नेपाल बनाउने नक्शा

चुनाव
  • Get News Alerts

पीपलबोट डटकम
tata

विश्वको जुनै दूर दराजमा प्राकृतिक विपद् परे पनि उद्दार तथा राहतमा खटिने प्रायः एउटै टोली हुन्छ। हैटीको भुईंचालो होओस् कि फिलिपिन्सको तुफान। अर्थात् जस्तो कि यसपालीको नेपाल। विदेशी सैनिकहरू यस्तैमा खारिएका हुन्छन्।

काठमाडौंमा ओइरिएका विदेशी सैनिकलाई यस्तो उद्दार तथा राहत नौलो अनुभव होइन। तर हरेक विपद् भिन्न हुन्छ। र त्यत्तिकै चुनौतीपूर्ण पनि। २२ घन्टा लामो थकाइलाग्दो उडान मार्ग क्यानाडाबाट काठमाडौं आइपुगेको करिब सय जनाको टोलीका सदस्य क्याप्टेन गाब्रियल रुस्सोले भने, ‘हामी जुन देशमा खटिन्छौँ सबभन्दा पहिला त्यहाँका बारेमा सूचना चाहन्छौँ।’

क्यानाडाली सेनाको सार्वजनिक मामिलामा काम गर्ने ती अधिकृतले भुईंचालो गएको एक सातापछि नेपाल टेकेको पनि एक साता भयो। उनले हेर्दा यहाँ जो पनि जे पनि जतिखेर पनि सहयोग गर्न तत्पर छ। जता पनि जो पनि जहिले पनि खटिएको छ। ‘हो, त्यो समन्वयको चूनौति यहाँ रहेछ,’ उनले भने, ‘हामीले सबभन्दा पहिला जम्मा गर्नुपर्ने नै सूचना हो।’

सूचनाको महत्व बुझेरै उनी बालुवाटारस्थित काठमाडौं लिभिङ ल्याब (केएलएल)को एउटा व्यस्त कार्यालयमा पुगेका थिए। कार्यालय भनेको के र? पर्खालले घेरिएको एउटा कफी हाउसको खुला चौरमा लमतन्न राखिएका टेबलका दुईपट्टिका कुर्चीमा मुखामुख गर्दै ल्यापटपमा काम गर्ने तन्नेरी स्वयम्‌सेवीहरू।

उनले त्यो ल्याबले तयार गरेको नक्शा डाउनलोड गरेर मुद्रण गरेका रहेछन्। भूइँचालोपछि उद्दार तथा राहतका लागि पीडित जनताले कहाँ कसरी कस्तो सहयोग अनुरोध गरिरहेका छन् र त्यसको सूचना कसरी आइरहेको छ भन्ने बुझ्न उनी त्यहाँ पुगेका बेला यस स्तम्भकारसँग कुरा गर्न राजी भए। 

सूचना संकलन गरेपछि उनीहरू यहाँको स्थिति विश्लेषण गर्छन् र चाहिएको के रहेछ पत्ता लाउँछन्। स्थानीय सरकारले चाहना प्रस्तुत गर्छ र सहयोग जुटाइदिन्छ। जस्तो कि नेपाल सेनाले हरेक विदेशी टोलीलाई यातायात साधनसँगै सम्पर्क अधिकृत छुट्याइदिएको छ। तर कतिखेर कहाँ के कसरी काम गर्ने भन्ने समन्वयमा कमजोरी हुनु सक्ने कारण कहाँ के जरूरि छ भन्ने सही माध्यमबाट आउनुपर्ने सूचनाको कमि हो।

नक्शाको त कुरै भएन।

भुईँचालाले पछारेका क्षेत्रहरूको नक्शा कहाँ पाइएला? कहाँ कति के कस्तो राहत कतिखेर जरूरी छ भन्ने सूचना एकीकृत रुपमा नक्शासहित पाउन सके त झन् राहतकर्मीलाई नै कति राहत हुँदो हो ? 

***

हो त्यस्तै नक्शासहितका एकीकृत सूचना वा सूचनासहितका नक्शा दिने अभियान छ केएलएल। स्वयम्सेवकका रुपमा खटिएका युवाले अहोरात्र अहिलेको उद्दार तथा राहतका लागि काम लाग्ने क्षेत्रका सूचना संकलन गर्छन् र अनलाइनमा हाल्छन्। त्यही हेरेर विदेशबाट आएका सैन्य टोलीको संयोजन गरिरहेको नेपाल सेना होओस् वा राहत बाँडिरहेका दर्जनौ राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्था राहतका लागि कहाँ के कस्तो कति अनुरोध छ त्यो विश्लेषण गर्छन्।

यो ल्याब कसरी सुरू भयो भन्ने एउटा प्रेरक प्रसंग छ।

नमराज बुढाथोकी काठमाडौंको मण्डिकाटारस्थित भैँचालाले थर्काएको घरमा परिवारसहित थिए। सहरमा कोलाहल, अन्यौल, अत्यासबीच पराकम्पन भैरहेको बेला रेडियो नेपाल सुने। पत्रकारले भने, ‘हामी पनि हल्लिरहेका छौँ, चिन्ता नगर्नुहोला, हामी तपाईंहरूको साथमा छौँ।’

‘हामी तपाईंहरूको साथमा छौँ’ भन्ने साधारण वाक्य तर असाधारण अवस्थामा सुन्दा उनको आँत भरियो। ‘हामी सातो गएर काँपिरहेको बेला उनले भनेको त्यत्ति कुराले एकछिन ढुक्क भए जस्तो लाग्यो,’ उनी भन्छन्, ‘म रेडियो नेपालका ती कुन पत्रकार हुन् चिन्दिन तर एक दिन गएर अँगालो हाल्न चाहन्छु।’

घरबाट कपडा निकालेर उनी सपरिवार छिमेकको काष्ठमण्डप स्कुलको परिसरमा अरूहरूझैँ रात काट्न गए। सुत्न लाग्दा घोत्लिए। हैटीको र्भैंचालो सम्झिए।

हैटीको भैँचालोमा सबभन्दा जरूरि नक्शाको परेको थियो जतिखेर उनी संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ इलिनोय, अर्बाना स्याम्पेनमा पिएचडी गर्दै थिए। उनले सिध्याउन लागेको विषय थियो क्राउड सोर्स म्यापिङ एन्ड ओपन डाटा। जनताले जनताका लागि बनाउने, जनताको पकड र पहुँचको नक्शा।   

भैंचालाको पहिलो रात कटेपछि उनी ८२ वर्षिया आमा, छोराछोरी र श्रीमतीलाई स्कुल परिसरको पालमुनि छाडेर बालुवाटार पुगे। त्यहाँ उनले कफी हाउस भएको घरको एउटा कोठा लिएर केही सहकर्मीसँग त्यो ल्याब खोलेका थिए, आफूले पढेको विषय नेपालमा अभ्यास गर्न।

पराकम्पन जारी रहेकाले घरभित्र बस्ने कुरा भएन। टेबललाई बाहिर चौरमा निकाले। भित्तातिर राख्नु पनि भएन। काठमाडौंमा त भित्ताकै डर छ झन्। चौरको ठीक बीच भागमा टेबल राखे, दुईजना मात्र भएर त्यस टेबललाई नाम दिए– सिच्युएसन रूम।

भोलिपल्ट अरू दुई जना थपिए। हरेक दिन स्वयमसवेक थपिँदै जाँदा अहिले त चालीस जना जति जम्मा भइसकेका छन्। त्यो त नेपालभित्र उनको सिच्युएसन रूमको कुरा भयो। डिजिटल नक्शा बनाउने काम भनेको त स्थानीय अभियान हुँदै होइन।

बुढाथोकीले सिच्युएसन रूम बनाउनासाथ बाहिरी विश्वका स्वयमसेवकहरूलाई सम्पर्क गरे। उनी आफैँ त्यस्तो नक्शा अभियानको अन्तर्राष्ट्रिय मञ्चमा बोर्ड डाइरेक्टर नै निर्वाचित छन्। उनलाई त्यो सजिलो भयो। अहिले उनले दैनिक विस्तृत पार्दै लगेको नक्शामा संसारभरिबाट चार हजार चार सय ३६ जनाले योगदान गरिसकेका छन्।

‘म दैनिक स्काई च्याट रूममार्फत अन्तर्राष्ट्रिय स्वयमसेवकहरू उपयोग गर्छु, हाम्रो यहाँको राहतको आवश्यकता तथा अनुरोध के कस्तो छ भन्ने विश्लेषण गर्दै नक्शा बनाउँदै जान्छौँ,’ उनी भन्छन्।

***

बुढाथोकी नेतृत्वको स्वयम्सेवकहरूको समूहले बनाइरहेको नक्शाको प्रभाव विश्वभरि बढ्दो छ। हामीकहाँ यसबारे आम चेतना नभए पनि यसपटक भैंचालापछि उद्दार तथा राहतमा यसले जुर्मुराउने अवसर पायो। यसलाई ‘ओपन स्ट्रिट म्याप’ (ओएसएम) भनिन्छ जसलाई नक्शाको विकिपिडिया भन्ने गरिन्छ। यो अभियान फेसबुकसँगै सुरू भएको हो, बरू यु ट्युब र ट्वीटर यसपछि आएका हुन्।

बुढाथोकीका शब्दमा नयाँ समाजको अभ्युदयको संकेतका रूपमा सन् २००१ मा विकिपिडिया थालिएको थियो। त्यसपछि नै सोसल मिडियाका यी अरू रूप थपिए। यसको जस् उनी तत्कालीन अमेरिकी राष्ट्रपति बील क्लिन्टनलाई दिन्छन् जसले सन् २००० को मे महिनाको पहिलो रात जिपिएस (ग्लोबल पोजिसनिङ सिष्टम) खुला गरिदिए।

अमेरिकी सेनाले मात्र प्रयोग गर्दै आएको त्यो प्रबिधि खुला भएपछि कसको वा केको कहाँ अवस्थिति छ भन्ने थाहा पाउने तकनिकी सर्वसाधारणले प्रयोग गर्न पाउने भए।

जिपिएस त अहिले हामी सबैका स्मार्टफोनमा सहजै उपलब्ध छ। यसको प्रयोग अझ सहज किन छ भने यसलाई नेट चाहिँदैन र जसले जहाँ जतिखेर पनि जे पनि नक्शा बनाउँदै हिँड्न सक्छ।

जसरी फेसबुक वा ट्वीटरमा जसले पनि साइन इन् गर्न सक्छ र लग इन् गरेपछि आफूलाई लागेको पोष्ट गर्न सक्छ, यो ओएसएम पनि त्यही हो। त्यही सिष्टम हो र त्यस्तै सोसल मिडिया हो।

बुढाथोकी पहिला काठमाडौंमा भूमिसुधार मन्त्रालयमा काम गर्थे। खासमा उनी बंगलादेशबाट कम्प्युटर इन्जिनियरिङ पढेर आएपछि सरकारी जागिरे थिए। ‘सूचना लुकाउने प्रवृत्तिदेखि म वाक्क थिएँ,’ उनी भन्छन्, ‘नक्शा भनेको सूचना हो र यो सबैको सहज पहुँचमा हुनुपर्छ भन्ने बुझ्दै गएँ।’

उनका अनुसार, नक्शा तीन प्रकारले बन्छन्। पहिलो परम्परागत रूपमा सरकारले शासन गर्न बनाउँछ। दोस्रो, निजी कम्पनीहरूले व्यवसाय प्रवर्धन गर्न बनाउँछन्। तेस्रो, यही हो जुन नागरिकले आफ्नो आवश्यकता, चाहना पूरा गर्न बनाउँछन्। सन् २००४ मै सुरू भए पनि जहीँतहीँ प्रयोग त भइसकेको छैन। डब्लुडब्लुडब्लु ओपन स्ट्रिट म्याप डट ओआरजी धेरै चम्किएको थिएन।

सन् २०१० कै हैटीको भैंचालोपछि उद्दार–राहतका बेला नक्शाको अभाव खट्कियो। ‘हरेकलाई हरेक कुरा थाहा हुन्छ तर कसैलाई पनि सबै कुरा थाहा हुँदैन,’ उनी भन्छन्। तर प्रबिधि उपलब्ध छ भने जाँगरको प्रश्नमात्र हो। हैटीमा तत्काल के गर्ने भन्ने सुल्झाउन त्यही डिजिटल नक्शाको प्लेटफर्म ओएसएम डट ओआरजीको प्रयोग गरियो। जसलाई जे थाहा छ, त्यो पोष्ट गर्ने।

जस्तो मेरो क्षेत्रमा के के छन्, म मेरै मोबाइलको जिपिएसको सहायताले स्थान र अवस्थिति रेखांकन गर्न सक्छु, साथै यहाँ यस्तो चाहिएको छ भनेर त्यसमा गएर लग इन् गरीवरी पोष्ट गर्न सक्छु। त्यसरी हैटी भैंचालामा यसको अत्यधिक प्रयोग भयो। उनले पिएचडीमा छानेको विषय झन्झन् सान्दर्भिक हुँदै गयो।

उनले त्यसपछि एक वर्ष क्यानाडा गएर पोष्ट डक्टरेट गरे। अब नेपाल फर्किने कि त्यतै रत्तिने। सूर गरे आफूले जे विद्या सिकेको हो त्यही आफ्नो देशमा अभ्यास गर्ने। ‘तर काठमाडौंमा म कुहिरोमा हराएको काग भएँ, किनभने पढाईका क्रममा म बंगलादेश, निदरल्याण्ड, अमेरिका र क्यानाडा गरी १३ वर्ष विदेश रहँदा यहाँ सम्पर्कहरू टुटिसकेका थिए,’ उनी भन्छन्, ‘केही समय त अत्यासै लाग्यो।’

सबभन्दा पहिला आफू बस्ने मण्डिकाटारको नक्शा बनाए। ओएसएम डट ओआरजीको प्लेटफर्ममा जोकोहीले नक्शा थप्न सक्छ भन्ने सम्झाउन बुझाउन युवाहरूलाई थाले। एपेक्स कलेजमा कक्षा लिन थालेपछि विद्यार्थीहरूलाई आकर्षित गर्न पनि सजिलो भयो।

‘फेसबुकबाट दिनको आधा घन्टा तिम्रो समय निकालेर यसमा लगाऊ’ भन्ने बाहिरतिर चलेको अभियान बताउन थाले। सन् २०१३ मा काठमाडौं लिभिङ ल्याब (केएलएल) नाममा एउटा गैर मुनाफाकारी संस्था खोलेर एउटा कोठाबाट अभियान संस्थागत गर्न थाले। नक्शा कसरी बनाउने भन्नेबारे प्रचार गर्ने तथा दक्षता हासिल गर्न चाहनेलाई प्रशिक्षण पनि दिने। प्रशिक्षणको भने शूल्क लगाए जसले संस्थालाई जेनतेन धान्न सक्थ्यो।

विश्वविद्यालय, अन्तर्राष्ट्रिय तथा स्थानीय गैससहरूका प्रतिनिधिलाई त के नापी विभागकै कतिपय कर्मचारीलाई समेत प्रशिक्षण दिए। स्वयमसेवकहरू जुर्मुराउन थालेपछि उनको काठमाडौं उपत्यकाको नक्शा बनाउने अभियान जाग्दै गयो। मोबाइलमा डाउनलोड गरेर अफलाइन समेत हेर्न सकिने यस्तो नक्शाको उपयोगिताबारे युवामा चाख देखिन थाल्यो।

‘स्थानीय म्यापिङ समूह समेत बनाइदिन थाल्यौँ, यो तपाईंको सहर हो, सहरको सार्वजनिक प्रयोगका लागि सार्वजनिक सम्पतिरूपी नक्शा तपाईं आफैं बनाउनुहोस् भन्दै गयौँ,’ उनी भन्छन्, ‘काठमाडौंमा करीव ६० प्रतिशत घरको नक्शा बनिसकेको छ, यत्तिको विस्तृत नक्शा अरू कतै पनि छैन।’

व्यवस्थित बसोबास नभएकाले कुन घर कहाँ छ, कुन टोल कता छ भन्ने पत्ता लगाउन असिनपसिन हुनुपर्ने हामीलाई यसरी धमाधम थपिँदै गएको नक्शाले मोबाइलमै दिशानिर्देश गर्ने भइसकेको छ। ‘नक्शा बनाउने काम कहिले सम्पन्न भइसक्दैन,’ उनी भन्छन्, ‘यो त एउटा प्रक्रिया हो, तपाईं कति विस्तृत जानकारी राख्न चाहनुहुन्छ तपाईंमै भर पर्छ।’

बुढाथोकी पहिला सरकारी जागिरे हुँदा सूचना लुकाउने प्रवृत्तिबाट कति आजित रहेछन् भन्ने उनको अनुहार हेर्दा थाहा पाइन्छ। जतिखेर उनले भने ‘अहिले काठमाडौंको यस्तो नक्शा बनाइसक्दा र यो नक्शा सबैका लागि निःशुल्क र त्यो पनि अफलाइन समेत हेर्न सकिने गरी उपलब्ध हुँदा म वास्तवमै गर्व गर्छु’ भन्दा उनले अनुहार सिनित्त उज्यालो पारे। थपे, ‘नक्शा भनेको ऐना हो।’

हाल ओएसएममा संसारभरि २० लाख जना सक्रिय छन्। हैटीको भैँचालापछि ह्युमनिटेरियन ओपन स्ट्रिट म्याप (एचओटी) बन्यो जसको बोर्ड अफ डाइरेक्टरमा चुनिएपछि उनी झन् अभियानकर्ता हुने नै भए। काठमाडौंको नक्शापछि चितवनमा नक्शा अभियानको अगुवाई गरिरहेको बेला गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आफ्नै देशमा भैँचालोले लीला गर्‍यो।

सिच्युएसन रूम बनाएर संसारभरिका स्वयमसेवक खटाउन थाल्दा उनका तीन काम समानान्तर रूपमा सुरू भए। नक्शा बनाउने पहिलो, राहतमा चाहिने नक्शा बनाउने दोस्रो र भैँचालाको नक्शा अर्थात् क्वेकम्याप। ‘हरेक व्यक्ति व्यस्त छ, जो पनि जेमा पनि खटिएको छ, कुदाकुद छ,’ उनी भन्छन्, ‘तर कहाँ के चाहिएको छ भन्ने सूचना नभई जति जता कुदे पनि के काम लाग्छ ?’

ओएसएमको प्लेटफर्मभित्रै उनले क्वेकम्याप डट ओआरजी सुरू गरे, भैँचालाको तेस्रो दिन। पीडितहरूको आवश्यकता पत्ता लगाउन थाले। आवश्यकताका आधारमा कहाँ के कति कस्तो राहत चाहिएको छ भन्ने सूचना संकलन गर्ने, एक तहको पूष्टिको प्रयास गर्ने र नक्शामाथि त्यही सूचना पोष्ट गर्ने। जस्तो बारपाकमा कति वटा त्रिपाल चाहिएको सूचना गोरखाभित्र बारपाकको नक्शाभित्र उल्लेख हुन्छ।

बुढाथोकी नेतृत्वको स्वयमसेवकहरूले अहोरात्र खटेर हर क्षण अद्यावधिक गरिरहेको क्वेकम्याप हाल राहतमा खटिएका नेपाली सेना लगायत राष्ट्रिय निकायहरू तथा देशी विदेशी गैसससम्मले उपयोग गरिरहेका छन्। बढी ट्राफिक भएर एकपल्ट त साइट नै डाउन हुन पुग्यो।

सरकारको दैवीप्रकोप उद्दार तथा राहतसम्बन्धी आधिकारिक वेभसाइट एनआइटिसी डट जिओभी डट एनपीमा पनि क्वेकम्यापको लिङक राखिएको छ।

जस्तो नेपाली सेनाबाट भैँचाला प्रभावितमध्ये कति जना अस्थायी शिविरमा बसिरहेका छन् भन्ने नक्शाको माग आयो भने कसरी बनाउँछन् त ? ‘जस्तो विदेशमा रहेका स्वयमसेवकहरूमध्ये कति त सेटेलाइट इमेज हेरेर त्यस्तो इमेजको विश्लेषण गरीवरी कहाँ कस्ता त्रिपालमुनि मानिस बसिरहेका छन् भन्नेसम्मको नक्शा बनाउने दखल भएका हुन्छन्,’ उनी भन्छन्, ‘हामी सबैखाले विशेषज्ञता भएका स्वयमसेवकहरूको सञ्जाल उपयोग गर्छौँ। चार हजार स्वयमसेवक एक साथ काम गरिरहेका हुन्छन् तर जो एकार्कालाई भेटेका हुँदैनन्, देखेका हुँदैनन्।’

यस्तो नक्शा जनस्तरबाट बन्छ जसलाई बुढाथोकी ‘डाउन टु टप’ भन्छन् जबकि परम्परागतरूपमा नापी विभागले बनाउने नक्शा ‘टप टु डाउन’ हुन्छ। यसमा सहभागिताका लागि डिजिटल साक्षरता र सक्रियता भए पुग्छ। ‘डिजटिल स्वयसेवा’ नयाँ रूचि र लगावको क्षेत्र भइसकेको उनी औँल्याउँछन्।

सिच्युएसन रूमको लामो टेबलका दुबैतिर कम्प्युटरमा जोतिइरहेका विद्यार्थी तथा तन्नेरीहरू उनका भाषामा डिजिटल स्वयमसेवा गरिरहेका छन्। भैँचाला प्रभावित क्षेत्रबाट आउने टेलिफोन, एसएमएस, इमेल वा अरू कुनै माध्यम आउने सूचनालाई पूष्टि गर्ने र कहाँ के कस्तो आवश्यकता छ पोष्ट गर्ने हो।

यस्ता नक्शा कति डाउनलोड भइरहेको हुन्छ र कति मुद्रण भइरहेको हुन्छ भन्ने उनीहरूको सरोकार हुँदैन। उनीहरू त आफूले पोष्ट गरेअनुसार भैँचाला प्रभावितहरूले चाहेअनुसार राहत पुग्यो, पुगेन भनेर अद्यावधिक गर्ने र नयाँ सूचना थप्ने ध्याउन्नामा हुन्छन्।

धन्न हाम्रो भैँचालाले धेरैथोक बिगार्दा पनि नेट र फोन तन्दुरुस्त रहन सके।

***

‘क्राउड सोर्सिङ’ गरेर नक्शा बनाउने र जनताको आवश्यकता सुसूचित गर्ने यो सामाजिक सञ्चार माध्यम अब परिपक्व भयो भन्ने निश्कर्षमा पुगेका छन् नेपाली सेनाको सूचना प्रबिधि शाखाका प्रमुख कर्णेल सुदीप पन्त।

हैटीको भैँचालापिछको व्यवस्थापनमा उनी राष्ट्रसंघीय नियोगको जिआइएस इकाईका उपप्रमुख थिए। ‘जनताको अनुरोधलाई अनलाइनमा राख्ने यो सिष्टम यति परिपक्व भइसकेकै थिएन,’ उनी भन्छन्, ‘त्यहाँ काम गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैससहरूले जनतालाई आफ्नो आवश्यकता अनलाइनमार्फत सार्वजनिक गर्न सिकाएपछि केही हद्सम्म यो माध्यमको उपयोग हुन सकेको थियो।’

कर्णेल पन्तका अनुसार नेपालले आफ्नो भैँचालामा भने यो माध्यमलाई परिपक्व पार्न सक्यो। काठमाडौं लिभिङ ल्याब (केएलएल)ले पूष्टि गरेर जनताको आवश्यकताको नक्शांकन गरेपछि नेपाली सेना जस्ता निकायले विश्लेषण गर्ने गर्छन्।

‘यसमार्फत हामी जनताको आवश्यकता थाहा पाउँछौँ र हाम्रो आफ्नो स्थलगत अपरेसनमा कहाँ के कस्तो समन्वय र संयोजन गर्नुपर्नेछ मिलाउँछौँ,’ उनी भन्छन्, ‘केएलएलले हामीलाई (हरेक दुई घन्टामा) नक्शा फरवाड गरिदिन्छ, हाम्रो अपरसेनमा के कहाँ कस्तो ग्याप छ विश्लेषण गर्छौँ र त्यसअनुसार परिचालन गर्छौँ।’

उनका अनुसार जस्तो सिन्धुपाल्चोकमा सेना त खटिएको छ तर कहाँ कसरी के गर्ने भन्ने तय गर्न यसरी जनस्तरका सूचना पूष्टि गरेर पोष्ट गर्ने माध्यमले सहयोग पुर्‍याएको छ।

आफ्नो आवश्यकता जनता आफैँले कसरी यो माध्यममा पुर्‍याउँछन् त ? बुढाथोकीका अनुसार सम्पर्क गर्ने ठाउँ धेरैलाई थाहा हुँदै गएको छ। उनका स्वयम्सेवकले टेलिफोन, मेसेज र फेसबुक तथा ट्वीटरका पोष्टिङ समेत ख्याल राख्छन्। ‘पदयात्रामा गएका विदेशी पर्यटक, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैससका प्रतिनिधिले सूचना दिइरहेका छन्,’ कर्णेल पन्त भन्छन्, ‘क्राउड सोर्सिङ गर्ने तरिका जनमत लिएजस्तो हो। हामीले सेनामा पनि यसलाई प्राथमिकता दिन थालेका छौँ।’

सूचना जति पुग्यो उति राहत सजिलो। कर्णेल पन्तका अनुसार जसले स्वर ठूलो गर्‍यो उसले पायो। अर्थात् डिजिटल माध्यमबाट जसले आवश्यकता जतायो राहतकारी निकायको ध्यान झट्टै पुग्ने भयो।

‘विश्वको कुनै पनि विपद् क्षेत्रमा कुनै पनि बेला खटिने टोली हामी नै हौँ,’ क्यानाडाली सेनाका क्याप्टेन रुस्सोले भने, ‘यस्तोमा हाम्रो दखल हुने नै भयो।’

मैले सोधेँ, नेपालमा अरू के फरक पाउनुभयो ?

‘राहत बाँड्दा छेउमा सुरक्षाकर्मीहरू पनि तैनाथ गर्नुपर्ने अवस्था हामीले कत्ति देशमा देखेका छौँ,’ उनले भने, ‘नेपाल भने फरक पायौँ।’

नेपालमा ‘सामाजिक पुँजी’ प्रशस्त रहेछ भन्ने अन्तर्राष्ट्रिय सहयोगीहरूले महसूस गरेका छन्। रूस्सोले थपे, ‘अन्यत्रजस्तो झैझगडा रहेनछ, जे पायो सन्तुष्टि छ यहाँका मानिसमा। जति दुःख झेले पनि लाइन लागेर आफूले पाएको राहतमा सन्तोष मानेका छन्, अरुलाई बाँडेका छन्।’

तपाईंहरूले अन्त्रत्र देखेभन्दा सानो स्केलको प्रभाव भएको भैँचालो आएर हो कि ?

‘होइन, होइन,’ उनले भने, ‘भैँचालोको प्रभाव सानो होओस् कि ठूला, विपत्ति त जसलाई पनि परिहाल्छ। यो त यहाँको संस्कृति र मानिसको स्वभावसँग जोडिएको विषय हो।’

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

साहित्यपाटी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट