तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई मधेसी मोर्चाका मन्त्रीहरूसँग भन्ने गर्थे, यसो बुझिहेर्नुस् न शीतल निवास कति शीतल छ ? तात्तिरहेको पो छ कि ?
उनी आफैं भने राष्ट्रपति रामवरण यादवसँग धेरै खुल्दैनथे । त्यसो त उनी खास संवाद गर्ने स्वभावका नेता पनि होइनन् । त्यसमाथि कम बोल्ने बानीले उनी कसैसँग हित्तचित्त मिलाउन सक्थेनन् ।
गत मंसिर ७ को पुर्वसन्ध्यामा मन्त्री राजेन्द्र महतो शीतल निवास पुगे । राष्ट्रपति यादवले दिल खोलेर भनिदिए, के यो सरकार यत्तिकै बसिरहने सोच्दैछ ? चुनाव नगरी कसरी बस्न मिल्छ ? कहिलेसम्म बस्ने ?राष्ट्रपतिले शब्द नचपाई केही चेतावनी पनि थपिदिए, चुनाव गर्न नसक्ने सरकारलाई मैले टुलुटुलु हेरेर बसिरहन मिल्दैन ।
मन्त्री महतोले प्रधानमन्त्री भट्टराईलाई कुरा लगाइदिनु स्वाभाविकै थियो ।
त्यसपछि राष्ट्रपति यादव बनारस हिन्दु विश्वविद्यालयको दीक्षान्त समारोह हुदै नयाँ दिल्ली सवार भए । सवारी मन्त्रीका रुपमा महेन्द्र राय यादव थिए । राष्ट्रपति यादवले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग वार्तालापका क्रममा भनिदिए, सहमतिको सरकार गठनको पहल गरिरहेका छौं, दलहरू पनि खोजिरहेका छन्....।
राष्ट्रपतिको अभिव्यक्तिमा केही खालि ठाउँ देखेर प्रधानमन्त्री सिंहले सोधे, सहमतिमा कसले व्यवधान दिइरहेको छ त ?
राष्ट्रपति यादवले जवाफ दिए, प्रधानमन्त्री भट्टराईले ।
त्यो द्विपक्षीय भेटवार्तामा सरिक मन्त्री यादवले आफ्ना प्रधानमन्त्रीलाई रिपोर्ट गर्नु स्वाभाविक थियो । लगत्तै काठमाडौंमा भट्टराई गर्जिए, राष्ट्रपतिले दिल्ली पुगेर मेराविरुद्ध कुरा लगाए ।
राष्ट्रपतिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर कांग्रेस सभापति सुशील कोइरालाका नाममा सहमतीय सरकार बनाउने भनेर गरेको पहल भट्टराईका कारण असफल भएको बेला थियो त्यो । भट्टराई रारा ताल भ्रमणमा गएको दिन दाहालको अग्रसरतामा सहमतीय सरकारको समझदारी बनेको थियो र तीन शीर्ष नेताले राष्ट्रपतिलाई ब्रिफिङ गरेपछि शीतल निवासबााहिर निस्केर दाहालले पत्रकारहरूलाई भनिदिएका थिए, देश सहमतितिर गयो अब ।
भट्टराई राजधानी फर्किए । जानकार स्रोतहरूका अनुसार भोलिपल्ट बिहानै लाजिम्पाट पुगेर दाहालसँग जंगिदै भनिदिए, तपाईं सुशीललाई प्रधानमन्त्री बनाउन लाग्नोस्, म बन्न नदिन लाग्छु ।
राष्ट्रपति यादव र तत्कालीन प्रधानमन्त्री भट्टराईबीच हार्दिक सम्बन्ध थिएन । सिंहदरबार छाडेको एक महिनापछि भट्टराईले पत्रकार सम्मेलन गरी आफूविरुद्ध राष्ट्रपतिले चारपल्ट सत्ताविप्लव (कु देता) को प्रयास गरेको संगीन आरोप लगाए । साथै संविधानसभा निर्वाचनको ढिलाइमा समेत राष्ट्रपतिको भूमिका जिम्मेवार रहेको दाबी गरे ।
यसबाट यादव र भट्टराई राष्ट्राध्यक्ष र सरकार प्रमुखका रूपमा कस्तो सम्बन्ध रहेछ र डेढ वर्ष नेपालले दुई शीर्ष पदाधिकारीबीचको चिसो सम्बन्धबाट गुजारेको रहेछ भन्ने छर्लंग भएको छ ।
यादव र भट्टराईबीच यादव राष्ट्रपति बन्दादेखिकै धेरै राम्रो सम्बन्ध होइन । भट्टराईले नै हो माओवादीबाट रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउन बल गरेको । त्यसविपरीत कांग्रेस उम्मेदवार यादव विजयी भइदिए ।
पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा प्रधान सेनापतिबाट रुक्मांगत कट्वाललाई कारवाही गर्न मन्त्री भट्टराईकै सक्रिय भूमिका थियो भनेर दाहाल स्वयम्ले भन्ने गरेका छन् । मन्त्रिपरिषद्ले सेनापतिलाई बर्खास्तको निर्णय गर्यो भने राष्ट्रपतिले रोकिदिन्छन् भन्ने जानकारी पाएपछि मन्त्री भट्टराईले नेताहरूसँग भनेका थिए, ल हेरौंला राष्ट्रपतिले कसरी रोक्दा रहेछन् ?
राष्ट्रपतिले रोकिदिएपछि कु भयो भनेर भट्टराईसहित माओवादी नेताहरू चर्को प्रतिवादमा उत्रिए । राष्ट्रपतिलाई भेट्न बरु अध्यक्ष दाहाल जाने गर्थे र खुलस्त कुराकानी गर्थे, भट्टराईको भने त्यस्तो खासै सम्बन्ध देखिएन ।
संविधानसभा अवसानको बिहान पनि राष्ट्रपति यादवले शीतल निवासमा प्रधानमन्त्रीलाई भने, जे गर्ने हो चार शक्ति मिलेरै गर्नोस् है । त्यही वरिपरि उनले जनाउ दिइसकेका थिए, संविधानसभा रहेन भने तपाईं प्रधानमन्त्री पनि कामचलाउ मात्र रहनुहुनेछ नि ।
राष्ट्रपति कार्यालयले वक्तव्य जारी गरेर प्रधानमन्त्रीलाई पदमुक्त घोषणा गर्दै कामचलाउन मात्रै सरकार रहेको जनायो । त्यसबाट भट्टराई क्रुद्ध भए तर प्रतिक्रिया जनाइहालेनन् । केही अन्तरालपछि भने उनले मन्त्रिपरिषद् बैठकबाटै राष्ट्रपतिबाट भएका संविधानविपरीतका काम भनेर आफूलाई पदमुक्त भन्नु पनि रहेको औंल्याइदिए । त्यसबाट त दुई संस्थाबीचको सम्बन्ध झन चिसिन पुग्यो ।
राष्ट्रपतिले सहमतीय सरकार आवश्यक रहेको भनेर दलहरूलाई म्याद दिने सिलसिला थालेपछि त त्यो सम्बन्धको तापक्रम झन कम हुँदै गयो । त्यही क्रममा राष्ट्रपतिले सेनापति गौरवशम्शेर राणासँग चुनाव गराउन नसक्ने सरकारबारे केही निर्णय गर्नुपर्ला भन्ने विचार विमर्श गरे ।
स्रोतहरूका अनुसार सेनापति राणाले राष्ट्रपतिको धारणा प्रधानमन्त्री भट्टराईकहाँ पुर्याइदिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच सोझै संवाद हुन छाडेर सेनापतिमार्फत खेल्ने अवस्था बनिसकेको थियो । भट्टराईले शुक्रबार पत्रकार सम्मेलनमा भनेअनुसार सेनापति राणाले राष्ट्रपति यादवको कदममा साथ दिन अस्वीकार गरेका थिए ।
शीतल निवास र सेनापतिबीच त्यसयता विश्वासको कमी रहन थालेको उच्च जानकार स्रोतहरूले बताउने गरेका छन् । भट्टराईले सार्वजनिक गरेको विवरणले त दुई पदाधिकारीबीच झन शंका बढाउने छ र जनताका दृष्टिमा पनि अपत्यार देखिने छ ।
जे भए पनि सेनापतिसँगका संवेदनशील छलफल सार्वजनिक गर्नु कमजोर चरित्र हो । साथै यस प्रकरणमा सेनापति राणाले आफ्नो दृष्टिकोण प्रष्ट गर्न जरुरी छ । राष्ट्रपतिसँगको सम्बन्धका लागि मात्र होइन, नेपाली सेनाकै गैर राजनीतिक चरित्रका लागि समेत ।
राष्ट्रपति यादव खुला छलफल रुचाउँछन्, बेलाबेला झर्रो भाषामा प्रकट पनि हुने गर्छन् । कति मामिलामा त संकोची व्यवहार पनि गर्छन् । जस्तो भट्टराईलाई डेढ वर्ष सरकार चलाएकामा धन्यवाद दिँदै बिदाइको चिया सत्कार गर्नु राष्ट्राध्यक्षको स्वाभाविक भूमिका हुने थियो । पदमा हुँदाको तीतोमिठो बिर्सने गरी हार्दिकता बाँध्ने अवसर त्यस्ता क्षणमा बनाउन सकिन्छ । त्यस्तोमा उनी चुक्ने गर्छन् ।
राष्ट्रपति यादवले पाँच वर्षमा पाचौं प्रधानमन्त्रीलाई शपथ खुवाए र तीनजनाको मात्र राजीनामा स्वीकृत गरे । चौथा प्रधानमन्त्री अर्थात् भट्टराईले राजीनामा दिनै नपर्ने गरी विडम्बनापूर्ण तरिकाले संविधान संशोधन गरियो । जसले राजीनामै नदिई घर बसे, तिनैले राष्ट्रपतिलाई सबभन्दा कठोर लाञ्छना लगाएका छन् ।
सर्वोच्च स्तरमा व्यवहार गर्ने यस्ता पदाधिकारीले अर्कालाई आक्षेप लगाउनु राजनीतिक लाभका लागि पदीय प्रतिष्ठा विर्सनुमात्र हो । राजनीतिक लाभकै खातिर भट्टराईले सिंहदरबारबाट हटेको एक महिनापछि जिब्रोको तितो फालेका छन् । उनले आफू राष्ट्रपतिको षडयन्त्रबीच पनि सफल भएको सन्देश दिएर स्याबासी बटुल्न खोजेका होलान् । साथसाथै राष्ट्रपतिविरुद्ध उभिएर फु गरेपछि अरु विरोधीलाई त त्यसै राजनीतिक रूपमा ढाल्न सकुँला भन्ने सोचेका होलान् । तर यो उनको फु प्रकरणलाई स्वयम् उनकै पार्टीले आत्मसात गर्ने र शीतल निवासविरुद्ध उभिने सम्भावना छैन ।
पहिलो प्रश्न, सत्ताबाट हटेको एक महिनापछि उनी किन राष्ट्रपतिविरुद्ध खनिए ? राष्ट्रपतिस“ग कार्यकारी अधिकार नभएको थाहा हु“दाहु“दै कसरी सत्ता अपदस्थ गर्न सक्थे ? सेनापतिलाई राष्ट्रपतिबाट फुत्काएर आफ्नो पक्षमा राख्न फकाइफुकाई गर्ने पनि षड्यन्त्र होइन ?
राष्ट्रपतिले कहिलेकाहीँ छुचो रुपमा भनेकै हुन्, सरकारमा भ्रष्टाचार छायो, चुनाव नगरी कहिलेसम्म बस्न मिल्छ ? सहमतिको सरकार नबनाई बजेट पारित गरिदिन्नँ । नेताहरू, मन्त्रीहरूलाई बोलाएर सम्झाउने र बेलाबेला तर्साउने समेत गरेको बुझिन्छ । तर ती त शीतल निवासभित्रका अनौपचारिक वार्तालाप र अन्तरंग हुन्, त्यसैलाई सत्ताविप्लवको षड्यन्त्र मान्न सकिँदैन ।
भट्टराईको राजनीतिक चिन्तनमा रहेको जडताकै समस्या हो यो । अन्य धारणा राख्नेहरूसँग सहअस्तित्वको भावना उनमा अझै विकास हुन सकेको देखिएन । राष्ट्रपतिले प्रश्न गर्दा वा चेतावनी दिँदा षडयन्त्र देख्ने क्रममा भट्टराईले आफ्नो असली चिन्तन प्रकट गरेका छन् । उनले भनेका छन्, राष्ट्रपति र सभाध्यक्ष समेत माओवादीबाट हुनुपर्छ, नत्र फेरि पनि संविधान बन्दैन ।
अर्थात् माओवादीलाई सत्ता चाहिने, संविधानसभा चाहिने र शीतल निवाससमेत चाहिने । तीनवटै अंगको नेतृत्व आफैंले गर्नुपर्ने । हुनतः शक्ति पृथकीकरण भन्ने सिद्धान्त माओवादमा हुँदैन । हेटौंडा महाधिवेशनबाट हथौडाको तालीले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएकै हो । त्यसकारण भट्टराईले जे भने आफ्नो सोचको तस्बिर खुलस्त पारिदिएका छन् । अरु विचार र राजनीतिक आस्था राख्नेहरूको पनि अस्तित्व यो देशमा छ भन्ने स्वीकार गर्न नसकेको छटपटी हो यो ।
प्रश्न शीतल निवास कति शीतल वा तातो छ भन्ने होइन । प्रश्न हो, माओवादी नेताहरूको वैचारिक जडतामा सुधार आउने र सहअस्तित्वको राजनीतिक मूलधार कहिले स्वीकार गर्ने हो ।