धर्म के हो? धार्मिक मानिसको परिभाषा
उदाहरण एक,
निकोलस विन्टन नामक एक व्यक्तिले सन् १९३९ मा एक्लो प्रयासबाट ६६९ जना यहुदी बच्चाहरुलाई हिटलरको आम संहारबाट बचाए। तर दुर्भाग्य त्यो वर्ष सेप्टेम्बर १ का दिन उनले बचाउनै लागेका थप २५० बच्चा चाहिं मृत्यूको मुखबाट बच्न सकेनन्, त्यही दिन हिटलरले पोल्याण्डमा आक्रमण गरेसँगै ती बच्चाहरुलाई ‘तस्करी’ गरेर सुरक्षित क्षेत्रमा लैजाने रेलले गुड्ने अनुमति पाएन। फलस्वरुप ती २५० बच्चाहरु पनि तिनका आमाबाबु झैं हिटलरको भीमकाय मृत्युयन्त्रको शिकार भए।
झण्डै ५० वर्षपछि विन्टनकी श्रीमतीले १९८८ मा आएर उनले बच्चाहरुलाई बचाउने बेला प्रयोग गरेका नोटबुक र स्केचहरु फेला नपारेको भए यही वर्ष जुलाईमा बितेका विन्टनको महानताको कथा सार्वजनिक नभई लुप्त हुने थियो। उनले बचाएको सयौं बच्चाहरु, जो अब बुढ्यौलीको तर्खरमा छन्, उनीहरुले उनीप्रति कृतज्ञता जनाउन समेत पाउने थिएनन्।
त्यसो त भयानक संकटको बेला आफ्नो ज्यान जोखिममा राखेर अर्काको भलाइ र उद्दार गर्ने विन्टन एक्ला हैनन्। सिन्डलर नामका जर्मन मूलका व्यक्तिले पोल्याण्ड र चेकस्लोभाकियामा त्यसरी नै १२०० यहुदीहरुलाई नाजी ग्यास च्याम्बरबाट बचाएका थिए। अरु कैयौं यस्तै नायकहरु चर्चामै नआइ समय बिताए र कालगतिले मरे भने कति त उही बेला यहुददीहरुलाई सघाएको आरोपमा हिटलरका सेनाद्वारा मारिए।
उदाहरण दुई,
(मुसलमान) किसीको नहीं छोडा। में तो आज भी बोल्ता हुँ, कुछ भी होः नेडी जो हो, बच्ची हो, कुछ भी हो, मारो, काटो जला लो। अपने हिन्दु बदमास हे। हिन्दु बदमास इतने हे कि साब, हमारे नजरके सामने बहुत लोगों लुट्नेमे लगे। अरे साला, इनको जिन्दा मत रखो तो क्या, अपना ही हे सब। ....एक भिडियोवाला आया था, उसको भी जला दिया।
सन् २००२ को कुख्यात गुजरात दंगामा आफ्नो पराक्रमको व्याख्या गर्दै वजरंगी दलका नेता बाबु बजरंगीले यो भिडियोमा यसो भनेका हुन्। हजारौं मारिएको उक्त दंगामा हिन्दु दंगाकारीहरुले धमाधम मुसलमानहरुलाई मार्न छाडेर लुटपाटजस्तो अनुत्पादक काममा समय खर्च गरेको देखेर उनी क्रुद्ध भएको देखिन्छ। दंगामा कसरी मानिस मारियो भनेर आङ सिरिंग हुने गरी उनले गरेको यो बयान तेहेल्का नामक पत्रिकाले गरेको स्टिङ अपरेशनमा भिडियो रेकर्ड नभएको भए अरु धेरै अपराधीहरुजस्तै उनी पनि अहिले स्वच्छन्द रुपमा धर्म प्रचार गर्दै हिंडेका भेटिन सक्थे। सेप्टेम्बर १ २००७ मा उक्त भिडियो रेकर्ड हुँदा बजरंगी धरौटीमा रिहा भएर जेल बाहिरै थिए र उनले भिडियोमा सहजै स्वीकारेका छन्ः उनलाई रिहा गराउन तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले न्यायधीशहरु पटक पटक बदलेका थिए। भिडियो सार्वजनिक भएपछि फेरि चलेको मुद्दाको फैसला अनुसार उनी अहिले आजीवन कारावासको सजाय काटिरहेका छन्।
बाबु बजरंगी एउटा प्रतिनिधि पात्र मात्र हुन् भारतीय उपमहाद्वीपमा धर्मको ठेक्का लिएको दाबी गरेर धर्म रक्षाका नाममा दंगामा सहाभागी हुनेहरुका। नरेन्द्र मोदीको नेतृत्वमा भारतको केन्द्रमा अत्यधिक बहुमतसाथ सरकार बनाउन बीजेपी सफल भएपछि अहिले विकास र समृद्धिका चर्का कुरा भइरहेका छन्। तर पृष्ठभुमिमा भने भारतीय राज्य बाबु बजरंगीजस्ता विगतका हिंसामा संलग्न मानिसहरुलाई न्यायको दायरामा ल्याउने हैन कि हिंसामा आफन्त गुमाउनेहरुलाई न्याय दिन प्रयास गर्ने टिस्टा सेतल्वादजस्ता अभियन्ताहरुको आवाज बन्द गराउने अभियानमा छ।
धर्मको अर्थः सार कि कर्मकाण्ड?
बाबु बजरंगी झैं आफ्नै हातले र आफ्नै नेतृत्वमा ठूला नर संहार गर्नेहरु कमै होलान् तर भारतमा राष्ट्रिय स्वयंसेवक संघजस्तो मूल संस्था र बजरंगी दल, विश्व हिन्दु परिषद् र शिव सेनाजस्ता यसका हाँगाविंगा सबैको र व्यक्तिका रुपमा बाबु बजरंगीको धर्म र आस्थाको परिभाषा ठ्याक्कै मेल खान्छ। उनीहरुको विचारमा खास धर्मको परिवारमा जन्मेका कारण मानिस मानिस बीच आधारभुत रुपमा भिन्नता हुन्छ, जस्तो कि प्राणी र वनस्पति जगत्मा भिन्नता हुन्छ। गुजरात दंगापछि नरेन्द्र मोदीको मिडियामा नकारात्मक चर्चा धेरै भयो भनेर त्यसको प्रतिकार गर्न हिन्दुत्ववादी बौद्धिकहरुले स्थापना गरेको गुजरातरियोट्स डट कम नामक साइट (जसका अध्यायहरु पुस्तकाकारमा पनि प्रकाशित छन्) का अनुसार पीडा जस्तो मानवीय भावलाई समेत ‘हिन्दु पीडा’ र ‘मुसलमान पीडा’ भनेर वर्गीकृत गर्न सकिन्छ।
यी मानिसहरुका विचारमा ‘जय माता दी’ र ‘जय श्री रामजीकी’ भन्दै मानिसका पेटमा छुरा घोप्नेहरु सबैभन्दा बढी धर्मात्मा व्यक्तिहरु हुन् किनकि उनीहरुले धर्म रक्षाका लागि त्यत्रो मेहनत गरिरहेका छन्। त्यस्तै आशाराम बापुजस्ता धर्मका नाममा बलात्कार र हत्याजस्ता आपराधिक गतिविधिमा संलग्न मानिसहरु पनि धर्मात्मा हुन्।
यो पृष्ठभुमिपछि सहजै भन्न सकिन्छ, धार्मिक भनेर चिनिने मानिसहरु दुई किसिमका हुन्छन्ः आस्थावान् र पाखण्डी।
आस्थावान् मानिसहरुलाई धर्मको सारसँग मतलब हुन्छ, त्यसको रुपले केही फरक पर्दैन। महिनौं रातदिन खटेर लाखौं पाउण्ड पैसा खर्चेर तथा सरकारी कर्मचारीहरुलाई घुस ख्वाउँदै र त्यसले पनि भएन भने फर्जी कागजपत्र समेत बनाएर त्यति धेरै यहुदी बच्चाहरुलाई कालको मुखबाट बचाउने विन्टन यस खालका धार्मिक मानिस थिए। झुटो नबोल्नु र जालसाजी नगर्नु भन्ने धार्मिक आग्रह मानेर उनी बसिरहेका भए ती करीब सात सय बालबालिका मर्न अभिशप्त हुने थिए।
पाखण्डीहरु हामी धार्मिक हौं भनेर चर्को हल्ला गर्छन् तर उनीहरुलाई धर्मको सारसँग कुनै मतलब हुँदैन, उनीहरुलाई धर्मको खोल ओढ्न पाए हुन्छ। धर्म मानेजस्तो देखाउन विभिन्न धर्ममा समयक्रममा स्थापित भएका कर्मकाण्डहरुभन्दा बढी प्रभावकारी केही हुँदैन। त्यसैले यिनीहरुका लागि धर्म भन्नु र तिनको सानो (धेरै जसो नकारात्मक) पाटोको रुपम विकसित भएको कर्मकाण्ड भन्नु एकै हुन्। यीमध्ये कति धर्मप्रति कुनै आस्था नै नभई आस्था भएको नाटक गर्छन्, कति आफ्नो आपराधिक विगत छोप्न धार्मिक भएको स्वाङ पार्छन् भने कतिले धर्मको खोल ओढिसकेपछि पनि पनि आपराधिक गतिविधि जारी राख्छन्।
दुखको कुरा के भने समाजमा ९९ प्रतिशत आस्थावान् र १ प्रतिशत कर्मकाण्डी धार्मिकहरु भए भने सिंगो समाज कर्मकाण्डीहरुले भरिएको आभास हुन्छ किनकि १ प्रतिशतको कोकोहोलो बाँकी सबैको मौन आस्थाभन्दा चर्को रुपमा प्रकट हुन्छ। त्यसै गरी अर्को धार्मिक सम्प्रदायमा पनि आस्थावान् र कर्मकाण्डीहरुको अनुपात उस्तै हुने हो भने दुवैतिरका कर्मकाण्डीहरुले एक अर्काको हाउगुजी देखाएर आआफ्ना सम्प्रदायलाई भड्काउने सम्भावना रहन्छ।
धर्मका नाममा हिंसा
धर्मका नाममा हिंसा मच्चाउने सबैजसो समूहहरु धर्मको सारबाट च्यूत भइसकेका हुन्छन्। तैपनि इराक र सिरियाको इस्लामिक स्टेटदेखि पाकिस्तान र अफगानिस्तानको तालिवानसम्म अनि बर्माको नाइन सिक्स नाइन मुभ्मेन्टदेखि भारतको बजरंगी दलसम्म, अतिवादी समूहहरुले धर्मको नाममा जुन हिंसा मच्चाउँछन्, त्योसँग धर्मको नाम जोडिएर आउन पुग्छ। फलस्वरुप हामीमध्ये धेरैलाई लाग्छ धार्मिक आस्था संसारमै हिंसा मच्चाउने प्रमुख हतियार हो। त्यसैले समग्रमा धर्मलाई नकारात्मक अर्थमा लिने युवाहरुको संख्या बढ्दो छ।
तर रुडोल्फ जे रमेल नामक अध्ययनकर्ताको अध्ययनले के देखाउँछ भने बीसौं शताब्दीमा संगठित हिंसामा मारिएका बीस करोड मानिसहरुमध्ये करीब सत्र करोड आफ्नै राज्यबाट मारिएका थिए भने विशुद्ध धार्मिक हिंसाका कारण अस्सी लाख मानिस मारिएका थिए। २०१४ मा मृत्यू हुनुअघि जीवनभर संगठित हिंसालाई अध्ययन गरेका रमेलको अध्ययनअनुसार बीसौं शताब्दीका सबैभन्दा ठूला नरसंहार धर्मका कारण हैन धर्मलाई अफिम मान्ने स्टालिन र माओको शासनअन्तर्गत भएका थिए।
त्यसैले धर्ममा आस्था हुनु वा नहुनु नितान्त व्यक्तिगत स्वतन्त्रताको विषय हो तर मानव समाजलाई दीर्घकालीन रुपमा निर्देशित गर्नमा धार्मिक आस्थाले खेलेको भुमिकालाई नजर अन्दाज गर्नु हुँदैन। त्यसो गर्नु भनेकै एकतिर अहिलेको मानव समाज सञ्चालनको एउटा महत्वपूर्ण पाटोको भुमिका अस्वीकार गर्नु हो भने अर्कोतिर आस्थावान् मानिसहरुको ठूलो जनसंख्यालाई पाखण्डी र कर्मकाण्डी धार्मिकहरुको प्रभावमा पर्न छाडिदिनु हो।
धर्म र राजनीति
यति भएपछि एउटा प्रश्न स्वतः उठ्छः त्यसो भए धर्म र राजनीतिको सम्बन्ध के हो? के धर्मले मानव समाजलाई हजारौं वर्षदेखि मार्ग दर्शन गर्दै आएको छ भने राजनीतिको आधार पनि धर्मलाई बनाए हुँदैन?
नेपालमा यो विषयको चर्चा र विवाद अहिले उत्कर्षमा पुगे पनि यो नयाँ विषय पटक्कै हैन। विगत ४, ५ शताब्दीदेखि धर्म र राजनीतिको सम्बन्धबारे धेरै प्रयोगहरु भइसकेका छन् र ती प्रयोगबाट राम्रा कुराहरु सिक्ने र नराम्रा कुराहरु त्याग्ने सुविधा हामीलाई छ।
चर्च र राज्यबीच लामो समयको टकरावपछि पश्चिमा समाजमा विकसित र परिष्कृत हुँदै गएको धारणा के हो भने, मानिसहरु आफ्नो इच्छाको धर्म मान्न वा नमान्न स्वतन्त्र हुनुपर्छ तर धर्मले राज्यलाई निर्देशित गर्नुहुँदैन। बाइबल छोएर राष्ट्रपतिले शपथ खानेजस्ता आलंकारिक परम्परा कायमै रहे पनि आधारभुत रुपमा राज्यले विभिन्न धर्मलाई फरक हिसाबले हेर्दैन र संविधान र न्याय प्रणाली समयक्रममा विकसित भएको विशुद्ध उदार पुँजीवादी व्यवस्थामा आधारित छन्।
त्यसको अर्थ पश्चिमा शक्तिहरुले धर्मको राजनीतिक उपयोग वा दुरुपयोग गरेका छैनन् भन्ने पटक्कै हैन। आफ्नो देशमा पूर्ण लोकतन्त्र कायम गर्दा आफ्नो प्रभावको देशमा क्रुर तानाशाहहरुलाई सत्तामा टिकाइरहे झैं आफ्नो देशमा धार्मिक स्वतन्त्रताको नारा लगाइरहँदा उपनिवेशहरुमा इसाइ धर्म फैलाउन जालझेल र हिंसासमेत मच्चाउनु औपनिवेशक कालमा सामान्य थियो। सामान्यतः युरोपेली देशहरुले संसारभर जसरी उपनिवेश फैलाए, त्यस क्रममा आफूले ओगटेका भुभागहरुमा आर्थिक मात्र नभएर साँस्कृतिक र धार्मिक अतिक्रमण पनि गरे।
नेपालमा धर्म र राजनीति
नेपालमा धर्म र राजनीतिबारे कुरा उठ्दा दुइटा तर्क प्रधानताका साथ राखिन्छ।
एउटा पक्ष भन्छः राजा महेन्द्रले राजनीतिक अभीष्ट पूरा गर्नका लागि राजनीतिमा धर्म मिसाएका हुन्, जुन कुरा ऊबेला पनि प्रत्युत्पादक थियो र अहिले पनि प्रत्युत्पादक छ। त्यो ऐतिहासिक भुल अन्तरिम संविधानले सच्याइसकेको छ र अब त्यसलाई दोहोर्याउनुहुँदैन। यो तर्कका अनुसार लैंगिक, जातीय र क्षेत्रीय विभेदहरुलाई मेटाउन अरु उपायहरु अवलम्बन गरिएजस्तै एक दशक अघिसम्म कायम धार्मिक विभेदलाई फेरि टाउको उठाउन नदिन नयाँ संविधानमा राज्यलाई धर्म निरपेक्ष बनाइनुपर्छ।
अर्को पक्ष भन्छः नेपालमा हिन्दुलगायतका परम्परागत धर्महरु इसाइजस्ता ‘विदेशी’ धर्महरुको अतिक्रमणमा परेका छन्। तिनलाई बचाउने प्रयासमा अब नेपाल लाग्नुपर्छ र त्यसका लागि नेपाललाई फेरि हिन्दु राज्य बनाउनुपर्छ। यो पक्ष पछिल्लो समय भारतमा हिन्दुत्ववादी भनिनेहरुको चुनावी सफलताबाट मोहित भएको छ र भारतमा सफल भएको धर्ममाथिको राजनीतिलाई नेपालमा दोहोर्याउन चाहन्छ।
नेपालका शासकहरु लामो समयदेखि हिन्दु भए पनि विधिवत् रुपमा संविधानमा धर्म मिसाएको राजा महेन्द्रले हो भन्ने कुरामा दुविधा छैन। तर राजा महेन्द्रको कदम भएकै कारण त्यो गलत थियो भन्ने हैन। त्यो कदम वास्तवमै सही वा गलत थियो र नयाँ संविधान निर्माणका क्रममा त्यसलाई घुसाउँदा नेपालमा त्यसको दीर्घकालीन प्रभाव कस्तो पर्न सक्छ भनेर बुझ्न चाहिं केही वस्तुगत आधारहरु खोज्नुपर्छ र तीमध्ये एक अरुको अनुभवबाट सिक्नु हुन सक्छ।
युरोपेली राजनीतिक–साँस्कृतिक–आर्थिक उपनिवेशवादको शिकार भएका र बीसौं शताब्दीको बीचतिर स्वतन्त्रता हासिल गरेका देशहरुको अनुभव के छ भने आर्थिक रुपमा सबल नभएको देशले आफू अरुको लुटपाटका कारण कंगाल भएको जति प्रमाण पेश गरे पनि र आफ्नो धर्म, संस्कृति र सभ्यता जति महान् भएको दाबी गरे पनि विश्वमञ्चमा सम्मानजनक ठाउँ नपाउने मात्र हैन, दबिएर र पेलिएर बस्नुपर्छ। त्यो किनभने अन्तर्राष्ट्रिय सम्बन्धहरु विशुद्ध शक्ति सन्तुलनको आधारमा चल्छन् र हार्ड पावर भनिने सैन्य शक्ति र सफ्ट पावर भनिने सैन्य इतरको शक्ति दुवैको आधार कुनै पनि देशको आर्थिक समृद्धि हो।
ब्रिटिश साम्राज्यको पञ्जामा डेढ शताब्दीसम्म कुँजिएको भारत र युरोपेली तथा जापानी उपनिवेश र लुटपाटको शिकार भएको चीन दुवैको अनुभवले पढाउने सीधा पाठ के हो भने आर्थिक समृद्धिको दौडमा अघि बढ्न सक्यौ भने संसार तिम्रै हो, तिम्रो संस्कृति र सभ्यताले पनि अरुको अतिक्रण झेल्नुपर्दैन। हैन भने आर्थिक, राजनैतिक वा साँस्कृतिक कुनै पनि क्षेत्रमा आत्मसम्मान खोज्नु मृगतृष्णाजस्तै हो।
त्यसैले नेपाल धर्म निरपेक्ष वा सापेक्ष हुनुमै हाम्रो समग्र भविष्य निर्भर छ भन्ने संकीर्ण तर्क, जुन अहिले हिस्टेरिया झैं फैलाएर मानिसलाई उत्तेजित गरिंदैछ, त्यसको कुनै तुक छैन। हाम्रो भविष्य के हुनेछ भन्ने कुरा आधारभुत रुपमा हाम्रो अर्थतन्त्रले कुन दिशा लिन्छ भन्ने कुराले निर्धारण गर्नेछ र हामी कमजोर रहेसम्म हाम्रो संविधानमा जे लेखिए पनि निहित स्वार्थ हुने बाह्य शक्तिहरुले निरन्तर हस्तक्षेप गरिरहनेछन्। हामी आफैंले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न नसकेसम्म संविधानमा जे लेखिए पनि हामी अन्य देशमा गएर अपमानित भइ नै रहनुपर्नेछ। हामी लिपुलेक हाम्रो हो भनेर जति रटान लगाऔं वा एकअर्कालाई सुनाएर सान्त्वना दिऊँ, छिमेकीहरुसामू भिखारी झैं हात फैलाउनुपर्ने अवस्था कायम रहेसम्म उनीहरुले हाम्रा कुरा सुन्नेसम्म छ्रैनन्, हाम्रो सरोकारलाई ध्यानमा राख्नु त कता कता।
त्यति भनिसकेपछि अर्को एक छिमेकी देशको धर्म र राजनीतिबारेको अनुभवबाट सिक्नु जरुरी छ। १९४७ मा स्वतन्त्र हुँदा मुस्लिम बाहुल्य क्षेत्रहरुमा बनेको भए पनि पाकिस्तान मूलतः धर्म निरपेक्ष थियो। तर सत्तरीको दशकमा तानाशाह जिया उल हक राष्ट्रपति भएपछि उनलाई राजनीतिक वैधताको सख्त जरुरत पर्यो। विकल्पको अभावमा उनले इस्लाम धर्मलाई राज्यको धर्म बनाउने र धार्मिक अतिवादलाई प्रश्रय दिने कदम चाले। त्यसले सिंगो पाकिस्तानी समाजको कायापलट गरिदियोः भारतको विभाजनकालमा उर्लिएको धार्मिक अतिवाद र साम्प्रदायिक भावना सीमानाको दुवैतिर धेरै मत्थर भइसकेको अवस्था उल्टिएर इस्लामको पुरातन र संकीर्ण कर्मकाण्डीय संस्करण पाकिस्तानी समाजमा स्थापना भयो। हुडहुड कानुनजस्ता महिलाद्वेषी कानुनहरु व्यवहारमा आए। भौकितशास्त्रका प्राध्यापकहरु नियुक्त गर्दा तिनको भौतिकशास्त्रको ज्ञान हैन कुरानका अध्यायहरुको कण्ठाग्रतालाई आधार बनाउन थालियो।
अर्को शब्दमा एक सन्की तानाशाहको स्वार्थका लागि पाकिस्तानले अमूल्य खुल्लापन र सहिष्णुता गुमायो। धर्मको खोल ओढेपछि जिया शासनको क्रुरता र आर्थिक असफलता त्यसैमा छोपिएर गयो तर त्यसका कारण पाकिस्तानी समाज कति पछि धकेलियो, त्यसको कुनै हिसाबकिताब छैन।
नेपालमा फेरि हिन्दु राज्य कायम हुँदैमा नेपाल पाकिस्तानजस्तो अनुदार राज्य वा साउदी अरबजस्तो थियोक्रेसीमा बदलिन्छ भन्ने हैन तर राज्यले औपचारिक रुपमा एउटा धर्मलाई ‘राज्य–धर्म’का रुपमा अँगाल्नु भनेको कालान्तरमा त्यस दिशाको परिवर्तनका लागि बाटो खूला राख्नु हो। अहिले त्यो सम्भावना सुदुर लाग्छ तर राज्य व्यवस्थित रुपमा लाग्यो भने त्यस्ता प्रक्रिया सहजै चल्न सक्छन्, जसरी अहिले शाकाहारी बीजेपी नेताहरुले नेतृत्व गरेका भारतका राज्यहरुमा सबै सम्प्रदायका बालबालिकालाई मध्यान्हको स्कुले खानामा अण्डामा समेत बन्देज लगाएर कुपोषणतिर धकेलिंदैछ।
धर्म रक्षाको प्रश्न र बाटो
जहाँसम्म ‘स्वदेशी’ धर्ममाथि ‘विदेशी’ धर्मको अतिक्रमणको कुरा छ, वास्तविक धार्मिक आस्थाको कुनै भौगोलिक सीमा हुँदैन, खास भुगोलमा समयक्रममा विकसित भएको सभ्यताको चाहिं भौगोलिक सीमा हुन्छ। आम रुपमा सभ्यताहरु धर्ममा अडेका हुने भए पनि दुईमा फरक छ। हिन्दु धर्ममाथिको अतिक्रमण भनेर आम रुपमा जेलाई भनिन्छ त्यो हिन्दु सभ्यतामाथिको अतिक्रमण हो। हिन्दु सभ्यतामाथि भइरहेको अतिक्रमण रोक्नु पक्कै जरुरी छ तर अतिक्रमण गरे भनेर अरुमाथि जाइलाग्नुअघि यो सभ्यतालाई बाबु बजरंगी, आशाराम बापू, कमलनयनाचार्य र नेपालको तत्कालीन राजतन्त्रजस्ता यो सभ्यतालाई भजाएर निहित स्वार्थ पूरा गर्नेहरुको चंगुलबाट यसलाई बाहिर निकाल्नुपर्छ। त्यो किन पनि भने नारा उराल्नु सजिलो छ तर अतिक्रमणकारीहरुमाथि जाइलाग्नु सजिलो छैन खास गरी नेपालजस्तो निम्छरो र पराधीन अर्थतन्त्र भएको देशमा।
मेरो विचारमा कुनै पनि धर्मको रक्षा र प्रवद्र्धन गर्न चाहनेहरुले एकजना अमेरिकी क्याथोलिक धर्मावलम्बी डा टम क्याटेनाका पाइला पछ्याउनुपर्छ।
अमेरिकामा जन्मेर, हुर्केर, शिक्षा पाएर डाक्टर बनेका क्याटेना अहिले गृहयुद्धले ग्रस्त सुडानको दक्षिणी भागको नुबा माउन्टेनमा कार्यरत छन्। गत आठ वर्षदेखि हप्तैभर २४ घण्टा सेवा दिने यी डाक्टर पाँच लाखभन्दा बढी मानिसका लागि एक्ला डाक्टर हुन्। तिनले सेवा नदिने भनेको वर्षको एक पटक केही दिनसम्म हो जब उनी मलेरियाले अचेत भएर लडिरहेका हुन्छन्। विद्रोहीको पकड भएको उक्त क्षेत्रमा जहाजबाट निरन्तर बमबारी गर्ने सुडान सरकारले अस्पतालहरुलाई पनि अछुतो छाड्दैन। त्यसैले अरु सबै खालका सहायताकर्मीहरु बाहिरिइसक्दा पनि नुबामै रहेका डा क्याटेनको सेवा पनि कहिलेसम्म भन्ने अनुत्तरित प्रश्न नुबावासीहरुसामू छँदैछ।
आधाजति मुस्लिम र आधाजति क्रिश्चियनहरु बस्ने नुबामा उनलाई जिसस क्राइस्ट भनेर मान्छन् मानिसहरुले। र नुबामा पुगेर रिपोर्टिङ गरेका न्यू योर्क टाइम्सका स्तम्भकार निकोलस क्रिस्टोफका अनसार नुबावासीहरुले डा क्याटेना कहिल्यै नमरुन् भनेर प्रार्थना गर्छन्।
डा क्याटेनालाई नुबामा धर्म प्रचार गर्नु छैन किनकि उनको धर्मको सारले धर्मको विज्ञापन गर भन्दैन, त्यसले भन्छः मानिसहरुको सेवा गर, उनले सेवा गरिरहेका छन्। भोका मानिसहरुलाई केही छाक खानाको प्रबन्ध गरेर इसाइ बन भन्ने कथित मिशनरीहरुले डा क्याटेनासँग सिक्नु पर्ने कुरा धेरै छन्। उसै गरी पूजापाठ र पूराण लगाएर वर्षेनी अरबौं रकम उठाउने तर त्यसलाई अपारदर्शी रुपमा हिनामिना गर्ने, समाजमा छुवाछुतलाई कायम राख्ने, हेलाहोचोमा परेकाहरुलाई अझ उत्पीडन गर्ने अनि हिन्दु धर्ममाथि चौतर्फी आक्रमण भयो भनेर गुनासो गर्नेहरुले पनि उनीसँग धेरै सिक्नु जरुरी छ। र सबैभन्दा बढी त खुशी र पीडाजस्ता मानवीय भावनालाई समेत हिन्दु र मुस्लिम भनेर वर्गीकरण गर्ने कर्मकाण्डीहरुले उनीसित धेरै सिक्नु जरुरी छ।
नेपालमा धर्मका नाममा उठाइने रकम मात्र पारदर्शी रुपमा समाजका विपन्न र असहायहरुका लागि खर्च गर्ने हो भने हिन्दु धर्म प्रवद्र्धनका लागि सबैभन्दा प्रभावकारी कदम त्यही हुने देखिन्छ।
धर्म-राजनीति सम्बन्ध र अबको बाटो
नयाँ संविधानमा धर्मबारे विवादजस्तो निरर्थक कुरा केही छैन किनकि आधारभुत रुपमा हामी अब विगतमा यसै गुमेका दशकहरुलाई पछि छाडेर प्रगतितिर लम्किने कि फेरि अर्को गोलचक्करमा फसिरहने भन्ने कुरा हामीले हाम्रो अर्थतन्त्रलाई कसरी व्यवस्थापन गर्न सक्छौं भन्नेमा भर पर्नेछ।
जसले नयाँ संविधानमा धर्मको विषयलाई जीवन–मरणको मुद्दाका रुपमा प्रस्तुत गरेका छन्, त्यो तिनले आफ्नो निहित स्वार्थ पूरा गर्न गरेका हुन्। त्यसो त ‘खुमबहादुर जिन्दावाद’ भनेर नारा लाग्ने कार्यक्रम सनातन हिन्दु धर्मको रक्षाका लागि भएको हो भनेर पत्याउनेहरुको भीड नेपालमा अझै भएकाले पनि खुमबहादुर र कमल थापाजस्तो धर्मको समग्र मुद्दालाई अपहरण गर्न लागी परेका कर्मकाण्डी धार्मिकहरु अस्तित्वमा रहेका हुन्।
साउदी अरब वा पाकिस्तानलाई आदर्श थापेर अब हामीले पनि ती समाजले लिएको दिशा लिनुपर्छ भन्ने हो भने कुरा अर्कै हो, नत्र नयाँ संविधानसित कुनै धर्मलाई मिसाउनु जरुरी छैन। हिन्दु धर्म र सभ्यताको रक्षा गर्ने एउटै उपाय भनेको हिन्दु धर्मावलम्बीहरुले यसको सारलाई अँगालेर मानवीय सेवामा लाग्दै जाने हो, यो वा त्यो देशको संविधान नामक राजनैतिक दस्तावेजमा लेखाएर हैन। हिन्दु धर्मको नाम भजाएर खुमबहादुरजस्ता भ्रष्ट व्यक्ति र राजसंस्थाजस्ता अधार्मिक संस्थाहरुले निहित स्वार्थ पूरा गरेकैले अहिलेसम्म हिन्दु धर्म प्रवद्र्धनमा कठिनाइ भएको हो।
धर्म परिवर्तन नै यदि हिन्दु धर्मका लागि खतरा हो भने दान गर्दा सम्पन्न र टाँठा पुरोहितहरुलाई नभएर विपन्न र असहायहरुलाई दान गर्ने र छुवाछुतजस्ता मानवद्वेषी परम्परा हटाउने हो भने मात्र पनि हिन्दु धर्म छाडेर इसाइलगायतका धर्ममा जाने मानिसहरुको संख्या आफैं कम हुने देखिन्छ। धर्मका नाममा मानिसहरुले मान्ने कर्मकाण्डका गलत कुरा सुधारचाहिं नगर्ने अनि संविधानमा देशलाई हिन्दु राज्य घोषित गरेर तथा धर्म परिवर्तनलाई निषेध गरेर हिन्दुहरुको संख्या घट्न नदिऊँ भन्नु समाज फेरि अर्को द्वन्द्व र विग्रहमा फसे फसोस् तर धर्मका नाममा मौलाएको कर्मकाण्डको खेती यथावत् रहनुपर्छ भन्नु हो।
हिन्दु समाजलाई जबसम्म निकोलस विन्टन र टम क्याटेनाजस्ता मानिसहरुले नभएर बाबु बजरंगी र आशाराम बापूजस्ता मानिसहरुले प्रतिनिधित्व गरिरहन्छन्, हिन्दुत्वका नाममा उरालिने नाराहरुले हिन्दु धर्मको सारलाई आम मानिसबाट अझ टाढा बनाएर यसको कर्मकाण्डीय रुपलाई झनै नजिक ल्याइदिन्छन्। दक्षिणतिरको विशाल छिमेकी भारतबाट नेपालले सिक्नुपर्ने धेरै कुरा छन् तर तीमध्ये त्यहाँ मौलाएको धर्मका नाममा भइरहेको अधर्म र अपराधको राजनीति एक हुनुहुँदैन। नेपालमा पनि कमलनयनाचार्य, कमल थापा र खुमबहादुर खड्का जस्ता मानिसहरु हुनु, उनीहरुका पछाडि उल्लेख्य भीड हुनु र बौद्धिक जगत्का केही हस्तीहरुले समेत परोक्ष रुपमा उनीहरुका गतिविधिलाई समर्थन गर्नु चिन्ताजनक कुरा हुन्। तर आशा गरौं, मास हिस्टेरियाको रुपमा देखा परेको धार्मिक राजनीतिको तरंग बिस्तारै हराएर जानेछ।
लेखक South Asia and Beyond नामक ब्लगमा नियमित लेख्छन्।