निजामती सेवामा कार्यरत रहेको कारण देशको भूगोल र जनसंख्याको बारेमा जान्ने बुझ्ने अवसर प्राप्त हुन्छ। इलाका प्रशासन कार्यालय दुल्लु दैलेखबाट इलाका प्रशासन कार्यालय टीकापुर कैलालीमा सरूवा भै २०६१ पुसबाट २०६३ साल कात्तिक महिनासम्म झण्डै २३ महिना लगातार बस्न पाएँ।
स्वभावतःआफू बसेको ठाउँको बारेमा केही टिकाटिप्पणी हुँदा कान ठाडँ हुँदारहेछन्। इलाका प्रशासन कार्यालय टीकापुरको शाखा अधिकृत पदमा रहेर काम गर्दाको तत्कालीन समयमा टीकापुरबासीबाट पाएको अगाध स्नेह सहयोग र सद्भावको कारण अहिले पनि धेरै साथीहरुसँग नयाँ ठाउँहरुको अनुभव शेयर गर्ने आग्रह आउँछ। सबै मैले पूरा गर्नसकेको छैन तथापी भर्खरै घटित घटनापछि मलाई लेख्न मन लाग्यो।
टीकापुर सुदूर पश्चिमको नमूना शहर हो भन्दा अतिशयोक्ति हुँदैन। २०२८ सालमा तत्कालिन राजा महेन्द्रबाट खड्गबहादुर सिंहको अध्यक्षतामा टीकापुर विकास समिति गठन गरी व्यवस्थित बसोबास गराउने योजनाको सुरूआत भएको रहेछ। जंगल फडानी गरेर लगभग ३४ सय विगाहा जग्गामा योजनाबद्ध ढङ्गबाट बस्ती विकासको काम सुरू भएपछि मुलुकका अधिकांश भूभागबाट नेपाली नागरिकहरू आइ बसोवास गरेका छन्। मुख्यतया यहाँ सुदूर तथा मध्य पश्चिमका जिल्लाबाट बसाइ सरी आएका र स्थानीय थारू समुदायका मानिसहरुको बसोवास छ। तत्कालीन सशस्त्र द्वन्द्वका कारण धेरै ठाउँका इलाका प्रशासनहरु जिल्ला सदरमुकाममा सारिएपनि टीकापुरको भने यथावत थियो। सदरमुकाम धेरै टाढा भएको र स्थानीय नागरिकहरूको सहृदयताको कारण इलाका प्रशासन प्रति कुनै गुनासो समेत थिएन।
टीकापुरको बाटो हुँदै भारतको तिकुनिया जान सकिन्छ। नेपाल भारत सीमामा रहेको मोहना नदीमा पुल बनिसकेपछि यहाँको व्यापार व्यवसाय अझ परिस्कृत बन्दै गएको छ। नेपाल भारतवीचको व्यापारको लागि सतिबजार खक्रौला नाका १०० वर्षभन्दा पुरानो नाका मानिन्छ। यहाँबाट सुरूभएको कारोबार अछाम लगायतका पहाडी जिल्लाहरुमा फैलन्छ।
ठूलो व्यापारिक सम्भावना बोकेको र एकपटक बसेको ठाउँ कस्तो भएछ भन्ने कौतुहल लाग्दा गतबर्ष तिहारको समयमा टीकापुर पुगेको थिएँ। त्यो टीकापुर र यो टीकापुरको बिचमा ठूलो अन्तर आएको महसुस भयो। नेपालमा केराको परिकारमात्र खान पाउने कालु हमालको व्यवसायले राष्ट्रिय चर्चा पाइसकेको छ। पर्यटकीय गन्तव्यको रूपमा टीकापुर पार्क र कैलाली नदीको किनाराले मानिसलाई लोभ्याउँदै गएको छ।
हुलाकी राजमार्ग अन्तर्गत राजापुर जोड्ने कर्णाली नदी माथिको पक्कीपुल अन्तिम चरणमा पुगिसकेको छ। यो राजमार्गले टीकापुरबाट छोटो दूरीमा राजापुर गुलरियाहुँदै नेपालगञ्जलाई जोड्छ। हुलाकी राजमार्गले टीकापुरको उत्पादनलाई कम लागतमा नेपालगञ्जसम्म पुर्याउन र नेपालगञ्जसंगको व्यापारिक क्रियाकलापमा बढोत्तरी गराउन मद्दत पुग्नेछ।
अत्यन्तै व्यवस्थित सडक सञ्जाल सहितको टीकापुरमा पहाडी क्षेत्रमा उडान सञ्चालन गर्न आवश्यक हवाइ मैदानसमेत रहेको हुँदा पहाडी जिल्लाहरुको पहुँचका लागि समेत उपयुक्त बन्दै गएको देखिन्छ। विस्तृत शान्ति सम्झौता अगाडिको समय कठिन द्वन्द्वको घडी मानिन्छ। यस्तो कठिन एवं प्रतिकूल परिस्थितिमा समेत यहाँका स्थानीय मानिसहरुको बिचमा देखिएको सामुदायिक सद्भाव र पारस्परिक स्नेही व्यवहार अचानक हिंसात्मक घटनामा परिणत हुन पुग्नु दुःखको कुरा हो।
रानी जमरा कुलरिया सिँचाईँ प्रणालीका सञ्चालक मध्येका एक लालवीर चौधरी चढेको मोटरसाइकल अखण्ड पक्षधरले जलाइदिएको फोटो पत्रिकामा छापियो। थारू कल्याणकारीणी सभाको कार्यालयमा आगो लाग्यो। थरुहट पक्षधरहरु र अखण्ड पक्षधरहरू बिचमा झडप भए।
पहाडेहरूलाई तराईबाट पहाडतिरै धपाउनुपर्ने भनियो आदि आदि खबरहरु पत्रपत्रिका र विद्युतीय सञ्चारहरुमा आइरहे। आखिर यी सबै खबरहरुले टीकापुरमा साच्चै नै सामुदायिक सम्बन्धमा दरार पैदा भएको/गराएको खबर सम्प्रेषण गरायो। अन्ततः आन्दोलनकारीको जमात वा आन्दोलनमा घुसपैठबाट नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सुरक्षाकर्मीहरु र २ बर्षीय नावालकको हत्या भयो।
कठिन द्वन्द्वको समयमा समेत तुलनात्मक रुपमा शान्त रहेको टीकापुर अचानक अशान्त बन्यो। बाहिरबाट हेर्ने र अखबार पढेर धारणा बनाउनेहरूका लागि टीकापुर आतङ्क नै बनेको छ।
म टीकापुरमा कार्यरत रहेको समयमा दैनिक पत्रिका प्रकाशन हुँदैन थियो। जे जति थिए सबै साप्ताहिक मात्र थिए। तत्कालीन टीकापुर साप्ताहिकलाई दैनिक टीकापुरमा परिणत गरी प्रकाशन शुरु भयो जून अद्यावधिक प्रकाशन भैरहेको छ। भूवन अधिकारी/कर्ण कुँवर जस्ता पत्रकारहरु र नवराज रावल/रणबहादुर रावल तथा अन्य समाजसेवीहरुको साथ सहयोगबाट मैले धेरै कुराहरु जान्न सके। अहिले पनि निरन्तर सम्पर्कमा रहेका कारण टीकापुरको समाचारहरु मैले उहाँहरुबाटै पाउने गरेको छु।
२ बर्षको निरन्तर बसाइले मैले टीकापुर र यहाँका वासिन्दाहरुको बारेमा गहिराइमा बुझ्ने अवसर प्राप्त गरेको थिएँ। मलाइ अहिले पनि विश्वास लागिरहेको छैन त्यही टीकापुरका वासिन्दाहरु वीचमै भएको झडपले त्यतिबिघ्न सुरक्षाकर्मीहरुले ज्यान गुमाउनु परेको हो भनेर। धैर्यता नगुमाइ आफ्ना मागलाई शान्तिपूर्ण रूपमा राख्न पाउने संवैधानिक अधिकार प्रयोग गरौं। यो नै सबैभन्दा राम्रो हुनेछ।
यो मुलुकमा धेरैले नागरिकहरूलाई अधिकार के हो र कसरी लिने वा प्राप्त गर्ने भन्ने बारेमा धेरै पढाइसकेका छन्। तर अधिकार प्राप्तिका लागि पालना गर्नुपर्ने कर्तव्य र नागरिक दायित्वको बारेमा कसैले पढाएनन्। अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन भन्ने पनि कसैले सिकाएन्। फलस्वरुप अधिकारको नाममा अरुको अधिकारलाई बेवास्ता गरी आफ्ना अधिकार प्राप्त गर्न हिंसात्मक/ध्वंसात्मक प्रेरणा दिनेहरुको पनि कमी रहेन। हामी सबैले बुझ्नु र बुझाउनुपर्ने बेला हो यो। यतिखेर मानिसहरु एकोहोरो भएका छन् अझ मानवीय संवेदना पक्रेर यो वा त्यो कुनाबाट उकास्ने लडाउने भिडाउने कामहरु भइरहेका छन्। आफ्नो विवेक नगुमाऔं विवेकलाई वन्धकी राखेर भावनामा नवहकिउँ।
यो मुलुक हामी सबैको साझा चौतारी हो यहाँ वसोवास गर्ने सबैको बाँच्न पाउने अधिकार छ। कुनै समुह/गुटको नाममा साम्प्रदायिक भावना झल्काउने काम नगरौं। हिजोको पारस्परिक सद्भाव र मेलमिलाप कायम गरौं । यसैबाट मात्र हामी सबैको भलाइ हुन्छ हत्या हिंसा बन्द तोडफोड हामीहरुका पैतृक सम्पत्ति होइनन्। हामीले सर्वे भवन्तु सुखीनः सर्वेसन्तु निरामयाः वसुधैव कुटुम्कमको भावना मर्न नदिउँ आदरणीय टीकापुरवासीहरुमा म हार्दिक आव्हान गर्दछु।