म मेलबोर्नमा थिएँ । एक महिने अष्ट्रेलिया भ्रमण करिब करिब टुंगिने बेला थियो त्यो। जुन किसिमको दर्शक प्रतिक्रिया बटुल्दै हामी जोश जाँगरका साथ अघि बढिरहेका थियौं, दक्षिणी गोलार्धको त्यो यात्रा फेरि अर्को ‘स्वर्णिम नेपथ्य भ्रमण’मा परिणत हुनेवाला थियो ।
त्यस सहरमा अन्तिम शो भोलिपल्ट हुँदै थियो । शो सकिनेबित्तिकै घर फर्किने हुटहुटी बढ्ने नै भयो । केहि आफन्त मेलबर्नमा पनि बस्दा रहेछन्। भेट्न आइपुगेका उनीहरुसँगै कोठामा कुरा गरिरहेको थिएँ। अचानक किरणले कोठामा आएर ‘लौ, नेपालमा त भूइँचालो गएछ’ भनेर सुनाए।
पहिले त क्षतिको अन्दाजै भएन । यो आइरहने कुरा भएकाले मैले सामान्य रुपमै लिएँ।
त्यसो त विज्ञहरुको अनुमानका भरमा काठमाडौंमा डरलाग्दो भूकम्प आउनसक्ने र त्यसले भयावह परिणाम ल्याउनसक्ने चर्चा सुन्दै आएका थियौं । हामीले त्यसको अन्दाज नगरेका होइनौं।
भौगर्भिक अवस्थाका कारण नेपाल जुन किसिमको भूकम्प सम्भावित क्षेत्रमा पथ्र्यो त्यसलाई हामी मानवले टारेर टर्ने अवस्था थिएन। यो आउने कुरा हो र कुनै दिन आइपर्न सक्छ भन्ने हिसाबले मात्र हेरिएको थियो।
भूकम्प त भूकम्प, तर कस्तो भन्ने कुराको निर्क्यौल नभएकाले तत्काल सुनिएको समाचारलाई मैले सामान्य रूपमा लिएँ। प्रारम्भिक सूचनाहरुमा हाम्रा घरका टेबुल हल्लिएका र शिशाहरु फुटेका जानकारी मात्र थिए।
तर, जसै अचानक एउटा फोटो इन्टरनेट मार्फत मोबाइलको पर्दामा देखियो, म स्तब्ध भएँ। धरहरा क्षेत्रको फोटो थियो त्यो र त्यहाँ खूद धरहरा देखापरिरहेको थिएन। अचानक मेरो कण्ठ अवरुद्ध भयो।
वाल्यकालमै पहिलोपटक काठमाडौं आएको बेला सबैभन्दा अनौठो मानेर सदाका निम्ति स्मृतिमा राखेको संरचना थियो त्यो। काठमाडौं भनेकै धरहरा वरपर बसेको बस्तीजस्तो लाग्थ्यो।
त्यसपछिको अर्को स्तब्ध हुने दृश्य वसन्तपुरको थियो। चाहे कलेज पढ्दा होस् वा हिजोआज पनि एक्लै कतै गएर एकछिन बस्न मनलाग्दा विसाउने ठाउँ जस्तो लाग्थ्यो त्यो दरवार क्षेत्र। देस भित्रका वा बाहिरका मिल्ने साथीहरुसँग त्यो ठाउँमा गएर धेरैपटक लामो समय काटेको छु मैले । हे प्रभु..., त्यो ठाउँ पनि छैन त!
मलाई कहाली चलेजस्तो भयो । यी दुईवटा सम्पदा नै हाम्रो मन मश्तिष्कमा कसरी बसेको रहेछ भने, मलाई त उतिपर बसिरहेको बेला सिँगो काठमाडौं नै भासिएछ भन्ने भान पर्न गयो।
म त्यो रात सुत्न सकिनँ। त्यहाँमाथि अर्को तनाव भनेको भोलि मेलबोर्नमा अब कसरी कार्यक्रम गर्ने? दर्शकले नेपथ्यको कार्यक्रम भन्नैबित्तिकै लोकलयमा आधारित छमछमी नाच्ने गीतहरुको परिकल्पना गर्छन्। यस्तो मनोदशामा रहेको बेला मैले कसरी दर्शकलाई नचाउने? नेपथ्यको पहिलो अल्बम निस्केपछिको २३ वर्षे इतिहासमा पहिलोपटक म एउटा अनौठो सकस बेहोरिरहेको थिएँ।
त्यसो त यस कालखण्डमा हामीले नौवटा एल्बममार्फत् श्रोतालाई ७८ वटा गीत सुनाइसकेका छौं । तर, मञ्चमा गाउन त केवल २२–२५ वटा गीत रोजिने गर्छन्। ति सबै हाँसो खुसीकै प्याकेज हुने गरेका छन्। त्यसैका आधारमा सदैव तयारी पनि हुने गर्छ । यसरी सेट भएको कार्यक्रमलाई अब कता लगेर बिसाउने? कसरी गीत गाउने? कुन मन लिएर गाउने?
मन नेपालमा छ। म रोइरहेको थिएँ र चिन्ता भोलि कसरी हँसाउने भन्ने भइरहेको छ। मैले कार्यक्रम तत्काललाई स्थगीत गरौं भन्ने उपायतर्फ सोच्न थालेँ। अर्को विकल्प चाहिँ जस्तो परिस्थिति आइपरेको छ त्यसलाई त्यहि किसिमले स्वीकार्ने पनि थियो। कलाकार भएर सोच्दा दोस्रो तर्फ अलिक मन गयो। उता आयोजकहरुले पनि तत्काल बैठक बसेर जे जस्तो भए पनि कार्यक्रम गरेरै छाड्ने निधो गरेछन्। हामीले जानेको आखिरमा त्यही कला देखाउने हो। सुख मात्र होइन दुःखमा पनि गाउन जान्ने भएकैले त मान्छेले कलाकार भनेका हुन्।
‘तालको पानी’ र ‘रेशम’ जस्ता गीतहरु यस्तो अवस्थामा त गाउन सकिँदैन। यो मैले राखेको शर्त थियो। बिहानको तीन बजिसकेको थियो। किरणले मलाई सुत्ने सल्लाह दियो र उसले यस्तो परिस्थितिमा विश्वका साँगीतिक समूहहरुले कस्ता निर्णय लिएका रहेछन् भनेर इन्टरनेटमा खोज्न सुरू गर्यो।
अन्तिममा सबै पक्षलाई हेरेर कार्यक्रम गर्ने नै निधोमा पुग्यौं। शर्त भने उहि थियो, रमाइला गीतहरु नगाउने। यसरी गरिएको कार्यक्रमलाई भुइँचालोको सहयोगार्थ समर्पण गर्ने निर्णय पनि आयोजकका तर्फबाट सँगसँगै भयो।
अब चूनौति मञ्चको थियो। के र कसरी गाउने? त्यसो त द्वन्द्वका बेला ‘शान्तिको लागि शिक्षा’ र ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानमा सरिक हामीसँग सन्देशमूलक गीतहरुको अभाव थिएन। तर, स्टेजमा दर्शकले नेपथ्यबाट अपेक्षा गर्ने बेग्लै खाले गीतहरु हुने गर्थे। हामीले त्यसैका आधारमा आफूलाई सदैव माझेर मञ्चका निम्ति जहिल्यै तिनै २२–२५ वटा गीतहरु गाउँदै आएका थियौं, जसको सान्दर्भिकता यहाँनिर आएर एकैछिन् थामिन पुगेको थियो।
तै पनि हामीले सर्सर्ती सबै गीतहरु एकपटक फेरि सम्झियौं। थोरै गीतहरु जम्मा गर्यौं र यस्तो परिस्थितिमा विश्वमा अन्य ठूला ब्याण्डले चालेका कदमहरुलाई नजिरको रुपमा लिँदै कार्यक्रमलाई रद्द त नगर्ने बरु त्यस दिनको शोलाई आधा अवधिमै टुंग्याउने निधो गर्यौं।
मैले जीवनमै एउटा महत्वपूर्ण स्टेज पाएको थिएँ। मेलबोर्नको यो त्यही टाउनहल थियो जहाँ म जन्मेकै साल त्यतिबेला विश्व हल्लाएको साँगीतिक समूह बिटल्सलाई अभिनन्दन गरिएको थियो। यति विशिष्ट हलमा हाम्रानिम्ति उत्तिकै गजबको साउण्ड सिस्टम बन्दोबस्त गरिएको थियो। त्यहाँमाथि नेपथ्य भनेपछि सदैव हुरुक्क हुने अष्ट्रेलियाका दर्शक।
यस्तो हलमा म शोकमग्न प्रस्तुतिको निम्ती आफूलाई तयार पार्दै थिएँ। भावीले मेरो कर्ममा लेखिदिएको कस्तो विडम्बना?
कार्यक्रमभर पृष्ठ भागमा देखाउनका निम्ति हतार हतार नेपालका ध्वस्त संरचनाहरू संकलन गर्यौं। गीतहरु पनि त्यसै अनुसार तयार पारिए।
मञ्चमा उभिएर दर्शक कसरी फेस गर्ने भन्ने प्रश्नले मलाई निकै घोचिरहेको थियो। मैले भएभरको आँट जम्मा गरेँ। त्यसै पनि म कार्यक्रम अवधिभर दर्शकसँग मनले कुरा गर्थेँ, त्यो दिन पनि मनमा जे आवाज निस्किरहेछ त्यसैलाई बोलिदिने निधोमा पुगेँ।
‘देश विपतमा परेको छ, हाम्रो झण्डा झुकेको छ, त्यसैले आजको कार्यक्रम कालो पट्टी लगाएरै गर्ने’
मेरो यो प्रस्तावलाई साथीहरु सबैले स्वीकारे।
यसरी कार्यक्रम गर्दा दर्शकहरुले कुन रूपले लिइदेलान् भन्ने मलाई असाध्यै चिन्ता लागेको थियो । तै पनि, उनीहरु जतिजना आएका थिए, कार्यक्रमभर मसँग एकाकार भइदिए । स्टेजबाट कतिजना त रोइरहेको देख्दै थिएँ। मैले जीवनमा कमाएको सबैभन्दा ठूलो कमाइ यहि रहेछ।
तर, मेलबोर्नका दर्शकले जुन रूपले लिइदिए पनि बाहिरका धेरैले भने हामीलाई ‘पैसाको लोभले यस्तो बेलामा पनि कार्यक्रम गर्दै हिँडेको’ भनेर आक्षेप लगाए। विशेषगरेर सामाजिक सञ्जालमा।
यस्तो दुख्ने आरोप सुनेर नेपाल फर्केको थिएँ म। त्यहाँमाथि पहिल्यै तय भइसकेका जापान र दुबईका कार्यक्रम अब के गर्ने?
मैले आवेशमा आएर नगर्ने त भनिदिएँ। तर, यस्तो बेलामा कसैले एक्लो निर्णयमा चाहेर पनि अड्न सक्दैन। मुश्किलले भाडामा पाइने हलदेखि लामो समयको तयारी भइसकेका हुन्छन्। कसरी अचानक छाड्न मिल्छ?
निर्णय लिन अप्ठेरो भइरहेको त्यो घडीमा यस संसारमा मभन्दा निकै पहिले आएका र हामीभन्दा धेरै भोगेका अग्रज कलाकारहरुको महानवाणी पनि सम्झेँ, ‘शो मस्ट गो अन।’
पहिले त काठमाडौंको आकाशमा प्रवेश गर्नेबित्तिकै निलो, कालो र सुन्तला रंगका त्रिपाल जताततै देखिँदै थियो। विचल्ली त थियो त्यो पनि तर मैले काठमाडौंको बारेमा जुन भयावह चित्र बनाएको थिएँ, त्योभन्दा कमै प्रभाव देख्दा मन हलुका भयो। धरहरा र वसन्तपुरका तस्विर देख्दा जुन विभत्स काठमाडौंको कल्पना गरेको थिएँ त्यस्तो रहेनछ। मान्छेले कुनै पनि सहरका प्रतिकको रुपमा मान्दै आएको कुरा ध्वस्त हुँदा त्यस्तो प्रभाव पार्दोरहेछ।
सबैभन्दा पहिले पुरेन्द्र सुवेदी दाईको किरिया बसेका ठाउँमा श्रद्धान्जली दिन गयौं। भूकम्पमै च्यापिएर दिवंगत हुनुभएका उहाँ आफैँ पनि कलाकार हुनुहुन्थ्यो र मलाई माया गर्नुहुन्थ्यो। विधिको विडम्वना कस्तो भने, आमाको औषधि किन्नका निम्ति जाँदैगर्दा उहाँको जीवनै समाप्त भएछ।
त्यसैगरि अर्का एकजना साथीको घर भत्केको थियो। त्यतातिर गयौं। अर्कोतिर नेपथ्यकै संस्थापक साथी भीम पुनका आमाको जटिल शल्यक्रिया थियो। हाम्रो स्थापनामा उहाँको पनि योगदान थियो। म उहाँलाई पनि भेट्न पुगेँ।
यो सब गर्नका निम्ति मसँग दुई दिनको पनि समय थिएन। जापानको पूर्वनिर्धारित कार्यक्रमका निम्ति उड्ने समय आइहाल्यो। मैले फेरि पनि कार्यक्रम स्थगीत गर्न सकिन्छ कि भनेर प्रस्ताव राखेँ । तर, फेरि पनि यो सम्भव भइदिएन।
यस्तो स्थितीमा नेपथ्यले तय भइसकेको कार्यक्रमलाई सन्देशमुलक कन्सर्टका रुपमा सम्पन्न गर्ने र यसबाट भएका सम्पूर्ण आम्दानीलाई भूकम्प पीडितको राहतका निम्ति खर्च गर्ने निर्णय लियो।
त्यो सबैभन्दा माथि रहेर तत्काल प्रधामन्त्री दैवीप्रकोप राहत कोषमा पाँच लाख रुपैयाँ प्रदान गर्ने र यो अभियानमा नेपथ्यका सबै शुभचिन्तकलाई समेट्ने निधो पनि ब्याण्डले गर्यो।
नेपथ्यका आगामी कार्यक्रमलाई भूकम्प पीडितका निम्ति सहयोगार्थ र जनचेतना अभिवृद्धि कार्यक्रमका रुपमा अघि बढाइदिएकामा म जापान र दुबईका आयोजकहरुलाई पनि धन्यवाद दिन चाहन्छु। त्यसपछि पनि मनले मानेन। मैले काठमाडौं बसाइँको थोरै अवधिमा पनि नयाँ किसिमको नेपथ्य प्रस्तुतिका निम्ति तयारी र सँगसँगै उपत्यका भित्रकै सानातिना उद्धार कार्यमा आफूलाई समर्पित गरेँ।
सुन्दैछु अहिले पनि नेपथ्यले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषलाई पैसा दिन लाग्यो भनेर केहिले गुनासो गरेका छन्। म उहाँहरुलाई केहि भन्न चाहन्नँ। पहिलो कुरा त यो कोषको पैसा प्रधानमन्त्री एक्लैले परिचालन गर्ने नै होइन। राष्ट्रिय योजना आयोगबाट यसलाई खर्च गरिने जानकारी स्वयं आयोगका सदस्यबाट आइसकेको छ। त्योभन्दा ठूलो कुरा भनेको हामीले ब्यक्तिमा भन्दा पनि विधिमा विश्वास गर्नुपर्छ। प्रधानमन्त्री भनेको हाम्रा निम्ति ब्यक्ति होइन संस्था हो। हामी आफैँले उभ्याएको यो संस्थालाई विश्वास गर्नू र यसका कार्यलाई मिहिन अवलोकन गर्नुको कुनै विकल्पै छैन।
सोच्दै ल्याउँदा आफूले जस्तै भलो चिताए पनि नकारात्मक लिइदिने कतिपय धारणाहरु यतिबेलाको हाम्रो समाजमा ब्याप्त विडम्वनाले जन्माएको हो। उतिबेला रामेश र मन्जुल दाइले गाउनुभएको सामाजिक जागरणको गीत छ, जसलाई नेपथ्यले पछिल्लो समय गाउँदै हिँडेको पनि छ–‘गाउँगाउँबाट उठ’।
त्यसको भावले भन्छ जसले जे जानेको छ त्यसैबाट समाजलाई परिवर्तनको दिशामा मोड्ने हो । ‘बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ,’ गीतको यो मर्मलाई आत्मसात गर्नु नै नेपथ्यले आफ्नो धर्म ठानेको छ।
कहिलेसम्म हामी विभाजित भएर बाँच्ने? म त बरु सबैलाई स–साना मतभेदमा अल्झिएर सदैव पछाडि परिरहनुभन्दा समाजलाई अग्रगामी दिशा दिने यहि नै सुवर्ण अवसर हो भन्न चाहन्छु। आउनुस् हामीलाई यत्रो ठूलो चूनौति दिएको यो भूकम्पलाई हामी राष्ट्रिय संकल्पका रुपमा अगाडि बढाऔं । आजसम्मका सबै मतान्तरलाई यसैको आगोमा होमिदिउँ र आउने दिन एकताबद्ध समाजको रेखा यसै विन्दूबाट कोरौँ।