मोदी जस्तो मित्र र भारत जस्तो छिमेकी कसैको नहोस्, सबैलाई शुभकामना! भन्नै पर्ने र शुभकामना दिनै पर्ने अवस्था आयो ।
तर यो अवस्था कसरी आयो ? कारण र कारक भारत र भारतीय प्रधानमन्त्री मोदीमात्र हुन् ? प्रश्नले हामीलाई कत्तिको अचेटेको छ ? बुझाई र उत्तरहरु आ–आफ्नै हुन सक्छन् ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका शब्दहरु स्मरणका तलाउमा तैरिरहेका छन्– ‘छोराछोरी छैनन्, देश र जनताका लागि गर्छु ।’
प्रधानमन्त्रीका वाणी सुनेर खुसी लाग्नु स्वाभाविक हो । देशका लागि यति भन्ने मान्छे पनि आहिलेसम्म निस्किएको थिएन, गर्ने त कुरै छोडौं ।
प्रधानमन्त्रीज्यू, जनताका नाउँमा सपथ खानु भो । सपथ खाएर बोले अनुसार साच्चिकै केही गर्नु हुन्छ भने देशका तीन करोड जनताका लागि निःस्वार्थ र अहिंसात्मक लडाइँ लड्ने धर्मयोद्धा डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन गरेर एक असल कामको थालनी गर्नुहोस् । ढिलो नगरी गर्नुहोस्। उहाँ ६ पटक आमरण अनशन बसिसक्नु भएको छ ।
आज देश डरलाग्दो हिंसामा फसेको बेला सत्य, निष्ठा र अहिंसाका पुजारीलाई जिताउनुस्। त्यो जित डा. केसीको हुदैन, न्यायको हुन्छ । सत्यको हुन्छ । निष्ठाको हुन्छ । नीति–नियम र विधि–विधानको हुन्छ । सदाचारको हुन्छ र सबैभन्दा बढी अहिंसाको हुन्छ । जुन खाँचो छ ।
सुझाव दिन चाहन्छु– डा. केसीसामू गएर आशिर्वाद लिनुस्, असल मान्छेसँग आशिर्वाद लिदा सानो हुइदैन् । माहनताको द्योतक हुन सक्छ ।
डा. केसी जिउँदा ईश्वर हुन्, ईश्वर त्यही हो जसको आफ्नो स्वार्थ हुँदैन । मेरो मनले यसै भन्छ ।
डा. केसीलाई फेरि हराउनु भनेको सबैभन्दा पहिला अहिंसाले हार्नु हो, हिंसाले जबरजस्ती जित्नु हो । त्यसपछि सत्य, निष्ठा, न्याय, नियम–कानुन र विधि–विधानले नराम्रोसँग हार्नु हो । डन, माफिया, बिचौलिया, भ्रष्ट र अपराधीहरुले राम्रोसँग जित्नु हो । अर्थात पुरै देश र जनताले हार्नु हो, शासकले जित्नु हो ।
ठान्नुहुन्छ होला, शासक तपाइँहरु नै हो तर तपाइँहरुमाथिका शासक त तिनीहरु नै हुन् जो डा. केसीहरुलाई हराएर आफू जित्न चाहन्छन् । अहिलेसम्मको सत्य यही हो । तिनको शासन तोड्नु र देशको सच्चा शासक आफू बन्नुस् ।
प्रधानमन्त्रीज्यू केही गर्नु पर्दैन, आफूले बोलेको एउटा बोली पुरा गर्नुस् । फेरि पनि भन्छु, डरलाग्दो हिंसामा फस्दै गएको देशमा अहिंसाको जितको सुरुवात हुन्छ । जुन सुखद हुन सक्छ । जनतामा आशा र विश्वास पलाउन सक्छ । करोडौं नेपालीको साथ पाउनु हुनेछ । अवसर नगुमाउनुस् । देशलाई अहिंसा, शान्ति र न्यायको बाटोमा हिडाउन निमेषभर पनि ढिलो नगर्नुस् ।
सबैलाई थाह छ, देशमा कहालीलाग्दो अवस्था उत्पन्न भैसकेको छ । सन् १८१४ मा बलभद्र कुँवरको नेतृत्वमा भएको नालापानी युद्धका बेला भारतमा राज गरेर बसेका अंग्रेजहरुले पिउने पानीको मुहान काट्नेभन्दा कम छैन, अहिलेको भारतीय ‘इम्बार्गो’ । यो अमानवीय र अकल्पनीय दुष्टताका लागि मोदीलाई निर्दोष मान्न सकिदैन । राजनीतिक स्वार्थ र छुद्रता आफ्नो ठाउँमा होला तर मानवता भन्ने पनि केही हुन्छ तर मोदी यति पनि सोच्न नसक्ने रहेछन् । सबैभन्दा दुःखद पक्ष यही हो ।
भुकम्पले थिलथिलो हुने गरी लडाएको देशमाथि मित्रराष्ट्र(?)ले थोपरेको यति डरलाग्दो क्रूर र अमानवीय नाकावन्दीको निन्दा गरेर साध्य छैन तर यो अवस्था मोदीका कारणले मात्र आएको हो त ? एक हप्ताको नाकाबन्दी धान्न नसक्ने देशको चरम नाजुकताका पछाडि मोदी हैन हाम्रै देशका मोदीहरु कत्तिको जिम्मेवार छन् ?
अहिलेको यो भयावह स्थिति एकाएक आएको हैन । सत्ताप्राप्तिका लागि सधैंको छिनाझप्टी र लूटको परिणाम हो, यो । कर्मनिष्ठ हुने पर्ने राजनीतिक नेतृत्व पापनिष्ठ हुनुको परिणति हो, यो । राजनीतिक कूकर्मको फल हो, यो ।
एक चौथाई देश भुकम्पले लडेको छ । पीडितले गोठ–कटेरासमेत ठड्याउन सकेका छैनन् । पाखाभित्ता, पखेरामा टाँगिएका पाल मुनी लाखौं नेपालीले जीवन विताइरहेका छन् । वर्खाको घामपानीले थोत्र्याएका पालले मंसीर–पुसको कठिङ्ग्य्राउदो जाडो कसरी धान्नु ? ती दिनहिन नेपालीका लालाबाला भोको पेट र नाङ्गो आङ्गो लिएर चिसो भुइँमा सुत्न वाध्य छ । कठै ! मेरो देश भन्नु बाहेका केही छैन ।
बाँकी आधा देश, देश जस्तो छैन । सिरिया जस्तो युद्धभूमि बनेको छ । सत्ताको लोभ र स्वार्थको फल भोग्दै देश नाइजेरियाको बाटोमा हिड्न थालेको छ ।
यस्तो अवस्थामा देशले ६ वटा उपप्रधानमन्त्री बेहोर्नु परेको छ । २५ जनाभन्दा बढी मन्त्री नहुने संविधानमा भएको व्यवस्थालाई लगौंटी बनाएर मन्त्री थपिएको छ । थप्ने क्रम अझै चल्छ, सरकारले पूर्णता पाएको छैन । साच्चिकै देश र जनताप्रति निष्ठावान भएर काम गर्ने हो भने १० मन्त्रीलाई पनि पुरा काम छैन देशमा ।
एक विवेकी र किफायती मन्त्रीको लालनपालनमा कम्तिमा पनि वर्षको तीन करोड खर्च हुन्छ । अविवेकीको उदाहरण आवश्यक छैन । भ्रष्टाचार त पदीय अधिकार र नैतिक चरित्र नै भएको छ । पाल र राहतमा समेत भ्रष्टाचार भएको किस्सा सुनिएकै हो । त्यो पनि सबै किस्सामात्रै भयो, सकियो ।
एउटा तथ्य पनि यहाँ उल्लेख गर्न चाहन्छु, संविधानसभाको पहिलो निर्वाचनदेखि संविधान बनुन्जेलसम्म अर्ब हैन, देशको झण्डै दुई खर्ब स्वाहा भैसकेको छ । संविधान बनेपछि देशले त्योभन्दा बढी क्षति बेहोर्नु परेको छ । संविधान बनाउनका लागि भनेर जम्मा गरिएका ६०१ जना स्वतः सभासदमा परिणत भएका छन् । यत्रो संख्यालाई देशले कति बर्ष पाल्नु पर्ने हो ? केले पाल्ने हो ? कसैलाई थाह छैन ! देशमा अभाव र अन्योलमात्र छ । यो अवस्था समाप्त नभएसम्म देश एक इन्च अघि बढ्ने हैन दिनहु हजारौं इन्चको धक्कामा पछि धेकेलिने निश्चित छ ।
एउटा सभासद् उर्फ सांसदको पालनपोषणमा देशले सरदर वार्षिक १८ खर्च गर्नु परेको छ । यस्तो देशले दैनिक ६ करोड रुपैया सरदर विदेशी ऋण पनि चुक्ता गर्नु पर्ने वाध्यता छ भने यो देशको हालत के होला ? यो सबै कसका कारणले भएको हो ?
यस्तो बेलामा सरकारी खर्च घटाउने, राज्य सञ्चालनका लागि न्यूनतम संख्या र सुविधामा बसेर राष्ट्रोन्नती र स्वावलम्बनको बाटोमा हिडेर उदाहरण बन्नु पर्नेमा राजनीतिको कथित नेतृत्वले मिलोमतोमा दिन दुगुना रात चौगुना देश लुटिएरहेको छ । हिजो पनि यस्तै थियो, आज पनि यस्तै छ र यो पुस्ता रहेसम्म यस्तै रहन्छ । देशका बाछाहरु सधैं भोका छन् ।
देश चुपचाप छ, मात्र मोदीको विरोधमा जनतालाई उरालिएको छ । देशभित्रका मोदीहरुले आफूलाई सुधार्ने जरुरत छैन । सधैं दोष अरुमाथि थोपरेर उत्तरदायित्व र जवाफदेहिताबिहिन छ कथित नेतृत्व ।
देशमा एउटा ‘बेबी बुमर ग्रुप’ छ । जनु ‘ग्रिडी एण्ड इरेशनल’ छ । यो समूहलाई किनारा नलगाएसम्म जुनसुकै सोच–विचार, क्रान्ति, आन्दोलन, संर्घष, शक्तिको उदय भए पनि केही हुनेवाला छैन । यी सबैका अगुवा यिनै हुन्छन् । ती चाहे अहिलेको तराई आन्दोलनका अगुवाहरू नै किन नहुन्, एउटै ड्याङ्का मूला हुन् । यी सबैको विगत र वर्तमान उस्तै छ र भविष्य पनि उस्तै हुनेछ । धिक्कार भन्नु बाहेक यीसँग आशा गर्नु बेकार छ ।
स्वावलम्बनले मात्र स्वाभिमानको रक्षा गर्न सक्छ तर स्वावलम्बी बन्ने को ? देशमा स्वाँठतन्त्र चलेको छ, चलेको थियो र चली नै रहन्छ ।
फेसबुकको मित्रसूचिमा रहेका एक विवेकशील मित्र नारायण गाउँलेले केही दिनअघि लेख्नु भएको थियो– ‘आएको समाचार सत्य हो भने, प्रधानमन्त्रीको कार्यालयले एक महिनामा हवाइयात्राको मात्रै २५ लाखको बिल पेश गरेको छ । प्रधानमन्त्री विदेश गएका छैनन् । आन्तरिक उडानको २० सिटको विमानका सबै सिट बुक गरे पनि सरदर पाँच हजारका दरले एकलाख हुन्छ । २० जना कर्मचारी वा मन्त्रीका साथ वितेको एक महिनामा उनले २५ पटक हवाई यात्रा गरेको हुनु पर्छ । यस हिसाबले उनी अफिसमा पाँचदिन मात्र बसेका होलान् । त्यो पाँचदिनको खाजा खर्च मात्र चारलाख भन्दा बढी छ रे!’
मित्रले हिसाबकिताब सहित देखाउनु भएको छ । योभन्दा जबरजस्त लूट अर्को के हुन्छ ? प्रधानमन्त्रीज्यू, विनम्रतापूर्वक अनुरोध गर्छु– यो समाचार सत्य होइन भने छिटोभन्दा छिटो खण्डन गरियोस् । हैन भने म तपाइँलाई आइन्दा देशको प्रधानमन्त्री भनेर सम्बोधन गर्दिन, ‘मेरो देशको मोदी’ भन्नेछु। ‘सधैंको भोको बाछो’ भन्नेछु ।
मोदीको इम्बार्गोले भन्दा तपाइँहरुले बढी क्षति पुर्याउनु भएको छ देशलाई । इण्डियन ‘हिजेमनी’भन्दा तपाइँहरुको ‘हिजेमनी’ले देशको स्वाधिनता लुटेको छ । जुन वर्षौदेखि चलिआएको ।
उपप्रधानमन्त्री कमल थापालाई प्रश्न गर्नु चाहन्छु, जेनेभामा भावुकता देखाउँदै आँशु चुहाउन खोज्ने मान्छेले आफ्ना भागमा परेका सबै मन्त्रालयमा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री राखेर देशको ढुकुटी लुड्याउँदा अलिकति पनि हिनताबोध र नैतिकताको ख्याल किन भएन ?
प्रधान, उपप्रधान तथा मन्त्रीज्यूहरु, शिरको ढाकाटोपी र सुकुला दौरासुरुवाले मात्र मान्छेलाई राष्ट्रवादी बनाउँदैन । देशका जनता भोकै र प्यासै मरिरहेको यो अवस्थामा यसरी देश लुट्नु नै चरम राष्ट्रघात हो । लुगाले मात्र लाज छोप्दैन, अनुहार नाङ्गै छ । मान्छेको नग्नता अनुहारमा पनि उत्रिन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।
उपप्रधानमन्त्री बनेका चित्रबहादुर केसीले पनि अब ट्याउँट्याउँ र फ्याउँफ्याउ बन्द गरे हुन्छ । देशमा यत्रो हाहाकार र अभावको त्रादसी फैलिएर जनता आक्रान्त भएको बेला सरकारी प्रवृत्तिको खुलेर बिरोध गर्नु पर्नेले कति सजिलैसँग आफूलाई उपप्रधानमन्त्रीको सुख, सुविधा र भोगसँग साट्नुभो । तपाइँ उही चित्रबहादुर केसी होइन भन्ने कुरामा कमसेकम म चैं विश्वस्त भएँ। सीपी मैनालीको चिन्तन पनि उपप्रधानमन्त्रीको चास्नीमा माखो डुबेजस्तो डुविसक्यो । अब को ने बाकी रहेँ यो देशलाई माया गर्ने र देशप्रति निष्ठावान् हुने ?
यो महासंकटका बेलामा सरकारले खै राष्ट्रिय स्वावलम्बनको थालनी गर्न सकेको ? खै किफायती ? राष्ट्रिय खर्चको कटौती ? खै स्वाधिनता अभियान? खै स्वदेशी उत्पादनलाई प्रोत्साहन ?
देशको ढुकुटी हुडल्न पाउँदा खुसी नहुने आखिर को नै रहेछ र ? धिक्कार !
विदेशतिर ‘ब्याक अफ इण्डिया‘ भन्दै नेपालीले एकता देखाउँदै छन् । भारतीय पक्षबाट भएको यो अमानवीय कार्यको जानकारी विश्व समुदायलाई गराउनु नराम्रो हैन तर यसले नेपाललाई झन् अप्ठ्यारो त पार्दैन ? विषयलाई झन् पेचिलो बनाएको त छैन ? । वृटिस सरकारले भारतकै भाषा बोलेर देखाइसकेको छ ।
‘व्याक अफ इण्डिया’ भन्ने हामीले आजसम्म हाम्रा भ्रष्ट र देशद्रोही नेतालाई ‘व्याक अफ करप्टेड मेन’ भन्न किन सकेका छैनौं ? भ्रष्ट नेताले विदेश भ्रमण गर्दा तिनका जुत्तामा पालिस लगाउन किन घुँडा टेकेर लाइन लाग्छौ ? केले रोकेको छ स्वतन्त्र र स्वाभिमानमा बाँच्न ? भारतलाई मात्र गाली गर्नुभन्दा आफूलाई सुधारेर भारतसँग खुला बहस र वार्ताका लागि दबाव दिन सके सकारात्मक परिणामा आउन सक्छ ।
अहिलेको युग भनेको वैश्य (व्यापारिक) युग हो । संसारका सबै मुलुक घाटानाफा हेरेर चल्छन् । चिच्याउने हैन, कुटनीतिक र राजनीतिक क्षमता देखाउने बेला हो, यो । कथित नेतासँग त्यो क्षमता छैन, जनता उरालेका छन् । हामी स्वाभिमान बेच्दैनौ भनेका छन् । चिच्याएका छन् । भित्रभित्रै सधैं दिल्ली र पञ्चवटीको पूजामा तल्लीन छन् । लुकीलुकी परमधाम दिल्ली धाउने को को थिए ? कति थिए ?
यो विकराल र त्रादसीपूर्ण अवस्था भारत र मोदीका कारणले मात्र आएको हैन । एकपटक आफ्नै देशभित्रका मोदीहरुको चित्र र चरित्रलाई हेरौं !
भोग–विलास हैन, देश बनाउन त्याग र तपस्या चाहिन्छ । तर नेतृत्व रोमका निरो र फ्रान्सका लुइसहरु जस्तै भोग–विलासमै लम्पट छ ।