‘ मोदी सर, नेपाल वास्तवमा मष्तिष्कले चल्ने देश नै होइन। मष्तिष्कले चल्ने भए, यति धेरै प्राकृतिक स्रोत भएको देशको यो हविगत हुने नै थिएन। नेपाल खासमा भावुक, आवेगी र सन्कीहरूको देश हो जो प्रेम र घृणा मनैदेखि गर्छ। बानेश्वरका सडकमा तपाईँले हिजो प्रेम र अपनत्व जगाउनुभयो। यो उन्मादी देशले तपाईँको उन्मादपूर्वक स्वागत गर्यो। तर, नौ महिनामा नै त्यो अपनत्वले नाकाहरूमा आत्महत्या गर्यो र यो देश तपाईँलाई घृणा गर्ने तहमा पुग्यो।’
- कृष्णज्वाला देवकोटा
मुलुक संकटमा छ, आधुनिक अर्थको ‘देश’ त यो अझै बनिसकेकै छैन। बन्दै छ। मुलुक ‘देश’ मा रूपान्तरित भइसकेको भए, एउटा भागमा मोदीजीको पुत्ला जलाइँदा कुनै अर्को भागमा मोदीको जयगान हुने थिएन।
‘मुलुक’ र ‘देश’ शब्द बिचको यो मसिनो तर गहिरो पारिभाषिक अन्तर बाहेक म कृष्णज्वाला भाइका तिख्खर शब्दहरूसित सहमत छु।
मोदीजीको पुत्ला जलाइयो, मलाई खासै भन्नु केही छैन। यतिका मान्छेलाई दुःख दिने काम गरेपछि, पुत्ला नजलाएर माल्यार्पण गर्ने कुरा पनि त भएन नि। मलाई लाग्छ मोदीजी स्वयम्लाई पनि यो समाचार सुनेर खासै फरक परेन होला। भारतका प्रायः नेताहरूलाई फूलको माला र जुत्ताको माला पालैपालो लगाउने लामो ट्रेनिङ र बानी हुन्छ।
भारत सरकारका विषयमा एकैछिन पछि थपौंला, आलेखको सुरूवात नेपाल भित्रकै पृष्ठभूमिबाट गरे समाधानको उपाय सजिलो हुन्छ।
***
‘तेल कहिले आउँछ विजय दाइ?’
‘कुन तेलको कुरा गरेको बाबु? तेल त धेरै किसिमका पो छन् त’
‘क्या ठट्टा गर्नु हुन्छ हजुर पनि। बाइक चलाउने तेल क्या।’
‘ए त्यो बाइक चलाउने तेल! मेरो लाटो बुद्दिमा त्यो तेल सजिलै पाउन चार विकल्प छन्। हाम्रा नेताले या त भारतसँग कुरा मिलाउनुपर्यो या मधेशको समस्या सुल्झाउनुपर्यो या चिनियाँ तेल तिब्बतबाट झार्नुपर्यो या बंगलादेशी तेल उडाएर ल्याउनु पर्यो। यो चार थोकमध्ये जे गरे पनि हुन्छ।’
‘अर्को कुनै उपाय छैन दाइ?’
‘छ नि, एक अचुक उपाय छ। बाइक नचढ्ने, हिँड्ने।’
‘तपाईँको विचारमा यीमध्ये सजिलो उपाय के होला विजय दाइ?’
‘मेरो विचारमा सस्तो उपाय मधेशी नेतृत्वसँग कुरा मिलाउँदा हुन्छ।’
‘मधेशी नेताको चंगाको धागो त भारतको हातमा छ भन्छन्। उतै कुरा मिलाए हुन्न र।’
‘मधेशी नेताको मात्र किन? पहाडी नेताले पनि बिना धागो राज गरेका थिए र? नयाँ आउने सरकारको धागोको लम्बाई नाप्न पनि धेरै दिन कुर्न बाँकी छैन भाइ।
‘मधेशलाई बाइपास गरेर सिधै दिल्लीसित कुरा मिलाए हुन्न र विजय दाइ?’
‘नहुने त होइन, तर तेल तिरिनसक्नु महंगो पर्छ। आजको दिनमा मधेशलाई न मिलाई काठमाडौंबाट सिधै दिल्ली ताकियो भने, दिल्लीको साहुले ‘तेल डिल’ मिलाएबापत नेपालसित ज्यादै चर्को कमिसन लिन्छ।
राजा वीरेन्द्रले त्यही चुरो बुझेकाले २०४६ मा नेपाली नेतालाई राजदरबारमा निमन्त्रणा दिएर बोलाए अनि बहुदल दिएर पठाए। तर, दिल्लीको डिलरले दिएको दिल्ली सम्झौताको निम्तो स्वीकारेनन्।
अहिलेका नेताजीले राजा वीरेन्द्रको यो प्रकरणबाट शिक्षा लिए, देश धापबाट चाँडै निस्कन्छ। मैले कुनै नयाँ कुरा गरेको होइन। दिव्य उपदेशमा पृथ्वीनारायण शाहले ‘दक्षिणको बादशाह’ बारे भनेको कुरा फेरि एक पटक पढ त भाइ। अब त नयाँ आउने सरकारले पनि सरकारी गजेट मै छाप्ला पृथ्वीनारायणको दिव्योपदेश। किनभने, हिजोसम्मका ‘अछुत’ कमल थापाको पनि पानी चलिसक्यो, गणतन्त्रको भात भान्छामा।’
***
अब अलि गम्भीर विषय।
एक उच्च भारतीय कुटनैतिकसँग हालै अंग्रेजी भाषामा भएको अनौपचारिक कुराकानीका अंशहरू:
‘तपाईँको विचारमा अहिले देखिएको नाकाबन्दी समस्याको समाधान कसरी होला महामाहिम?’
‘मधेशमा देखिएको समस्या र गुनासाहरू तपाईँहरू आपसी वार्ताद्वारा सुल्टानुहोस्। त्यसपछि बाँकी समस्या पनि स्वतः मिल्दै आउनेछन्।’
‘मलाई त एक ठूलै नेताले भनेका छन्-मधेसी आन्दोलन आफैंमा केही होइन, यसको चाबी भारतको हातमा छ। तपाईँको कुनै कमेन्ट छ?’
‘जो नेताहरु मधेश आन्दोलन पछि आफैं त्यहाँ पुगेका पनि छैनन्, तिनले यस्तो अज्ञानी कमेन्ट बाहेक के गर्न सक्छन र? त्यतिका जनता दुई महिनादेखि आन्दोलित छन्। तिनको समस्या आज समाधान गर्न सकिएन भने भविष्यमा स्थिति झनै जटिल हुँदै जान्छ। हाम्रो चाहना त्यो स्थिति नआओस् भन्ने मात्र हो। संविधानमा सबै नेपालीका भावना समेटिउन् भनेर प्रधानमन्त्री मोदीले संविधानसभामा भाषण गर्दा सबै पार्टीले ताली ठोकेका होइनन्? संविधानमा मधेसीका भावनालाई पनि सन्तुष्ट पारिने छन् भनेर नेताहरूले पटक पटक भारतलाई बचन दिएका होइनन्? भारतलाई थाहा छ, आज निकै नेपाली जनता भारतसँग रिसाएका छन्, भारत विरोधी यहाँ भावना बढ्दो छ। हामी त्योप्रति चिन्तित र सजग छौं। तर, समस्याको निदान खोज्ने हो भने नेपालका नेताहरूले आफूभित्र पनि हेर्न सक्नुपर्यो। जनतालाई आधा कुरा बताएर समाधान हुँदैन।’
‘हिजोका दिनमा कुन कुन नेपाली नेताले भारतलाई केके वचन दिएका थिए, त्यो हामी सामान्य जनता कसरी चाल पाउन सक्छौ र? त्यो हिसाबकिताब तपाई दिने-लिनेहरू आपसमा मिलाउँदै गर्नुहोला। तर, दसैं तिहार जस्तो ठूलो चाडबाड, जुन चाड भारतमा पनि मनाइन्छन्, त्यस्ता पर्वको मुखमा आएर एउटा सानो गरिब देशलाई यसरी पेल्नु मानवीय हो र? युद्वरत छँदा पनि मध्यपूर्वमा प्यालेस्टाइन र इजरायलबिच चाडबाडको बेला तिक्तता स्थगन गरिन्छ। सामान्य नेपालीले यस्तो के गल्ती गरे, तपाईँहरू आज यस्तो व्यवहार गर्दै हुनुहुन्छ?
‘विजय तपाईँको भनाइ भावनात्मक र शक्तिशाली छ। तर अधुरो छ। यो समस्याको जड नेपाल भित्रै छ। त्यसैले समाधानको उपाय पनि त्यही भित्रबाटै आउनुपर्छ। त्यसपछि हामी पनि सक्दो सहयोग गरौंला। वाइ द वे, तपाईँको निजी विचारमा चाँही समाधानको उपाय के होला?’
‘म कोठा भित्र एउटा र बाहिर अर्को कुरा गर्ने मानिस होइन सर। मलाई लाग्छ, यस प्रकरणमा दुवै देश जानिनजानी नराम्री चुकेका छन्। भारत ठूलो भएकाले, म गल्ती तपाईँहरूको बढी देख्छु। किभने ठूलो देश भनेको ठूलो जिम्मेवारी पनि हो। ठूलो देश हुनु भएको सानाकाप्रति बढी संवेदशील हुनु पनि हो।
हुन त मलाई यो पनि थाहा छ विश्व राजनीतिमा देश ठूलो हुँदैमा त्यसको ह्रदय हमेशा ठूलै हुनुपर्छ भन्ने छैन। इतिहास र वर्तमानमा अमेरिका, रूस र चीनले आफूभन्दा कयौं गुना साना देशसँग अकारण निहुँ खोजेर तिनलाई अनाहकमा धेरै दुःख दिएका अनेक उदाहरणसित पनि म परिचित छु।’
‘मैले समाधानका उपायबारे तपाईका विचार जान्न चाहेको थिए विजय’
सुनेर तपाई छक्क पर्ने होला महामहिम, मेरो विचारमा अहिलेको यो किचलो दीर्घकालमा सबैका लागि धेरै हितकारी प्रमाणित पनि हुन सक्छ। यसले मधेश र पहाड बिचको समबन्धलाई बढी समतामुलक बनाउने सम्भावना पनि त्यतिकै छ। मधेसलाई टेकन फर ग्रान्टेड गर्ने युग समाप्तितिर लाग्ने छ।
यो किचलोले नेपाल-भारत सम्बन्धको ऐतिहासिक कारपेट मुनी जमेको धुलोलाई पनि राम्ररी टकटकाएर, झारेर –अलि बढी सफा र पारदर्शी बनाउने छ।
तत्कालिन समाधानबारे बोल्नु भएन नि विजय?
म एउटा मुडी मानिस हुँ (हाँस्दै) कहिले बोल्दै नबोल्ने। कहिले धेरै बोल्ने। मेरो विचारमा तत्काल गर्ने भनेको नेपालका राजनीतिक दल र सरकारले मधेशलाई आशाको केही सकारात्मक सन्देश दिनैपर्छ। उधारो होइन नगदी सन्देश। म यहाँ नेर ‘केही’ शब्दको प्रयोग गर्दैछु। त्यसपछि मधेश नेतृत्वले आन्दोलन पनि स्थगन गर्नुपर्छ। उसका सबै माग पुरा नभए पनि स्थगित गर्नुपर्छ। कमसेकम दशै, दिपावली र छठसम्मका लागि। त्यो बेलासम्म कुरा मिली पो हाल्छ कि! मिलेन भने पनि, राजनीति भनेको त लामो खेल हो नि। जुन कुरा इजरायली र प्यालेस्टाइनीबीच चाडबाडको बेला हुन सक्छ, यहाँ किन हुन सक्दैन? यो एकछिन सुस्ताउने र सोच्ने समय हो। अब म बाटो लाग्छु महामहिम।’
‘Pleasure seeing you Vijay!’
‘Same here Excellency! I am remembering a Hindi song तुझ्से नाराज नहि जिन्दगी, हैरान हुँ मै, परेशान हुँ मै, Anyway Thank you for seeing me.’
***
२१ असोज बिहिबार बिहान प्रचण्डजीलाई भेटन गएँ।
मैले जीवनमा टेलिभिजनको स्टुडियो बाहिर बिरलै नेतालाई मात्र भेटेँ। प्रचण्डजी, मैले पछिल्ला वर्षहरूमा सबैभन्दा बढी भेटेको नेता हुन्। गएको वर्ष चार पाँच पटक भेटेँ होला। गुणदोष आफ्नै ठाउँमा होलान् तर आज पनि नेपालमा सबैभन्दा ‘क्यारेस्मैटिक नेता’ उनै हुन्, कमसेकम मेरो नजरमा। मसँग कोठामा झुठ कुरा पनि अलि कमै बोल्छन्। कमसेकम, मलाई त्यस्तो भ्रम छ। गम्भीर कुरा गर्दागर्दै कहिलेकाँही यस्तो बालसुलभ सरलताका साथ प्रचण्ड मुस्कुराउँछन्, दृश्य हेर्न लायक मनमोहक बनेर आउँछ।
परस्पर विरोधी अनेकौ पत्र-पत्र मिलेर बनेको छ पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यक्तित्व। म प्रचण्डजीलाई उनले बोल्ने शब्दभन्दा उनको चेहराको भावबाट पढ्न रुचाउँछु।
हिजो बिहान लाजिम्पाट पुग्दा प्रचण्डजीको चेहरामा मैले दुई थरि भाव प्रस्ट पाए। पहिलो कुरा-नयाँ संविधान ल्याउनमा आफूले खेलेको भूमिकाबारे उनलाई सन्तोष छ। त्यसबाहेक संसदीय अंकगणितमा अचानक आफ्नो महत्व बढेर गएको प्रफुल्लता पनि चेहरामा प्रस्टै देख्न सकिन्छ। तर बेलाबखतमा उनको चेहरामा सुदूर भविष्यका प्रति अनिश्चयको छायाँ पनि झल्कन्छ। बडा जोड दिएर प्रचण्डजीले भने:
‘हेर्नुहोस् विजयजी! म सहमतीय सरकारको पक्षमा छु। अहिलेको अवस्थामा सरकार यदि सहमतीय हुन सकेन भने, त्यसको कालो छायाँ नवजात संविधान माथि सोझै पर्नेछ। भद्र सहमति पनि त्यही थियो।’
सहमति भएन भने के गर्नु हुन्छ प्रचण्डजी?
त्यस्तो प्रश्नै नसोध्नुहोस् मलाई विजयजी। प्रमुख तीन दलबीच सहमति हुनैपर्छ।
केही गरि मतदानको अवस्था आयो भने के हुन्छ?
त्यस अवस्थामा हामी सायद एमालेको पक्षमा मतदान गर्ने छौं।
मधेश समस्याको चुरो के हो?
‘त्यहाँ केही जायज गुनासा र समस्या नभएका होइनन्। तर भारतले त्यसमा जटिलता थपेको छ। उनीहरू चाहन्छन्-मधेशमा जम्मा दुई प्रदेश मात्र होऊन्। चुरो त्यही हो जस्तो लाग्छ। अरु विषयमा त संशोधन दर्ता भएकै छ नि। बाँकी विषयमा पनि छलफल गर्न हामी त तैयार नै छौं। मुख्य जटिलता सीमांकनमा हो।’
त्यो किन मिलाउन हुन्न त?
‘हाम्रो पार्टीले एक्लै मिलाउन नसक्ने कुरा हो त्यो। कांग्रेस र एमाले ज्यादै रिजिड छन् त्यसमा।’
अरू केही भन्नु छ कि प्रचण्डजी?
‘नेपाल आफ्नो इतिहासको एक संवेदनशील मोडमा उभिएको छ। आउँदो केही समयले, हाम्रो भविष्य बारे धेरै कुरा पुन: परिभाषित गर्ने बेला आए जस्तो लाग्छ।’
***
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का बीपी कोइराला र किशुनजीको सानिध्यमा बस्ने मौका पाएका नेता हुन्। आज शुक्रवार बिहान शब्द नचपाइकन सिधै भने:
‘नेपाली जनताको हैरानी र दुःखका दिन तत्काल सकिएलान् जस्तो मलाई लाग्दैन। हाम्रो समग्र दलको राजनीतिक नेतृत्वले-बाहिर देखाउँने ढोंगी राष्ट्रवाद र भित्र गर्ने आत्मसमर्पणवादबीच च्यापिएर नेपाली जनताको जीवन निस्सासिन थालिसक्यो। यो गहिरो पाखण्डको अध्ययन मनन् जरूरी छ। जबसम्म ढोङवाद र आत्मसमर्पणवादको यो राष्ट्रघाती खेल नेपालमा चल्छ, तबसम्म यहाँ न नेपाली जनताको गरिबी घट्छ, न भारतसँग हाम्रो सम्बन्ध सुमधुर हुन सक्छ।’
नयाँ सरकार गठनबारे तपाईँको विचार के छ पूर्णजी?
पार्टीले आजै निर्णय गर्नेछ। मेरो र म जस्ता कयौं साथीको व्यक्तिगत विचार छ-यस पटक हामीले ओलीजीलाई समर्थन दिनुपर्छ। त्यसपछि उत्पन्न हुने एकत्रित शक्ति लिएर भारतसँ आँखामा आँखा राखेर लेनदेन गर्न सजिलो हुनेछ। कुरा मिलाउनुपर्ने भारतसितै हो। हाम्रा निम्ति भारतसित पंगा लिएर अरु कोही देश चाहिदो मात्रामा सघाउन आउलान् भन्ने भ्रममा नबस्दा हुन्छ। म यस विषयमा हमेशा स्पष्ट छु।’
यति भनेर पूर्ण खडका चुप लागे। अरू केही थप्ने आवश्यकता देखेनन्।
***
आजको मधेश के चाहन्छ त?
बडा गहिरो तवरले काठमाडौंमा बुझिनुपर्ने कुरा-‘नयाँ नेपाल’ मा पुरानो मधेशको कल्पना नगरौं। मधेश आन्दोलनका विषयमा कान्तिपुर दैनिकमा चन्द्रकिशोर भाइले अथवा सेतोपाटीमा गिरिश गिरी भाइले के लेख्दै छन् भन्ने कुरा मनन् गर्न जरूरी छ। मैदानबाट आएका आवाज हुन् ती।
यो त्यो मधेश होइन जो काठमाडौंबाट फरमान जारी गर्ने बितिकै अथवा दिल्लीबाट हुकुम हुने बितिकै ‘स्यालुट’ मुद्रामा खडा हुन्थ्यो।
यदि हामी नयाँ नेपाल बनाउन चाहन्छौ भने, हामीले नयाँ मधेश पनि स्वीकार्नै पर्छ। नेपाल चाँही ‘नयाँ’ हुने रे अनि मधेश चाहीँ पुरानो रहनै सक्दैन। तर यसो भनिरहँदा मधेशले पनि बुझ्नुपर्छ-उसको मागपत्रमा दिइएका सबै माग पुरा हुन सक्दैनन्।
आदरणीय महन्त ठाकुरजी, आज म तपाईंलाई र तपाईंमार्फत् मधेश आन्दोलनमा संघर्षरत सबै नेतागणलाई केही अनुरोध गर्न चाहन्छु। महन्तजी तपाईं मधेश आन्दोलनको नेता त भर्खरै मात्र हुनु भएको हो। होइन भने तपाईँको जीवनको एक ठूलो अंश समग्र नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको नेताका रूपमा पनि बितेको छ।
तपाईंभन्दा बढ्ता कसलाई थाह होला र? एकैदिन, एकै रात, एकै छाकमा त प्रजातन्त्र पुनर्स्थापित भएको होइन। गणतन्त्र पनि त छुमन्तर गरेर आएको होइन नि।
आज मधेशको मुद्दा स्थापित भइसकेको छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै जगतमा। अब यो कसैले मेटेर मेट्न सक्दैन। अहिलेलाई सकिने जति विषयमा सम्झौता गरौं। बाँकी संघर्षपछि चल्दै गर्ला।
अहिले दसैं, दीपावली र छठको बेला पनि हो। मलाई थाहा छ, यसपटकको राखी र कृष्ण जन्माष्टमीको महान पर्व मधेशमा कर्फ्युबीच मनाइयो। तपाईँको मनको तुष म बुझ्न सक्छु। तर नेता त्यो हो, जसले विगतको अपमान बिर्सेर पनि समाजलाई नयाँ उज्यालोतर्फ लिएर जाने आँट राख्छ। तपाईंमार्फत् यही कुरा मधेश आन्दोलनमा होमिनु भएका समस्त आदरणीय नेतागणलाई पनि बिनम्र अनुरोध गर्न चाहन्छु।
एक पटकका निम्ति, छठसम्मका लागि आन्दोलन स्थगित गरौं। मलाई विश्वास छ, त्यतिन्जेल जरूर कुनै बाटो निस्कने छ। आदरणीय महन्तजी त्यसपछि पनि चित्त नबुझे, फेरि आन्दोलनमा जानु होला।
महन्तजी, त्यो आन्दोलनको सुरुवात चाहिँ काठमाडौंबाटै गर्नुहोला। आफ्नो हक आफ्नै देशको राजधानीमा माग्नुहोला। त्यो आमसभामा मधेशलाई सुन्न अकल्पनीय संख्यामा राजधानीबासी स्वःस्फूर्तरूपले आउने छन्। त्यहाँ मधेशलाई सुन्न आउने अनगिन्ति अनुहार मध्ये, एउटा मुहार मेरो पनि हुनेछ।
तर, मलाई विश्वास छ, त्यो दिन आउनअघि नै स्थिति धेरै हदसम्म सुल्झिसकेको हुनेछ। स्थिति सुल्झिसकेको अवस्थामा पनि राजधानीमा आमसभा गर्न नछुटाउनु होला महन्तजी। त्यसलाई हामी राष्ट्रिय एकतासभाका रुपमा झन उल्लासका साथ मनाउने छौ।
तीन ठूला दल (आजको दिनका) का नेताले पनि स्पष्ट बुझुन्–आजको दिनसम्म मधेशसँग मुलुकको बाँकी भूभागको ‘मनभेद’ भएको छैन। मतभेद मात्र हो। मनभेद नभएसम्म मतभेद सुल्झाउन सजिलै सकिन्छ। मनै फाटेपछि सकिन्न, केही गरे सकिन्नँ।
त्यो दुर्घटना बेला छँदै रोकौं। आफ्नो हातमा छँदै रोकौं।
इमेल-[email protected]
फेसबुक- https://www.facebook.com/vijaykumarpanday.official
ट्विटर- https://twitter.com/Vijaykumarko