कुनै पनि सहरको कति क्षेत्रफल भौतिक संरचनाहरूले भरिएको छ भन्ने तथ्यांक गुणस्तरीय जीवनको मापक होइन। बरु, भौतिक संरचना निर्माण क्रममा कति क्षेत्रफल पार्क बनाउन र रुखबिरुवा रोप्न खाली छाडिएका छन् भन्नेले सहरी जीवनको गुणस्तर मापन गर्छ।
यो मापनमा काठमाडौं निकै पछाडि छ।
चिल्लो सडक, अग्लो घर र भव्य सपिङ कम्प्लेक्स नै गुणस्तरीय जीवनका आधार हुन् भन्ने भ्रमले काठमाडौंलाई यस्तरी छोपेको छ, हामी एक इन्च पनि खाली नछाडी इँटाको पर्खाल उभ्याउन उद्यत छौं। प्रकृतिले सिंगारेको यो महानगरलाई भौतिक जञ्जिरले बेरेर कुरुप बनाइरहेका छौं, दिन–प्रतिदिन।
कला–संस्कृतिले सुशोभित देशकै एकमात्र महानगर भएर पनि भौतिक पूर्वाधार र सहरी विकासका दृष्टिले समस्याग्रस्त राजधानी काठमाडौंको यही तस्बिर उजागर गर्न हामीले पुस महिनादेखि ‘हाम्रो काठमाडौं’ शृंखला सञ्चालन गर्दै आएका छौं। सहरी विकासको मानकका रूपमा लिइने सडक, सार्वजनिक यातायात, बसोबास, सरसफाइ, वातावरण, हरियाली, पार्क लगायतमा काठमाडौंको कमजोरी उजागर गर्दै सार्वजनिक बहसमा ल्याउनु हाम्रो उद्देश्य हो।
सहरी विकाससँग जोडिएका विविध रिपोर्टिङ र लेख–रचना प्रकाशित गर्ने क्रममा हामीले के पायौं भने, काठमाडौंलाई पनि अन्य विकसित सहरजस्तै व्यवस्थित गर्ने सोच नभएको होइन। सपना नदेखिएको होइन। त्यो सपना पूरा गर्ने गुरुयोजना नबनाएको पनि होइन। अभाव रह्यो त केवल संकल्प र कार्यान्वयनको।
यो संकल्प नीतिनिर्माण तहमा बसेकाहरूले लिएर मात्र हुँदैन, काठमाडौंमा बस्ने सबै महानगरवासीले लिनुपर्छ। सहर भनेको मानिस हो र मानिसलाई सफासुग्घर, व्यवस्थित र सुसंस्कृत बनाउने काम सरकारको होइन, नागरिकहरुको आफ्नै हो। हामीलाई बिहान उठेर मुख धुन, नुवाइधुवाइ गर्न, घरकोठा सफासुग्घर राख्न सरकारी नियम–कानुनको खाँचो पर्दैन। त्यसो भए आफ्नो टोल, वडा र नगर सफा राख्न सरकारको मुख किन ताक्ने? सहर सफा राख्नु घर सफा राखेजस्तै होइन र? आफैंलाई सफा राखेजस्तै होइन र? समस्याको सुरुआत त्यहीँबाट हुन्छ, जब हामी आफ्नो नागरिक दायित्व बुझ्दैनौं । घरको शौचालय टिलिक्क पार्छौं, सडकलाई भने फोहर शौचालय बनाउँछौं।
यहाँ नक्साल,
नारायणचौरका बासिन्दाको प्रयास मननीय छ, जसले नाक थुनेर हिँड्नुपर्ने फोहोरको डंगुर बढारेर लामो सास फेर्न मिल्ने सुन्दर पार्क बनाए। स्थानीय बासिन्दाले चाहे के हुन सक्दैन भन्ने झल्काउन नारायणचौरको यो परिवर्तन हाम्रै आँखा अगाडिको प्रभावकारी दृष्टान्त हो। जुन दिन काठमाडौंको अन्य टोलका बासिन्दाले नाराणचौरबासीले जस्तै नागरिक दायित्व वहन गर्न थाल्नेछन्, त्यो दिन हाम्रा नेता र सरकारी कर्मचारी पनि बाध्य हुनेछन् आफ्नो जिम्मेवारी निर्वाह गर्नमा।
लोकप्रिय अन्तर्राष्ट्रिय कार्यक्रम ‘टेड टक’ मा एक भारतीय प्रस्तोताले बैंगलोर सहरको उदाहरण दिँदै भनेका छन्, ‘गुनासो मात्र गरेर परिवर्तन आउन्न। जब समुदाय नै समाज परिवर्तन गर्न जुट्छ, तब समाजलाई परिवर्तन हुनबाट कसैले रोक्न सक्दैन।’ हाम्रै नारायणचौरको कायाकल्पले यही भन्छ।