अमुक वादको अष्टजाम
पूर्वी तराईमा एक प्रकारको भजनकिर्तन आयोजन हुन्छ, जसलाई 'अष्टजाम' भनिन्छ। 'रामजानकी' को एउटा सानो मन्दिर खडा गरिन्छ। मन्दिरको चार सुरमा एकएक माइक्रोफोन बाँधिन्छ। हार्मोनियम, ढोलक, तबलासहितको किर्तनमण्डलीमा एक दुई 'नटुवा' तयार गरिन्छ। किर्तन मण्डली घुम्दै हरेक सुरको माइकमा पुगेर किर्तन गाउँछ। 'नटुवा' हरु किर्तनको तालमा नाच्छन्। किर्तन एकलाइनको हुन्छ 'हरे राम हरे राम राम राम हरेहरे, हरेकृष्ण हरेकृष्ण, कृष्ण कृष्ण हरेहरे '।
यही एक लाइनलाई २४, ३६, ४८ वा ७२ घण्टासम्म नबिसाइकन दोहर्याइन्छ। त्यसबीच किर्तन मण्डलीले खाने, सुत्ने, बस्ने केही गर्दैन, दिन होस् कि रात। दिशापिसाब पनि बिसाएर जान पाइन्न, पालो गरेर जानु पर्छ। त्यति कष्टसाध्य भजनमा लाइन भने त्यही एउटै मात्र दोहोरिरहन्छ। त्यही एक लाइन किर्तनीयाले अनेक प्रकारको स्वरमा गाउँछन्। स्वरको आरोह अवरोहले हरेक पटक नयाँ भजन गाएझैं लाग्छ तर शब्द तिनै हुन्छन्।
यदाकदा मलाई लाग्छ कि नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै अमूक वादप्रतिको मोह अष्टजामको कष्टसाध्य नियमजस्तै छ। यो प्रचलन कुनै धार्मिक समाजको संस्कारझैं बनेको छ। इसाइले क्राइष्ट, बुद्धिष्टले बुद्ध, जैनले महावीर, मुस्लिमले मोहम्मदको नाम जपेजस्तो केही शब्दहरु दोहर्याएको दोहर्याइ गर्नुपर्छ। शब्द त्यही हुन्छ, भाव त्यही हुन्छ, अर्थ त्यही हुन्छ तर जीवन भरिभरि दोहोर्याउनु पर्छ।
यो प्रचलन कति ठीक कति बेठीक भनेर सोच्न, पुनर्विचार गर्न, पुनरावलोकन गर्न कोही तयार हुँदैन। सिद्धान्तका मनसाय व्यवहारसँग मिल्छन् मिल्दैनन्? युग कसरी अगाडि बढिरहेको छ्? अर्थराजनीतिका जीवन्त समस्या के हुन? मानव सभ्यताको विकासक्रम कहाँनेर आइपुगेको छ? कसो गरे हामी अझ बढी लोकतन्त्र, विकास, सुशासन, समृद्धि प्राप्त गर्न सक्छौं? मानवीय खुसीको स्रोत के हो? कसरी खुसी विस्तार हुनसक्छ? यस्ता प्रश्न तर्फ विरलै बहस हुन्छ। तर केही शब्दहरु भने रटेकोरट्यै गर्नु पर्ने हुन्छ, अष्टजाम झैं।
पतनको महाआरोप
कुनै खास विचार, वादजस्ता शब्दाबली दोहर्याएको वा नदोहोर्याएको कुरालाई नैतिकतासँग जोडने गरिन्छ। अलिकति फरक, सृजनशील र स्वतन्त्र चिन्तन गर्ने बित्तिकै 'पतित', 'स्खलित', 'विचलित', 'गद्धार', 'क्यारियरिष्ट', 'अवसरवादी' 'जाली', 'छली' आदि अरोप लगान्छ। यसरी अत्याउन खोजिन्छ, मानौं कि कुनै विचार राख्नु र त्यो विचार कुनै वादसँग नमिल्नु निक्कै ठूलो अपराध हो। मानौं कि कुनै मानिसले आफ्नै स्वतत्व, मौलिकता, अनुभव र सामयिकतामा आधारित भएर सोच्नु ठूलै अपराध हो।
मार्क्स यस्तो चलनमा पटक्कै विश्वास गर्दैनथे। यदि यो सीमाभित्र बसेको भए मार्क्सवादको जन्म नै हुँदैनथ्यो। युवा कालमा मार्क्स 'हिगेलिष्ट' थिए। यदि हिगेलिज्मको नैतिक सीमाभित्र बसेको भए उनले जीवनभरी हिगेलवादको नाम जप्नु पर्ने हुन्थ्यो। तर मार्क्सले त्यसो गरेनन्। स्वयं मार्क्सको जीवन यस कुराको प्रमाण हो कि मानिसलाई स्वतन्त्रतापूर्वक सोच्ने अधिकार छ। विचार बनाउने अधिकार छ। त्यो विचार कुनै वादसँग मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ। विचारको यात्रा सत्यको आकांक्षाद्वारा सञ्चालित हुन्छ, अनुभवद्वारा परिष्कृत हुन्छ, कुनै पूर्वनिर्धारित वादसँग मिल्छ कि मिल्दैन भन्ने कुरासँग त्यसले खासै सरोकार राख्दैन।
मार्क्सको युगमा वैचारिक बहसलाई सजिलै सहन गरिन्थ्यो। मार्क्स आफ्ना विचार पनि राख्थे फरक विचारलाई अनावश्यक लान्छित गर्न इच्छुक हुँदैनथे। कार्ल मार्क्सका रचनाको तुलनामा एंगेल्सका रचनामा अलिक बढी गालीसंस्कृतिलाई प्रवर्धन गरिएको छ। त्यसको प्रमाण 'एन्टी–ड्यूहरिङ' लाई मान्न सकिन्छ।
लेनिनको युगमा आएर गालीसंस्कृति कम्युनिष्ट परम्पराको प्रचलन नै बन्यो। विशेषतः लेनिनले रोजा, त्रोत्स्की र काउत्स्कीलाई असाध्यै धेरै गाली गरे। लेनिनले यी तीनै जनासँग नजिक रहेर काम गरेका थिए। लेनिनका रचनामा रोजालाई कतै 'एक महान विदुषी' र कतै 'श्यालजस्तै धूर्त' भनेको पाइन्छ। सन् १९१४ सम्म लेनिन काउत्स्कीका राम्रा मित्र थिए, जब उनीहरुको कुरा मिल्न छोड्यो लेनिनले 'गद्धार काउत्स्की' भन्ने पुस्तिका नै लेखे।
त्रोत्स्कीसँग लेनिनको सम्बन्ध झनै विचित्रको थियो। त्रोत्स्कीको विद्वता र क्षमताबाट लेनिन कायल थिए। त्रोत्स्कीबारे लेनिनले धेरै ठाउँ यो लेखेका छन् कि उनको भूमिकाबिना अक्टोबर क्रान्ति सम्भव थिएन। त्रोत्स्की अत्यन्त कुशल वक्ता र लोकप्रीय व्यक्ति थिए, उनी जहाँ जान्थे त्यहाँ सर्वसाधारणको भीड नै जम्मा हुन्थ्यो। भूमिगत बसेका लेनिनलाई धेरैलाई चिन्दैनथे। लेनिनको व्यक्तित्वमा रहेको यो ग्यापलाई त्रोत्सकीले पूरा गर्दिन्थे।
लेनिन मनले आफूपछि बोल्शेभिक पार्टीको नेता त्रोत्स्की नै हुन भन्ने चाहन्थे तर उनले आफ्नो मृत्यु अघिको चिठ्ठीमा मात्र यो कुरा व्यक्त गरे। लेनिन बिमारी परेर ओछ्यानमा हुँदा पार्टी केन्द्रिय समितिलाई एउटा पत्र लेखेर त्रोत्स्कीलाई नयाँ नेता बनाउन आग्रह गरे। त्यो पत्र लिएर लेनिनकी पत्नी नाजेज्दा क्रुप्सकाय बैठकमा गइन्। तर लेनिनको आग्रह कसैले पत्याएन।
लेनिन सक्रिय राजनीतिमा हुँदा अक्सार त्रोत्स्कीको आलोचना मात्र गर्थे। लेनिनको पत्रबारे अरुलाई शंका भयो। क्रुप्सकायले त्यो लेनिनकै चिठ्ठी हो भनेर जोड गरिन्, रिसले चुर भएका स्टालिनले क्रुप्सकायलाई बैठकबाटै अपमानपूर्वक निकालिदिए। क्रुप्सकायले आफ्नो संस्मरणमा यो घटनाको जिवन्त चित्रण गरेकी छन्। यसरी बोल्सेभिक इतिहासले नयाँ मोड लियो। पार्टी र सम्पूर्ण सत्ता स्टालिनको हातमा पुग्यो।
यी घटनाक्रमप्रति लेनिनमा मर्नु अघिसम्म पनि ठूलो पश्चातापको भावना थियो। स्टालिनका लागि विरोध गरिरहनु पर्ने कोही बाँकी थिएन। सन् १९३८ सम्म आइपुग्दा स्टालिनले आफ्ना प्रतिस्पर्धीहरुलाई सफाया गरिसकेका थिए। उनको वरिपरि ख्रूश्चेभहरुको भीड जम्मा भइसकेको थियो, जसले स्टालिनको मृत्युपछि उनकै उछितो काडे।
नेपालका कम्युनिष्टहरुले एकअर्कालाई आरोप लगाउन यिनै परम्पारबाट सिकेका हुन्। लेनिनको सिको गर्दै मोहनविक्रम सिंहले 'गद्धार पुष्पलाल' लेखेका थिए। माओवादी आन्दोलनमा बाबुराम भट्टराईलाई बारम्बार त्रोत्स्कीसँग तुलना गरियो। एमालेमा छैंटौं महाधिवेशनसम्मका आरोप प्रत्यारोपहरु त्यो संस्कृतिभन्दा खासै फरक थिएनन्। अचेल एमाले अलिक लोकतान्त्रिक हुँदै गएको देखिन्छ।
किन तारो बन्यो 'नयाँ शक्ति'?
देशमा 'नयाँ' र 'वैकल्पिक' बाम–लोकतान्त्रिक दलको आवश्यकता र औचित्यबारे छलफल भइरहँदा फेरि त्यस्तै घटनाक्रमहरु दोहरिन थालेका छन्। मानिस एक गतिशील प्राणी हो। जीवनमा एकपटक निर्माण भएको स्कुलिङ सधैंलाई हुन्छ, त्यही एक मात्र सत्य हुन्छ, र जीवनभरी मान्छेले त्यही दोहोर्याइरहनु पर्छ भन्ने छैन। तर आज 'कम्युनिष्ट ब्लक' बाट 'नयाँ शक्ति' माथिको मुख्य आरोप नै त्यही छ। नयाँ शक्तिले कुनै अमूक वाद, विचार र सिद्धान्तलाई छोड्यो, कुनै सैद्धान्तिक धारप्रति धोका र विश्वासघात गर्यो, घोर नैतिक पतन भयो आदि। उनीहरु भन्छन् 'सबै कुरा छोडेर के को नयाँ शक्ति?'
यो प्रश्नलाई उल्ट्याएर पनि सोध्न सकिन्छ 'सबै पुराना वाद, विचार, सिद्धान्त र व्यवहार बोकेर के को नयाँ शक्ति?' नयाँको आवश्कता बोध पुरानाका विरोधको लागि मात्र गरिन्न। नयाँ युगको आव्हानलाई सम्बोधन गर्न पनि गरिन्छ। नयाँ ज्ञान सृजनाका लागि पनि गरिन्छ। सृष्टीको नियमलाई निरन्तरता दिन पनि गरिन्छ। नयाँ गर्न खोज्नु पुरानैको विरोधमा हो भन्ने पनि त छैन।
जस्तै,
न्यूटनको गतिको नियमपछि आइस्टाइनको सापेक्षताको नियम आयो, के आइस्टाइनको सिद्धान्त न्यूटनका नियमको विरोध गर्न आएको थियो? आइस्टाइनको सापेक्षतापछि स्टेफेन हकिंन्सको क्वान्टम भौतिकी सिद्धान्त आयो, के हकिन्सको सिद्धान्त न्यूटन र आइस्टाइनको विरोध गर्नलाई हो?
गोपाल प्रसाद रिमालले 'आमाको सपना' लेखेको धेरैपछि भूपि शेरचनले 'हल्लैहल्लाको देश' लेखे। के भूपिको उद्देश्य रिमाललाई ओझल पार्नु हो? त्यसको पनि धेरैपछि श्रवण मुकारुङले 'बिसे नगर्चीको बयान' लेखे, के त्यो रिमाल र भूपिको योगदानलाई कमजोर पारौं भनेर हो?
के पेलेले फुटबल खेलिसके पछि रोनाल्डो वा मेसीले फुटबल खेल्नु पेलेका विरुद्धमा खेल्नु हो? तारादेवी र अरुणा लामाले गीत गाइसकेपछि अन्जु पन्तले गीत गाउनु तारादेवी र अरुणा लामाका विरुद्ध हो? पक्कै होइन।
राजनीतिमा चाहिँ नयाँ प्रयास गर्नु कसरी अपराध हुन्छ? विचार सिद्धान्तका क्षेत्रमा चाहिँ नयाँनयाँ खोज अन्वेषणको प्रयास गर्नु कसरी विचलन र पतन हुन्छ? यदि मार्क्सवाद अन्तिम दर्शन हो भने न्यूटन पनि अन्तिम वैज्ञानिक हुन्थे होला, पेले पनि अन्तिम खेलाडी हुन्थे होला, रिमाल पनि अन्तिम कवि हुन्थे होला, तारादेवी पनि अन्तिम गायिका हुन्थिन् होला।
के मार्क्सवाद अन्तिम दर्शन हो? त्यसपछि अरु कसैलाई विचार, दर्शन र सिद्धान्तको अन्वेषण गर्ने अधिकार नै रहँदैन? पक्कै पनि होइन। नयाँ गर्न चाहनेहरुसँग आत्तिनु वा अत्याउन खोज्नु किन आवश्यक छ?
'कम्युनिष्ट ब्लक' का साथीहरुको आफ्नै स्पेस छ। त्यो नयाँ शक्तिले रातारात खोस्ने होइन। खोस्न चाहेर खोसिने पनि होइन। विचार र संगठनका दृष्टिकोणबाट विकल्प दिने हो। रचनात्मक प्रतिस्पर्धा गर्ने हो। जनताले कसलाई मन पराउँछन्, त्यो त भविष्यले बताउँदै जान्छ।
'पुँजी' मा के छ?
'कम्युनिष्ट मेनिफेष्टो' लाई मार्क्सवादको गीता र 'पुँजी' लाई बाइबल मानिन्छ। केही वर्ष अघि मैले गरेको सर्वेक्षण अनुसार करिब १० प्रतिशतले मात्र 'कम्युनिष्ट मेनिफेष्टो' पढेका हुन्छन् र १ प्रतिशतले मात्र 'पुँजी' पढेका हुन्छन। तर अधिकांशमा के मनोरोग हुन्छ भने वास्तविक मार्क्सवादका ज्ञाता उनीहरु नै हुन्।
तर अधिकांश कम्युनिष्ट कार्यकर्ताले पुँजी पढेका हुँदैनन्। उनीहंरुलाई त स्वामी प्रपन्नचार्यले 'वेदमा के छ?' लेखेझैं 'पुँजीमा के छ?' लेखिदिए हुन्थ्यो भन्ने हुन्छ। सबैसँग त्यो विशाल ठेली पढ्ने तत्परता नहुनसक्छ। यसो भनेर मैले कसैको खिसी गर्न खोजेको होइन। के मात्र भन्न खोजेको हो भने कसैलाई कुनै आरोप लगाउनुअघि एकपटक आफैं घोत्लिएर बुझ्न खोजे हुने ती किताबमा के छ र आज कम्युनिष्ट पार्टीहरुको व्यवहार कतातिर जाँदैछ। मार्क्सका अनुमानहरु के थिए र आज मानव सभ्यताको विकासक्रम कतातिर जाँदैछ।
के हो मार्क्सवाद?
मार्क्सवाद कसले छोड्यो, कसले समात्यो भन्ने निर्णयमा पुग्नु अगाडि मार्क्सवाद के हो भनेर बुझ्न आवश्यक छ। मैले बुझेसम्म मार्क्सवाद एक 'त्रीआंगिक सिद्धान्त' हो। त्यही कुरा बुझाउन मार्क्सवादका तीन स्रोत र तीन संगठक अंग भन्ने पनि गरिन्छ।
त्यसको एउटा दर्शन छ जसलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ। त्यसको एउटा समाजशास्त्र छ, जस अन्तर्गत वर्गविश्लेषण, वर्गसंघर्ष, सर्वहारा क्रान्ति, सर्वहारा अधिनायकत्व, बल प्रयोगको सिद्धान्त, वर्गआधारित सौन्दर्यशास्त्र, समाजवाद र साम्यवादजस्ता मान्यताहरु छन्। त्यसको एउटा अर्थशास्त्रीय सिद्धान्त छ, जसलाई अतिरिक्त मूल्यको सिद्धान्त भनिन्छ।
पहिलो सिद्धान्तमा मार्क्सले बिना हिचकिचाहट हिगेलको द्वन्द्ववादलाई आफूले सखारेको स्वीकार गरेका छन्। त्यसैगरी लुडविक फायरबाखको भौतिकवाद मार्क्सेली दर्शनको अर्को स्रोत हो। मार्क्सवादका अनुसार 'सृष्टि आफैंमा परमतत्व हो र यसको उत्पति, विकास र विनास द्वन्द्वको नियमअनुसार हुन्छ।' यो नियम एकता र संघर्ष, मात्रा र गुण्, निषेध र निषेधको नियममा हिड्छ। यी नियमले मार्क्सवादी दर्शनलाई पदार्थवादी सिद्धान्त बनाईदिन्छ र चेतनावादी दृष्टिकोणलाई ईश्वरवादी भन्दै उनी निन्दा गर्दछन्। सृष्टि बोधगम्य छ र विकासक्रम सर्पिल हुन्छ भन्ने मार्क्सवादी तत्वशास्त्र (अन्टोलजी) को निष्कर्ष हो।
जब हामी मार्क्सपछिका दार्शनिक र वैज्ञानिकहरुका खोज आविष्कारमा आउँछौ पदार्थ र द्वन्द्वको चरित्रबारेको बुझाई अझ मिहिन भएर जान्छ। स्टेफेन हकिंन्सको कण र तरङ्ग द्वैधतासम्म आइपुग्दा पदार्थ र चेतनावादी दृष्टिकोणलाई अझ फराकिलो पारेका छन्। त्यही कुरा पूर्वीय दर्शनमा रजनिशले गरेका छन्। उनी पदार्थ बिनाको चेतना र चेतना बिनाको पदार्थ अस्तित्वमा हुँदैन भन्थे। सृष्टिको परमसत्तासँग मानिसको बोधगम्यताको सीमाले अनिश्चितताको सिद्धान्त जन्म हुन्छ। तसर्थ अबको द्वन्द्ववाद भनेको निश्चिता र अनिश्चिता दुवै हो। चेतना र पदार्थ दुवै हो। तरङ्ग–कण दुवै हो। बाह्य रुपमा हेर्दा यी चिजमा भेद हुन्छ। तर सृष्टिको परमतामा पुगेर हेर्ने हो भने यी दुवै एकै हुन्छन्। अस्तित्वको एकाकार हुन्छ। त्यही एकाकारभित्र अस्तित्व चलायमान भइरहेको हुन्छ।
चेतनावादी दृष्टिकोण आत्मिक प्रक्रियाका रुपमा देखा पर्छ, यो सुक्ष्म र अन्तमुर्खी हुन्छ। भौतिकवादी दृष्टिकोण पदार्थवादी प्रक्रियाका रुपमा देखापर्छ, त्यो स्थुल र बाह्यमुखी हुन्छ। साधारण जीवनमा हामी जेलाई कण भन्दछौं त्यसको सुक्ष्म स्वभाव तरंगकै जस्तो हुन्छ। अनि साधारण जीवनमा हामी जेलाई 'तरङ्ग' भन्दछौं त्यो आफैंमा 'कण' पनि हुन्छ। सारमा ब्रम्हाण्डका सारा चिजहरु एकैचोटी कण र तरङ्ग दुवै हुन सक्छन्। पदार्थ र चेतना दुवै हुन्छन्। अन्तमुर्खी र बाह्यमुखी दुवै हुन्छ।
मार्क्सवादको दोस्रो सिद्धान्त लिनियर(क्रमबद्ध) विकासको दृष्टिकोणमा आधारित छ। स्पाइरल(सर्पिल) विकास लिनियर विकासकै अर्को रुप हो। तर विकास नियम न लिनियर न अपडाउन(आरोहीअवरोही) हुन्छ, तर यी दुवैको द्वैधता र द्वन्द्वात्मकता नै विकास हो। मार्क्सवादका अनुसार पहिले आदिम साम्यवाद थियो, त्यसपछि दास युग आयो, त्यसपछि सामन्ती र पुँजीवाद आयो, अब समाजवाद आउँछ र अनि साम्यवाद आउँछ। अनि के हुन्छ? के त्यसपछि गतिको नियम रोकिन्छ? सृष्टिको परमता रोकिनेवाला त छैन? त्यसो हो भने साम्यवादमा पुगेर वर्गविहिनता, राज्यविहिनता, शोषणविहिनतामा पुगेर समाज कसरी स्थीर र वा स्थायी हुनसक्छ?
स्थीर हुन सक्दैनथ्यो। त्यसैले सोभियत संघ ढल्यो। पूर्वी यूरोप ढल्यो। यस्तो किन भयो? मार्क्सवादको सीमाभित्र यो प्रश्न सधैं अनुत्तरित रहन्छ। त्यसको उत्तर हामीले खोज्नु पर्छ।
मार्क्सको दोस्रो नियमसँग अनेक अरु प्रवर्गहरुको सम्बन्ध जोडिन्छ। जस्तो वर्ग, वर्गीय अधिनायकत्व, सर्वहारा वर्ग, सर्वहारा वर्गको अधिनायकत्व, आधार र अधिरचनाको सम्बन्ध आदि। उदाहरणका लागि आधार र अधिरचना सम्बन्धलाई नै हेरौं। मार्क्सवादी दृष्टिकोणमा उत्पादनसम्बन्ध आधार हो र बाँकी सबै अधिरचना हुन्। यदि त्यसो हो भने हिन्दूत्व भन्ने धर्म र वा संस्कृति (अधिरचना) किन आदिम युगमै जन्मिएर दास, सामन्ती, पुँजीवादी सबै आधार युगमा अस्तित्वमा रह्यो? आधार बद्लिने वित्तिकै अधिरचना बद्लिने भए त्यसो नहुनु पर्ने?
यसको अर्थ हो संसार 'व्यतिकरण' मा छ। सामाजिक सम्बन्धका अनेक आधार र अनेक अधिरचना छन्। ती एकआपसमा 'इन्टरफेरेन्स' गर्छन्। तसर्थ मानव जीवनमा कहिले धन, कहिले यौन, कहिले अहं, कहिले पहिचान, कहिले ज्ञान, कहिले धर्मसंस्कृति, कहिले आत्मिकता, कहिले सृजना, अविष्कार र प्रविधि आदि भावहरु प्रमुख बन्दिन्छन्। यिनीहरुको सन्तुलनले सृष्टिको परमसत्ताजस्तै समाजको परमगति कायम भइरहेको हुन्छ। संसारमा कुनै पनि तत्व वा अस्तित्वले अर्को कुनै तत्व र अस्तित्वलाई 'नेगेसन' गरिरहेको हुँदैन त्यसलाई रुपान्तरण वा 'स्यापिङ्ग' मात्र गरिहेको हुन्छ। यसको अर्थ हो, पदार्थका रुप फेरिन्छन्। प्रवृतिका रुपहरु फेरिन्छन्। तर पदार्थ र प्रवृतिकै 'नेगेसन' भने कहिल्यै पनि हुँदैन।
यी व्यतिकरण तत्वहरु कुनै पनि स्थायी आधार र अधिरचना होइनन्। यिनीहरुको आधार र अधिरचना सम्बन्ध परिस्थिति (टाइम एण्ड स्पेस)अनुसार बद्लिरहन्छ। विकास भनेको प्रविधिको विकास हो, प्रवृतिको विकास होइन। रिस, डाह, ईष्या, प्रेम, घृणा, घात, प्रतिघात, सृजना, ध्वंश आदि मानवीय प्रवृतिहरु सबै युगमा उस्तै थिए, उस्तै रहन्छ, तिनीहरुको कुनै 'नेगेसन' हुँदैन। प्रविधिको विकास स्पाइरल हुन्छ तर प्रवृतिको विकास इन्टरफेरेन्समा हुन्छ। मार्क्सवादको सीमाबाट मात्र यो यथार्थलाई बुझ्न सकिन्न।
मार्क्सवादको तेस्रो नियम अतिरिक्त मूल्य सिद्धान्तका केही मान्यताहरु छन्। जस्तै श्रम कार्यघण्टा नै मूल्यको मुख्य जननी हो। शोषण नगरिकन पुँजीको जन्म हुँदैन। शोषणको दर बराबर मुनाफाको दर र मुनाफाको दर बराबर पुँजीकरणको दर हुन्छ। ब्याज, लगानी, मुनाफा, कर र व्यापारिक कमिसनका रुपमा ती वितरित हुन्छन्, तर ती सबैको स्रोत श्रम हो। यसको अन्त्य कसरी हुन सक्छ त? मार्क्स त्यसको अन्त्यका लागि निजी सम्पतिको अन्त्य र मुनाफारहित (बजाररहित) समाजको कल्पना गर्छन्। जहाँ कसैले कसैबाट अतिरिक्त मूल्य सृजना गर्दैन। अतिरिक्त मूल्य हरण गर्दैन।
प्रथमत, यो कल्पनाअनुसार आजसम्म अर्थतन्त्र सृजना कहि पनि भएन। सोभियत रुसमा स्टालिनकालमा थियो भनिन्छ, यदि साँच्चै थियो, र ठीक थियो भने सायद त्यो पतन पनि हुने थिएन। दोस्रो, बजारको मुख्य प्रेरणा मुनाफा र बजारको मुख्य काम वितरण देखिन्छ। मुनाफा छैन भने बजार हुँदैन। बजार छैन भने वितरण कसले कसरी गर्छ? बजारका ठाउँमा अर्को कुनै मेकानिज्म चाहियो। त्यो राज्य हुन सक्छ भन्ने सोभियतकालको बुझाई थियो। म यो भन्दिनँ राज्य हुनै सक्दैन, तर राज्यका पनि सीमा हुन्छन्। राज्यले मात्र चलाएको अर्थतन्त्र सामर्थ्यवान हुन्छ भन्ने कहिँनेर पनि पुष्टि हुँदैन।
त्यसो हो भने बजार र राज्य दुवै एक साथ अस्तित्ववान हुन जरुरी हुन्छ। दुवैका आआफ्ना सीमा र भूमिका हुन्छन। यदि त्यसो हो भने समाजवादको ढाँचा बजार–समाजवाद बन्न पुग्छ। राज्यले जुन कर लिन्छ, त्यो अतिरिक्त मूल्यकै हिस्सा हो, बजारले जुन मुनाफा लिन्छ, त्यो पनि अतिरिक्त मूल्यकै हिस्सा हो भने राज्य र बजार दुवै परजिवी संस्था बन्न पुग्छन्। कुनै पनि औचित्यहीन र परजिवी संस्थाहरु समाजले किन स्वीकार गर्छ? यो मान्यता नै गलत छ। बजार र राज्य दुवै औचित्ययुक्त संस्था हुन भने उनीहरुले पाउने प्रतिफल अतिरिक्त मूल्यको वितरण होइन, स्वयं मूल्यको सृजना हो। तसर्थ मुनाफा र कर मूल्यको सृजना हो, अतिरिक्त मूल्यको वितरण मात्र होइन।
यसरी के देखिन्छ भने अबको युगमा सरल मानव श्रम मात्र मूल्यको सृजक होइन र श्रमकार्यघण्टामा मात्र मूल्यको आँकलन गर्न सकिन्न। यहाँनेर एउटा उदाहरण हेरौं, कुनै युवा गायक वा गायिकाले एउटा गीत रेकर्ड गर्न जति मेहनत गर्छ, कुनै बुढो गायकका तुलनामा उसको श्रम निक्कै कम हुन्छ। तर यो कुनै ग्यारेन्टी छैन कि बुढो गायकको गीत नै बजारमा चल्छ र धेरै पैसा कमाउँछ। युवा गायकको गीत चलेमा खरिद गर्ने संगीत कम्पनीले जुन पैसा कमाउँछ, त्यसभित्र कति श्रमघण्टा अनिवार्य र कति श्रमघण्टा अतिरिक्त हो? त्यसको हिसाब गर्ने कुनै मानक हुन सक्दैन।
यसको अर्थ मार्क्सको अतिरिक्त मूल्य सिद्धान्त पूरै गलत छ भन्ने होइन। श्रमप्रधान यन्त्रिक उत्पादनको युगमा मार्क्सको यो सिद्धान्त ठीकै थियो। तर अर्थतन्त्रको विकासक्रम जसरी अगाडि बढेर गयो, अतिरिक्त मूल्य सिद्धान्तको सीमाबाट अर्थतन्त्रका जटिलताहरुलाई बुझ्न नसकिने युग आयो। अर्थतन्त्रको पहिलो क्षेत्र प्रकृतिजन्य उत्पादन (कृषि, पशुपालन, वनपैदावार र खानी) र दोस्रो क्षेत्र (म्यानुफ्याक्चरिङ) मात्र क्रियाशील हुँदा प्रारम्भिक औद्योगिक उत्पादन प्रणालीमा मार्क्सको श्रमसिद्धान्त सहीजस्तो देखिए पनि अर्थतन्त्रमा सेवागतक्षेत्र, चौथो र पाँचौ क्षेत्र (सर्भिस, क्वान्टेनरी एण्ड क्वेनरी सेक्टर) को उदयपछि अतिरिक्त मूल्य सिद्धान्तलाई पुनरावलोकन गर्नु पर्ने हुन्छ।
मार्क्सवादको अर्को मुख्य समस्या भनेको उसको कुनै राजनीतिशास्त्र नहुनु हो। मार्क्सवादले राजनीतिशास्त्रलाई अत्यन्त कम महत्व दिन्छ र त्यसलाई समाजशास्त्रको एक अंग मात्र बनाउँछ। तसर्थ मार्क्सवादी राजनीतिक प्रणाली कस्तो हुन्छ भन्ने कुरा कहिँकतै प्रष्ट छैन। मार्क्सवादी परम्परामा आवधकि निर्वाचन र सार्विक मताधिकारलाई पुँजीवादी नौटङ्कीका रुपमा निन्दा गरियो। यसको अपजस जति स्टालिन र माओले बोक्न पर्यो तर त्यसको जिन स्वंय मार्क्सको सिद्धान्तमा नै थियो।
मार्क्सले पेरिस कम्युनको असाध्यै धेरै प्रसंशा गरे। लेनिनले त्यसैलाई सोभियत प्रणालीमा ढाले। अन्ततः त्यसले विश्वभरि नै एकदलीय अधिनायकवादको रुप लियो। यो कुनै आरोप होइन। सोभियत संघ र पूर्वी युरोप ढले पनि अहिलेको पुस्ताको प्रमाणका लागि चीन, उत्तर कोरिया, क्युवा र भियतनाम त छँदैछन त? एकातिर लोकतन्त्रको कुरा गर्ने र अर्कोतिर एकदलीय प्रणालीलाई सैद्धान्तिक आदर्श बनाएर हिड्ने नाटक किन गरिरहनु पर्यो?
आज एकाथरी मार्क्सवादीहरु पुरानो कम्युन वा सोभियत प्रणालीको धङ्गधङ्गीलाई नै आदर्श मान्छन् भने अर्कोतिर त्यसलाई छोडेर बहुदलीय व्यवस्था मान्न थाल्नु वा प्रतिनिधिमुलक लोकतन्त्रको अनुयायी हुनुलाई कति न ठूलो नविन आविष्कार ठानिरहेका हुन्छन्। जस्तै, एमालेको जबज। यहाँनेर पक्कै ग्याप छ। यस अर्थमा बामपन्थी र प्रगतिशील शक्तिहरुले लोकतन्त्रको एउटा नयाँ मोडेल, नयाँ ढाँचा, नयाँ राजनीतिक प्रणाली र नयाँ राजनीतिशास्त्रलाई जन्म दिन आवश्यक छ। त्यो सहभागितामूलक लोकतन्त्र हुन सक्छ। यसमा पतनको के कुरा छ, यो त विकासको कुरा हो, सृजना र गौरवको कुरा हो।
अलिकति वर्गविश्लेषणको कुरा पनि गरौं। यसबारे मार्क्सवादका तीन मान्यता छन्। पुँजीवादी श्रम विभाजनले गर्दा मान्छे प्राकृतिक मान्छेबाट कुनै एउटा श्रममान्छे मात्र बन्ने हुन्छ। मान्छे प्रकृतिबाट अलगावमा पर्छ। निजी स्वामित्वले गर्दा मान्छे आफ्नो आफैंले उत्पादन गरेको वस्तुबाट टुट्न पुग्छ र वस्तुबाट अगलावमा पर्छ। तेस्रो पुँजीवादी उत्पादन तथा राजनीतिक प्रणालीले मान्छे सर्वहाराका रुपमा सीमितिकरण हुन्छ र समग्र समाजव्यवस्थाबाट अगलावमा पुग्दछ। फलतः अलगावमा परेकाहरुको बहुमत हुँदै जान्छ। समाज ध्रुविकरण हुँदै जाँदा सर्वहारा ९५ प्रतिशत र बुर्जुवा ५ प्रतिशत मात्र हुन्छ। अन्ततः सर्वहारा क्रान्ति हुन्छ।
तर, सन् १९५० यताको विश्व समाजलाई हेर्ने हो भने मार्क्सवादको यो विश्लेषण मिलेको देखिँदैन। आज संसारको कुनै पनि देशमा सर्वहारा वर्ग बहुमतमा छैन। वर्ग ध्रुविकरणको प्रक्रियाले धेरैभन्दा धेरै मान्छेलाई सर्वहारा पनि बनाइरहेको छैन। बरु सबैतिर मध्यम वर्ग बहुमतमा पुगेको छ। स्केनिडिनेभियन देशमा त ९० प्रतिशतसम्म मध्यम वर्ग पुगेको छ। यो मान्न सकिन्छ कि धनी र गरिब बीचको खाडल बढेको छ तर गरिब वर्गमा परेका मान्छेहरु सर्वहाराकृत भइरहेका छैनन्, सानो स्वामित्वको मालिक भइरहेका छन्। यो परिदृष्य मार्क्सवादी परिकल्पनाभन्दा निक्कै फरक हो।
यसरी हामी के देख्छौं भने मार्क्सले बढो समर्थन गरेको वर्ग सर्वहारा वर्गकै अन्त्य हुँदैछ या त सर्वहारा वर्गकै संकुचन हुँदैछ। मार्क्सले बढो निन्दा गरेको वर्ग पेटीबुर्जुवाको सर्वत्र उदय भएको छ। वर्ग ध्रुविकरणका प्रक्रियामा मार्क्सले जे जेलाई निन्दा गरेका थिए, जस्तै श्रम विभाजन, निजी धन र वैयक्तिक स्वतन्त्रतामा आधारित समाज व्यवस्था, आज यिनै चिज क्रान्तिकारी हतियारका रुपमा देखापर्दैछन् र मानिसलाई सर्वहाराकरण होइन, मालिकीकरण गर्दैछन्।
यसको अर्थ प्रष्ट छ, अबको युगमा सर्वहारा वर्गको भन्दा श्रमिक वर्गको राजनीति सान्दर्भिक छ।
यहाँनेर भ्रम नहोस कि 'सर्वहारा' र 'श्रमिक' शब्दको अर्थ एउटै होइन। 'सर्वहारा' को अर्थ श्रम बाहेक केही पनि नभएको मान्छे हो। 'श्रमिक' को अर्थ श्रम र स्वामित्वसँगै भएको मान्छे हो। जसरी श्रमिक र सर्वहारा शब्द बीचमा भेद छ, त्यसरी नै गरिब र सर्वहारा शब्द बीचमा पनि भेद छ। सबै गरिब सर्वहारा होइनन्। जस्तै नेपालमा कर्णालीको उदाहरण हेरौं, त्यहाँका सामन्तले पनि एक बोरा चामलका लागि खाद्य डिपोमा कयौं दिन कुर्नु पर्छ। सामन्त पनि गरिब छ त्यहाँ। विकास, प्रविधि र बजारसँगको कमजोर अन्तर्क्रिया आज गरिबीको कारण बनेको छ।
नेपालमा त औद्योगिक सर्वहाराहरुको संख्या एकदमै कम छ। ग्रमिण, कृषि सर्वहाराहरुको संख्या पनि घट्दैछ र शहरिया गरिबी बढ्दैछ। त्यसको अर्थ सर्वहाराहरु अर्थतन्त्रको तेस्रो, चौथो, पाँचौ क्षेत्रबाट उत्पादन हुन थालेका छन्। यो यथार्थलाई बुझेनौँ भने हामीले अर्थतन्त्रको सही ढाँचा निर्माण गर्न सक्ने छैनौं।
पञ्चाङ्गिक सिद्धान्तको प्रयास
यी विश्लेषणपछि के भन्न सकिन्छ भने नयाँ शक्ति कम्युनिष्टहरुको वा अरु कसैको विरुद्ध जन्मेकोहोइन। स्वयं नयाँ सृजनाको आकांक्षाले जन्मिएको शक्तिको हो।
नयाँ शक्तिका दस्तावेज सार्वजनिक नै नभइकन सिद्धान्तहीनताको आरोप लगाउने गरिएको छ। मेरो विचारमा उनीहरु हावामा तलवार घुमाउँदैछन्। नयाँ शक्ति त्रिआंगिकबाट फड्को मारेर पञ्चाङ्गीक सिद्धान्त निर्माणको प्रयास हो। सोही अनुरुपको व्यवहार निर्माणको अभियान प्रारम्भ गर्ने प्रयास पनि हो।
एक– त्यसको एउटा दर्शन हुन्छ, जसले 'क्वान्टम भौतिकी' को युगमा द्वन्द्वात्मक भौतिकवादको समृद्धिकरण गर्दछ।
दुई– त्यसको एउटा समाजशास्त्र हुन्छ, जसले वर्ग र समाजिक तप्काहरुको उत्थान र पुनरुत्थानको अध्ययन गदर्छ र मध्यम वर्गको उदय र सभ्यता संघर्षको व्यतिकरणलाई बुझ्ने प्रयास गर्दछ।
तीन– त्यसको एउटा राजनीतिशास्त्र हुन्छ जसले लोकतन्त्रको अझ बढी विकासको प्रयास गर्छ, प्रतिनिधिमुलक वा कम्युन वा सोभियत लोकतन्त्रका बद्लामा सहभागितामुलक लोकतन्त्रको पैरवी गर्दछ।
चार– त्यसको एउटा अर्थशास्त्र हुन्छ जसले श्रम र पुँजीको सन्तुलन खोज्छ, बजार र राज्यको भूमिका बीच सन्तुलन खोज्छ, त्यसले श्रमलाई शोषित हुन पनि दिँदैन, पुँजीको बृद्धि र विकासलाई पनि रोक्दैन, त्यसले बजार–समाजवादको बाटो अबलम्बन गर्छ। त्यसले देशको विकास, सुशासन र समृद्धिलाई उच्च महत्व दिएर नीति तथा कार्यक्रम बनाउँदछ।
पाँच– त्यसको एउटा भिन्नै खुसीशास्त्र, मनोविज्ञानशास्त्र हुन्छ। जसले 'ह्यूमन ह्याप्पीनेश' को रहस्य बुझ्न र प्रवर्धन गर्न मानवीय मनोबनौटको अध्ययन गर्छ। ज्ञान, ध्यान र विज्ञानको माध्यमबाट मानिसलाई जाग्रित गर्न प्रेरित गर्छ। अहंलाई तुष्टिकरण गर्न, उच्चताभाष र लघुताभाषलाई तुष्टिकरण गर्न र रचनात्मक अहंको आत्मिक अवस्था हासिल गर्न मद्धत गर्दछ।
नयाँ शक्तिका संकेत त्यतैतिर छन्। यसो गर्न खोज्नु पतन हो कि विकास? कुनै वादको अष्टजामले मात्र मानिस खुशी र देश समृद्ध हुने भए भइसक्थ्यो यतिखेरसम्म। भएन, एउटा फरक अभ्यास, वैकल्पिक प्रयास किन नगर्ने?