वैशाख १२ गतेको मध्याह्नमा ७.८ रेक्टरको भूकम्प जब गयो तब हामी सबैलाई यसको अर्थ महसुस हुन थाल्यो। गएको १ महिनामा हामी हजारौँ आम नागरिकका साथ लिई १७ जिल्लाका ३०० भन्दा बढी ठाउँमा राहत र साथै २०० भन्दा बढी चिकित्सक टोलीहरु परिचालन गर्यौं।
त्रास हटाउन मनोवैज्ञानिक परामर्शदाताको काम र महामारी फैलन नदिन सामाजिक स्वास्थ्यकर्मीलाई पनि परिचालन गर्यौ। महाविनाशकारी भूकम्पका अपार क्षतिसँग जुध्ने क्रममा सिकेका यी अनुभवहरुबाट विवेकशील नेपाली दलले देशको उत्थानको लागि ‘पाँच -आर (5R) रणनीति’ अघि सारेको छ।
यस रणनीतिलाई हामीले
१) उद्दार (Rescue),
२) राहत (Relief),
३) पुनर्स्थापना (Rehabilitation),
४) पुनर्निर्माण (Reconstruction), र
५) उत्थान (Resurgence)
को चरणमा बर्गिकरण गरेका छौं। अहिलेको अवस्थालाई नेपालमा उद्धार र राहत चरणको समाप्त हुँदै गरेको छ र पुनर्स्थापना चरणको सुरूवात हुन लागेको छ।
अहिले सरकार लगायत सयौं संघसंस्था एवं व्यक्तिहरू स्वयंसेवी भावना बोकेर गाउँ गाउँमा उद्दार र राहत वितरणमा खटिईरहेका छन्। पीडितको दैनिक जीवनलाई सामान्य एवं सहज तुल्याउन उद्दार र राहत मात्र होईन अब त पुनर्स्थापना, पुनर्निर्माण र उत्थानको बाटोमा पनि ठोस योजनासहित लाग्नु अनिवार्य देखिन्छ।
छरिएका हजारौं असल अभियानहरूलाई दिर्घकालिन मार्गदृष्टिले जोडेर लानूपर्ने आवश्यकता छ। यस्तो समन्वयको नेतृत्व सरकार आफैंले लिनु उपयुक्त हुन्छ। तसर्थ, नेपाल सरकारलाई यी पाँच-आर रणनीति अख्तियार गरि अघि बढ्न हामी आग्रह गर्दछौं र यस सम्बन्धि सरकारको कदमलाई विवेकशील नेपालीले हर तरहले सहयोग पुर्याउने समेत प्रतिवद्दता जनाउँछौं।
विवेकशील नेपालीले भूकम्प प्रतिक्रियात्मक टास्क फोर्स गठन गरि हालसम्म १७ जिल्लाका ३०० भन्दा बढी ठाउँमा खट्दा हासिल गरेका अनुभव सम्बन्धित सबै सरोकारवालालाई सन्दर्भ-सामग्री हुनसक्छ।
हामी उक्त टास्क फोर्सको गठन, संरचना, कार्यविधि र व्यवस्थापनको अहिलेसम्मको अभ्यासलाई नजिकबाट अवलोकन गर्न नेपाल सरकारका अधिकारीहरुलाई सादर निमन्त्रणा समेत गर्दछौं।
हाम्रा पाँच-आर रणनीतिलाई संक्षेपमा देहाय अनुसार उल्लेख गर्न सकिन्छ।
१) उद्दार को रणनीति :
बिपत्ति आउँछ भन्ने थाहा हुदाँहुदैँ तयार नहुने सरकार सरकार रहँदैन, खाली मुकदर्शक। त्यसैले उद्दार रणनीतिमा मुख्यत: सरकारको प्रमुख भूमिका रहन्छ। विपत्ति भएको ठाँउमा सरकारले एउटा छुट्टै सञ्चार विभाग खोल्नुपर्छ-युवा स्वयंसेवकहरू राखी।
स्थानीय सरकारको काम यस बेला मद्दत गर्ने र मद्दत माग्नेबीच समन्वय गरि दिने हो। केन्द्रीय सरकार बिनम्र र खुल्ला रहि आफ्नो शक्तिको परिचालन गर्ने हो। उद्धारको प्रणाली पहिले नै पूर्वतयारी भै सक्नुपर्छ र यसलाई बेला बेलामा ‘ड्रिल’ गरि चुस्त पारिनुपर्छ। प्रहरी र सेनालाई उद्धारमा नियमित र विशेष तालिम दिई राख्नुपर्छ।
शहर र गाउँका क्लबहरूमा नियमित उद्धार तालिम दिने प्रणाली हुनुपर्छ। हरेक राजनीतिक दल भित्र पनि प्रश्ट प्रोटोकल बनाईनु पर्छ कि उनका हरेक कार्यकर्ताले आफ्नो परिवार सुरक्षित भएको भान पाएपछि तुरून्तै नजिकैको अस्पताल वा दुर्घटना घटनास्थलमा परिचालित भई सरकारलाई मद्धत गर्ने थाल्ने।
२) राहत को रणनीति:
राहत पारदर्शी र जवाफदेहि तरिकाले बाँडिनु पर्छ र यसमा धेरै दोहोरोपन हुनेछ हुँदा केहि मात्रामा कम गर्न भए पनि एउटा ठूलो हलमा मद्दत गर्ने बिभिन्न संघ-संस्थाका एक-एक प्रतिनिधि राखी ‘सहयोग कक्ष’ खोली दिनुपर्छ। त्यहाँ ईन्टरनेटदेखि अरू अत्याधुनिक दुरसञ्चार, ईन्टरनेट वा बिजुलीको कुनै असुविधा हुनु हुन्न र सयौं संघ-संस्था-समूहसम्म अट्ने किसिमले मिलाईएको हुनुपर्छ। विदेशबाट मद्धत गर्न चाहनेलाई पनि यस क्षणमा एक-अर्का सँग जोडि दिने वातावरण बनाईदिनु पर्छ ताकि मद्धतमा कुनै ढिलासुस्ती नहोस्।
महाविपत्तिको बेला सरकारले अलिकन माथि उभिएर सबै मद्धतकर्तालाई पहिले सहजिकरण गर्ने अनि बिस्तारै व्यवस्थापन गर्दै जानु उचित हुन्छ। जिल्लामा वा सदरमुकामसम्म राहत पुर्याई त्यहाँका सेना वा प्रहरीको सुरक्षामा राहत मद्दत गर्ने गैर सरकारी टोलीले पनि स्थानिय सरकारको मातहातमा राहत बाँड्ने माहोल श्रृजना गर्नु जरुरी छ ताकि मद्दत गर्ने र मद्त लिने बिच प्रतक्ष सम्बन्ध पनि रहोस्, सम्मानजनक तरिकाले पिडितलाई राहत पनि बाँड्न सकियोस् र सरकार नियन्त्रणमा छ भन्ने भान पनि परोस् सबैलाई।
राहत वितरणको चरणमा सरकारले देश सेवा र भक्तिमा समर्पण गर्न आव्हान गर्दै राहत र सहायतामा पारदर्शी ल्याउन आफैं पारदर्शिताको नमूना बनी अरूलाई पनि जवाफदेही बनाउने प्रणाली शुरू गर्नुपर्छ। यो बेला भनेको सरकारले अन्तर्राष्ट्रिय जगतमा आफ्नो उदारता र बिनम्रताको कुटनीति देखाउने बेला पनि हो।
३) पुन:स्थापना को रणनिति:
पीडितलाई न्युनतम गाँस, बास र कपास पुर्याएपछि अब उन्को गौरव (प्रतिष्ठा) जोगाउन तिर लाग्नु अति महत्वपूर्ण बन्न जान्छ। त्यसैले पीडितलाई बिस्तारै सामान्य जीवनतिर फर्कन प्रेरित गर्न बिभिन्न उपायहरू निकाल्नु पर्छ-विशेष गरि मानसिक तनाब घटाउने अभ्यासका साथसाथै अस्थायी शिविर वा घरमा बस्दा सार्वजनिक स्वास्थ्यको ख्याल राख्ने।
अझ गाँउ ठाँउमा त पशुपालनले प्रमुख भूमिका खेल्ने हुँदा पशुपालन र पशु स्वास्थ्यमा सुधार ल्याई गाउँबासीलाई दैनिक कार्यमा व्यस्त गराउनु अत्यन्त जरुरी रहन्छ।
आउँदो बर्खामा न्युनतम ओभानो ठाँउमा बसोबास गराई खेतिपाती तर्फ लाग्न मिल्ने स्थितिसम्म बनाउनलाई सरकारले एक राष्ट्रिय स्वयंसेवक सन्जालको संयोजन गरि त्यसलाई स्थानीय सरकारको मातहातमा परिचालन गर्न सक्नुपर्छ। यस कार्यमा सूचना प्रविधि (IT) को प्रयोगबाट को, कहाँ, कसरी, कसको श्रोतमा जान्छ यो सबै सजिलै व्यवस्थापन गर्न सकिन्छ।
जवाफदेहिताको प्रश्न यस्तो बेला सबैभन्दा महत्वपूर्ण हुन्छ त्यसैले यसलाई संवोधन गर्न अख्तियार दुरुपयोग आयोग भित्र एउटा अधिकारयुक्त ‘जवाफदेहिता बोर्ड’ बनाई हरेक राहत वितरण, पुन:स्थापना र पुन:निर्माणको कामको पारदर्शिता र जवाफदेहिताको अख्तियारी दिईनुपर्छ चाहे त्यो सरकारी होस्, समाजसेवा संगठन होस् वा नीजी क्षेत्रकै।
४) पुन:निर्माण को रणनीति:
आफ्नो घर, बस्ती, स्कुल वा समाज पहिलेभन्दा राम्रो नदेखेसम्म वा अनुभव नगरेसम्म पीडितले स्थायी रूपमा आफ्ना सामान्य जीवनमा फर्कन सक्दैनन्। त्यसैले पुन निर्माणको लागि हामी सरकारको प्रधानमन्त्रीको मातहातमा स्वायत्त: ‘नेपाल पुन:निर्माण बोर्ड’ बनाउनै पर्छ जुन ३ बर्षसम्म काम सक्काई आफैं विलिन हुन्छ।
यसले सरकार, नीजी क्षेत्र र दातृ संस्थालाई मिलाई काम गराउँछ। यसले निजी क्षेत्रको चुस्तता र सरकारको जवाफदेहिता र दातृ निकायको लगानीलाई सन्तुलन गरि चुस्त तरिकाले लागूगर्छ। त्यसमाथि हाम्रो देशमै सम्मानजनक रोजगार श्रृजना गर्न यो निकायले आट्नेछ। नेपालमा प्रायः जसो घरका कोहि न कोहि विदेशमा रोजगारमा पुगेका छन् त्यसैले उनीहरुलाई नेपालै फर्काई यहिँ नै महत्वपूर्ण पुन:निर्माणको काम दिन सकियो भने परिवार पनि सुरक्षित महसुस गर्ने र देशलाई चाहिने सबल शक्ति पनि देशमै हुने। हरेक गाउँमा एक भुकम्प प्रतिरोधात्मक घर बनाउने सीप भएको स्वयंसेवकको पहल र व्यवस्थापन पनि ‘नेपाल पुन:निर्माण बोर्ड’ले गर्नैपर्छ।
पुरानो संरचना भत्किएको अहिलेको नेपालमा अब नयाँ नेपालको संरचना बनाउने यो सुनौलो अवसर हुनेछ।
पुन:निर्माणमा सबैभन्दा महत्वपूर्ण काम भनेको यसका कार्यलाई जवाफदेहि, ईमान्दार र चुस्त बनाउनु हो र त्यसका लागि निर्वाचित स्थानीय सरकार अपरिहार्य छ।
भूकम्पको समस्या बल्झिएको प्रमुख कारण नै जनताले विश्वास गरेको स्थानीय प्रतिनिधि नभएरै हो। जनतामा लोकतन्त्र प्रतिको विश्वास राखी राख्ने यो नै अन्तिम उपाय हो अब।
जब आफूले नै चुनेर पठाएको प्रतिनिधि गाउँ, शहरमा काम गर्न थाल्छन् तब पुन:निर्माणको कार्य तिब्र हुन्छ र अहिलेका बाधक-राजनीतिक भागबण्डाको जवाफहिन, गैरजिम्मेवार संरचना र त्यसले टुक्राएको समाज विलिन हुनेछ। जवाफदेहि सरकार बिना पुन:निर्माण असफल नै हुनेछ त्यसैले यस्तो कठिन परिष्थितिमा पनि जवाफदेहि, प्रतिवद्ध नेतृत्व चुन्ने अवसर आम जनताले तुरुन्तै पाउनु पर्छ।
५) (नेपालको) उत्थान को रणनीति:
घर उठेर मात्र हुँदैन, बस्ती बनेर मात्र पुग्दैन, भूकम्पले नेपालीहरूमा अहिले जगाएको विवेक जोगाई राखि चुस्त रूपमा परिचालन गर्नु यो समयको माग हो।
विवेक जागेको देश लम्कन कत्ति पनि बेर लाग्दैन। मात्र हाम्रो दृढ ईच्छाशक्ति चाहिन्छ। अब यो देश बनाउने जिम्मा हामी नेपालीले नै लिनुपर्छ र त्यसमा सरकारले सहयोगको हात बनिदिने मात्र हो। यस बखतमा नवनिर्वाचित स्थानिय सरकारको नेतृत्वमा २१ औं सताब्दी सापेक्ष अस्पताल, विद्यालय र गाउँ- शहर बनाउन तिर लागेर विश्वको लागि नमूना बनाउने चुनौति र अवसर दुवै छ।
अनि अब शिक्षामा पनि आमुल परिवर्तन ल्याई तुरुन्तै पढाईने शिक्षाको मुल नारा र मर्म, ‘मेरो देश, मेरो दायित्व’ नै हुनुपर्छ। ‘बिकल्प कुर्दै बस्ने होईन, आफैं बन्ने हो’ यसको मर्म आत्मसात गराउन राष्ट्रिय गौरवका कामहरुमा नेपाली स्वय़ंसेवक, उद्दमी र पेशाकर्मीलाई नेतृत्व दिनै पर्छ।
वर्षमा एक चोटी न्युनतममा पनि एउटा कुनाका कलेज पढ्ने विधार्थीहरु देशको अर्को कुनामा राष्ट्रिय गौरवको काममा कम्तिमा पनि १ महिनासम्म माटोसँग खेल्नु पर्ने राष्ट्रिय रणनीति बिकास गर्नुपर्छ। देशभक्ति त्यसै जाग्दैन, जगाउनैपर्छ। नेपाली भनेर मात्र पुग्दैन बनेरै देखाउनु पर्ने चूनौति युवाहरूले लिनैपर्छ।
भूकम्पले जगाएको देशभक्तिलाई जगाई राख्ने वातावरणको दिगो व्यवस्थापन गर्नु नै ‘उत्थान’को रणनीति हुनेछ।
नेपाललाई अब २१ औं शताव्दी सापेक्ष ‘जोश र होश’ दुवै मिलेर बनेको नेतृत्व नै चाहिन्छ जो जवाफदेहि, पारदर्शी र विपदको समयमा नेपालीहरूको ज्यान समयमै बचाउन लम्कन्छ। यस्तो नेतृत्व केन्द्रमा मात्र होईन गाँउ-टोलमै विकास गर्नु अपरिहार्य छ नत्र एउटा सम्पूर्ण कालखण्ड नै परनिर्भर, विवेकहीन बनेर जान्छ।
विवेकशील नेपाली लगायत देशका सम्पूर्ण नेतृत्वलाई अहिलेको सबैभन्दा ठूलो चूनौति भनेकै अबको देश र आउँदो पुस्ता दुवैको उत्थान हो। हामी सबैलाई एउटै प्रश्न: यस्तो चूनौति अहिले सामना नगरे कहिले? हामीले नै नगरे कस्ले?
लेखक विवेकशील नेपाली दलका अध्यक्ष हुन्।
facebook.com/ujwal
twitter.com/ujwalthapa