झ्यालबाट बाहिर चिहाउँदा जून बादलहरूबीच कतै लुकेको थियो । आकाश गड्गडाउँदै थियो, तर्याकतुरुक पानी छिट्याउन थालेको थियो । रातको गहिराइसँगै मौसम चिसिँदै गएको थियो ।
कोठाको तापक्रम घट्दै थियो । अघि खाना खाएपछिको हप्प गर्मी थिएन । अरू दिन भए यतिखेर म फुसफुसी निदाइसकेको हुन्थेँ । सपनालोकमा गोता खाइरहेको हुन्थेँ होला !
अहिले भने आँखामा पटक्कै निद्रा छैन । जूनजसरी नै मस्तिष्कको कुनै कुनामा लुकेको छ निद्रा सायद, आँखाका कोशहरूसम्म आउन मानेको छैन ।
मध्यरात कटिसकेको हुनुपर्छ ।
मैले पर्दा पन्छाएँ र ओछ्यानबाटै बाहिरको अँध्यारोमा आँखा गाढ्न थालेँ । कतै अघिका बुढा मान्छे मेरै घरअगाडि आइपुगेका त छैनन् ?
घर सामुन्नेको बाटोमा केही मान्छे सर्याकसुरुक गर्दै थिए । केही बोल्दै पनि थिए ।
ती बुढाको आवाज यति चर्को छैन । उनी त सुस्तरी बोल्छन् । कुनै गहिरो खाडलबाट निस्केजसरी उनकै घाँटीका भित्ताहरूमा ठोक्किँदै बाहिर निस्कँदा आवाजको रूप बेग्लै हुन्छ । रातको अँध्यारोमा उनले टेक्ने लट्ठीको आवाज पनि टक्टक् गर्दै निकै टाढासम्म सुनिँदो हो ।
बाहिरै गएर एकचोटि हेरुँ कि भन्ने मनमा आयो । ओछ्यानबाट निस्कन जाँगर चलेन । बाहिरसम्म पुग्न तीनवटा ढोका खोल्नुपर्छ । ओछ्यानबाटै यति राम्ररी जूनको अँध्यारो देखिइरहेको छ भने किन बाहिरसम्म पुग्ने झन्झट गरिरहुँ !
कोठाबाहिर दुइटा बाइक थिए, पातलो ओढ्नेले ढाकेका । बाहिर हल्ला गर्ने को रहेछन् भनेर कम्पाउन्ड नाघेर आँखा दौडाएँ ।
अँध्यारो र त्यसले जन्माएको शान्तिबाहेक खासै केही देखिएन ।
रुखका पातहरू सुस्तरी फर्फराइरहेका थिए । ससाना बिरुवा हल्लिरहेका थिए । अघिको सर्याकसुरुक अहिले सुनिएन । कोही बोलेको आवाज पनि अहिले सुनिन छाड्यो ।
बाहिर एक फन्को मारेर मेरा नजर कम्पाउन्डभित्र छिरे । प्लास्टिक ओढेका दुवै बाइक हलुका चल्मलाएजस्तो लाग्यो । मुटु ढक्क भयो ।
बाइकभित्र केही लुकेको त छैन ? बिरालो वा कुकुर ?
कोही मान्छे नै त लुकेको छैन ? चोर वा अरू नै कोही ?
एकछिन आँखा गाढेर हेरेँ, बाइक चल्मलाएका थिएनन् । बाइकले ओढेका प्लास्टिकमात्र फर्फर् गरिरहेका थिए । नजरको भ्रममात्र रहेछ भनेर ढुक्कको लामो सास फेरेँ ।
झ्यालका पर्दा लगाएँ र ओछ्यानमा पल्टेँ ।
मनमा त्यही बुढा आइरहेका छन्, यहीं आँखाअगाडि नै छन् जसरी । मेरो हृदय हल्लाइरहेका छन् । मस्तिष्कमा पनि ट्वाकट्वाक हानिरहेका छन् ।
भन्दै थिए, ‘काठमान्डुमा भ्रममा बाँच्छ बाबु, अप्राकृतिकतामा बाँच्छ ।’
मैले के जवाफ दिनु ?
उनको कुराको कुनै छेउटुप्पो थिएन । म त खालि सुनिरहेको थिएँ ।
घर आएपछि पो बल्ल तिनका भनाइ मेरो मनको भित्तामा बज्रिरहेका छन् ।
ड्वाङ ! ड्वाङ !! ड्वाङ !!!
...
साँझ घर फर्कंदै गर्दा साथीको फोन आयो, ‘कता हो ?’
मैले भनेँ, ‘यहीँ छु तीनकुनेमा । घर जाँदै छु ।’ साढे सात बजेको थियो ।
‘ह्या के जानु त यति चाँडै घर ? नयाँ बानेश्वर आऊ न, हामी यहीं बसिरहेका छौं, हल्का पार्टी चल्दै छ,’ साथीले उक्स्यायो ।
‘म त घर पुग्नै लागिसकेँ, आउँदिन यार आज,’ जान पनि मन थिएन ।
‘ल ल आऊ आऊ, बरु म बाइकमा लिन आऊँ ?’ साथीले के छाड्थ्यो !
‘तीनकुनेबाट नयाँ बानेश्वर त म हिँडेरै आउन सकिहाल्छु नि, तर मैले आज घरमा चाँडै आउँछु भन्या थिएँ... , ’ मैले भने ।
‘ल ल आऊ, एक घन्टामा हिँडिहाल्ने हो,’ साथीले निकै जोड ग¥यो ।
‘ल त ल, म आउँला । रामनवमीको दिन पनि केको पार्टी हो यिनीहरूको !’ म ठुस्किएँ र फोन राखिदिएँ ।
नौ बजिसक्दा पनि साथीहरूले उठ्ने छाँटै ल्याएनन् । क्वाटरका क्वाटर थपिरहे । आफ्नो कोटा त एक प्लेट भेज मोमो र एउटा रियल जुस खाएपछि पुगिहाल्यो । कति सुन्नु यिनीहरूका हावादारी गफ ! मलाई झिँझ्याट लाग्यो ।
भनेँ, ‘ल म चाहिँ हिँडे है अब ! तिमीहरूको लामो जालाजस्तो छ ।’
साथीले भन्यो, ‘बस न बस, हामी पनि अब उठिहाल्ने हो ।’ उनीहरूले भर्खरै नयाँ क्वाटर थपेका थिए ।
‘होइन, म जान्छु अब, तिमीहरु खाइसकेर उठे भयो नि त,’ मैले भनेँ र रेस्टुरेन्टको सोफाबाट उठेँ ।
‘ल त ल, कसरी जान्छौ त ? बाइकमा पुर्याइदिउँ ?’ साथीले ह्विस्कीको अर्को चुस्की मार्दै भन्यो । ऊ मस्त मातेको थियो । घर त कसरी पुग्ला भनेजस्तो मान्छे मलाई पुर्याइदिन्छु भन्दै थियो ।
म हाँसे र भनेँ, ‘पर्दैन, त्यहीँ त हो, हिँडेरै गइहाल्छु नि ।’
‘हो त ? ल त ल,’ साथीले भन्यो । म रेस्टुरेन्टबाट बाहिर निस्केँ ।
नयाँ बानेश्वर चोकमा बत्तीको झिलीमिली थियो । मोटरहरू दौडिरहेकै थिए । बाइकहरू बत्तिरहेकै थिए । फाट्टफुट्ट मानिस पनि हिँडिरहेका थिए ।
म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि फराकिलो बनाएर धूलैधूलो उड्ने पारेको बाटो तीनकुनेतिर हिँड्दै थिएँ । बाटोमा खाल्टाखुल्टी थिए । तारहरू जताततै लत्रिएका । तिनलाई पन्छाउँदै म घर पुग्न ढिला हुने भयो भन्ठान्दै लुइँलुइँ पाइला लम्काइरहेको थिएँ ।
सम्मेलन केन्द्र कटिसकेपछि ट्रली बस कार्यालय अघिल्तिरका खाल्टाखुल्टी छलिँदै अघि बढ्दा मलाई पिसाबले च्याप्यो ।
हत्तेरी ! रेस्टुरेन्टमै गरेर आउनुपर्ने रहेछ । घर पुग्न अझै दस–बाह्र मिनट बाँकी थियो ।
बाटो नभत्काउँदा त ट्रली बसको कम्पाउन्डअगाडि झ्याङ थियो । खुला शौचालयजस्तै थियो त्यो । दिउँसै पनि त्यहाँ पिसाब गर्न असजिलो मान्दैन थिए बटुवा । रातिको त कुरै भएन !
अहिले त राजमार्ग फराकिलो पार्न भत्काएर छेउछाउका झ्याङ, यात्रु प्रतीक्षालय, रुखका ठुटाठुटी सबै हटाइएका छन् । मीनभवन यात्रु प्रतीक्षालय भएको ठाउँ पनि हिजोआज खुला छ । तैपनि राति त पिसाब गर्न के गाह्रो हुन्थ्यो !
बाटो फराक पार्ने क्रममा डोजरले माटो थुपारेको ठाउँतिर कुना लागेँ म । नवमीको जून बादलले छेकेको थियो । बादलकै कुनाकानीबाट निस्केको उज्यालोले भए पनि सडक निष्पट्ट अँध्यारो थिएन । तैपनि हिँड्दा होस पुर्याउनुपथ्र्यो ।
माटो थुपारेको ठाउँमा अलिकति खालि थियो । नजिकै एउटा रुखको जरा लडिरहेको रहेछ । त्यहीं पिसाब गर्ने सोच्दै म छेउमा पुगेँ ।
पिसाब गर्न ठीक्क परेको थिएँ, रुखको त्यो जरा चल्मलायो । मेरो सातो उड्यो ।
म टक्क अडिएँ । रुखको जरा चल्मलाएको कहिल्यै देखेको थिइनँ ।
त्यत्तिखेरै बादलबाट जूनको एउटा अंश निस्कियो र पृथिवी उज्यालो भयो । मीनभवन बसस्टपवरिपरिको जमिनमा पनि उज्यालो छरियो । मैले चल्मलाउँदै गरेको रुखको जरातिर हेरेँ । कुनै बुढो मान्छेजस्तो पो छ त्यो त !
निहुरिएर हेरेँ । एकजना बुढा मान्छे लुगाको पोको सिरानी लगाएर सुतेका रहेछन् । आडैमा बाँसको एउटा लौरो पनि थियो ।
मलाई लाज लाग्यो । पिसाब कता भाग्यो कता !
बुढा मान्छे सुतेकै होलान् भन्ने निश्चिन्त हुन भुइँमा टुसुक्क बसेर उनलाई हेरेँ । खोपिल्टो परेको अनुहारमा मैलो टोपीको ठ्याक्कै मुन्तिर उनका एक जोर आँखा जूनको उज्यालोमा टिलटिल टल्किरहेका थिए । मेरा आँखा बुढाका आँखासँग ठ्याक्कै जुधे ।
मेरो डर र लाज एकै ठाउँमा मिसियो । अनौठो संवेदना उठ्यो मनमा ।
मुखबाट अचानक निस्क्यो, ‘म त रुखको जरा भन्ठानेर... ।’
सुतेको ठाउँबाट बुढा मान्छे जुरुक्क उठे र हिँहिँहिँ गर्दै हाँस्न थाले ।
‘नत्र पिसाब नै गर्दिन लाग्नुभा’थ्यो ?’ बुढाको स्वर अनौठोसँग मसिनो तर स्पष्ट थियो ।
म लाजले पानीपानी भएँ । ‘सरी बाजे... अँध्यारोमा केही त देखिँदैन... ,’ मुखबाट लाजले भरिएको कमजोर आवाज निस्क्यो ।
बुढा मान्छे फेरि हिँहिँहिँ गर्दै हाँस्न थाले ।
‘तपाईं कहाँ सुत्नुभएको त यहाँ ? कतै छेउकुना लागेको भए हुन्थ्यो नि !’ मैले भनेँ ।
‘आजकाल यहाँ छेउकुना कहाँ छ र बाबु, सबै भत्काएका छन्, मेरो घर भन्नु यही मीनभवनको यात्रु प्रतीक्षालय थियो, राति यहीं सुत्थेँ, अहिले त्यो पनि भत्काइदिए... ,’ गहिरो इनारबाट निस्केजसरी बुढाको आवाज निस्क्यो ।
बुढाको आवाजमा दार्शनिक टोन थियो । उनको कुरा सुनेर मेरो मन द्रवित भयो । सँगै उत्सुकता पनि जाग्यो ।
‘तपाईंको कतै घर छैन ?’ मेरो हृदयको आर्द्र्ता पोखियो ।
बुढा मान्छे फेरि हिँहिँहिँ गर्दै हाँस्न थाले ।
‘किन हाँस्नुभयो ? मैले साँच्चिकै सोधेको !’ मैले भनेँ ।
‘के घर, के डेरा बाबु ! पृथिवी नै मेरो घर हो, यही डेरा हो । अहिलेलाई काठमाडौं नै मेरो घर हो,’ बुुढाका कुरा बुझिनसक्नु थिए । अलिअलि खुस्केका थिए कि !
‘कस्तो रुखको जराजसरी सुत्नुभएको त ?’
बुढा मान्छे फेरि हाँसे र भने, ‘म रुखको जरा नै हुँ बाबु ।’
रातको दस बज्न लागिसकेको थियो । मलाई घर पुग्न ढिला भइसकेको थियो । घरबाट फोनका फोन आइरहेका थिए ।
बुढा अलि सिल्लिएजस्तो लाग्यो ।
‘लौ त लौ, म जान्छु अब, तपाईं सुत्नुस् न त !’ म टुसुक्क बसेको ठाउँबाट उठेँ ।
‘तपाईंलाई मेरा कुरा मन परेनन् ? तपाईंले मेरा कुरा बुझ्नुभएन बाबु, हुन त यो सहरमा कसले कसका कुरा बुझ्छ र ?’ बुढा झनै दार्शनिक भएर निस्किए ।
‘कुरा बुझाउनु न त !’ मैले भनेँ ।
‘तपाईं झुक्किनुभएको होइन बाबु । म रुखको जरा नै हुँ, रुखको जराजसरी नै लडिरहेको थिएँ, तपाईं आउनुभयो, बल्ल मानिस भएँ,’ बुढाको स्वरमा अचम्मको मिठास थियो ।
कुरा भने केही बुझिएकै होइन !
‘अझै बुझ्नुभएन, होइन ? कसरी बुझ्नुहुन्थ्यो ! म रुखको जरा बन्ने प्रयत्न गर्दै छु बाबु, यो सहरमा मान्छे भएर बाँच्न सकिँदैन अब !’ बुढा सुस्तरी बोले ।
‘यो सहरमा मान्छे भएर बाँच्न सकिँदैन अब’ भन्ने लाइनले बिझायो ।
हुन पनि सहर कसरी विद्रुप र जड बन्दै गइरहेको छ हिजोआज !
बुढा बोल्दै थिए, ‘तपाईंले पिसाब नै गर्नुभएकै थियो भने पनि मलाई केही फरक पर्ने थिएन बाबु ! म रुखको जरा भएर लडिरहेको बेला कत्तिले पिसाब गरिसके मेरो कुना लागेर ।’
होला पनि ! बुढा अलिकति नचल्मलाएका भए मैले त पिसाब गरिदिने रहेछु ।
...
बाहिर फेरि आकाश चम्क्यो । गड्याङगुडुङ आवाजले मेरो सोचाइ बिथोलियो । बुढाकै बारे सोच्दासोच्दै कस्तो तन्द्रामा पुगेछु म त !
बुढाका कुरा सपना हुन् कि विपना– अझै ठम्याउन सकेको छैन ।
घडी हेरेँ– दुई बजिसकेको थियो । आँखा पोल्न थालेका थिए । बाहिर कुकुर भुक्दै थिए ।
झ्यालको पर्दा थोरै पन्छाएर हेरेँ, बाइकलाई ओढाइदिएको प्लास्टिक हावाले फरफर गर्दै थियो ।
...
आज बिहान मीनभवन बसस्टपकै बाटो अफिस आउँदा न हिजो राति भेटिएका बुढा त्यहाँ थिए, न कुनै रुखको जरा नै थियो ।
पाँच मिनेटजति मैले त्यहाँ वरिपरि हिजोका बुढा वा त्यो रुखको जरा खोजिरहेँ ।
सबै माटोका थुप्राथुप्री चहारेँ । केही भेटिएन ।
हिजो रातिको घटना मेरो कल्पनामात्रै थियो त ? वा कुनै सपना ?
मेरो दिमाग अहिले पनि चकराइरहेकै छ ।