वैशाख १८ गते सेतोपाटीमा प्रकाशित ‘हामी थाकेका छौ, तर हारेका छैनौ’ कै निरन्तरता हो यो आलेख।
भूकम्पले लडेको कुनै एक गाउँलाई स्वाबलम्बी ठाउँका रूपमा नवनिर्माण गर्न सघाउने प्रतिवद्धताताका सम्बन्धमा अगाडिको बाटो खोज्न मैले पाँच हप्ताको समय मागेको थिएँ।
मेलम्चीबाट ७-८ घन्टा हिँडे पुगिन्छ। फर्कँदा चार घन्टा भए पुग्छ। जाँदा र फर्कदाबीचको समय अन्तरबाटै अन्दाज गर्न सकिन्छ-उकालो कति ठाडो छ।
मोटर पुग्दै नपुग्ने होइन, जोडबल गरेर पुग्छ, तर वर्षको ८ महिना मात्र। धुलिखेलबाट करिवन पाँच घन्टा लाग्छ। ठाउँ ठाउँमा खसेको पहिरोले गर्दा भूकम्पपछि बाटो झन जोखिमपूर्ण भएको छ। कुशल चालक, अग्लो ‘क्लेरेन्स’ भएका बलिया गाडीहरूबाहेक अरूलाई होइन यो बाटो।
ठाउँको नाम हो मानेखर्क।
जिल्ला सिन्धुपल्लान्चोक, थाङपाल्कोट गाविसमा पर्छ यो बस्ती। एक सय चानचुन घरधुरि छन्। भूइँचालोले गाउँमा लगभग सबै घर लडाएको छ। जो भुइँमा लडेका छैनन्, ती पनि बस्नै नहुने गरि क्षतिग्रस्त छन्।
भैंचालो नआउँदा पनि, सिन्धुपाल्चोकको यो विकट ठाउँमा जीवन सजिलो थिएन। निरन्तरको परकम्पपछि त्यहाँ के भयो होला भनेर अनुमान लगाउन खासै सोच्नु पर्दैन।
हामी यहि मानेखर्क इलाकाबाट आफ्नो अभियानको बिउ रोप्नेछौ।
***
जुनदिन मैले ‘हामी थाकेका छौ, तर हारेका छैनौ’ लेखेँ, त्यो दिन आफ्नो आत्मा बाहेक कसैलाइ सोधिनँ। जुन क्षण भूकम्पले भत्केको कुनै एउटा ठाउँलाई-एक स्वाबलम्बी गाउँमा परिणत गर्न आफ्नो सामर्थ लगाउने निर्णय गरेँ, त्यो दिन मसँग आफ्नो संकल्पबाहेक केहि थिएन।
गाउँको नवनिर्माणमा सघाउन मलाई क-कसले साथ देला वा नदेला भन्ने कुनै हिसाब किताब मैले गरिनँ। त्यसैले त त्यस दिन, वैशाख १८ गतेका सेतोपाटीमा मैले मनको कुरा यसरी पोखे–
‘म भूकम्प प्रभावित कुनै एक गाउँलाई आफ्नो कर्मक्षेत्र बनाउने बाँचा गर्छु। म त्यो गाउँलाई राहत होइन आफ्नै खुट्टामा उभिन सक्ने स्वाबलम्बी गाउँमा परिणत गर्न आफ्नो सामर्थ लगाउने बचन दिन्छु। भूइँचालोको धुलोबाट उठेर पनि कुनै ठाउँ फेरि कसरी बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्ने अठोट गर्छु।
व्यवस्थापन लगायतका धेरै क्षेत्रमा मेरो अज्ञानता र सिप अभावले गर्दा म समान उद्धेश्य भएको कुनै अर्को व्यक्तिको नेतृत्वमा यो कार्यको आरम्भ गर्न चाहन्छु।
‘हर बिहेमा आफैं दुलाह हुनुपर्ने मानसिकता’ बाट नेपाली समाज मुक्त हुनैपर्छ भन्ने उदाहरण पेश गर्न यसपटक म अरू कसैको नेतृत्वमा काम गर्न चाहन्छु।
भत्केका घरको आँगनमा बोट रोपेर फल फलाउने उदाहरणमा सहभागी हुन चाहन्छु। म एक यस्तो कर्मवीरको खोजीमा छु, जसका विचार, यस विषयमा, मसँग मिल्दाजुल्दा होऊन-जसलाई म सघाउन सकूँ।
आर्थिक कारणले मैले आजसम्म आफ्नो परिवारलाई भारत बाहेक कतै घुमाउन सकेको थिइनँ। विवाह गरेको यतिका वर्षपछि छोराछोरी र श्रीमति लिएर अर्को महिनामा थाइल्याण्ड घुम्ने खर्चको जोहो गरेको थिएँ।
हो, त्यही पैसालाई ‘बिऊ’ का रूपमा प्रयोग गरेर म भूइँचालोले चर्केको एउटा सानो गाउँलाई सुन्दर बगैचाको रूपमा परिणत गर्न चाहन्छु। मेरो जीवनसाथी सुष्माको पनि यही चाहना छ। छोरी सारा र छोरा सारान्सले पनि यही चाहन्छन्। आमाको आशिर्वाद पनि यसैमा छ।
यो काममा सघाउने अरू हातहरू पनि आउलान् भन्ने मलाई भरोसा छ।
‘मानिसको उद्धेश्य पवित्र छ भने सघाउने हात आफसे आफ् आउँछन्’ भन्ने बचनमा मलाई विश्वास छ।
कोहि नआए, म एक्लै हिड्ने छु। जहाँसम्म सकिन्छ त्यहाँसम्म हिड्ने छु। पूरै गाउँलाई नसके दुई चार घरधुरीको पीडा कम गर्नेछु।
म कुनै ठूलो चमत्कारको कुरा गरिरहेको छैन। त्यो मेरो क्षमता बाहिरको कुरा हो। म त एउटा सामान्य गाउँ बनाउन सघाउने सपना मात्र देख्दै छु। यो निर्णय मैले कुनै भावावेशमा गरेको होइन। मलाई अनुभव छ, जसो जसो समय बित्दै जान्छ तसो तसो भावावेशमा आधारित अठोटहरूको घनत्व घट्दै जान्छ।
आजको मितिले ५ साता भित्र म आफूले काम गर्न चाहेको गाउँको नाम र अन्य कुरा सार्वजनिक गर्नेछु।’
***
पाँच साताको समय पूरा भएको छ। काम गर्न चाहेको क्षेत्र त भनिहालेँ। अब त्यो नाम- जसको नेतृत्वमुनि ‘कोशिश’ अभियान सञ्चालन हुनेछ।
बितेका साताहरूमा मैले धेरै जनाको ‘नाम’ सोचेँ। धेरै नाम मेरो मनमा बगे तर अड्न सकेनन्। कसैमा के अपुग अनि कसैमा के अपुग जस्तो लाग्यो। धैरै सोचेँ, धेरै सोचेँ र धेरै नै सोचेँ......
कसै कसैले त ‘विजयजी तपाईँले खोजेको, तपाईँलाई चाहिने नेता मै हुँ’ भन्दै लामा लामा ईमेल देशबिदेशबाट पनि लेखे। ती सबैप्रति आभारी हुँदा हुँदै पनि, मैले चाहेजस्तो नाम भेट्टाउन सकिनँ।
दिनहरू बित्दै थिए, मेरो छट्पटाहट बढ्दै थियो, दूर दूर क्षितिजसम्म आफूले खोजेको जस्तो मान्छेको नामोनिशान थिएन। काभ्रे, सिन्धु र गोरखा तिर अनेकौ ट्रिप मारीसक्दा पनि, सघाउन चाहेको क्षेत्रबारे पनि फैसला गर्न सकिरहेको थिइनँ।
एक त भूइँचालोले अस्तव्यस्त बनाएको मेरो मनस्थिति, त्यसमाथि खोजेको जस्तो नेतृत्व नपाउँदाको अवस्थाले मनको उकुसमुकुस बढदै थियो.....
एक दिन अचानक मलाई आफ्नो मुर्खताको आभास भयो। नेतृत्वको नाममा म त दोषरहित देवता पो खोजीरहेको रहेछु। ‘दोषरहित’ त मर्यादापुरूष भगवान राम पनि थिएनन् भन्ने आधारभूत सत्य बिर्सिरहेको थिएँ। तर , म मात्र किन? मैले होस सम्हालेदेखि नेपाली समाज कुनै न कुनै देवको खोजीमा छ।
हामी कहिले राजामा त कहिले पूर्वराजामा देवता खोज्छौ। कहिले कांग्रेसमा, कहिले एमालेमा। त्यहाँबाट निराश भएपछि, माओवादी भित्रबाट देवता निस्कन्छ भन्ने आशमा दिन बिताउँछौ। ‘ए माओबाट ननिस्केको देवता बी माओ वा सी माओबाट त पक्कै निस्कन्छ भन्ने तर्क गर्छौ।’
कतै कोहि नपाए, सुरक्षा निकायबाट देवकर्म निश्रृत हुने पौराणिक कथा वाचन गर्छौं। हामीले यो काम गर्दै आएको धेरै दशक भयो।
एवम प्रकारले हाम्रा दिनहरु बित्दै गए .......तर, देवता भने यी कुनै पनि ठाउँबाट प्रकट भएनन्।
मैले बुझ्नै सकिनँ, यत्रो हारगुहार र आराधनाका बाबजुद देवता किन प्रकट भइरहेका छैनन्? कसैले मलाई बुझाउनै सकेन, देवता किन निस्केनन् भनेर!
पछिल्ला वर्षहरूमा आएर मलाई आफैमाथि शंका लाग्न थाल्यो, कतै मैले खोजेको ठेगाना नै गलत पो छ कि!
धैरै हण्डर खाएपछि, मैले दोषरहित देवताको खोजी बन्द गरिदिएँ। अब म मानिस खोज्न थालेँ।
मैले दस कक्षामा पढेको लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविता खोजेर फेरि पढेँ। दस कक्षामा त्यसबेला पढ्दा खासै केही लागेको थिएन। तर, यस पटक पढ्दा कवितामा आफ्नो शरीरका रौंहरू समेत खडा गराउने उर्जा पाएँ।
२०३२ मा जाँच पास गर्न मात्र ‘यात्री’ पढेको रहेछु। यस पटक चाही देवकोटालाई जीवन परीक्षाको निम्ति पढेँ।
‘सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको पीडा दु:खको गानामा
दर्शन किन्तु कहीँ दिंदैन, चर्म-चक्षुले कानामा
कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा?
फर्क फर्क हे! जाऊ समाऊ, मानिसहरूको पाउ!
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ!’
***
‘डा’साब म एउटा गाउँको खोजीमा छु, जहाँ म केहि सिक्न सकुँ, केहि सिकाउन सकुँ। सकेको सेवा गर्न सकुँ। तपाईको नजरमा कुनै ठाउँ छ कि भनेर सल्लाह लिन आएको?’
‘तपाईँले खोजेको गाउँ मलाई थाह छ विजय’, डा रामकण्ठ मकाजुले क्षणभर नसोची निश्चयात्मक स्वरमा भने।
प्रोजेक्टरको बटन थिचेपछि स्क्रिनमा एउटा पहाडी बस्ति देखियो - मानेखर्क!‘
तपाईँले काम गर्नुपर्ने ठाउँ यही हो विजय,’ बडा सजिलोसित फैसला गरिदिए डा. रामकण्ठले।
अरू कोहि भएको भए, मलाई एक बचन नसोधी, मेरै विषयमा गरिएको फैसला स्वीकार्ने कुराको कल्पना पनि गर्न सकिन्नथ्यो। तर, यो निश्चयात्मक आवाज डा. रामकण्ठ मकाजुको थियो। त्यसलाई हल्का रूपले लिन मेरा लागि सम्भव थिएन।
डा. रामकण्ठ मकाजु(बीच) र डा. राजेन्द्र कोजु विजयकुमारसँग कुरा गर्दै।
धुलिखेलको एउटा अन्कन्टार कुनालाई जो मानिसले आफ्नो निष्ठा, निरन्तरता र सेवाभावले-आजको धुलिखेल अस्पतालको स्वरूपमा पुर्याउने कामको नेतृत्व गर्यो, उसलाई हल्का रूपले लिन पनि सकिन्न नि। नेपालको नमुना अस्पताल हो– धुलिखेल अस्पताल।
चाहेको भए, जीवन, डा.रामकण्ठले युरोपमा आरामसँग बिताउन सक्थे। तर, डा.उनले, अलि बेचल्तिको बाटो रोजे, करिब २५ वर्षअघि। स्वदेश फर्केर डाँडापाखा उकाली ओराली गर्दै गाउँघरमा सेवा दिन थाले। धुलिखेल सामुदायिक अस्पताल स्थापनाका प्रणेता बने। डा. राजेन्द्र कोजु जस्ता सुयोग्य सहयात्री पाए। टिम बनाएर काम गरे। परिणाम, आज सबैको सामु छ। ३७० बेड भएको र प्रतिदिन ७०० जना ओपिडी बिरामीलाई सेवा दिने अस्पताल खडा भएको छ।
त्यसदिन जब डा. रामले मेरा निम्ति काम गर्ने गाउँ रोजे, मैले तत्काल आफूले सघाउने नेतृत्व पनि स्वत: चिने।
‘कोशिश’ नाम राखे कसो होला डा’साब?
‘एकदम राम्रो। विजय, यसमा एउटा लाइन मिलाएर थप्नु-गरेपछि हुन्छ।’
मैले ६ लाइनको एउटा समझदारी पत्रको ड्राफ्ट तयार गरेँ। त्यसलाई पढन डा.राजेन्द्र कोजुलाई तीस सेकेन्ड पनि लागेन। डा. रामले पढ्दै नपढी त्यसमा हस्ताक्षर गरिदिए। धुलिखेल अस्पताल जस्तो संस्था र डा. रामजस्तो काबिल मानिसको छायाँमा काम गर्ने निधो भइसकेपछि, मेरो मन हलुका भयो।
एक स्वावलम्बी गाउँ बनाउनका निम्ति दुई चार इँट्टा आफ्नो तर्फबाट पनि थप्न पाइने भो भनेर खुसी हुँदै काठमाडौं तर्फ हुइँकिएँ। लामो र कठिन यात्राको सुरूवातमै एक इमानजमान र सेवाभाव भएको मानिसको साथ पाएपछि मन चंगा नहुने कुरै थिएन।
काठमाडौं फर्किएर मेलै नेपालका प्रसिद्ध कार्टुनिष्ट राजेश केसीसँग उनको अमूल्य प्रतिभाको अंश दान मागेँ। राजेशले सहर्ष हाम्रो अभियानको लोगो तयार गरिदिए। हामी आभारी छौ राजेश!
***
हो, कोशिश हाम्रो परियोजनाको नाम हो, प्रोजेक्ट को नाम हो। गरे पछि सकिन्छ-हाम्रो विश्वास हो। मलाई ‘परियोजना, योजना वा प्रोजेक्ट’ जस्ता शब्दहरू त्यति रुचिकर लाग्दैनन्। त्यसैले यसलाई ‘प्रोजक्ट’ बोलाउनुभन्दा अभियान भन्नू बढी सही होला। यो अभियान धुलिखेल अस्पतालको ‘आउटरिच सामुदायिक कार्यक्रम’ अन्तर्गत रहेर सञ्चालन हुनेछ। यो कुनै नयाँ कार्यक्रम होइन, चलिरहेकै पुरानो कार्यक्रम हो। त्यसै भित्र एक सदस्यका हैसियतमा म थपिएको मात्र हुँ।
हर विवाहमा आफै बेहुला हुनुपर्छ र? पर्दैन नि है!
मैले काँचको पर्दामा धेरै वर्ष कुरा गरेर बिताए। त्यो एक प्रकारको कर्म थियो, अब म अर्कै किसिमको कर्ममा सहभागी हुन चाहन्छु। टेलिभिजन त मैले जहिले गरेपनि हुन्छ। अहिले चाहीँ कुनै विकट बस्तीमा काम गरेर केहि सिक्न चाहन्छु। आफ्नो तर्फबाट सकेको सानोतिनो सेवा गर्न चाहन्छु।
मानेखर्कको बस्ती भूइँचालोले लडेको छ। टाढा भएकोले राहतको नजरबाट पनि टाढै परेको छ। बिरलै घर यस्ता छन्, जो लडेका छैनन्। तर मानेखर्कका बासिन्दाहरू फेरि उठने छन्। हामी धुलोबाट फेरि उठ्नेछौ। हामी सबै मिलेर एक स्वावलम्बी गाउँ बनाएरै देखाउँने छौ।
हामीलाई थाहा छ-यो उकालो धेरै लामो, अपठ्यारो र अत्यासलाग्दो छ।
तर, हामीलाई यो पनि थाह छ- कोशिश, गरेपछि सकिन्छ। हामीलाई यो पनि थाह छ, चढेपछि पुगिन्छ।
हो, हामीलाई यो पनि थाह छ, आज स्थिति हाम्रो अनुकुल छैन। तर ‘छोटो’ बाटोका यात्री त होइनौ नि हामी। इतिहासको शिक्षा र वर्तमानको जटिलताबीच भविष्यको गोरेटो खोज्छौ हामी।
***
मानेखर्कका अगुवा सामाजिक कार्यकर्ता शंकर लामालाई सम्झदै छु, स्वास्थ केन्द्रका देबकुमार खड्कालाई सम्झदै छु। फुलमति बिक, पोत्री कामी, मानबहादुर बिक, ज्ञानबहादुर बिक, सार्की डोल्मा तामाङ र काली तामाङ आदिका मुहार र शब्द मनमा झलझलाई रहेका छन्। धुलिखेल अस्पतालमा कार्यरत चन्द्र येगोल र दीपक दाहाल पनि त्यसदिन मानेखर्कसँगै आउनाले धेरै सजिलो भयो।
मानेखर्कमा स्थानीय सामाजिक कार्यकर्ता शंकर लामासँग परिचय गराइदिएका थिए स्वास्थकर्मी देवकुमार खडकाले।
‘तपाईँ यो गाउँमा किन आउनु भो विजय सर?’
‘म पनि आफैं छक्क परेको छु शंकरजी, किन आए यो ठाउँमा। शायद मेरो कर्म जोडिएको होला यो गाउँसँग....पूरानो जुनीको कुनै ऋण बाँकि होला..... गुरूहरूको शायद यही इच्छा होला ...... ठ्याक्कै के हो भन्न सक्दिनँ। तर तपाईँहरूले चाहनु भयो भने, अनुमति दिनुभयो भने म पनि मानेखर्कमा सकेको गर्न चाहन्छु,’ मैले दुई हात जोडेर भनेँ।
‘टेलिभिजनमा कस्ता कस्ता नेतालाई पानी पिलाएको देखेको थिए। आज मानेखर्कमा आउने बितिकै मेरो आँखामा पानी ल्याइदिनु भो विजय सर,’ गला अवरूद्द गरेर शंकरजी बोले।
***
त्यसपछि दिउँसोको खाना भयो। दालभात, आलु तरकारी र हरियो खुर्सानी।
अनि शंकरजी, देवकुमारजीसँग कुराकानी सुरू भयो। स्थानीय फुलमति बिक, पोत्री कामी, मानबहादुर बिक, ज्ञानबहादुर बिक, सार्की डोल्मा तामाङ र काली तामाङ पनि मिसिए।
‘तपाईँ यहाँ के गर्न चाहनु हुन्छ विजय सर?’ सार्की डोल्माले सोधिन्।
मैले तत्काल कुनै उत्तर दिन सकिनँ। के भनुँ? के नभनुँ जस्तो भयो!
फुलमति बिक र मानबहादुर बिकको अनुहार हेरेर भनेँ- ‘सबैभन्दा पहिला, म दलितहरूमाथी हामी माथिल्लो जात भनिएकाहरूले जानेर वा नजानेर गरेको भेदभाव र छुवाछुतका निम्ति क्षमा माग्न चाहन्छु। हिजोका कुरा हामी बदल्न सक्दैनौ। तर, आज हामीसँगै मिलेर काम गरे, हाम्रो वर्तमान र भविष्यमा थोरै भएपनि सुधार गर्न सक्छौ। भूइँचालोले सखाप पारेको यो ठाउँमा, म कुनै राहत सामाग्री लिएर पनि आएको छैन। फूङा, खाली हात आएको छु।’
कोठामा स्तब्धता बढ्दै गयो। सबै सुनसान भए।
केहि छिनपछि सार्की डोल्मा तामाङ बोलिन् ‘विजय सर! तपाईँ खाली हात आएपनि हाम्रो लागि गौरवको कुरा हो। म पचास काटिसकेँ। तर मेरो पाखुरीमा अझै तागत बाँकि छ। सकेको सघाउँछौ हामी।’
‘बहिनी! म यो गाउँमा राहत दिन आएको होइन। यो ठाउँमा केहि सिक्न र केहि सिकाउन चाहन्छु। स्वावलम्बी गाउँ बनाउने मैले वा अरू कसैले होइन, तपाईँहरूलेनै हो। हामीले त सघाउनेसम्म न हो, होस्टे तपाईँहरूकै हो, हामीले त हैसे भन्ने हो।’
भूइँचालोले थाकेको सार्की डोल्माको चेहरामा मुस्कानका हल्का रेखा देखिए।
***
‘काम कहाँबाट सुरू गर्ने त शंकरजी? एक सय चानचुन घरधुरी रहेछन मानेखर्कमा। हामीसँग अहिलेसम्म त श्रोत पनि सिमितै छ। कहाँबाट सुरू गर्ने? यात्रा लामो छ, पहिलो पाइला कहाँबाट चालौ शंकरजी?’
‘यो कुराको निर्णय सजिलो छैन। घर सबैका भत्केका छन्। दुःख सबैलाई छ। घर त मेरो पनि कामै नलाग्ने गरि भत्केको छ। टोल त मेरै पनि सखापै छ। तर विजय सरजस्तो मानिसलाई विवादमा कुनै हालतमा पार्नुहुन्न। त्यसैले सबैभन्दा गरिब दलित बस्तिबाट सुरू गरौं। सबैभन्दा गरिब दलित बस्तिबाट सुरु गरे, सबैले चित्त बुझाउँछन्। त्यसपछि अरू बाँकिलाई पनि गर्दै अगाडि बढौ।’
यस पटक भावुक हुने पालो मेरो थियो। शंकरजीले एकै छिनमा मलाई धेरै थोक सिकाइदिए। धुलिखेलबाट मेलम्ची हुँदै मानेखर्क पुग्दासम्म बाटोको दायाँ बायाँ दुबैतिर बिनासै बिनास देखेर पनि म त्यति भावुक भएको थिइनँ, बलियो बनेरै प्रस्तूत भएको थिएँ। तर शंकरजीका कुरा सुनेर पग्लिएँ।
‘शायद हाम्रा आँखा कहिलेकाही आँशुले पखालिनैपर्छ। ताकि, हामीले जीवनलाई अलि बढी सफा दृष्टीबाट फेरि हेर्न सकौ।’ एलेक्स ट्यानको भनाइ हो क्यारे......
***
मानेखर्कमा मेरो आइजाइ र बसाइ अलि लामै हुनेछ। असारको मध्यदेखि मेरो निकै समय त्यतै बित्ने छ। ‘कोशिश’ अभियान तत्कालिक राहतमाभन्दा नवनिर्माणमा बढ्ता केन्द्रित हुनेछ। यो कामको योजना र कार्यान्वयन हामी कागज अथवा अक्षरमा बयान गर्नुको साटो गरेरै देखाउने छौ।
मलाई लाग्छ, सार्थक परिवर्तनको जग मानिसको सोच्ने तरिकामा लुकेको हुन्छ। प्रदार्थ (म्याटर) भनेको चेतनाको (माइन्ड) बिस्तार मात्र हो। त्यसैले सुरूवात त्यही बिन्दुबाट हुनुपर्छ। त्यसपछि भौतिक साधन सहयोग र विकास स्वतः परिचालित हुनजान्छ।
हामीलाई, मानेखर्क भूइँचालोभन्दा अघि जे थियो- त्यस्तै होइन, जे थियो त्योभन्दा अलिकति राम्रो बनाउनु छ। जनता जसरी बाँचेका थिए, त्योभन्दा अलिकति बढी सजिलोसँग बाच्नेगरी उनीहरूको आम्दानी बढाउने काम गर्नु हाम्रो मूल ध्येय हुनेछ। हाम्रा सबै गतिविधिहरू एक स्वावलम्बी गाउँ सृजना गर्नेतर्फ केन्द्रीत हुनेछन्।
‘हामी थाकेका छौ, हारेका छैनौ’ प्रकाशित भएपछि धेरैले ‘सहयोग गर्छौ’ भनेर मलाई ईमेल लेखेर बचन दिएका थिए। अब बेला आएको छ साथीहरू। विदेशका विश्वविद्यालयहरूमा रहेका केही साथीहरूले स्वःस्फूर्त रूपमा ‘प्रपोजल’ पनि मागेका थिए। आज यस बखत मसँग कुनै प्रपोजल छैन। हामीसँग संकल्प मात्र छ। विगतमा गाउँ विकासका मोटा मोटा ‘प्रपोजल’ त धेरैले लेखे।
हाम्रो प्रपोजल जम्मा एक लाईनको छ-कोशिश,गरेपछि सकिन्छ।
यो काम एक्लै सकिने भए, म आफै गर्थेँ। सकिन्न, त्यसैले त सबैको साथ माग्दै छु। सन्चारकर्मीको रूपमा मलाई रूचाउने मात्र होइन अपितु ठ्याम्मै नरूचाउने वा निरपेक्ष रहने मित्रसँग मात्र होइन, मेरो नामै नसुनेका अपरिचितसँग पनि सहयोगको अनुरोध गर्दछु।
म आफैं पनि यो अभियानको एक सानो सिपाही मात्र हुँ। धुलिखेल अस्पताल आफ्नो सामुदायिक कार्यक्रम अन्तर्गत त्यस विकट क्षेत्रमा केहि वर्षदेखि कार्यरत नै थियो। भूइँचालोले मलाई पनि तानेर त्यहाँ पुर्याएको मात्र हो।
यदि तपाईँ भूइँचालोले भत्केको एक विकट पहाडी बस्तीलाई एक स्वावलम्बी गाउँमा परिणत गर्ने हाम्रो अठोटलाई यथासक्य सहयोग गर्न चाहनु हुन्छ भने तपाईँलाई धन्यवाद छ, आभार छ। सहयोग रकम जम्मा गर्ने खाताको विवरण यसै आलेखको पुछारमा दिइएको छ। रकम सहयोग गर्ने अवस्था नभए, हाम्रो लागि प्रार्थना गरिदिनु होला। तपाईँका शुभेच्छाहरू पनि हाम्रा निम्ति प्रेरणाका श्रोत हुनेछन्।
१-सहयोग रकम खातामा जम्मा भएपछि सहयोगकर्ताहरुको नामावलि नियमित रूपले धुलिखेल अस्पतालको वेवसाइटमा प्रकाशित गरिने छ। यो अभियानमा हाम्रो डिजिटल मिडिया पार्टनर setopati.com मा पनि मासिक रूपमा दाताहरूको नामावली प्रकाशित गरिनेछ।
आफूले गरेको सहयोगका विषयमा आफ्नो नाम सार्वजनिक गर्ने वा नगर्ने हक दातासँग मात्र सुरक्षित हुन्छ। हाम्रा निम्ति दुबै अवस्थामा दाताहरू समानरूपले आदरणिय हुन्। आफ्नो नाम प्रकाशन गर्न नचाहने इच्छा किटानी गरेको अवस्थामाबाहेक सबै सहयोगी नाम स्वतः सार्वजनिक गरिने छन्।
२- यो खातामा जम्मा हुने रकम धुलिखेल अस्पतालका निर्देशक डा.राजेन्द्र कोजु र मेरो संयुक्त सहमतिमा, धुलिखेल अस्पतालको सामुदायिक विकाश कार्यक्रममार्फत प्रयोग गरिनेछ। नेपालका लब्ध प्रतिष्ठित चार्टर एकाउन्टेन्टहरूले यो खाताको नियमित लेखापरीक्षण गर्नेछन्। यस सम्बन्धमा आवश्क सबै कानुनी प्रकृयाको हामी सदैव सम्मान गर्नेछौ।
३- आफ्नै इच्छाले स्यमसेवीका रूपमा ‘कोशिश’अभियानमा डा.रामकण्ठ, डा.राजेन्द्र कोजु र म लागेको हुनाले यसमा संलग्न भए वापत हामीले आफ्ना निम्ति कुनै प्रकारको तलब भत्ता आदि लिने छैनौं। तपाईँले दिने सहयोग रकमको पूरापूर सदुपयोग हुनेछ।
४. कोशिश अभियान २० रूपैयाको बिउ रकमबाट (seed money) सुरू भएको छ। यो २० रूपैयाँ फुलमति बिकले दिनुभएको हो।
थाङपालकोट गाविस वडा नम्बर ६ मानेखर्ककी श्रीमति फुलमति बिक। भूइँचालोले घरबार, अन्नपात सबै गुमाएकी एक दलित महिलासँग मैले हात फैलाएर चन्दा मागेँ। उनले पनि दिल खोलेर यथासक्य दिइन्।
यो २० रूपैयाले ठूलो अर्थ राख्छ, यही २० रूपैयाको जगमा ‘कोशिश’ अभियान सुरू भएको छ। आउँदा वर्षहरूमा जसो जसो मानेखर्कको जीवन सुधार हुँदै जाला, तब एक दिन श्रीमति फुलमति बिकले गर्वको साथ भन्ने छिन् ‘परिवर्तन ल्याउने यो अभियानलाई सबैभन्दा पहिलो चन्दा-घरबार अन्नपात सबै गुमाएकी एक दलित महिलाले दिइन्।’
यो बिउ रकममा मानेखर्ककै देवकुमार खडका ५ सय १ र शंकर लामाले १५ सय थपेर २०२१ रूपैया पुर्याएका छन्। मेरो परिवारको तर्फबाट एक लाख एक रूपैया थपिएको छ। आगे तपाईँहरू कै जो ईच्छा।
‘मानिसको उद्धेश्य पवित्र छ भने सघाउने हात आफसे आफ् आउँछन्’ भन्ने बचनमा मलाई विश्वास छ। यो वचनको शक्ति मैले आफैं भोगेर थाहा पाएको हुँ।
विगतमा पनि, जब जब हामीले टेलिभिजनबाट कसैका निम्ति सहयोग माग्यौं, तब तब ज्ञात अज्ञात मित्रहरुले देश-परदेशबाट हमेशा सहयोगका हातहरू बढाए।
यस पटक पनि हामीलाई हौसला दिनुहोला है! हामी थाकेका छौ, हारेका छैनौ। तपाईँको सानो सहयोगले हाम्रो देशमा एक नयाँ उदाहरण स्थापित हुनेछ।
कोशिश, गरे पछि हुन्छ!
कोशिश अभियानका निम्ति सहयोग रकम पठाउने खाताको ठेगाना हो:
Dhulikhel Hospital Community Development (KOSHIS)
Account number #00502050-250481
Swiftcode:NIBLNPKT
Nepal Investment Bank, Banepa Branch
Nepal
Email [email protected]
Facebook.com/vijaykumarpanday.official
Twitter @vijaykumarko
पुनश्च: मलाई सम्पर्क गर्ने सबैभन्दा सजिलो सम्पर्क माध्यम इमेल नै हो।