‘हामीले के पाउँछौं त्यसले हामीलाई बाँच्न सहयोग गर्छ। हामीले के दिन्छौं त्यसले हामीलाई बचाउँन सहयोग गर्छ।’
विन्स्टन चर्चिलले यस्तै केही भनेका छन्। धेरै कुरा बिर्से पनि उनको यो भनाई बिर्सेको छुइनँ।
एउटा सेनाको अधिकृत देशको प्रधानमन्त्री हुन्छ, त्यसमाथि सर्वाधिक सफल र लोकप्रिय! त्यही मान्छेले साहित्य लेख्छ। त्यो पनि त्यतिकै सफल र लोकप्रिय! नोवेल पुरस्कर प्राप्त गर्छ। त्यो एउटा मान्छे अरु कोही हैन, उनै बृटिस नागरिक चर्चिल हुन्।
चाह्यो भने एउटै मान्छेले कति धेरै गर्न सक्छ! मातृभूमि नेपालले अहिले त्यस्तै एउटा मान्छे खोजेको छ।
संवाहकहरू धेरै भए पनि परिवर्तनको वाहक एउटै हुन्छ। एउटा मान्छेको अथक परिश्रम, विश्वास, इमान्दारिता र दृढताले सोचलाई सम्भव बनाउँछ। कल्पविक्ष जस्तो संकल्प भयो भने गँगटाका कैंचीले कहिल्यै ढाल्न सक्दैन।
अस्थिर राजनीति र अकर्मण्य नेतृत्वले पछारेको मातृभूमि नेपाललाई अहिले झन् थाङ्थिलो हुने गरि भूकम्पले पनि भकुरेपछि देश अन्धाकारमा डुबेको छ। त्रासमा बगेको छ।
त्यही अन्धकार र त्रासको कालो वादलभित्र कतै चाँदीको सेतो घेरो देखिन्छ कि भन्ने आशमा बसेका छौं देश–विदेश बस्ने हामी नेपाली।
भूकम्पको सुखान्त उदाहरण दिँदा हामी मलेसिया र गुजरातको पुनर्निमाणलाई दिन्छौं। दूर्दान्त उदाहरण दिँदा हेइटीको विभत्सतालाई देखाउँछौं। तर, अहिले नेपालमा देखिएको अस्तव्यस्तता र अकर्मण्यतालाई हेर्दा त्यो दूर्दान्तको उदाहरण अब हेइटी हैन, नेपाल हुनेछ।
नेपाललाई हेइटीपथमा हिडाउँन चाहने विदेशी संस्थालाई निरुत्साहित गर्ने हो भने हाम्रा स्वदेशी अभियानहरुलाई हात र साथ दिनुपर्छ।
नयाँ उदाहरण हुन लागेको हाम्रो देशका मान्छे(?) बीचबाट एउटा मान्छे फुत्त निस्किएको छ। मान्छे जस्तो देखिन मान्छेले ‘कोशिश’ गरेपछि हुन्छ भन्दैछ। देशको भविष्यमाथि मडारिएको कालो वादलमा एउटा सानु चाँदीको घेरो देखिए जस्तो भएको छ, मलाई पनि।
म विजयकुमारलाई काँचका स्क्रिन र कागजका पानामा एक पत्रकारका रूपमा मात्र चिन्थे। ‘खुसी’ पढेपछि तिनै कागजका पानाका पत्रमा उनलाई लेखकका रूपमा चिन्न थालेँ। व्यक्तिगत रूपमा चिन्दिनँ।
व्यक्तिगत रूपमा म उनको आलोचक पनि होइन र ‘डाइहार्ड फ्यान’ पनि होइन। उनका लेखको ‘फलोअप’ गर्ने स्वाभाविक पाठक भने हुँ। सधैं सबै कुराप्रति सहमत नहुनु सायद अस्वाभाविक पनि होइन।
केही नभएका मान्छेको घना जंगल (जसलाई साधारण भाषामा ढोंगी समाज भन्छु) मा केही भएको एउटा बाङ्गो रूख हुन् विजयकुमार भन्ने एउटा स्वाभाविक पाठकको मस्तिष्कले ठम्याएको छ।
यो स्वाभाविक पाठकलाई के पनि लाग्छ भने-केही नभएको मान्छे समाजमा सजिलै बाँच्न सक्छ तर जोसँग केही छ, त्यसलाई बाँच्न झन् गाह्रो छ। लेखनमा सौर्य र सामर्थ्य नहुन्थ्यो त वियजकुमार लेखकका रुपमा बाँच्दैनथे, सायद।
लटरम्म फलेको आँपको रूखमा ढुङ्गा हान्ने कति हो कति हुन्छन्, थारो रुखतिर हेर्ने को नै हुन्छ र? तर, बगैंचामा अहिले म धेरै थारा रूख नै देख्छु। ती थारा, जो सधैं सुरक्षित छन्।
जसले सत्य, निष्ठा र इमान्दारिता लेख्छ त्यसले पाठक धेरै कमाउँछ तर मित्र धेरै गुमाउँछ। जसले प्रवृत्ति होइन, व्यक्ति र अनुहारका गीत र गाथा लेख्छ, सीताका गीता गाउँछ उसका मित्र जस्ता देखिने मित्र धेरै हुन्छन्।
विजयकुमारजीका हकमा पनि असत्य जस्तो देखिने यो सत्य पक्कै लागू हुन्छ नै। उनका स्वीकारोक्ति मैले पनि पढेको छु। हुन त स्वाभिमानलाई अभिमान देख्ने विरामी आँखाको उपचार कसैले गर्न सक्दैन। विजयकुमारले कसरी सकुन्।
उनलाई म, उथल माने पुथलवादी लेखक पनि भन्छु।
यिनै उथल माने पुथलवादी लेखक विजयकुमार, भूकम्पले ढलेको एउटा गाउँलाई नमूना गाउँ बनाउँने सपना लिएर आएका छन्। त्यो सपनालाई उनले ‘कोशिश’ भनेर न्वारान गरेका छन्। अर्थात पत्रकार र लेखकका रूपमा मैले चिनेको विजयकुमार आज देशका एक अभियन्ता भएका छन्।
‘जसको बिहेमा पनि आफैं बेहुलो हुने’ खलनायकी प्रथालाई खिसिटियुरी गर्दै विजयकुमार आफू लमी भएर नेपालीको घर बनाउने सपनालाई साकार बनाउन लागिपरेका छन्। हामी (म र जोत्सना) पनि त्यो सपनाको जन्ती भएका छौं।
सपना साकार हुन, सपनाले आकार लिनुपर्छ। आकार लिन गाह्रो हुन्छ तर लिएपछि साकार हुन गाह्रो हुँदैन। सपनाले आकार लिइसकेको छ।
विजयकुमारका लेखन र विचारसँग सहमति/असहमति आफ्नै ठाउँमा होलान् तर ‘कोशिश गरेपछि सकिन्छ’ अभियानमा असहमत हुने ठाउँ देखिनँ।
कसैले असल काम गर्छ भने व्यक्तिगत इगोका साँध, सीमाना र नर्कटका बारलाई भत्काउनु पर्ने हुन्छ तब मात्र आफू पनि असल सोच्न र गर्न सकिन्छ। धेरैले जस्तो मैले पनि उनको अभियनाप्रति कुनै आग्रह–पूर्वाग्रह राखिनँ।
हामी बाँच्नका लागि जन्मेका हौ, तर आफ्ना लागि मात्र होइन। टाढा जानु पर्दैन, हाम्रै डा. गोविन्द केसी बलिया उदाहरण हुन्। आफ्नो सम्पूर्ण जीवन दिनदुःखीको सेवामा लगाइरहेका डा. केसी यति धेरै गर्न सक्छन् भने हामी अलिकति थोरै किन सक्दैनौं? प्रश्नले घोचिरहेको थियो। दुखिरहेको थियो।
‘अब संकल्प गरौं’ भनेर यही सेतोपाटीमा केही समय अघि लेखेपछि दुःखाई अलि कम भयो। त्यही लेखमा एउटा सानु (आफ्नो सामथ्र्यले भ्याउने) संकल्प गरेको थिएँ। त्यसमा अहिले अलिकति बढाए। धेरै हैन, मात्र एकहजार।
दानको सम्मान गर्नुपर्छ, प्रचार गर्नु हुँदैन भन्ने चलन पनि छ। तर हामीले जे जति दिएका छौं, कसैलाई दान दिएको होइन, योगदान गरेका हौं। अझ स्पष्टरुपमा भन्ने हो भने सहयोग गरेका हौं, त्यो पनि व्यक्तिलाई हैन, देशलाई।
किन बढाएँ एकहजार?
देश-विदेश बस्ने हामी नेपालीले मातृभूमि नेपाललाई बेलाबेला सहयोग गरेको कुरा घाम जस्तै छर्लङ छ। त्यसमाथि भूइँचालोले लडाएपछि मनमुठी खोलेर सहयोग गर्ने सज्जन पनि धेरै छन्। हुन त यस्तो बेलामा पनि मुठी कसेर बस्ने कृपण पनि देखिए। केहीलाई तपाइँहरुले देख्नु भएको होला, केहीलाई मैले पनि देखेँ।
जे भए पनि धेरैले गर्यौं। अझैं गरिरहेका छौं र अझै गर्नु पनि पर्छ। नेपाल हाम्रो घर हो, विदेश हाम्रो डेरा मात्र हो।
अहिले हामी लगभग १५ लाख नेपाली युरोप, अमेरिका, अष्ट्रेलिया र जापान आदि देशमा छरिएर बसेका होलाऊँ। हामी १५ लाखले अरू एकएक हजारमात्र थप्ने हो भने कति थपिन सक्छ र अरु कति गाउँ ठडिन सक्छन्? यही सोचेँ, आफूलाई बिसे नगर्ची बनाएँ।
एकएक थोपा पानीले एउटा गाग्रो भरिन्छ। एकहजार रूपैया भनेको विदेश बस्ने नेपालीका लागि एकथोपा पानी हो, जम्मा दश डलर! अमेरिका लगायत विभिन्न देशमा मनाइने अनेकौं ‘डे र होलीडे’मा हामीले गर्ने ‘दवादारू’ खर्चको सानो अंशमात्र कटाए त्यो एक थोपा सजिलै चुहाउन सकिन्छ।
विजयकुमारले एउटा गाउँका लागि एउटा गाग्रो थापेका छन्, दान मागेका छैनन्। हामीले एक-एकथोपा चुहाउन सके त्यो एउटा मात्र हैन, अरु सयौ गाग्रा भरिन सक्छन्। गाग्रा थाप्न अरू विजयकुमारहरु पनि निस्किनुपर्छ।
थोरै मात्र किन नहोस्, समय र पैसा अरूलाई बिगार्न होइन, सपार्नमा खर्च गरे त्यसले आफू कति खुसी दिन्छ, बल्ल थाह भयो।
वैशाख १२ र २९ भूइँचालोले देश ढल्दा हामी आफैं ढलेजस्तो भएका थियौं। लडेपछि हामी हारेको ठान्छौं तर लड्नुमात्र हार्नु होइन, लडेर उठ्न नसक्नु हार्नु हो। लेखक विजयकुमारले भन्नु भएको छ– हामी थाकेका छौं, तर हारेका छैनौं। यसैमा थप्छु, हामी लडेका छौं तर हारेका छैनौ।
राहतपछि पनि निर्माण-पुनर्निमाणमा सहयोग गर्ने इच्छा देश-विदेश बस्ने नेपालीमा छ तर भौतिकरुपमा उपस्थित हुन नसक्ने वाध्यताले पनि हामीलाई घेरेको छ। कसरी गर्ने, कुन माध्यमबाट गर्ने? रनभुल्लमा पनि पारेका छौं। यदि कोही यो अवस्थामा हुनुहुन्छ भने ‘कोशिश’ हाम्रा लागि उत्तम माध्यम बन्न सक्छ।
विजयकुमारले, हामी पनि सक्छौ भन्ने सन्देश मात्र दिएका छैनन्, बाटो पनि देखाएका छन्। केही गर्न खोज्नेलाई सहयोग गर्ने कि नगर्ने?
अरूका लागि बत्ती बालियो भने त्यो उज्यालोमा आफू पनि हिड्न सकिन्छ। देशको राजनीतिक नेतृत्व कुहिरोका काग भइरहेको बेला गाली र आलोचनामात्र गर्नु भन्दा ‘कोशिश’ भन्ने गाग्रोमा एकथोपा खसाइ दिनु बुद्धिमता हुन सक्छ भन्ने सोच्यौं।
मित्रहरु, पाउँदा हामी जति खुसी हुन्छौं दिँदा पनि त्यतिनै खुसी हुन सक्नु भनेकै उदारता हो । उदारता प्रेमको मापन पनि हो?
प्रेम र खुसी त हामीभित्रै अटसमटस खाँदिएर बसेको हुँदो रहेछ भन्ने कुरा अहिले मात्र थाहा भयो। प्रेम गर्न र खुसी हुन पनि जान्नु पर्दो रहेछ। जानेपछि प्रेम र खुसीका फूल मन-मुहार सजिलै फुल्दा रहेछन्। समयले खुसी बाड्न फेरि पनि समय दिओस्।
‘मानिसको उद्धेश्य पवित्र छ भने सघाउने हात आफसेआफ् आउँछन्’ भन्ने वचनमा हामीलाई पनि विश्वास छ। फूलमती विकको वीउ रकम २० रूपैयाले सयौं परिवारलाई स्वावलम्बी बनाउनेछ भन्ने विश्वास पनि छ।
कोशिश गरेपछि नहुने केही छ? पक्कै हुन्छ भन्ने विश्वास अझ बढी छ।
अन्त्यमा,
अमेरिकासँग बेखुस छैन। वाध्यताले पोलेको मेरो जर्जर छातीभित्र उम्रिएका रहरको रुख हो अमेरिका। जुन रूखले केही नमीठा तर धेरै मीठा फल दियो।
अमेरिका बसेर आज म अलिकति भए पनि केही गर्न सक्ने भएँ। अमेरिकाले हामी (परिवार)लाई धनी बनाएन तर तन्नम हुन पनि सिकाएन।
अमेरिकाले काम गरेर लिन सिकायो। लिएपछि अलिकति दिन पनि सिकायो।
(हरैंचा, मोरङ, हालः बोस्टन, अमेरिका।)