महाभूकम्प पछि नेपालको एकमात्र स्टक एक्सचेन्ज एक महिना बन्द भयो। यो यसको इतिहासमै लामो बन्द पनि हो। आगामी आइतबारबाट कारोबार सुरूहुने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। समग्र अर्थतन्त्रमा वित्तीय क्षेत्रले रक्त सञ्चारको काम गर्ने भएकाले पनि अर्थतन्त्रलाई चलायमान गराउन र जीवित राख्न यी क्षेत्रलाई चाँडो सक्रिय पार्नुपर्ने हुन्छ । वित्तीय क्षेत्रमा बैंक, बिमा कम्पनी यसअघि नै सञ्चालनमा आइसकेका छन् भने धेरै सहकारी अझै सञ्चालनमा आउन सकेको देखिदैन।
सेयर बजारमा लगानी गर्ने सबैको चासो अहिले सेयर बजार कति घट्छ भन्ने मै केन्द्रित देखिन्छ। भूकम्पले त्रसित बनाएको मनमा सेयर बजार घटेर धेरै नोक्सान बेहोर्नुपर्ला भन्ने अर्को डर आम लगानीकर्तामा छ। यसअघि लगानीकर्तामा नोक्सानीको मात्र डर थियो भने अहिले भुकम्पको डर पनि थपिएको छ। यसकारण पनि बजारमा नकारात्मक प्रभाव देखिन सक्छ। जुन अस्वभाविक होइन। तर, लगानीकर्ताले जुनरूपमा सोचेका छन् सेयर बजार त्यति नकारात्मक हुने सम्भावना भने देखिदै छ।
महाभूकम्पले समग्र अर्थतन्त्रमा असर पार्ने तथ्यांक सार्वजनिक भइसकेका छन्। योसँग सेयर बजारको सकारात्मक सम्बन्ध रहन्छ। गत आर्थिक वर्षमा ५.२ प्रतिशतको आर्थिक बृद्धि रहेकोमा चालु आवमा ४ प्रतिशतको हाराहारीमा रहने अनुमान आएको छ। यो गत वर्षको बृद्धिभन्दा करिब २० प्रतिशत कम हो।
सेयर बजार र अर्थतन्त्रको सम्बन्धका रोचक तर्कहरु पनि छन्-भनिन्छ अर्थतन्त्रमा मन्दी आउनुअघि सेयर बजार घट्न सुरू गर्छ भने अर्थतन्त्रमा समृद्धि आउनु अघि सेयर बजार बढ्न सुरू गर्छ। नेप्से परिसूचकले अहिले यही प्रवृत्ति देखाएको छ। विगतमा पनि देखाउँदै आएको यसको ट्रेन्ड र आर्थिक वृद्धिको सम्बन्धले देखाउँछ। गत साउनमा १०८३ अंक पुगेको नेप्से महाभूकम्प अघि कारोबार बन्द हुँदासम्म १३ प्रतिशत बराबरले घटेको थियो।
सेयर बजार र आर्थिक बृद्धिमा पूर्ण समानुपतिक सम्बन्ध त हुँदैन। तर, सकारात्मक सम्बन्ध रहन्छ । यसैले नेप्सेमा उच्चतम बिन्दु १०८३ को थप ७ प्रतिशतसम्म गिरावट आउन सक्छ।
यसको अर्थ भूकम्पपछिको कारोबारमा नेप्सेमा स्थिरता कायम हुन ७० देखि ८० अंकसम्मको गिरावट आउन सक्छ। भूकम्प अघिको नेप्से परिसूचक ९३८ बाट घटेर यसअघिको न्यूनतम बिन्दु ८४४ देखि ८५५को बिचमा गएर नेप्से स्थिर हुने सम्भावना रहन्छ। ८४४ गत साउनमा नेप्से १०८३ अंक पुगेर घटेपछिको न्युनतम विन्दु हो। त्यस पछि नेप्से बढेर ९९२ अंकसम्म पुगेको थियो।
महाभूकम्पको त्रासमा ७०–८० अंकका गिरावटलाई हामीले सामान्य लिनुपर्छ। सेयर बजारमा आउने यो गिरावटमा सवै कम्पनी वा क्षेत्रको उत्तीकै योगदान होला त? भन्ने प्रश्न आम लगानीकर्तामा उब्जिएको हुन सक्छ। सवैको योगदान समानुपातिक हुन सक्दैन र सम्भब छैन। यसमा लगानीकर्ताले धैर्य हुँदै छनोटमा ध्यान दिएर जोखिम न्युनिकरण गर्न सम्भव छ। यसका लागि विवेक पुर्याउन आवश्यक छ।
नेप्सेमा हाल ९ वटा समूह छन्। सबैभन्दा बढी हिस्सा बैंक तथा वित्तीय क्षेत्रको छ। बिमासहित यसको हिस्सा समग्र बजार पुँजिकरणमा ७८ प्रतिशत भन्दा बढी छ। यी समूहमा भूकम्पले कम्पनीको नाफामा सबैभन्दा बढी प्रभाव पार्ने क्षेत्र बैंक, बिमा र होटल हुन्।
के यी क्षेत्रका सवै कम्पनीमा समान जोखिम छ भन्ने अर्को प्रश्न उब्जन सक्छ?
म भन्छु- छैन, त्यसैले नआत्तीनु होस्। समूह भित्रपनि उप क्षेत्रगत हिसाबले हेर्दा जीवन बिमाका लगानीकर्ताले डराउनु पर्ने अवस्था छैन किनकि विमितहरु मध्येबाट मानवीय क्षति कम भएको जीवन बिमा कम्पनीले दावी गरिरेहेका छन्।
तर, निर्जीवन बिमा कम्पनीले बढी नोक्सानी बेहोर्नुपर्ने हुन्छ। सेयर बजारमा निर्जिवन बिमा कम्पनीको सेयर मूल्यमा तुलनात्मक रूपले बढी असर पुग्न सक्छ। लगानीकर्ताले आफ्नो पोर्टफोलियोमा यी कम्पनीमाथि बढी निगरानी राख्नुपर्ने देखिन्छ।
बैकिङ क्षेत्रमा काठमाडौं केन्द्रीत र भूकम्प अति प्रभावित अन्य जिल्लामा कार्यक्षेत्र बनाएका वणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई भूकम्पको असर बढी देखिने छ। तर, भूकम्प अति प्रभावित बाहेक अन्य जिल्लाका विकास बैंक र फाइनान्स कम्पनीको नाफामा असर पर्ने सम्भावना न्यून छ। यसकारण ती संस्थाको सेयर बिक्रीमा आत्तिहाल्नु पर्ने अवस्था छैन। यस्ता कम्पनीको सेयरको माग बढी मूल्य बढ्ने सम्भावना रहन्छ।
लगानीकर्ताले सबैभन्दा पहिले आफ्नो पोर्टफोलियोबाट यस हिसावले कम्पनीको वर्गिकरण गर्नु राम्रो हुन्छ।
कारोबारको ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंकको नाफामा केही असर देखिन सक्छ। जुन अल्पकालिन मात्र हुनेछ। ऋण तथा धितोको बिमा गरिने हुनाले पनि बैंक ठूलो नोक्सानीबाट बच्ने देखिन्छन्।
यसमा पनि नेपाल राष्ट्र बैंकले घरजग्गाको लगानीमा लगाएको अंकुश र तोकिदिएको सीमा बैंकका लागि भूकम्पबाट हुने ठूलो नोक्सानीबाट बच्नका लागि बरदान सावित भएको छ।
लघुवित्तलाई पनि अति प्रभावित क्षेत्रमा कार्यरत र अन्य क्षेत्रमा कार्यरत गरेर विभाजन गर्न सकिन्छ। अति प्रभावित क्षेत्रका लघुवित्तको नाफामा नकारात्मक असर पर्ने छ भने अन्य क्षेत्रका लघुवित्तमा असर कम देखिने छ। सेयर मूल्यमा पनि सोहि अनुसारको प्रभाव मुल्यांकन गरि सेयर विक्री गर्ने र राख्ने निर्णय गर्दा राम्रो हुन्छ।
तेस्रो त्रेमासिकको प्रतिवेदन अनुसार लघुवित्त उच्च नाफा कमाउने क्षेत्रमा पर्छ। विगतका तथ्यांक हेर्दा यो क्षेत्रका कम्पनीको लाभांशदर पनि तुलनात्मकरुपमा अन्य क्षेत्र भन्दा बढी छ। होटल क्षेत्रमा भूकम्पको असर राम्रै पर्ने देखिन्छ तर यसको हिस्सा समग्र सेयर बजारमा २.७ प्रतिशत मात्र रहेकाले नेप्से परिसुचक घटाउन यसको गिरावटले खासै ठूलो भूमिका खेल्न सक्दैन।
जलविद्युत क्षेत्रमा भूकम्पको असर धेरै देखिएता पनि सर्वसाधारणमा सेयर जारी गरि नेप्सेमा सूचीकृत कम्पनीमा भने असर देखिएको छैन। यसैले यो क्षेत्रका कम्पनीको नाफामा भूकम्पले असर गर्ने देखिँदैन। सेयर बजारका लागानीकर्ताका लागि यो खुसीको क्षण हो। यसकारण पनि लगानीकर्ताले आत्तिनु पर्ने अवस्था छैन । यो समूहमा नेप्सेमा ६ वटा कम्पनी सूचीकृत छन्। जलविद्युत क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको चिलिमे मर्मत पछि सञ्चालनमा आइसकेको छ। समग्र बजारमा जलविद्युत क्षेत्रको हिस्सा करिब ७ प्रतिशत छ।
नेप्सेमा सूचीकृत अन्य क्षेत्रमा उत्पादन मुलक, ट्रेडिङ र अन्य क्षेत्र हुन्। समग्र पूँजिकरणमा यिनको हिस्सा १२.३ प्रतिशत बराबर छ। जसमा सबैभन्दा बढी अन्य क्षेत्र भित्र नेपाल टेलिकमको छ। नेपाल टेलिकमले केहि समय प्रदान गरेको निःशूल्क सेवाले नाफामा केहि असर गरे पनि मूल्यमा असर देखिने सम्भावना कमै छ किनकि पहिला देखिनै यो कम्पनीको सेयर कम मूल्यांकन भएको छ।
नेप्सेमा सूचिकृत उत्पादनमुलक र ट्रेडिङ कम्पनीको सक्रिय कारोबार छैन। जुन बढी कारोबार हुन्छन् तीनमा भूकम्पको असर भएका सूचना हालसम्म आएका छैनन्।
यो अवस्थामा मेरो सल्लाह छ-लगानीकर्ताले धैर्यता नगुमाउँदा नै राम्रो हुन्छ। बढी आत्तिनु नै बढी जोखिमको कारक हो भन्ने बुझ्न अवश्य छ। विपतमा साना हल्लाले ठूला डर उत्पन्न गराउँछन्।
यस्तो परिस्थितिमा संसारकै सफल लगानीकर्ता वारेन बफेटका दुईवटा भनाई यहाँ उल्लेख गर्न उपयुक्त ठान्दछु-सवै डराएका बेला आफू लोभि हुनु र सवै लोभि भएका बेला आफू डराउनु।
सेयर कारोबार सुरु भएको त छैन। तर, पनि लगानीकर्ताको मनोविज्ञान बुझ्दा अहिले सवै डराएको अवस्था देखिन्छ यसकारण माथि भनिए जसरी क्षेत्र र कम्पनीको छनोट गरेर लोभी हुने बेला पनि हो यो। याद गर्नुहोस्, सन २०११ मा जापानमा आएको शक्तिशाली भूकम्प पछि सेयर बजारको गिरावटसँगै बफेटले जापानको सेयर बजारमा लगानी गर्ने राम्रो अवसर हो भनेका थिए।