योगेश भट्टराई
एमाले, कांग्रेस र एमाओवादी नै नयाँ शक्ति हुन्। यो देशमा कुनै नयाँ शक्तिको आवश्यकता छ भने यी पार्टीमै रूपान्तरण गरेर नै नयाँ हुने हो। यिनलाई विस्थापित गरेर नयाँ आउन सक्दैन। एमाओवादी वा एमालेले नै आफूलाई रुपान्तरित गरेर नै नयाँ हुने हो। एमालेले आफूमा भएका जडता रूपान्तरण गरेर नै यहाँसम्म आएको हो।
विचारको एउटा शृंखला हुन्छ। हिजो माओवादीको जनयुद्ध र हिंसाको सिद्धान्त सही थियो कि गलत? अहिले नयाँ शक्तिको सिद्धान्त सही हो भने हिजो गलत थियो, हिजोको सिद्धान्त सही थियो भने अहिलेको गलत छ। इतिहासको वस्तुनिष्ठ समीक्षा हुनुपर्छ। १९९० पछि समाजवादी विचारमा धक्का खाएपछि अब यो समाप्त भयो भन्ने सोच आयो। किनकि, कुनै पनि विचारलाई समाउने र टेक्ने ठाउँ चाहिन्छ।
एमाले वा कांग्रेसको आलोचना र विरोध हुन सक्छ। त्यसको स्वागत गर्छौं। ०६२ र त्योभन्दा अगाडिको राजनीतिक परिवर्तनको अगुवाई सात सालमा कांग्रेसले, ०४६ को राजनीतिक परिवर्तन कांग्रेस एमाले र ०६२ को यिनीहरुले नै गरेको हो। क्रान्ति गर्नसक्ने पार्टीले पुननिर्माण े किन गर्न सक्दैन? ध्वंस गर्ने बुद्धि छ भने सृजना गर्ने बुद्धि पनि हुनु पर्छ। आजका दलहरुलाई नै रुपान्तरण गर्ने र नयाँ बनाउने हो जुन हुन्छ नै। चीन माओकै मोडलमा गएको भए आजको विकास हुदैनथ्यो। दे स्यापेङले रुपान्तरण गर्दै आए।
अर्कातिर जापानमा सुनामीले न्यूृक्लियर पावर विस्थापित भएपछि बेलायतमा ग्रीन पार्टी आयो तर त्यो टिक्न सकेन। आजका मुद्धामा आएको पार्टी टिकाउ नहुन सक्छ।
हामी एमालेप्रति आउने टिप्पणीलाई स्वाभाविक र सकारात्मक रुपमा लिन्छौं। नेपालमा दलित, मधेस, जनजाति वा पिछडिएको मुद्धा उठाउने यीनै दल हुन। यसको सट्टा मधेसमा क्षेत्रीय पार्टी उठाउने कोशिश हुँदैछ। जनजाति वा कुनै पक्षको मुद्दा उठाउन छुट्टै पार्टी बनाउनेभन्दा पनि यिनै राष्ट्रिय दलले सबैका मुद्दा सम्बोधन गर्नुपर्छ। एमालेले पहाड, हिमाल र मधेसको प्रतिनिधित्व गर्छ भने यसमा सन्तुलित विचार आवश्यक हुन्छ। यदि सहि ढंगले पार्टीभित्र काम भएको छैन भने वैधानिक प्रक्रियाले नेतृत्व फाल्न सकिन्छ। एमाओवादीभित्र प्रचण्ड असफल भए उहाँलाई भट्टराई (बाबुराम)ले फाल्न सक्नुहुन्थ्यो।
राजनीतिक दल वा नेताले आफूलाई चुनौतिमा छु भन्ने महशुस गरेन भने त्यो मुर्खता हो। दिल्लीको आप (आम आद्मी पार्टी) को सवालमा दिल्ली उन्मत्त पूँजीवादको प्रभावले विकास गरेको हो। त्यो अवस्थामा अहिले हामी पगेका छैनौं र त्यो अवस्था विद्यमान पनि छैन। संविधान निर्माण पश्चात सिंगो नेपाललाइ जोड्ने सुत्र के हो भन्ने अहिलेसम्म केही भन्न सकेका छैनांै। आजको दुनियाँमा जोड्नेभन्दा तोड्ने बलवान छन्। विवाह गर्ने केटाकेटी साइकल चढेर आउने र सम्बन्ध विच्छेद गर्ने वकिल गाडी चढेर आउँछ। हामी साइकल चढेर जोड्ने उपाय खोजिरहेका छौं।
पूर्विय सभ्यतामा जतिसुकै नराम्रो काम गरे पनि ठिकै भन्ने चलन छ। बाबुरामको नयाँ शक्तिका लागि शुभकामना तर सबै नयाँ राम्रा हुदैन। भारतका आशाराम बाबुले लगाएको सेतो धोती भित्र के लुकेको रहेछ भन्ने त हामी सबैले थाहा पायौं नि।
सुधीर शर्मा
विगत चार पाँच वर्षको अनुभवमा नेपाल किन बनेन? भन्ने विषयमा थुप्रै टिकाटिप्पणी आए। नयाँ शक्तिको विषयमा पनि बहस हुँदा थुप्रै क्रियाप्रतिक्रिया आए। झ्वाट् सन्दा नयाँ भन्दा राम्रो लाग्ला तर नयाँ शक्ति भन्नेले त्यसको संगठनको आधार के हो भन्ने स्पष्ट हुनुपर्छ।
अहिले क्रियाशील राजनीतिक दलले अपेक्षाकृत काम नगर्दा गुनासो छ। अघि पिताम्बर सरले प्रश्नै प्रश्नको कुरा गरे जस्तै अहिले जतिसुकै कुरा गरे पनि कांग्रेस, एमाले, एमाओवादी वा मधेसवादी दलले सरकार चलाउँदा कुनै विचारधाराको अन्तर छैन। व्यवहारमा ९० कै दशकको शैलीमा काम गरेको पाइन्छ। भट्टराईले नयाँ शक्तिको कुरा गर्दा पुरानो विचारधारा परित्याग गरेको देखिन्छ। राजनीतिक विचार धारा र मान्यता विना संगठन बनाउन सकिदैन।
नयाँ वा पुरानो भन्ने कुरामा पुरानो पनि रुपान्तरित हुन्छ भने सही हो। तर पुरानै ठीक हो नयाँ किन चाहियो भन्ने हो भने प्रजापरिषद नै रहन्थ्यो अरु दल हुदैनथ्यो। ०४६ सालपछि कतिपय दल आए। ०५२ सालपछि माओवादी र ०६४ सालपछि मधेसी दल आए। भट्टराईले पुरानोलाई छोडी शहरिया मध्यम वर्गलाई लक्षित गरी नयाँ शक्ति बनाउने काममा लाग्नु भएको छ। भारतमा आप पार्टी आएको छ। त्यसमा सामाजिक अभियानले भएपनि हाम्रोमा त्यस्तो अभियान छैन।
कांग्रेस पनि फुटेकै थियो तर सफल भएको छैन। हामीमा एउटा फ्रस्टेसन छ। जनआन्दोलन अगाडि नेताहरु अलोकप्रिय हुँदा नागरिक अगुवाले आन्दोलनको नेतृत्व लिनु परेको थियो। पछि जनताले नेताहरुलाई विश्वास गरे तर अपेक्षा अनुसार समाज परिवर्तन हुन सकेन। अहिले नयाँ वा पुरानो शक्तिले यो समस्याको हल गर्न सकेका छैनन्।
बाबुराम भट्टराई
जनयुद्ध र नयाँ शक्तिको औचित्य कुन ठीक? के गरेर नयाँ हुन्छ? भन्ने योगेश र सुधीरका प्रश्न महत्वपूर्ण छन्।
अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसले जस्तै कि त मेरो साथमा कि मेरो विरुद्धमा छौ भन्नु कति उपयुक्त भन्ने विचारणीय कुरा हो। दर्शन र विचारले मानिस होइन मानिसले विचार र दर्शन आविष्कार गरेको हो। मानिसको आवश्यकता परिपूर्ति गर्न विचार बनाएको हो। माक्र्स जन्मनु अघि विचारधारा थिएन भन्ने होइन। नेपालमा विचारधाराको आवश्यकताभन्दा पनि पुरानो विचारधाराका बीचमा नयाँ विचाराधारा आवश्यक हो। पुरानो एकात्मक विचारमा अहिले हामीले समानुपातिक समावेशी व्यवस्था भएको हो।
१९९७ सालमा प्रजापरिषले जस्तै ०७ सालमा कांग्रेसले ०२८ सालमा मालेले सशस्त्र धक्का पुरानो सत्तालाई दिए पनि त्यो पूर्ण नहुँदा ०५२ सालमा पुरानो सत्ता र शक्तिलाई भत्काउन सशस्त्र युद्ध भएकै हो। त्यो आवश्यकता थियो।
मार्क्सवादको दर्शन समय अनुकुल विकास हुन्छ। हामीले विचारलाई ब्राण्डको रुपमा प्रस्तुत गर्यौं।
नयाँ शक्तिले कुन वर्गको प्रतिनिधित्व गर्छ भन्ने प्रश्नमा मेरो भन्नु के छ भने नया शक्ति विचारधारा विहिन छैन। हिजो पुरानो शक्ति भत्काउन फौजी राजनीति आवश्यक थियो। अबको चरण विकासको चरण हो। गरिबीको अन्त्य र आर्थिक रुपान्तरण आवश्यक छ। नेपाल बहुवर्गमा विभाजित समाज भएको हुँदा आज कस्तो विकासभन्दा निरपेक्ष गरिबी हाम्रो समस्या हो। हाम्रो आम्दानी न्युन गरिबीको रेखा मुनि छ। यसमा १० गुणा वृद्धि गर्नु आवश्यक छ। सबै जाति क्षेत्र, र समुदायको हितमा विकासको पहुँच पुग्नुपर्छ। श्रमिकको हितसँगै स्वरोजगार मध्यम र लगानी वर्ग तीन वटैको हित गर्ने विचार आवश्यक छ।
नयाँ शक्ति भनेको सबै दल निषेध गरी पुराना सबै काम लाग्दैन भन्ने होइन। रात र दिन दुबै आवश्यक छ। हिजो दलहरु ठीक थिए। क्रान्ति सक्नेले पछि काम गर्न सक्छन् तर नेपालमा क्रान्ति एकै झड्कामा सफल भएको होइन। आंशिक रुपमा भएको हो। क्रान्ति गर्ने पार्टी कार्यकर्तामुखी हुन्छ। त्यसपछि विकास मुखी हुन नयाँ ढाँचा र विज्ञसहितको नेतृत्व चाहिन्छ। जुन पहिले हुन सकेन। विकास सबैले चाहन्छन। त्यसका लागि राजनीतिक प्रणाली र लोकतन्त्र संविधान आवश्यक हुन्छ। यसको जगमा भिजन भएका विज्ञको सोच र नेपालको वस्तुस्थिति सुहाउँदो मोडल खोज्नुपर्छ। द्रुत विकास, समावेशी, दिगो विकासको बाटो खोज्नु पर्छ। आन्तरिक मानसिक शान्ति पनि चाहिन्छ। इसका लागि नयाँ शक्तिले प्रयास गरेको छ। भ्रष्टाचार र अनियमितताको दलदलमा फस्दै गएका छौं। दलहरु कार्यकर्तामुखी भएर चुनाव जित्न भ्रष्टाचार गर्नु पर्ने हुँदा यसबाट मुक्त हुन पनि नयाँ सोचका साथ विकास केन्द्रीत भ्रष्टाचार विरोधी सोचका साथ नयाँ शक्ति चाहिन्छ।
भट्टराईलाई सहभागीका प्रश्न
अर्जुन खनालः राजनीतिबाट घृणा भएर व्यवसायमा संलग्न छु। बाबुराम प्रधानमन्त्री हुँदा कोठामा ताली बजाएर नाचेको थिएँ। तपाईं अर्थमन्त्री र प्रधानमन्त्री हुँदा कति युवालाई रोजगारी दिनुभयो? हिजो के गर्नु भयो अब विश्वास गर्ने आधार के?
पुर्ण श्रेष्ठ (विद्यार्थी)ः पूर्व प्रधानममन्त्री र अर्थमन्त्रीको हैसियत भएको व्यक्ति मधेस गएर मिलाउने कुरा किन राख्न नसकेको?
मोहन खनालः मैले भट्टराईलाई नेपाली अब्राहम लिंकनको रुपमा लिएको थिएँ। हामी यति उर्जाका साथ सोचे पनि तपाईं प्रधानमन्त्री भएपछि हाम्रा आशा चकनाचुर भए अब विश्वास गर्ने आधार के छ?
इश्वरी पौडेल पत्रकारः माओवादीबाट बाहिरीएपछि माओवादी खाओवादी भनरे भन्न खोजेको के हो?
भट्टराईको जवाफ
लमी र वकीलको सवालमा मैले पनि लमीबाट बचेर लभ म्यारिज गरी ४० वर्षदेखि सुखद जिवन बिताइरहेको छु। लमीको काम नै ठग्ने हो र लमी भएपछि वकिल चाहिन्छ। नयाँ शक्तिले त्यो गर्नुछ।
नयाँ शक्तिले के गर्छ भन्ने कुरा व्यवहारले नै पुष्टि गर्ने हो। त्यतिबेला शान्ति र संविधानको कालमा आर्थिक विकासको एजेण्डा भएन। पहिलो संविधान सभाबाट संविधान बनाउन नसकेकोमा खेद छ तर दोस्रो सभाले संविधान बनायो।
हामीसँग भएको युवा स्वरोजगारको प्रर्वद्धन गदै कृषि बजारलाई विकास गर्न मैले अर्थमन्त्री हुदा शुरु गरेपनि ९ महिना पछि सकार गयो। विदेशमा वर्षौं सरकारमा रहेर काम गरका छन् । सिंगापुर, मलेसिया र दक्षिणको कोरियाको विकासमा स्थायी शासन व्यवस्था हो।
हामीकहाँ सरकार स्थीर बनाउनु पर्छ। अब संविधान संशोधन गरी प्रत्यक्ष राष्ट्रपति निर्वाचित गरी कार्यकारी बनाउन सके बाबुराम भटराइ सफल भए नभएको हेर्ने बेला आउँछ। त्यतिबेलामा पनि मैले केही गर्न सकिनँ भने बाबुरामलाई के गर्ने भन्ने जिम्मा तपाईंहरुलाई नै दिन्छु। (पोखरामा जारी 'नेपाल लिटरेचर फेस्टिभल'मा 'कस्तो नयाँ शक्ति' शीर्षकमा भएको बहसमा वक्तात्रयले प्रस्तुत गरेका विचारको सम्पादित अंश। सो बहसमा पत्रकार बसन्त बस्नेत सहजकर्ता बनेका थिए।)