देशको पछिल्लो अवस्थाले धेरै मानिसलाई कूुद्ध, निराश र विरक्त बनाएको छ । किनकि चारैतिरबाट खराब समाचारहरुको वर्षा भइरहेको छ र सोमबारको भयावह टीकापुर काण्डपछि पनि स्थिति पूरै सम्हालिइसकेको छैन ।
नेतृत्व आफैं कुहिराको काग बनेजस्तो देखिन्छ ।
संयमी जनताको मौनतालाई यही बेला उग्र नारा उरालेर निहित स्वार्थ पूरा गर्न उद्यत् स्वार्थ समूहहरुको कर्कश आवाजले गायब बनाइदिएको छ । लाग्छ, ती समूहहरु आफूले भनेजस्तो भएन भने देशलाई नै खाडलमा जाक्न तयार छन् ।
के नेपालमा अब शान्ति र समृद्धिको सम्भावना क्षीण हुँदै गएको हो? के अब स्थिति पहिलेजस्तो नभएर नयाँ र खराब स्थितिमा हामी सबै बानी पर्नुपर्ने हो? धेरै मानिसलाई यी प्रश्नले अहिले घोचिरहेका छन् । सँगसँगै पुरानो समयको ‘नोस्टाल्जिया’ले गाँजेर धेरैलाई बदलिंदै गएको नेपालप्रति वितृष्णा उत्पन्न भइरहेको छ ।
तत्कालीन अवस्थालाई मात्र हेर्ने हो भने परिस्थिति साँच्चिकै निसास लाग्दो छ । पछि फर्कने र अघि बढ्ने दुवै बाटो बन्द भएको महसुस गर्ने नेपालीहरु धेरै छन् ।
तर विगतलाई अलि परसम्म हेर्ने र भौगोलिक रुपमा नेपालबाहिरका अनुभवलाई हेर्ने हो भने हाम्रो अवस्था चिन्ताजनक भए पनि सम्भावनाहरुको अन्त भएको पटक्कै हैन । स्थिति बिग्रेर जाने सम्भावना पक्कै छ तर त्यो सुध्रने सम्भावना पनि छ, त्यो सुध्रनु पर्छ र सुधार्नुको हामीसँग विकल्प छैन ।
हिजो दैनिक दर्जनभन्दा बढी मानिस मारिने संवेदनहीनताको अवस्थाबाट पनि नेपाल गुज्रेकै हो र त्यो अवस्थालाई हामीले सहेकै हो ।
त्यसै हुनाले हामी फेरि संवेदनहीन बनौं अनि त्यति खराब हालत त भइसकेको छैन भनेर चित्त बुझाऊँ भनेको पटक्कै हैन । तर यो नबिर्सौं कि ऊ बेलाको राजनीतिक नेतृत्वले सुझबुझपूर्ण तरिकाले सशस्त्र द्वन्द्वको निकास ननिकालेको भए अरु वर्षौं वा दशकौं देश त्यही स्तरको द्वन्द्वको बन्दी भइरहन्थ्यो । जसरी सशस्त्र द्वन्द्व शुरु गर्ने बेलाको सुझबुझको अभाव र गलत निर्णयबाट सिकेर त्यस्तो कदम दोहोर्याउनुहुँदैन, उसरी नै द्वन्द्वको अन्त गर्ने बेला देखाइएको सुझबुझ र दुरदर्शिताबाट पाठ सिक्नै पर्छ ।
चर्को मूल्यमा नेपालीहरुलाई दशक लामो सशस्त्र युद्धले सिकाएको कुरा के हो भने, आखिर परिस्थिति बदल्ने अवसर मान्छेको, खास गरी नेतृत्व तहको हातमा जहिले पनि हुन्छ । ध्यान दिनुपर्ने एउटै कुरा, त्यो परिवर्तन सकारात्मक हुनुपर्यो, स्थिति अझै बिगार्ने गरी नकारात्मक हुनुभएन । अहिलेको नेपालको नेतृत्वलाई विगतको पाठ त्यही होः नेतृत्व कहिल्यै परिस्थितिबाट डोरिने हैन, त्यसलाई नियन्त्रणमा लिएर सही दिशा दिन हस्तक्षेपकारी भुमिका खेल्नु पर्छ ।
दोस्रो कुरा, नेपालीका रुपमा हामीलाई विग्रहपूर्ण र द्वन्द्वग्रस्त अवस्थाबाट मुक्ति त चाहिएको छ तर त्यो हाम्रो अन्तिम लक्ष्य हैन । धेरैलाई अहिले हाम्रो अन्तिम लक्ष्य त्यत्ति हो भन्ने भान परेको छ र सामाजिक सञ्जालभर सेना परिचालनको आह्वान र राजतन्त्रको पुनरागमनका सपनाहरु भेट्न सकिन्छ । यद्यपि सेना र राजाले बागडोर सम्हाल्दैमा देशमा जादुमयी तरिकाले शान्ति र अमन चयन आउँछ भन्ने कुरा यथार्थभन्दा निकै टाढा रहेको छ ।
शान्ति र स्थिरता पक्कै हाम्रा लागि अपरिहार्य छ तर हाम्रो अन्तिम लक्ष्य त त्योभन्दा धेरै टाढा छ । हामीलाई प्रगति, समृद्धि र सन्तुलित विकास चाहिएको छ । अर्थतन्त्रको कायापलट चाहिएको छ, अदक्ष श्रमको निर्यात र दाताहरुको सहयोगमा मात्र टिकेको नाजुक अर्थतन्त्रको ठाउँमा समयअनुसारको उत्पादकत्व भएको र देशमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने नयाँ खालको अर्थतन्त्र चाहिएको छ । विश्व अर्थतन्त्रमा अशुभ संकेतहरु देखिएर तेलको मूल्य निरन्तर झरिरहँदा कतै तेल उत्पादक खाडी राष्ट्रमा केन्द्रित हाम्रो वैदेशिक रोजगार ओरालो लाग्ने त हैन भन्ने प्रश्नको जवाफसम्म खोज्न सक्ने राजनीतिक नेतृतव चाहिएको छ । अर्को आधा शताब्दीमा खाडीका धेरै तेल कुवा रित्तिने, वैकल्पिक ऊर्जाले ऊर्जा बजारको ठूलो हिस्सा ओगट्ने, अथवा विश्व अर्थतन्त्रको अहिलेको संरचना पूरै बदलिने हो भने त्यो अवस्थामा कसरी अधिकांश नेपालीहरुको पेट भर्ने भन्ने योजना भएको नेतृत्व विकास गर्नुछ । नेतृत्वलाई यी चुनौती बारे चेताउने थिंक्ट्यांकहरु विकास गर्नुछ अनि मतदाताहरुबीच सुदुर भविष्य हेरेर रचनात्मक राजनीति गर्ने व्यक्तिलाई जिताउने संस्कृतिको विकास गर्नुछ ।
अर्को शब्दमा, आजको संकटबाट पार त लाग्नु छ नै, त्यसभन्दा उताको यात्राका लागि पनि मानसिक रुपमा तयार हुनुछ । मानसिक तयारीपछि विश्व बजारमा भिड्न बौद्धिक र शैक्षिक रुपमा तयार हुनुछ, उमेर घर्केर त्यो दौडमा आफू पछि परिसकेको हो भने आफूपछिको पुस्तालाई त्यस्तो तयारी गर्न सघाउनुछ । बदलिंदो विश्वको नाडी छामेर नागरिकका रुपमा भुमण्डलीकृत विश्वका अरु करोडौं प्रतिष्पर्धीसित टक्कर लिने अभ्यास गर्नुछ ।
याद रहोस्, विकास र प्रगतिका यी कुनै चरण पनि सहज र आफसेआफ हुने खालका छैनन् र देशका विभिन्न भागमा देखिएको द्वन्द्व र विग्रहको झिल्को नामेट गर्न सके हाम्रा सबै समस्या समाधान हुन्थे भन्ने धेरै जनाको तर्क आधारभुत रुपमा गलत छ । शान्ति र स्थिरता फेरि पनि आवश्यक छ तर हामीलाई उज्यालो भविष्यतिर धकेल्न काफी छैन ।
नेपालमा यी विषयमा आम धारणा के भएको महसुस हुन्छ भने, यी सबै काम त कुनै विकसित देशको दुरदर्शी नेताले मात्र गर्न सक्छ । हामी ओठ लेप्र्याएर यहाँ केही हुँदैन भन्न, अर्काको खेदो खन्न र अर्कालाई होच्याएर आफू अग्लो देखिन अभ्यस्त छौं, त्यसैले हाम्रो चेतनाको संसार सानो छ । एउटा तथ्य वा अफवाह हात पर्यो भने त्यसलाई सयचोटि सामाजिक सञ्जालमा सम्पेषण गर्ने, त्यसैमाथिको तर्कवितर्क र सवालजवाफमा रमाउने तर सम्बन्धित बाँकी ९९ तथ्यबारे जान्ने कष्ट नगर्ने हाम्रो संगठित संस्कृति नै छ । हामी कम पढ्छौं, ज्यादा टिभी हेर्छौं, त्यसैले हामीसित सही जानकारी भन्दा गलत जानकारी र पूर्ण सत्यभन्दा अर्ध सत्य धेरै छन् ।
नत्र भने सफल राजनीतिज्ञहरु विकसित देशमा, त्यो पनि युरोप र उत्तर अमेरिकामा मात्र हुन्छन् भन्ने धारणाले जोड पक्रने नै थिएन । हामीमा आफैंबारे यति धेरै नकारात्मकता र निराशाभाव उत्पन्न हुने एउटा कारण त्यस्तो धारणा पनि हो
१९७६ मा माओको निधन हुँदा चीन विश्वकै कंगाल मुलुकमध्ये एक थियो । सांस्कृतिक क्रान्तिको बेला भएको हिंसा र त्यसअघि शुरु भएर लामो समय चलेको भोकमरीले करोडौंको ज्यान लिएर सिंगो चिनियाँ समाजलाई विघटनको संघारमा पुर्याएको थियो । सोभियत संघसित विकसित भएको दुश्मनीबीच पछिल्ला वर्षहरुमा अमेरिकासित औपचारिक सम्बन्ध शुरु भए पनि उसलाई भरथेग गर्ने भर पर्दो बाहिरी शक्ति कुनै थिएन ।
तैपनि माओको मृत्यूपछि चीनमा हावी हुन सफल नेतृत्वले त्यसपछिका दशकहरुमा चमत्कार गर्यो । तीव्र आर्थिक वृद्धिका मदतले चीनलाई क्षेत्रीय हुँदै विश्वकै महत्वपूर्ण आर्थिक र सामरिक शक्तिका रुपमा विकास गर्यो । धेरैले त्यसलाई उदारीकरणको देन भन्छन् तर यथार्थ त्यति मात्र थिएन । पछि गएर १९९० पछि उदारीकरणको अभ्यास शुरु गरेको रुसले कहिल्यै त्यति आर्थिक तरक्की गर्न सकेन, बरु स्थिति नेतृत्वको हातबाट बाहिर गएर दशकभर सिंगो देश अस्तव्यस्त हुन पुग्यो । बन्द अर्थतन्त्रबाट खुल्ला अर्थतन्त्रमा अवतरण गरेर असफलता हात पारेका अरु दर्जनौं देशहरुका उदाहरण छन् ।
निःसन्देह उदार अर्थनीतिको हतियार विना चीनको तरक्की (त्यसका नकारात्मक पक्ष आफ्नै ठाउँमा छन् र त्यो खोटविहीन पक्कै थिएन) सम्भव थिएन । तर त्यो हतियारलाई सफलतापूर्वक प्रयोग गरेर वार्षिक करोडौंको दरमा आम चिनियाँहरुलाई गरिबीको दलदलबाट बाहिर निकाल्नु सानो चुनौती थिएन । आम मानिसको दरिद्रताबीच नै आफ्नो हित देख्ने शक्तिशाली स्वार्थ समूहहरुसित भिडेर निरन्तर सुधारको प्रक्रियामा लागिरहनु त्यहाँको नेतृत्वलाई सहज थिएन । त्यसबाहेक पुँजीवादी अर्थव्यवस्था र अधिनायकवादी राजनीतिक व्यवस्थाबीचको अनमेल विवाहलाई टिकाइरहनु पनि चानचुन काम थिएन । सर्सर्ती हेर्दा सहज र स्वभाविक देखिने चीनको संक्रमण र प्रगतिका लागि सम्भावित चुनौती यति थिए कि नेतृत्वको सानो कमजोरीले कुनै पनि बेला सुधार र समृद्धिको प्रक्रिया दुर्घटित हुन सक्थ्यो ।
फर्केर हेर्दा के देखिन्छ भने पुस्तापछि पुस्ताको चिनियाँ नेतृत्वले विविध कमजोरीका बीच पनि समाज र राष्ट्रका रुपमा आफ्नो तरक्कीको गतिलाई कम हुन दिएन । पछिल्लो समय देखिएका केही गम्भीर चुनौतीका बाबजुद पनि चीनले यी चार दशकमा जेजति हासिल गर्यो, त्यसको सबैभन्दा बढी श्रेय त्यहाँको नेतृत्वलाई जान्छ । त्यस्तो नेतृत्व जसका लगभग सबै सदस्य माओको साँस्कृतिक क्रान्तिकालमा विश्वविद्यालयबाट निकालेर कोइलाखानीतिर वा स्टिल कारखानातिर धपाइएका थिए, जसका लागि विश्वविद्यालयको ढोका दशकभन्दा लामो समयका लागि बन्द भएको थियो, जसको अधिकांश उत्पादक उमेर बाँकी विश्वप्रति बेखबर रहेर बितेको थियो ।
चीनमा जस्तै प्रयोग अलि सानो स्केलमा र केही फरक पृष्ठभुमिमा भारतमा १९९१ पछि भएको थियो । स्वतन्त्रता यता नेहरुले अँगालेको लोकतान्त्रिक राजनीति र समाजवादी अर्थतन्त्रको अनमेल विवाह भंग गरेर उदारीकरण थालिएपछि विविध कमजोरी र विसंगतिबीच भारतको नेतृत्वले पनि धेरै कुरा हासिल गर्यो । अहिलेका तमाम समस्याका बाबजुद गरिबी निवारण, रोजगारी सिर्जना र अर्थतन्त्रको पुनर्संरचनामा भारतले जुन उपलब्धि हासिल गर्यो, ती कम छैनन् ।
दुईतिरका छिमेकीहरुले विभिन्न प्रतिकुलताबीच पनि प्रगतिको बाटो समाए भने त्यही बाटो हाम्रा लागि कहिलेसम्म पो अवरुद्ध रहला र? एक घण्टा पछिको भविष्य देख्न नसक्ने, व्यक्तिगत र गुटगत स्वार्थभन्दा पर हेर्न नसक्ने नेताहरु मात्र कति समय हावी भइरहलान्? मानिसहरु जागरुक भएसँगै अपारदर्शिता र कुशासनमा टिकेको ध्वंशकारी राजनीति कति वर्ष पो रहिरहला?
त्यसैले अहिले चौतर्फी फैलिइरहेका क्रोध, निराशा र विरक्तिजस्ता भावलाई अब पछि छाडेर भविष्यप्रति आशावादी नजरले हेर्नु अनिवार्य भइसकेको छ । समाजले लिने दिशा हाम्रो व्यवहारमा निर्भर हुन्छ भने हाम्रो व्यवहारचाहिं हाम्रो चिन्तन पद्धतिमा । यो देशको भविष्य निस्पट्ट अन्धकार छ भन्ने बिन्दुबाट सोच्न शुरु गर्ने मानसिकता रहुन्जेल र मानवीय चुनौतीहरुका ऐतिहासिक र भौगोलिक आयामहरुबाट बेखबर रहने हो भने निराशा र भुत–मोह जागृत भएर आउँछन् । त्यस्तो विकृत मनोदशा जति गाढा हुन्छ, मानिसलाई उति पञ्चायत वा राणा शासनतिर फर्कने लालसा तीव्र भएर आउँछ किनकि अघि बढ्ने बाटो अवरुद्ध भएको मानिसकेपछि फर्कनु त पछितिरै पर्यो, समय स्थिर भएर रहँदैन ।
त्यसैले अबको समय भनेको पूर्वाग्रह र संकीर्णता त्यागेर उदात्त दिलले भविष्यतिर फर्केर निर्णय लिने बेला हो । हामीलाई शान्ति र स्थिरताको टाकुरा चढ्नु त छ नै, त्यसभन्दा उता प्रगति र समृद्धिको हिमाल पनि चढ्नु छ । विगतको तिक्त अनुभवलाई जति चाँडो पछि छाडेर अघि बढ्यो, त्यति नै सहज यात्रा हुन्छ ।
राष्ट्रिय सीमाले हाम्रा व्यक्तिगत, बौद्धिक र पेशागत आयामहरुलाई सीमित गर्ने विगतबाट बिल्कुलै फरक भुमण्डलीकृत विश्वको भविष्यतिर लाग्दा अस्तित्वका लागि अब हामीले गर्नुपर्ने संघर्षको प्रकृति फरक छ । प्रतिस्पर्धी बजारमा टिक्न हिजोका दिनमा झैं ज्ञान र सीपले मात्र नपुग्ने भएको छ, नवीन सोच र सृजनशीलताको मदतले अरुले भन्दा फरक र मौलिक वस्तु वा ज्ञानको सिर्जना गर्नेहरुले अहिले सफलताका नयाँ परिभाषाहरु निर्माण गरेका छन् । पारदर्शिता र जवाफदेहिता संस्कृतिकै रुपमा विकास भइरहेका छन् ।
खूला आँखाले संसारलाई हेर्नु, समयानुकुलको ज्ञान र सीपमा पोख्त हुनु, सम्भावनाका हरेक द्वारमा ढक्ढकाएर हेर्दै आफ्नो सबलता भएको क्षेत्र पहिल्याएर निरन्तर त्यसमा लागी पर्नु, यही हो हाम्रो भविष्य उज्ज्वल पार्ने बाटो । त्यसका लागि हामीलाई राज्यले गर्नैपर्ने केही सहयोगहरु हुन्छन् र राज्यले त्यस्तो सहयोग गर्दैन भने त्यसलाई खोसेर लिनुपर्छ ।
एक, भोको पेट, नांगो आङ र रोगी ज्यान लिएर हामी भविष्यका लागि भिड्न सक्दैनौं । नागरिकहरुका लागि आधारभुत आवश्यकता पूरा गर्न कठिनाइ नहुने वातावरण मिलाउनु राज्यको जिम्मेवारी हो । राज्यले सबैलाई खाना र लत्ताकपडा बाँड्ने हैन कि मानिसले श्रम गरेर निर्धक्क तिनको जोहो गर्न सक्ने अवस्था सिर्जना गर्नैपर्छ । स्वास्थ्य सेवा गुणस्तरीय हुनुपर्छ अनि आम मानिसको पहुँचमा र उनीहरुका लागि सुलभ हुनुपर्छ । स्वास्थ्य सेवा पनि राज्य एक्लैले हात लिएर निजी क्षेत्रलाई निषेध गर्ने हैन तर भ्रष्ट अधिकारीहरुसितको मिलेमतोमा स्वास्थ्य सेवाको गुणस्तरमा सम्झौता हुने र आम मानिसको स्वास्थ्य जोखिममा पर्ने अवस्थाको अन्त हुनुपर्छ ।
दुई रातारात चुलिइरहेका चुनौती र बढ्दो प्रतिस्पर्धामा टिक्न राज्यले हाम्रो शिक्षालाई अब्बल बनाउनुपर्छ । त्यसका लागि बौद्धिक चोरी गरेको, बौद्धिक चोरीको परिभाषा समेत नजानेको वा चोरी गरेपछि चोरी गरें भनेर स्वीकार्ने न्युनतम इमान्दारी नभएको मानिस राजनीतिक नेतृत्वको चाकरी गरेर दलको टीका लगाएर विश्वविद्यालयको नेतृत्वमा पुग्ने अवस्था आजै बन्द हुनुपर्छ । योग्यहरुलाई पाखा लगाउँदै देशभरका शिक्षण संस्थाहरु दलहरुका कार्यकर्ता भर्तीकेन्द्र बनाउने काम बन्द गरिनुपर्छ, तिनले अहिले योग्य मानिसका अवसर खोसेका मात्र छैनन्, आज लाखौं युवा विद्यार्थीको भविष्य पनि अन्धकार बनाइरहेका छन् । मानिसको जीवन–मरणसित जोडिएको मेडिकल शिक्षामा चलिरहेको विना सिकाइ डिग्री दिने आपराधिक कर्म तत्काल बन्द हुनुपर्छ र गुणस्तरीय शिक्षा सुनिश्चित हुनुपर्छ ।
नेपालीहरुको भविष्यमा दुरगामी प्रभाव राख्ने यिनै माग राखेर गत सोमबारदेखि डा गोविन्द केसी त्रिवि शिक्षण अस्पताल प्रांगणमा आमरण अनशन बसिरहनुभएको छ । यो समयमा देश अस्तव्यस्त छ भनेर उहाँलाई पछि हट्न लगाउने हैन कि विकृतिहरु संस्थागत हुँदा हामी सबैलाई पर्न जाने दुरगामी क्षति हेरेर उहाँका एजेण्डा हामी सबैले बोकेर सुधारका लागि राज्यलाई बाध्य पार्ने हो । लगत्तै समाजलाई शान्ति र स्थिरताको टाकुरा चढाउन उहाँको कदम सहयोगी नहोला तर त्यसपछि आउने समृद्धि र प्रगतिको हिमाल चढ्न उहाँले माग गर्नुभएजस्तो सुधार, पारदर्शिता र जवाफदेहिताविना असम्भव छ ।
त्यसैले आउनोस्, उहाँले नेतृत्व गरेको आम नेपालीको यो आन्दोलनलाई जसले जहाँबाट जसरी सकिन्छ, उसरी सहयोग गरौं र राज्यलाई आफ्नो जिम्मेवारी निभाउन बाध्य पारौं । यो आन्दोलनको सफलतापछि पनि सुशासन र पारदर्शिताका लागि निरन्तर लड्नु पर्ने जिम्मेवारी त छँदैछ।
लेखक South Asia and Beyond नामक ब्लगमा नियमित लेख्छन्।
Twitter: