको खाडल’ बनेको छ, जहाँ कोही पनि झुक्किएर खस्न सक्छ। स्थानीयलाई सोध्ने हो भने उनीहरू भन्छन्, ‘हामीले यसबारे सरकारी निकायलाई भनेको वर्षौं भैइसक्यो, तर सरकारले केही गरेन।’
त्यही सडकपेटी ओहोरदोहोर गर्ने तीन जना मानिसले देखे र मर्मत गर्ने सल्लाह गरे। उनीहरूले ६ महिनाअघि मर्मत गरेको पेटी अहिले पनि दुरुस्तै छ।
यी दुई घटनाले भन्छ– परिवर्तन सम्भव छ, तपाईंलाई परिवर्तन गर्न खोज्दा रोक्न कोही आउँदैन। त्यसैले, गुनासो मात्र गर्दै नबस्नुस्।
कति ठाउँमा फोहोर फ्याँक्ने टोकरीबाट पनि समस्या खडा भएका छन्। कुनै टोकरीमा चुरोटको ठुटोबाट आगो सल्कन्छ। कुनैमा खिया लागेर ढल्छ। कुनै चोरी हुन्छ। यस्ता टोकरीले सहरको सौन्दर्य घटाउँदैन र?
केही मानिसलाई लाग्यो– के हामी यस्ता टोकरी बनाउन सक्दैनौं जुन चोरी हुँदैनन्, सुन्दर देखिन्छन् र सबैखाले मौसममा टिक्छन्? उनीहरूले ‘टेरे विन’ भन्ने टोकरी डिजाइन गरे। त्यो सुन्दर त देखिन्छ नै, सस्तो सामग्रीबाट बनेकाले कसैले चोर्दा पनि चोर्दैन। यस्ता टोकरी एमजी र ब्रिगेड रोडमा प्रशस्तै राखिएका छन्। पछिल्ला तीन वर्षमा दुई सयजति यस्ता टोकरी बैंगलोरमा राखिएका छन्। यसले सरसफाइमा केही न केही काम त गर्यो नै।
म सधैं भन्ने गर्छु, सम्पन्न र सामाजिक रूपले शक्तिशाली मानिसले पनि समाधान निम्ति पहल लिँदैनन् भने हाम्रो समाजमै केही गडबड भएको मान्नुपर्छ। सबभन्दा चाखलाग्दो कुरा त, सुकुम्बासी बस्तीमा बस्ने, रक्सी पसले, ‘जागृति’ का मानिस, अपार्टमेन्टमा बस्ने मानिस सामूहिक समस्या सामाधानमा बढी तम्सिए। उनीहरूमध्ये धेरै त्यसअघि एकाअर्कासँग बोल्दा पनि बोल्थेनन्। एकअर्कासँग आपसी गुनासा मात्र व्यक्त गर्थे। तर, जब समुदाय नै कुनै समस्या समाधान गर्न जुट्छ, समस्या सामूहिक दुखान्त हुन छाड्छ, सबै समुदायको जित हुन्छ।
तपाईंलाइ के लाग्छ, सहर सफा राख्न केही गर्न सकिन्छ भन्ने हामीमा आशा छ? माथि उल्लिखित तरिकाहरूले बैंगलोरका चार सयभन्दा बढी स्थान सफा पारिएका छन्। तीमध्ये ९० प्रतिशतभन्दा बढी अझै दुरुस्तै छन्।
बैंगलोरको यो सफलताले सन्देश दिन्छ– काम गर्नुस्, तर प्रचारबाजीका लागि होइन।