अघिल्लो वर्ष सिंगापुरको तीनमहिने फेलोसिप अन्त्यतिर नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीस्थित क्याम्पस कोठाभित्र आफ्ना प्राध्यापकसहित समीक्षा बैठकमा मैले भनेको थिएँ, ‘नेपाल फर्केर अब दैनिक डेढ–दुई घन्टा हिँड्छु र दौडिन्छु।’
सिंगापुरमा कसले के सिक्यो भन्नेबारे त्यो छलफलमा अरू एसियाली मुलुकका साथीहरू मतिर हेर्दै हाँसेका थिए।
मैले सबभन्दा प्रेरणा पाएकै त्यही थियो। जता हेरे पनि पैदल मार्ग। जहाँ पनि जो पनि हिँडिरहेकै छन्। पार्क नै पार्कको जालोले सम्पूर्ण देश जेलिएको छ। चिप्ला सडक र हर बखत चिप्लिरहने भूमिगत रेलको सञ्जाल भएर मात्र देश कहाँ बनेको मानिँदो रहेछ र ? पार्क र पैदल मार्ग नभएको देश त पहिलो विश्व कहाँ कहलिँदो रहेछ र ?
सानो देशले स्वस्थ जीवनशैली र हराभरा समाज निर्माण गर्न झन् सक्दो रहेछ भन्ने सिंगापुरले चरितार्थ गरेको मलाई प्रेरक लागेको थियो।
आम्दानी हेर्दा हाम्रो औकात वार्षिक सवा एक खर्ब रुपैयाँको तेल आयात गरेर गाडी चढ्ने छँदै थिएन। देशको मूल आयात नै तेल थियो। बहुमूल्य डलर खर्च गर्ने माध्यम। देशले वर्षमा जति निर्यातबाट आम्दानी गर्थ्यो त्यो त चोखै तेलमै सिध्याउँथ्यो। विकास निर्माणका लागि भने विदेशीसँग हात पसार्थ्यो। पाएको रकम पनि खर्च गर्न सक्थेन। बरु विदेशबाट महँगोमा किनेको तेल अनुदान दिएर सस्तोमा बेच्नमै खर्च गर्थ्यो। र, त्यसैले धुवाँ पुत्पुताउँदै यता र उता गाडीमात्र गुडाउँथ्यो।
काठमाडौंमा गाडीप्रतिको आशक्ति कति उग्र भइसकेको थियो भने खुट्टा टेक्ने फुटपाथ भेट्न मुश्किल थियो। अपुङ्गे बाहनको देखासिकी, गाडी नभएकाहरू घरकै अगाडि माइक्रो वा ट्याम्पो घच्याक्क रोक्ने र फिटिक्कै पाइला सार्न हिनाउने विकृतिले जरो गाडिसकेको थियो। समाज बदल्ने सेवामा प्रतिबद्ध जीवन भएका राजनीतिकर्मीहरू सत्तामा पुग्न मरिहत्ते गर्ने र सत्तालाई समाज बदल्ने ऊर्जामा होइन, सुविधा भोग्ने बेसनमा भुक्त हुँदै थिए। सार्वजनिक यातायात सुधार्ने, सहरमा ठूला बस चलाउने नीति ल्याउनेतर्फ एउटा सिन्को भाँचेनन्। गाडीको कोलाहल काठमाडौंको विकासको मानक हुँदै थियो।
कुनै पनि प्रधानमन्त्रीले रोल मोडल बन्न बालुवाटारदेखि सिंहदरबारसम्म एकै बिहान पनि पैदल हिँडेको हामीले देखेका छैनौं। एउटै मन्त्रीले हरिहरभवन मन्त्रीक्वार्टरबाट मन्त्रालयको आधा घन्टा पैदल खियाएको छैन। नेपाल बन्दको दिन एकाधले गरेका थिए। भनेसि गर्न त सक्दा रहेछन् नि ! देशको औकात नबनेसम्म म राज्यकोष फुर्मास गर्दिन भनेर एउटै नेताले आफ्ना कार्यकर्ताको मानसिकता बदल्न प्रेरणा दिएको छैन। जेलमै वैंश गुजारेका, चप्पल फ्याटफ्याट पार्दै राजनीतिक संगठन गरेका नेताहरू समेत समाजको दुःस्वप्न बढाउँदै सुविधाको राजनीतिमा लिप्त भएका छन्। हिँड्दै वा कहिले ट्याम्पो चढेर संसद बैठक जाने चित्रबहादुर केसीजस्ता सादगी नेतासमेत ‘उपप्रधानमन्त्री परिषद्’ मा सामेल भएर त्यही प्रवृत्तिमा सही थाप्न पुगेका छन्। त्यही भासमा जाकिन पुगेका छन्।
कर्मचारीको कुरै छाडौं। दुई पाइला चल्नभन्दा सरकारी गाडी चढ्ने आदतले शारीरिक अभ्यासशून्य हुँदा राष्ट्रसेवक भनेका पुट्ट पेट लागेका, बोसो भरिएका प्राणी भन्ने पहिचानै भइसकेको छ। आज मुलुकमा पेट फुलेको व्यक्ति पदाधिकारी हो भनेर चिनिन्छ। हाम्रो पहाडमा मेरी हजुरआमासम्मको गाँड मैले देखेको थिएँ। आयोडिनको कमी हुँदा उतिबेला गाँड स्वाभाविक मानिन्थ्यो। कहावतै बनेको थियो– यो बाबुको सबै राम्रो छ, यत्ति एउटा गाँड आइदिएको भए कति जाति हुन्थ्यो।
गत साता म फेरि सिंगापुर पुगेर एउटा रात्रिभोजमा एसियाली पत्रकारहरूसँग त्यसैगरी रसिक हुन पुगेँ। उनीहरूले आश्चर्यभावले सोधे, ‘यति टाढाबाट साइकल लिएर जाने ?’
हो, नेपालले साइकल बनाउँदैन। सियो त बनाउँदैन! कृषि पनि निर्वाहमुखी हुन छाडेको छ। किसान हुनु भनेको अयोग्यताको पहिचान हुन पुगेको छ। दलाली, बिचौलिया, ठेक्कापट्टा सबभन्दा आकर्षक स्रोत बन्न पुगेका छन्। परम्परागत सीप उद्योग र पर्यटनबाट मात्र केही भरथेग चल्दै थियो, त्यो पनि भुइँचालो र नाकाबन्दीपछि खङ्रङ्ग हुन पुगेका छन्।
‘नाकाबन्दी ?’
त्यो समूहमा दुई जना भारतीय पत्रकार पनि थिए। अरूलाई त झन् नेपालले बेहेरोको सास्तीको कुनै संकेतसम्म रहेनछ। यहाँको आन्तरिक राजनीतिक द्वन्द्व र संघर्ष त बाह्य विश्वलाई विरलै चाखको विषय बन्छ। संयोगवशः भारतीय प्रधानमन्त्री मोदीकै गृहप्रदेश गुजरातकी एक पत्रकार साइकल किन्न म जान लागेको ठाउँसम्म साथ दिन उत्साही भइन्। उनले ट्याक्सीबाट फोन गरेर साँझको एउटा भेट मिलाइन् जहाँ उनी मलाई लैजाँदै थिइन्। ट्याक्सी ड्राइभरले बिल प्रिन्ट गरौं भन्दा मैले जान्ने टोपलिएर पर्दैन भनेँ तर हुनेहुनामी भइछाड्यो।
भारतीय साथीले मूल्यवान् मोबाइल त्यसमै छाडिछन्। ट्याक्सी पत्ता लगाउन सकिने नम्बर त्यत्ति बिल लिन नखोज्ने मेरो कमजोरीको शिकार भयो। उनी थैया थैया भइन् र होटल फर्केर हारगुहार गर्न थालिन्। मैले आफ्नो खल्तीअनुसार एउटा साइकल रोजेँ। हिसाब गर्दा उनको हराएको मोबाइल किन्ने पैसा जति मेरो साइकलमा पर्यो।
साइकल भने भोलिपल्ट साँझ रिसाइकल कागजले बेरिएर मेरै शरीरजत्रो कायामा होटल कोठामा आइपुग्यो। होटल स्टाफले सुझाव दिए– यत्रो आकारको लगेज ट्याक्सीले लैजाँदैन, विशेष भ्यान मगाउनुपर्छ, त्यसको साठी डलर लाग्छ।
विशेष भ्यानमा विशेष लगेजलाई विशेष तरिकाले सत्कार गरीवरी अलक्क राखेर छेऊको आरामदायी कुर्चीमा लचक्क लच्केर कफी पिउँदै म एयरपोर्टतर्फ रवाना भएँ। सडकका दुवैपट्टि साइकल लस्कर लागिसकेको थियो। सिंगापुर भनेकै साइकल मार्गको सञ्जाल थियो।
गम खाएँ, कस्तो संयोग मोदीकै कारण आज मलाई साइकल लैजान प्रेरणा मिलेको छ र मेरै कारण उनकै गृहप्रदेशकी होनहार पत्रकारको मोबाइल क्षति भएको छ। उनलाई सान्त्वनावशः राति ह्विस्की खुवाएँ। बुझ्झकी पत्रकारले जीवनमा कुनै थोक पहिलोपल्ट त्यसरी हराएको अनुभव लिएर आफूलाई साबिक मनस्थितिमा फर्काइसकेकी थिइन्। मैले भनेँ, ‘मेरो साइकलको मूल्य दोब्बर भयो।’ साथीहरूले फेसबुकको ‘क्लोज ग्रुप’ मा उनलाई सान्त्वना दिँदै थिए र मलाई साइकलको शुभकामना।
एयरपोर्टमा सिल्क एयरकी हँसमुख स्टाफले मजत्रै अग्लो लगेज देखेर सोधिन्, ‘यसमा के सामान छ, म थाहा पाउन सक्छु होला महाशय ?’
‘यसमा सानो साइकल बेरिएको छ मेरी प्रिय,’ मैले उनको मुस्कानसहितको अनुहारको आभा बढाइदिँदै भनेँ।
उनी र म मिलेर त्यसलाई ट्रलीबाट झिकेर बेल्टमा ठड्यायौं। नापजोख गर्दा लगेजको तौल ठिक्क भयो। म धन्य भएँ किनभने एक केजी मात्रै पनि बढी नापिएको भए मेरो ढाड सेकिने थियो।
उनले शुभयात्रा भनेर बोर्डिङ कार्ड दिँदै लगेज अर्को ठाउँ पुर्याउन आग्रह गरिन्। टाढाबाट अर्का स्टाफ आएर मेरो सामान बडो जतनसाथ ट्रलीमा गुडाउँदै लगे। अनि मलाई भने, ‘तपाईं अब ढुक्कले भित्र जानुहोस्, यो सामान हाम्रो जिम्मा भयो।’
‘सिस्टम’ले चलेको देशमा म ढुक्क थिएँ, बरु पाँच घन्टापछि ‘सिस्टम’ले नचलेको आफ्नै देशमा पो भुक्तमान हुनु थियो त।
काठमाडौं विमानस्थल अन्तर्राष्ट्रिय हो भन्ने कुनै छेकछन्द थिएन। साँघुरो र अँध्यारो हलभित्र कति घच्चीपच्ची, कति अव्यवस्था, कति सास्ती र कति तानातान थियो भने आफ्नो सामान आइपुग्ला र सकुशल बाहिर निस्कुँला भन्ने निर्धक्क यात्री कोही देखिन्थेनन्।
असरल्ल र अस्तव्यस्त लगेज बुझ्ने ठाउँमा यति धेरै स्टाफ थिए, ती किन कता केका लागि खटिएका छन् भन्ने भेऊ पाउन सकिन्थेन। लगेज कतिखेर आइपुग्ला भन्ने कुनै संकेत हुन्थेन।
काठमाडौंका ठूलाबडाका लगेज बेल्टमा आइनपुग्दै भित्र कतै अँध्यारा ठाउँबाट ट्याग मिलाएर निकालिहाल्न स्टाफ खटिएका हुन्छन्। त्यो माहोलमा रेमिटान्स पठाउने खालका श्रमजीवी सबभन्दा बिलखबन्दमा हुन्छन् र खप्की पनि सबभन्दा बेसी तिनैले खान्छन्। मलाई असिनपसिन देखेर एक जना स्टाफले सोधखोज गरी लगेज आउने व्यवस्था गरिदिए। मैले धन्यवाद भनेँ। आयो पनि। ट्रलीमा राखेर भन्सार डेस्क रहेको क्षेत्रतिर आउँदै थिएँ, जात्रा सुरू भइहाल्यो।
भन्सार डेस्क अगाडि बाटोमा अनगिन्ती स्टाफ उभिरहेका थिए। एक जनाले मेरो लगेज हेर्दै ‘के छ यसमा’ भनी ठाडो पाराले सोधे। ‘साइकल हो’ भनेपछि ‘कति हाल्नुभयो’ भनेर सोधे। ‘भन्सार तिर्नुपर्छ’ भनेर सतर्क पारे। ‘मलाई थाहा छ’ भन्दै मैले भन्सार तिर्ने संकेत लेखिएको डेस्कतिर ट्रली मोडेँ।
‘यसको भन्सार धेरै लाग्छ,’ उनले मलाई रोकेर भने।
‘ठीकै छ।’
‘किन तिर्नुहुन्छ ?’ उनले उल्टै सोधे।
‘नतिरे पनि हुन्छ र ?’ मैले सोधेँ।
यात्रुको भीड ठेलमठेल थियो र स्टाफहरू पनि यत्रतत्र थिए।
‘छ हजारभन्दा बढी लाग्छ,’ उनले भने।
‘हुन्छ’ भन्दै पर्स निकालेर म भन्सार डेस्कतिर जान ट्रली गुडाउँदै थिएँ।
उनले रोकेर ‘बेकारमा किन तिर्नुहुन्छ’ भनी फेरि सोधे।
‘तपाईंको सुझाव के हो ?’
‘यत्तिकै जानुहोस्,’ उनले भने, ‘अगाडि कसैले रोक्दैन।’
उनले एक जना कसैलाई चर्को स्वरले बोलाएपछि मलाई फेरि भने, ‘त्यो भाइले तपाईंलाई लिएर बाहिर जान्छ, पार्किङमा पुगेर उसलाई यसो मिलाएर दिनुभए हुन्छ।’
मैले कुरा बुझिहालेँ।
मन चोर्न उनलाई सोधेँ, ‘कति दिए हुन्छ भाइलाई ?’
‘यसो खुसुक्क पैंतीस सय दिनोस्न,’ उनले भने र त्यो भाइलाई इसारा गर्दै मलाई धकेलेर अगाडि बढ्न लगाए। म हुत्तिएजस्तो भएँ। त्यो भाइ मेरो अघि लाग्दै थियो, सायद अगाडिको ‘नाका क्लिएर’ गराउन।
मेरो पालो ट्रली सरक्क फर्काएर ‘खै खै’ भन्दै स्टाफको भीडभित्रबाट भन्सार डेस्कतिर पुर्याएँ। डेस्कमा दुइटी महिला रातो कागजमा केही लेख्न घोप्टी परेका थिए। एउटीले ठाडै बोलिन्, ‘भन्सार तिर्नुपर्छ, थाहा छ कि छैन ?’
‘तपाईंको अगाडि म किन आएँ होला त ?’
उनले रातो कागजमा साइकलको महशुल लेखिन्, जम्मा पैंतीस सय चानचुन। मैले पैसा निकाल्दै थिएँ, केही पर भित्र कोठामा लगेर बुझाउन अह्राइन्। ट्रली भित्र लग्न पाइन्थेन। टाढाबाट आफ्नो लगेज टुलुटुलु हेर्दै फलामे डन्डी भएको अँध्यारो कोठामा भन्सार तिर्दा एक जना स्टाफले झिँजो मानेझैं नगद बुझेर कागज दिए।
भन्सार तिर्न न त्यहाँ कुनै उत्प्रेरक वातावरण थियो न स्याबासी नै। यो देशका सरकारी निकायमा राजस्व बुझाउन जाँदा कहीँ कतै कहिल्यै धन्यवाद भन्ने शब्दको नामनिसान सुन्न पाइँदैन। कर्मचारीका अनुहारमा कृतज्ञताभाव झल्किँदैन। तिनका नाकमै ठोकिने गरी मिलिभगतको धन्दा चलिरहेको हुन्छ, तिनले थाहा नपाएझैं गरी बसिरहेका हुन्छन्। राज्यलाई महशुल बुझाउनु भनेको सजाय तिरेको भान हुन्छ। कर, तिरो, राजस्व, महशुल बुझाउन नागरिक उत्साही बन्न सक्दैन, हतोत्साही हुन्छ। केरकारमा पर्छ। झन्झटबाट मुक्त हुनमात्र सरकारी निकायमा पुग्ने मनोदशा व्याप्त बनाइएको छ।
भन्सार डेस्कको सामुन्ने म आफैंले बेहोरेँ– तिनले थाहा पाउने गरी चोर बाटो सामान सरासर बाहिर पठाउन दिने र पार्किङमा घुस लिने वातावरण अहोरात्र अविच्छिन्न छ। मैले त्यतिका विधि स्टाफ नियाल्दा एउटै पनि अधिकृतस्तरका कर्मचारी वरपर देख्न सकिन। गुनासो गर्ने ठाउँ कतै पनि राखिएको छैन। उच्चस्तरका अधिकृत उपस्थित हुँदैनन् र तल्लो स्तरकालाई भन्सार छल्न लगाएर मिलिभगत चलाउँछन्। ती स्टाफ हेर्दैमा दुःखी, निरुपाय, दरिद्र देखिन्छन्, टीठ लाग्छ। आक्रोश उब्जिन्छ, तिनलाई त्यहाँ त्यसरी खटाउने उच्च जालोमा तल्लीनहरू सम्झेर।
प्रसंग कहाँ त्यत्तिमा टुंगिदो रहेछ र ?
भन्सार डेस्कबाट फर्किनासाथ म स्टाफहरूको घानमा परिहालेँ। त्यसअघि कतै नदेखिएकी एउटी स्टाफले चर्को स्वरमा मलाई सोधिन्, ‘के तपाईंलाई मैले यता फर्काइदिएको हुँ ?’
म चित् खाएँ।
मसँग मोलतोल मिलाउने स्टाफलाई देखाउँदै उनले फेरि भनिन्, ‘मैले तपाईंलाई फर्काइदिएँ भनेर उहाँ मलाई गाली गर्दै हुनुहुन्छ, के मैले तपाईंलाई फर्काइदिएकी हुँ त ?’
‘म आफैं फर्केको हुँ,’ मैले भनेँ।
ती महिला आफू बचेको सान्त्वना पाएर ढुक्क भइन्। उनी किञ्चित पनि आफ्नो ‘गल्ती’ आफ्नो समूहमा नदेखियोस् भनेर चोखिन चाहन्थिन्। मिलिभगतको च्यानलभित्र उनी विद्रोही भएको पक्का अरूले पोल लगाइदिएका थिए। म भन्सार तिर्न मोडिनु नै उनीहरूका लागि ठूलो सोधखोज, हल्लीखल्लीको विषय भइसकेको थियो। मिलिभगतको स्टाफले ध्वाँसे अनुहार पार्दै मछेऊ आएर अरूको सामुन्ने फेरि भने, ‘किन फर्किनुभयो ?’
‘भन्सार बुझाउन,’ मैले भनेँ।
‘मैले पर्दैन भनेको थिएँ त,’ उनले हकारे।
‘किन नपर्ने ?’ यतिखेर बल्ल म चर्किएँ।
झन् उनी पो चर्किन थाले, ‘आइन्दा तपाईंले सधैं भन्सार तिर्नुपर्छ, पख्नोस् न।’
भन्सार बुझाएवापत् नेपाल सरकारका कर्मचारीबाट नेपाल राज्यको संवेदनशील क्षेत्रमा म बकाइदा त्यो चेतावनीपछि झन् अपमानित भएँ।
स्वदेश फर्किने मूलद्वारमा त्यसरी ठूलो संख्यामा तल्लोस्तरका कर्मचारी तैनाथ गरेर खुला मिलिभगत चलाउन लगाउनेहरूप्रति रोषभाव लिएर म बाहिर निस्किएँ। एयरपोर्टबाहिर लगेज कसरी घर पुर्याउने अर्को चिन्ता छँदै थियो। ट्याक्सी छोइसाध्य हुने गुञ्जायस अरू बेला त हुन्थेन भने त्यस्तो लगेजका लागि भ्यान कहाँ पाउनु ?
विमानस्थलबाहिरको अर्को दिशाविहीन सदाको भीडम्भीडबीच उभिँदा पर साझा बस देखेर तीन बित्ता उफ्रिँदै ट्रली उफार्दै लम्किएँ। विमानस्थल जाने–आउनेका लागि बसको न्यूनतम व्यवस्थासमेत सरकारले गरेको छैन। धन्य साझाले केही खेप चलाउने गरेको छ। तर, कन्डक्टरले सुरुमै खिसिक्क पारिदिए, ‘लगेज लैजान दिने हामीलाई अनुमति छैन।’
‘लगेज यहीँ छाडेर ममात्रै कसरी जाने त ?’ मैले सोधेँ।
विमानस्थल जाने बसले यात्रुमात्र ओसार्छ भन्ने मलाई थाहा थिएन। उनले केही बेर सोचेर ‘दुई सय दिनोस्न’ भने। बसको पुछारमा सुटकेस पनि चढाएपछि थप पचास रूपैयाँ मागे। यात्रुका रूपमा मैले थप छुट्टै दिनु छँदै थियो। सबै जोडेर त्यति बराबरको रसिद च्यात्दै उनले मलाई अर्धकट्टी दिए। त्यो नै ठूलो राहत थियो।
एउटा चोकमा लगेज झारेर एक जना भाइलाई मगाएँ र उनलाई भरिया बनाएर सहरभित्र छिरेँ।