सेतोपाटीले आफ्ना पाठक समक्ष पस्कने समाचार र सूचनाको घेरा फराकिलो पार्दै लैजाने हाम्रो प्रतिबद्धता अनुरूप आजदेखि हामीले किनमेल संस्करण सुरू गरेका छौं। setopati.com/kinmel मा तपाईँले यो संस्करण पढ्न सक्नुहुनेछ। यो सुखद् अवसरमा एक महिनाअघि मात्रै हामीले सेतोपाटीको ग्लोबल संस्करण सुरू गरेको स्मरण गराउन चाहन्छौँ। किनमेल मार्फत हामी बजारका समाचार र सूचना तपाईहरु समक्ष पुर्याउने प्रयत्न गर्नेछौँ।
किनमेल आज जुन रुपमा सुरू भएको छ, यो प्रारम्भिक स्वरुप मात्रै हो। हामी यसलाई अझै परिस्कृत गर्दै बजारका सम्पूर्ण समाचार र सूचनाको सबैभन्दा भरपर्दो थलो बनाउने छौँ। हामीलाई यसमा पनि सदाझैँ तपाईहरुको साथ र सुझावको अपेक्षा रहनेछ।
सेतोपाटी मार्फत हामीले लोकतन्त्रको मूल्य-मान्यता, सुशासन र पारदर्शिता, सामाजिक परिवर्तन, नागरिकहरूको हक-अधिकार र स्वाभिमानको निरन्तर पक्षपोषण गर्दै आएका छौं।
किनमेल स्वस्थ र प्रतिस्पर्धात्मक बजारको पक्षपाति रहनेछ र त्यस्तो बजारको सूचना नागरिकहरू समक्ष पुर्याउन हामी दतचित्त भएर लाग्नेछौँ। पाठकहरूका प्रतिक्रिया र सुझाव हाम्रा मार्गदर्शक हुन्, हामी थप पाठक सहभागिता निमन्त्रणा गर्दै आगामी दिनमा झन् खरो रूपमा प्रस्तुत हुने अठोट गर्छौँ।
हामीलाई पछ्याउँदै गर्नुहोला, हामी नेपाली समाजका सरोकार पछ्याइरहने छौँ।