‘मानिस आउँछन् र मानिस जान्छन्। तर केही यस्ता पनि आउँछन्, जसले हाम्रो हृदयमा यस्तो छाप छोडछन् - त्यसपछि हामी पहिलाझैँ हुनै सक्दैनौँ’ - फ्लाविया विडेन
विनोद मेहताका विषयमा लेख्न अनुरोध गरेर युवा पुस्ताका साथीले मलाई सोचमा पारिदिएका थिए। औँठाछाप लेखन नगर्ने हो भने कुनै पनि ‘आफ्नै पेसाधारी’ विषयमा इमान्दार सार्वजनिक टिप्पणी गर्न सजिलो हुँदैन। त्यसैले पत्रकारलाई पत्रकारजगत्को विषयमा लेख्न असहज हुन्छ।
यो असहजता त छँदै थियो, त्यसमाथि थपियो डा. गोविन्द केसीको अनसन प्रसंग। आजको दिनमा उनको आवाज पर राखेर लेखन तयार हुनसक्ने कुरै भएन। त्यसैले हालै दिवंगत भएका भारतीय लेखक/पत्रकार विनोद मेहता र सत्याग्रही चिकित्सक गोविन्द केसी दुवैलाई बिम्बका रूपमा प्रयोग गर्दै यो आलेख तयार गरिएको हो।
* * *
कोठा र क्यान्टिनमा जसको जतिसुकै कुरा काटे पनि पत्रकारलाई आफ्नै दुनियाँबारे अक्षर फुराउन मुस्किल हुन्छ। त्यसैले त सारा दुनियाँको साँचो वा झुठो खबर लेख्नेहरू आफ्नै मनको दुखेसो सार्वजनिक रूपले पोख्न सक्दैनन्।
‘फलानो कारखानाको मजदुरले न्यूनतम ज्याला पनि पाएन, श्रम शोषण भयो’ भनेर समाचार दिनेमध्ये कैयौँले आफ्नै तलब समयमा पाउँदैनन्, पाउनेहरू पनि निकै कम पाउँछन्। काम गरेको सञ्चारमाध्यमबाट सामान्य जीवन चलाउन पुग्ने पारिश्रमिक पाउने भाग्यमानी थोरै हुन्छन्। जो बाँचेका छन्, ती पनि अनेकथरी ‘जुगाड’ लगाएर मात्र बाँचेका छन्।
यति हुँदाहुँदै पनि आम नेपाली पत्रकार छापा, रेडियो, टिभी र अनलाइनमा अहोरात्र खटिएकै छन्। यस्तो वातावरणमा यति खटिन सक्नु सामान्य कुरा होइन।
‘सूचना तपाईंको अधिकार’ भन्ने नारा दुनियाँमा आएको धेरै भयो। पाठकहरूले धेरैपटक सुन्नु-देख्नु भएको पनि होला। तर सूचना तपाईंको अधिकार मात्र होइन। सूचना कसैका लागि व्यापार पनि हो। त्यस्तै खाले अर्को पनि नारा छ, जो झनै चर्को घन्किन्छ- स्वास्थ तपाईंको अधिकार।
लेखिराख्नु पर्छ र? स्वास्थ कसैको व्यापार पनि हो।
गहिरो तवरले आम मानिसले बुझ्नु पर्ने ‘सूचना तपाईंको अधिकार’ मात्र होइन, कसैको व्यापार पनि हो। ‘स्वास्थ जनताको अधिकार’ मात्र होइन, कसैको व्यापार पनि हो। व्यापार मात्र भए त केही थिएन, अझ कसैकसैका लागि त स्वास्थ क्षेत्र ‘लुटको औजार’ पनि हो।
पत्रकारिता विचार हो कि व्यापार हो? वा पेसा हो? वा अरु केही थोक नै गर्ने औजार मात्र हो? खुला अर्थतन्त्रको वैश्य युगले हर क्षेत्रलाई थप नियन्त्रणमा लिँदै गरेको अवस्थामा के पत्रकारिता वा स्वास्थक्षेत्र (वा अन्य कुनै क्षेत्र) विशुद्ध सेवाको एक्लो टापु भएर रहन सक्छ? के पेसाविशेषको कुनै बेग्लै जात हुन सक्छ र?
कुनै अन्य कारखाना खोल्नु र मिडिया चलाउनुबीच फरक छ कि छैन? अन्य सामग्री उत्पादन गर्ने कारखानाका मालिकहरूले बजारमा त्यतिका गुणस्तरहीन उत्पादन बेच्दै छन् भने प्रकाशक र सम्पादकले पनि ‘विचार’को लिलामी गर्दा के फरक पर्छ र? समाचारमा हल्का वा भारी मिसावट गर्न मिल्छ कि मिल्दैन?
विनोद मेहताले सारा जीवन यी प्रश्नको एउटै उत्तर दिए- हुँदैन। मुखले ‘हुँदैन’ त धेरैले भन्छन् तर विनोद मेहताले चाहिँ मन, वचन र कर्म, तीनै हिसाबले एउटै उत्तर दिए- हुँदैन।
* * *
शिक्षण अस्पताल चलाउनु पेसा हो? सेवा हो? व्यापार हो कि? लुट हो कि? शिक्षण अस्पतालको लाइसेन्स दिनु र बालुवाखानीको अनुमतिपत्र दिनु एउटै कुरा हुन्? गोविन्द केसीको अनशनले यी प्रश्न मेरो मस्तिष्कमा जन्माएको छ। यसपटक म यो सन्दर्भलाई अलि फराकिलो क्यानभासमा हेर्न चाहन्छु। नहेरी भएकै छैन। एउटै विषयलाई लिएर गोविन्द डा’साबको अर्को अनशन हेर्न चाहन्नँ। म लिपापोती होइन, खरो समाधानका सूत्र खोज्न चाहन्छु। म विषयको उठान मात्र गर्न सक्ने तर ‘बैठान’ गर्न नसक्ने जन्तीलाइन लाग्न चाहन्न। अब त पत्रकारिता क्षेत्रमा मेरो उमेरले पनि त्यसो गर्न शोभा दिँदैन।
कानुनत: हामी सबैलाई आ-आफ्नो व्यवसाय गर्ने हक छ। मेरा नजरमा सबै पेसा आदरणीय छन्। जसले जे पेसा गरेको छ, त्यसैबापत जिविका, सम्मान र कानुनी संरक्षण पाउनु पर्छ। चाहे त्यो देहव्यापार नै किन नहोस्।
सिन्धुपल्लान्चोक घर भई कलकत्ताको सोनागाछीमा केही वर्षअघि भेटिएकी एक बहिनीको स्वाभिमानी र चुनौतिपूर्ण आवाज कहिलै म बिर्सन्नँ।
‘कसैले जबर्जस्ती बेचेको होइन मलाई विजय दाइ। दुई छाक टार्न धौधौ हुने घरमा बिरामी आमाको औषधी र भाइबैनीको स्कुल खर्च जुटाउने अर्को कुनै बाटो नै बाँकी रहेन। परेपछि, आफूसित जे छ, त्यही बेच्छ मानिसले।
मसित बेच्न दुई थोक थियो। मेरो परिवारको दु:ख र मेरो शरीर। मेरो दु:खलाई बजारमा कसैले नकिन्ने रहेछ। त्यसपछि बेच्न बाँकी एकै थोक रह्यो। त्यही बेच्न थालेँ।
तर, दुई छाक खान दिन नसक्ने मेरो देशले मलाई आफ्नो शरीरसमेत शान्तिले बेच्न दिएन। हर महिना पुलिसको छापामा पर्ने त्रास, पुलिसलाई पैसा खुवाउन पर्ने वा सित्तैमा सुत्नु पर्ने। नेपालमै रेडलाइट एरिया भएको भए... शरीर बेच्न यति टाढा को आउँथ्यो र? आजको दिनमा जबर्जस्ती बेचिएकाभन्दा बाध्यताले आएका म जस्ताको संख्या धेरै छ अब। कुनै दिन मौका मिले हाम्रो पनि आवाज उठाइदिनु होला। आफ्नो शरीर देशभित्रै बेच्न पाउँ।’
यति भनेर उनले आँसु पुछिन्। आँसु धेरै झरेनन्। वर्षौँ पहिला सुकिसकेका रहेछन्, रुँदा रुँदा।
आफ्नो आत्मसंस्मरण ‘खुसी’मा मैले लेखेको पनि छु -
‘भौँतारिने क्रममा मैले मदिरालय, पुस्तकालय, सचिवालय, विश्वविद्यालय, फुटपाथालय कुनै ठाउँ बाँकी राखिन। वेश्यालय एक ठाउँचाहिँ पुगिनँ। कुनै विशेष कारणले होइन, पैसा तिरेर स्खलित हुनुपर्ने स्थिति जीवनमा अहिलेसम्म आइनपुगेकाले मात्र त्यता नगइएको हो।
होइन भने देहव्यापार गर्नेहरूप्रति मेरो मनमा कुनै अन्य प्रोफेसनल जत्तिकै सम्मान छ। बौद्धिक वेश्यावृति गर्नेभन्दा देहव्यापार गर्नेहरू मेरा नजरमा बढी आदरणीय छन्।’
सबै पेसा मेरा नजरमा मूलत: समानरूपले आदरणीय भएता पनि केही सेवाको प्रकृति अर्कोको तुलनामा अलि बढी संवेदनशील हुन्छ। जस्तै, क्यासिनोमा जुआ खेलाउने भद्र महिला अथवा सज्जनको तुलनामा इमर्न्जेन्सीको बिरामी हेर्ने डाक्टर बढी सजग हुनु पर्छ।
तासको बाजीमा हार-जित भइरहन्छ। तर, जीवनको बाजी एकपटक हारेपछि दोस्रो राउन्ड खेल्न पाइन्न।
‘अकुपेसन, प्रोफेसन, भोकेसन र लुटमार’बीचको महान् अन्तर
‘डाक्टरी गर्नु सेवा हो, व्यापार होइन’ महाराजगन्जको चिया पसलमा पत्रकार भाइ कड्कँदै थिए। अचानक मलाई आफ्नोअगाडि पाएर छक्क पर्दै अलि शान्त भए।
‘मैले भनेको सत्य होइन र विजय सर?’
‘तिमीले भनेको गलत होइन। तर सत्य त्यति मात्र पनि होइन।’
‘कसरी सर?’
‘मलाई एउटा प्रश्नको जवाफ देऊ। पत्रकारिता विचार हो कि व्यापार हो?’
‘मेरो लागि त विचार हो सर।’
‘आज जुन प्राइवेट मेडिकल कलेज खुलेकै छैन, जसको तिमी विरोध गर्दैछौ, भोलि त्यही कलेजले तिम्रो छापामा विज्ञापन दियो भने त्यो छापिन्छ कि छापिन्न?’
‘त्यो त छापिन्छ सर।’
‘किन छाप्ने?’
‘किनभने मिडिया मालिकका निम्ति मिडिया व्यापार पनि हो नि सर। नत्र हामीले तलब कसरी खाने सर?’
‘जुन कलेजै खराब छ भनेर तिमी भन्दैछौ। त्यसको विज्ञापन किन छाप्ने?’
‘विज्ञापनमा आएको कुन सामानको स्तर कस्तो छ? असल छ कि खराब छ, त्यो फैसला गर्ने काम हाम्रो होइन नि सर।’
‘ठिकै छ भाइ! त्यसो भए यसो भनौँ- मिडिया विचार पनि हो र व्यापार पनि हो, हुन्छ?’
‘हुन्छ, आजको व्यावसायिक मिडिया विचार हो र व्यापार दुवै हो सर।’
‘अब मलाई बताऊ- विचार र व्यापारबीचको सीमारेखा कहाँनेर छ? अथवा मिडिया दुवै थोक मिसाइएको मिसकट हो?’
‘यो प्रश्नको जटिल छ विजय सर। यसै भन्न सकिएन।’
‘मिडिया व्यापार पनि हो भन्ने मानी सकेपछि, कुनै अर्को मानिसले मेडिकल कलेजको व्यापार गर्यो भन्दैमा तिमी किन यति उफ्रेको? नेपालमा के-के बेच्नु हुन्छ? बेच्ने कुरा कतिसम्ममा बेच्नु पर्छ? के-के बेच्नु हुन्न? कुनै नीतिगत स्पष्टता छ र?’
‘त्यो त छैन सर।’
‘नेपालमा कुन-कुन क्षेत्र नाफामूलक हो? कुन क्षेत्र गैरनाफामूलक हुनुपर्छ। यस विषयमा कुनै नीति वा चर्चा चलेको सुनेका छौ?’
‘छैन सर।’
‘नाफा (profit ) र नाफाखोरी बीचको (profiteering ) फरक भाइलाई थाह छ?’
‘हल्का थाह छ, सर। म अहिले चलिरहेको अनशन विषयमा तपाईको विचार जान्न चाहन्छु।’
‘म कुनै आलेख लेखेर आफ्ना धारणा बुझाउने कोसिस गरुला है! आजचाहिँ अब चिया खाउँ है भाइ!’
* * *
स्वास्थसेवा मात्र होइन, मानव जीवनका कुनै पनि कर्मलाई बुझ्न अंग्रेजीका तीन शब्दको साहरा लिए बुझाइ अलि सजिलो हुन्छ। यी तीन शब्द हुन् - अकुपेसन, प्रोफेसन र भोकेसन। केही वर्ष पहिला डा. अर्जुन कार्कीका मुखबाट पहिलोपटक सुनेको थिएँ यी तीन शब्दको महत्त्व।
स्वास्थ सेवा होस् या पत्रकारिता वा दुनियाँको कुनै पनि कर्म, हामी तीन अलग-अलग दृष्टिकोण राखेर तिनलाई निर्वाह गर्न सक्छौँ। जस्तै, पत्रकारिता वा स्वास्थसेवा कसैका निम्ति फगत एक जीविका चलाउने जागिर हुन सक्छ, अकुपेसन हुन सक्छ। जीविका निर्वाहको अन्य कुनै अर्को ‘बेटर’ ठाउँ नभेटुन्जेल दिन काट्ने मेसो हुन सक्छ।
तर, यही ‘दिन काटने मेसो’ ठहरिएको ‘अकुपेसन’ अरु कसैका निम्ति भने पूर्ण पेसागत निष्ठासाथ निर्वाह गरिनु पर्ने ‘प्रोफेसनल ड्युटी’ होला। ‘प्रोफेसन’ होला।
प्रोफेसन शब्दसित अभिभाज्य ढंगले ‘इथिक्स्’ अर्थात् ‘आचारसंहिता’ शब्द जोडिन्छ। आम पाठकलाई बुझ्न सजिलो होस् भनेर उदाहरण दिन्छु- मानौँ, पत्रकारिता मेरो लागि प्रोफेसन हो। यस अवस्थामा मिडियामा लेख्दा वा बोल्दा, मन लाग्दालाग्दै पनि म कतिपय कर्म वा दुष्कर्म गर्न सक्दिनँ। आचारसंहिताले रोक्छ। मेरो ‘प्रोफेसनल इथिक्स्’ ले मेरो चाहनाको बाटो छेक्छ।
त्यो बाटो नछेकिएको भए, मलाई व्यक्तिगतरूपमा मन नपर्ने केही यस्ता नाम छन्, जसलाई मैले शब्दवाण प्रहार गर्ने हो भने तीनलाई पानी माग्न पनि मुस्किल पर्न सक्छ होला। साथै, मलाई मन पर्ने केही यस्ता नाम पनि छन्, जसको म प्रशंसा गर्न चाहन्छु। मेरो प्रशंसाले चाकडीको सीमा छुन सक्छ। तर त्यो पनि म गर्न सक्दिनँ। ‘आचारसंहिता’ले दुवैथरी अतिरन्जनाको लोभबाट मलाई रोक्छ।
१५ वर्षअघि म नेपाल पत्रिकाको सम्पादक थिएँ। कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहियासित मलाई कुनै कुरामा रिस उठ्यो। तर कैलाशले भने- विजय, तिमी मसित रिसाउँदा रिसाउँदै पनि यस संस्थामा सम्पादक कायमै रहन सक्छौ। किनभने तिमीप्रति मेरो व्यक्तिगत भावनाका आधारमा तिमीलाई सम्पादकबाट जा भन्न म सक्दिनँ।
मेरो विचारमा कैलाशले त्यसो भन्ने बेला उनमा रहेको कुनै प्रकारको इथिक्सले नै काम गर्यो होला। यहाँनेर म आफ्नो र कैलाशको प्रसंगलाई व्यक्तिगत होइन, ‘बिम्ब’का रूपमा उल्लेख गर्दैछु। पाठकले अनर्थ नलाइदिनु होला।
एक ठुलै राष्ट्रसेवक कर्मचारीको ‘व्यक्तिगत दुश्मन’को फाइल निर्णयार्थ उनकै टेबुलमा आइपुग्यो। राष्ट्रसेवक प्रोफेसनल थिए। उनले आफ्ना भावनालाई पर राखेर निर्णय दिए। राष्ट्रसेवकका ‘दुश्मन’ छक्क परे, आदरभावले पानी-पानी भए।
जुन पत्रकारिता मेरा निम्ति प्रोफेसन हो, त्यो कसै-कसैका लागि भने ‘प्रोफेसन’मा मात्र पनि सीमित नरहला। उसका निम्ति ‘भोकेसन’ होला। भोकेसन अर्थात् कर्तव्यपालनको यस्तो भावना, जसलाई पूरा गर्न आफ्नो जन्म भएको हो भन्ने खालको भावना। कर्तव्यपालनको एक यस्तो दैवी आह्वान, जसलाई पूरा गर्न आफ्नो पूरा सामर्थ्य लगाउनै पर्छ भन्ने भावना।
विनोद मेहताका निम्ति पत्रकारिता ‘भोकेसन’ थियो। गोविन्द केसीका निम्ति बिरामीको उपचार एक ‘भोकेसन’ हो। मैले एकपटक ठिमीमा एक यस्ता सामान्य ज्यापू किसानको अन्तर्वार्ता गरे, जसका निम्ति आफ्नो खेतमा काम गर्नु ‘भोकेसन’ थियो। परमात्माले खटाएको कर्तव्य थियो।
कुनै पनि कामलाई तपाईं अकुपेसन, प्रोफेसन वा भोकेसनका रूपमा ग्रहण गर्न स्वतन्त्र हुनु हुन्छ। पारिश्रमिक लिन सक्नुहुन्छ, जीविका चलाउन सक्नु हुन्छ। पत्रकारितालाई सबैले विनोद मेहताझैँ ‘भोकेसन’का रूपमा लिएनन् भन्दैमा कसैको निन्दा गर्नु पर्दैन। हर डाक्टर गोविन्द केसी हुनु पर्दैन। तर, हामीले उनको आवाजचाहिँ सुन्नै पर्छ। किनभने गोविन्द केसीले आफ्नो जीविका चलाउन मात्र त्यो आवाज निकालेका होइनन्।
* * *
मिडिया चलाउनु ‘विशुद्ध सेवा’ हो भन्ने भ्रम विनोद मेहतालाई कहिल्यै भएन। लिटरेचर फेस्टिवलमा भाग लिन नेपाल आउँदा २२ सेप्टेम्बर २०१२ को साझ फाइनप्रिन्टका नीरज भारीको सौजन्यमा रेडिसन होटेलमा पाँच जनाको डिनर थियो। विनोद मेहता, उनकी पत्नी सुनिता, शेखर खरेल, नीरज र म। एक बिन्दुमा विनोदले भने-
‘मैले सानातिना विषयमा प्रकाशकसित कैयौँपटक सम्झौता गरे। उसको सालीको साथीको सालीले आयोजना गरेको पुष्प प्रदर्शनीको समाचार कभर गराउने आदि जस्ता काम मैले नगरेको होइन। तर मैले पत्रकारिताका मूलभूत मान्यतामा कहिल्यै सम्झौता गरिनँ। सानातिना विषयमा सम्झौता गरे पनि मैले ठूला विषयमा कुनै सम्झौता गरिनँ।
पत्रकारिता व्यापार मात्र हो भन्ने कुरा मैले कहिल्यै स्विकार गरिनँ। प्रकाशकले एक सीमा रेखा नाघेपछि उसलाई मैले ‘हुँदैन’ भन्न कहिल्यै हिचकिचाइनँ।’
विनोद मेहताले ‘हुँदैन’ भनेबापत कैयौँपटक मूल्य चुकाए। सन्डे अब्जर्वर, इन्डिया पोस्ट, द इन्डिपेन्डेन्ट जस्ता अनेकौँ पत्रिका सफलतापूर्वक स्थापना गरेता पनि सानै अवधिमा विनोद मेहता या त सम्पादक पदबाट निकालिए या आफैँ कुर्सी छाडेर गए।
तर प्रकाशक रहेजाको बलियो साथ पाएर निकालिएको ‘आउटलुक’ साप्ताहिकमा भने विनोदले त्यसको स्थापनाकाल सन् १९९५ देखि २०१२ सम्म १७ वर्ष लामो सम्पादकीय नेतृत्वको इनिङ खेले।
मिडियाको विश्वसनीयता र स्तर निर्धारण गर्न प्रकाशकको पनि ठूलो भूमिका हुन्छ। मेरो आफ्नै अनुभव पनि त्यस्तै छ। उदाहरण- कैलाश सिरोहिया वा उनका सहयात्री विनोद ज्ञवालीले खुट्टा कमाएको भए, मैले ‘नेपाल’ पत्रिकामा ‘लाउडा’ घोटालालाई धारावाहिक रूपमा प्रकाशमा ल्याउन सक्ने थिइनँ। अक्षर मेरा भए पनि अखबारी कागजमा लाग्ने कागज, मसी, छाप्ने मेसिन, वितरण, छापे पछि पर्न सक्ने कानुनी झमेला आदिको टन्टा पनि प्रकाशकले बेहोर्ने हुँदा उसको सहयोगबिना गाडी स्टार्ट नै हुन पाउँदैन। गुड्ने त कुरै छाडौँ।
यी ती दिनका कुरा थिए, जब डिजिटल मिडियाको उदय भएको थिएन। अभिव्यक्तिका निम्ति कागज मसी केही नचाहिने, छापेपछि घर-घर पुर्याउन पनि नपर्ने डिजिटल मिडिया युगको सुरुवात भएको थिएन।
डिजिटल युगको सुन्दरता के छ भने- शब्दमा शौर्य, लेखनमा इमान्दारी र प्रस्तुतिमा आकर्षण छ भने जहाँ लेखे पनि हुन्छ, आफ्नै फेसबुकमा पोखे पनि हुन्छ।
शब्दमा शौर्य रहेछ भने त्यो आफैँ सात समुन्द्रपारि पनि फैलिन्छ। विचारमा मौलिकता रहेछ भने त्यो स्वस्फूर्त रूपले मनन्को विषय बन्छ। लेख्ने कागज, छाप्ने मसी, बेच्ने पसलको जोहो नगरे पनि हुने समय आएको छ।
इन्टरनेटको अकल्पनीय आगमन र विस्तारले अब संसारमा ‘समाचार र विचार’माथि अघोषित एकाधिकार र नियन्त्रणको युग समाप्त भएको छ। अब त्यो युग धान्ने क्षमता कुनै पनि सञ्चार गृहसित बाँकी रहेन। पुरानो बिरासतलाई धान्नुभन्दा नयाँ सिर्जना गर्नेतर्फ परम्परागत मिडिया हिँडिसके। न्युयोर्क टाइम्स्को डिजिटल संस्करणको आम्दानी बढ्दो छ, कागजी संस्करणको घट्दो छ।
बद्लिँदो यथार्थको एक उदाहरण- गोविन्द केसी अनशनको समाचार एक ठूलै दैनिकले सुरुका तीन दिनसम्म ‘अन्डर प्ले’ गर्यो। भित्री सानो कुनामा च्याप्यो। तर चौथो दिनदेखि ऊ पनि फ्रन्ट पेजमा लगातार यसरी उत्रियो कि मानौँ चौथो दिनदेखि मात्र अचानक डा. केसीको शरीरमा महात्मा गान्धी पसेका होऊन्। विचारा डा. केसी उही थिए, उनका माग उही थिए, तर अचानक के भयो?
अचानक उसलाई सन्चारजगत्को नयाँ यथार्थको स्मरण भयो। भएको त्यति मात्र हो।
नेपालमा मात्र होइन, संसारभरी के हुँदैछ भने- मूलधार पत्रिकासित समाचारको ‘एजेन्डा सेटिङ’ गर्ने जो परम्परागत एकाधिकारजस्तै थियो। त्यो युग बिस्तारै ओरालो लाग्न सुरु भएको छ।
तीन दशकअघि साप्ताहिक मञ्चमा मैले पत्रकारिता सुरु गर्दा मदिराले चुर भएर गोरखापत्रका एक हाकिम पत्रकार भन्थे- जे गोरखापत्रमा छापिएको छैन, त्यो समाचार नै होइन भाइ।
सुनेर छेउमा रहेका रेडियो नेपालवाला, गोरखापत्रवालामाथि झम्टिए- कसका अगाडि नाथे फूर्ती दिएको गोर्खे! रेडियो नेपालले जे भनेको छैन, त्यो त झन् भएकै छैन, बुझिस् गोर्खे। हामीले नभनेसम्म घटना घटेकै भए पनि भएकै हुन्न, बुझिस् गोर्खे!'
आज ती दिन सम्झँदा पनि हाँसो उठ्छ। ती दिन गए।
हुन त हरेक दिन जान्छन्। जे जान्छ, त्यसैको नाम संसार हो। डिजिटल मिडियाको उदयपश्चात पत्रकारिता क्षेत्र संक्रमणको नयाँ चरणमा प्रवेश गरेको छ। मैले यसो लेखिरहँदा डिजिटल मिडियाका पक्षधरले अनावश्यक रूपले उत्साही हुनुपर्ने कुनै कारण छैन। पत्रकारिता नयाँ चरणमा प्रवेश गर्न थालेको मात्र हो, गरिसकेको अवस्था होइन। अगाडिको बाटो धेरै लामो छ, भविष्यको तस्बिरले आकार लिइसकेको छैन। तर, सारा विश्वमा यसका सम्भावित प्रभाव र परिणामबारे गम्भीर आँकलन सुरु भएको छ।
* * *
विनोद मेहता डिजिटल पत्रकारिताबाट टाढै बस्थे। उनी हातैले लेख्थे, कम्प्युटरमा होइन। टाकनटुकन टाइप गर्न सिकेको पनि धेरै भएको थिएन। फेसबुक, ट्विटरबाट दसउ हात पर बस्थे। केही महिनाअघि प्रकाशित आफ्नो पुस्तक ‘एडिटर अनप्लग्ड’को प्रचार गर्न सजिलो हुन्छ भनेर मात्र उनी ट्विटरमा आए।
इमान्दार मानिस थिए, यसकारण सुरुमै भनिदिए- म यो ट्विटरजस्तो माध्यम रुचाउन्न। किताब प्रचारको घोडालाई चाबुक लगाएर दौडाउन सजिलो हुन्छ भनेर मात्र यसमा आएको हुँ। किताब बिकेपछि ट्विटरमा बस्दिनँ।
विनोदको किताब त बिक्यो तर उनले आफ्नो एकाउन्ट बन्द गर्ने समय नै पाएनन्।
विनोद मेहतासँग आफ्नो तुलनाको धृष्टता गरेको नठानियोस्, मलाई पनि धेरै कालसम्म यो सोसियल मिडिया काम लाग्ने कुरा होजस्तो लाग्दैनथ्यो। वर्षौंअघिदेखि दिनेश वाग्ले र रजनीश भण्डारीले यसको महत्त्वबारे धेरै बुझाउन खोजे। मैले बुझ्न चाहिनँ।
पोहोर सेप्टेम्बरमा ‘खुसी’ बजारमा आउनुअघि प्रकाशक नीरजले ‘किताब बेच्न सजिलो हुन्छ’ भनेपछि मात्र फेसबुक र ट्विटरमा अलि सक्रिय भए। विनोद मेहताझैँ म पनि आफ्नो किताब मार्केटिङका निम्ति मात्र सामाजिक सन्जाल ‘चाख्न’ पसेको थिएँ। ‘खान’ होइन चाख्न मात्र पसेको। तर मभित्र विनोदजस्तो साहस नभएकाले सुरुमै भन्न सकिनँ- म सामाजिक सन्जालमा आफ्नो किताबको मार्केटिङ गर्न मात्र आएको हुँ।
अस्ति नीरज आएका थिए, खुसीको दोस्रो संस्करणबारे कुरा गर्न। ‘खुसी’को पहिलो संस्करणलाई पाठकले तीव्र गतिमा बजारबाट उठाइसकेछन्। पहिला सोच्थेँ - किताब बिकेपछि सोसियल मिडियाबाट टाप दिनु पर्ला। किताब त बिक्यो तर यसैबीच मलाई सोसियल मिडिया हल्का चलाउने बानी लागेजस्तो छ। आउने दिनमा यो बानी, गहरिन्छ कि पतालिन्छ? यसै भन्न सक्दिनँ।
खैर ... । अहिले मूल विषयमै फर्कन्छु।
आफ्नो पहिलो पुस्तकमा नै बुकर पुरस्कार पाउने लेखिका अरुन्धति रायले विनोद मेहताको ‘आउटलुक’ साप्ताहिकका निम्ति बिसौँ पेज लामा कैयौँ निबन्ध लेखेर पत्रकारिताका पण्डितहरूलाई वाल्लट्वाल्ल पारिदिइन्। ‘अखबारी र पत्रिकाको लेखन छोटो र सटिक हुनु पर्छ, नत्र पाठकले पढ्दैनन्’ भन्ने किताबी मान्यतालाई धुजाधुजा पारेर फ्याँकिदिइन्।
उनले बारम्बार ‘आउटलुक’मा हजारौँ हजार शब्दका लामा आलेख लेखिन्। यसरी लेखिन कि आमपाठक मात्र होइन, पत्रकारिताका पण्डितसमेत आँखा झिमक्क नगरी पढ्न बाध्य भए। राजनीति, साहित्य र समाजशास्त्रको त्यस्तो विलक्षण मिश्रण पहिला देखिएकै थिएन।
आफ्नो सम्पादकलाई श्रद्धाञ्जली दिँदै अरुन्धतिले भनिन् - ‘विनोद गइसक्यो। सायद ऊसँगै विशेष स्वभाव भएका, बेअदबी, अपरम्परागत र स्वतन्त्र स्वभाव भएका सम्पादकहरूको युग पनि गयो क्यारे।
आफ्नै विशेष स्वभावमा हिँड्ने मानिस संसारमा बाँकी नभएर त्यो युग सकिएको होइन, हामी यस्तो हावापानीमा बाँच्न अभ्यस्त हुन थालेका छौँ, जहाँ विनोदजस्ता मानिसलाई काम गर्न झन्झन् अप्ठ्यारो हुँदैछ। यस अर्थमा आउटलुकका प्रकाशकलाई पनि जस दिनैपर्छ, जसले विनोद मेहताजस्तो मनमौजी र स्वतन्त्र विचार भएको मानिसका निम्ति पनि आफ्नो प्रकाशनमा कोठा बनाए। आज जब हामी विनोद मेहताको दु:खमनाउ गर्दैछौँ, हामीले भविष्यमा पनि विनोद जस्तै स्वतन्त्र सम्पादक आउने आशा त्याग्न सक्दैनौँ।’
आशा त म पनि गर्छु अरुन्धति, तर आफूले सम्पादन गर्ने ‘आउटलुक’ पत्रिकालाई वार्षिक झन्डै १० करोड भारुको विज्ञापन दिने कम्पनीका अध्यक्ष रतन टाटा पनि बहुचर्चित ‘राडिया टेप काण्ड’मा फेला परेपछि, त्यसबारे पनि छाप्न नहिचकिचाउने सम्पादक त्यति सजिलै फेरि आउलान् र?
विनोद मेहताकै एक सहयोगी पत्रकार जावेद आनन्दले लेखेका छन्,-‘अधिकांश पत्रकारले आफ्नो पेसाका केही अघोषित नियम बुझेका हुन्छन्। प्रेस स्वतन्त्रताका पनि सीमा छ्न्। आफूलाई खुवाउने हातलाई टोक्नु हुन्न। आफूलाई खुवाउने हात भनेका ठूला विज्ञापन दिने कर्पोरेट हाउस हुन्। त्यसबाहेक अर्को नियम हो- कुकुरले कुकुरलाई टोक्दैन। एक मिडियाले अर्को मिडियाबारे लेख्दैन। विनोद मेहताले यी लक्षमणरेखा नाघ्ने साहस पटकपटक गरे।’
त्यसले त धेरैले विनोद मेहतालाई ‘भारतको अन्तिम महान् सम्पादक’ भने। त्यसैले त उनको शवमा सत्तारुढ भारतीय जनता पार्टीका भीष्म पितामह लालकृष्ण आडवानी र प्रतिपक्षी नेतृ सोनिया गान्धी दुवैले पुष्प अर्पण गरे।
राजदीप सरदेसाइँजस्ता बुलन्द पत्रकारका शब्दमा ‘गणना सुरु गरिँदा ठाडो उभिन पनि हिचकिचाउने बामपुड्के सम्पादकहरूको युगमा विनोद मेहता असाधारण थिए।’
* * *
डा. गोविन्द केसी पनि ‘आफ्नै विशेष स्वभावमा हिँड्ने, अपरम्परागत र फुङा खाले’ मानिस हुन्। डाक्टरी उनका निम्ति प्रोफेसन मात्र होइन, ‘भोकेसन’ हो। कसैका निम्ति डाक्टरी जागिर होला, कसैका निम्ति केही न्यूनतम आचारसंहितासहितको प्रोफेसन होला। सबैका निम्ति ‘भोकेसन’ हुनैपर्छ भन्ने पनि त जरुरी छैन। हामी सबैका पारिवारिक व्यावहारिक अवस्था फरक छन्, पृष्ठभूमि फरक छ, सोचाइ फरक छ।
तर कुनै पनि पेसालाई ‘लुटमार’ गर्ने औजार बनाइनु हुँदैन, पाइँदैन। अकुपेसन, प्रोफेसन वा भोकेसन चुनाव गर्न पाइन्छ। तर ‘लुट’ गर्न पाइन्न। त्यसैले चिकित्सा शिक्षाको नाममा कुनै पनि खेलबाड मलाई अमान्य छ। यस अर्थमा म डा. गोविन्द केसीका भावनाहरूको साथ छु।
तर एक जिम्मेवार सञ्चारकर्मीको हैसियतमा मलाई यो पनि थाहा छ, उहाँका १० सूत्रीय मागमध्ये केही यस्ता पनि छन्, जुन कुनै पनि सरकारले पूरा गर्न सक्दैन। किनभने केही माग यस्ता छन्, जो सरकारको होइन, संसदको क्षेत्राधिकारभित्र पर्छन्।
डा. गोविन्द केसीका १० सूत्रीय माग यस्ता छन् -
१) विगतका प्रतिबद्धता र सम्झौताविरुद्ध चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालयको निर्माण हुनुअघि नै नयाँ सम्बन्धन दिन मिल्ने गरी प्रधानमन्त्रीले शिक्षामन्त्रीलाई, शिक्षामन्त्रीले त्रिविलाई र त्रिविले आइओएमलाई चिट्ठी लेखिएकोमा ती तीनवटै चिट्ठी लेख्ने निर्णयहरू तुरुन्त रद्द गरी नयाँ नीति र विश्वविद्यालय निर्माण नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने राज्यको विगतदेखिको नीतिलाई तुरुन्त कार्यान्वयन गरियोस्। साथै संविधान निर्माणको काम छाडेर निहित स्वार्थका लागि संविधानसभा नै अवरुद्ध गर्ने धम्की दिई सरकारलाई गैरकानुनी कामका लागि अवान्छित दबाब दिने सभासद्हरूलाई कारबाही गर्दै मेडिकल कलेज सम्बन्धनसम्बन्धी संसदीय समितिले दिएको गलत र बदनियतपूर्ण सुझाव बदर गरियोस्।
२) विगतदेखि निरन्तर मेडिकल कलेज सम्बन्धन लगायत प्रकरणमा अनियमितता तथा भ्रष्ट गतिविधिमा संलग्न भएका त्रिवि पदाधिकारीहरूले विगतको सहमतिबमोजिम आइओएमलाई स्वायत्तता दिनको बदला पछिल्लो समयमा आइओएम नै टुक्र्याउने दुष्प्रयास गरेकाले उक्त कदम अविलम्ब सच्याउँदै दोषी पदाधिकारीहरूलाई तत्काल पदच्युत गरेर कारबाही गरियोस्। साथै भ्रष्टाचार र चरम अनियमिततामा संलग्न भएको भनेर सरकारले गठन गरेको उच्चस्तरीय समितिले तोकेरै भनेका आइओएमका भ्रष्ट पूर्वपदाधिकारीहरूलाई पनि तत्काल कारबाही गरियोस्। विगतमा आइओएमलाई बाइपास गरेर फ्याकल्टी बोर्डको निर्णयविरुद्ध अनुगमनमा जाने र पूर्वाधार पुग्यो भनेर फर्जी रिपोर्ट दिने व्यक्तिहरूमाथि पनि तुरुन्त छानबिन र कारबाही होस्।
३) विगतका सहमति बमोजिम चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिले प्रतिवेदन बुझाइसकेको तथा उक्त दुवै प्रतिवेदनहरू कार्यान्वयन गर्ने मन्त्रिमण्डलस्तरीय निर्णय भइसकेकाले उक्त निर्णय तत्काल कार्यान्वयन गरियोस्।
४) राष्ट्रिय चिकित्सा तथा स्वास्थ्य शिक्षा नीति (चिकित्सालगायत नर्सिङ, पब्लिक हेल्थ र प्यारामेडिकल कोर्सहरूलाई समेटने गरी) निर्माणका लागि समिति बनिसकेकाले उक्त समितिले रिपोर्ट बुझाउनासाथ त्यसलाई तत्काल कार्यान्वयन गर्दै स्वस्थ्य क्षेत्रका सबै कोर्सहरूको गुणस्तर सुनिश्चित गरियोस्।
५) विगतका सहमति तथा मन्त्रिमण्डलकै निर्णयविपरीत केयुले हालै दुई मेडिकल कलेजलाई सम्बन्धन दिएकाले त्यसका लागि जिम्मेवार केयुका पदाधिकारीहरूलाई उचित कारबाही गर्दै नयाँ चिकित्सा नीति नबन्दासम्म उक्त सम्बन्धन रोकियोस्। साथै उक्त सम्बन्धन प्रकरणमा अदुअआ प्रमुखले आफ्नो अख्तियार दुरुपयोग गर्दै सम्बन्धनका लागि अवाञ्छित दबाब दिएको भन्ने आरोप लागेकाले उक्त आरोपबारे छानबिन गरियोस् र त्यस्तो दबाब दिएको पाइएमा अख्तियार प्रमुखमाथि पनि कानुन बमोजिम कारबाही गरियोस्। साथै अख्तियारले ससाना भ्रष्टहरूलाई कारबाही गर्ने तर ठूला भ्रष्टलाई नछुने गर्दा चरम दण्डहीनता सिर्जना भएकाले त्यस विषयमा पनि छानबिन र कारबाही गरियोस्। साथै पटक-पटक राज्यले गरेका सम्झौता उल्लंघन गर्ने शिक्षामन्त्रीमाथि पनि उचित कारबाही होस्।
६) देशमा कायम निजी मेडिकल कलेजहरूको गुणस्तर कायम राख्न मेडिकल काउन्सिल तथा दुवै विश्वविद्यालय उत्तिकै उदासिन हुँदा भद्रगोलको स्थिति छ। यो अवस्थामा अनुगमनपछि सन्तोषजनक नपाइएका कलेजमा सिट घटाउनको सट्टा झन् बढाइएकाले किन त्यो अवस्था आयो, त्यसको तुरुन्त छानबिन गरेर काउन्सिल र विश्वविद्यालयले साँठगाँठ गरेर गुणस्तरमा सम्झौता गरेको पाइएमा दोषीहरूलाई तत्काल कारबाही गरियोस्।
७) काउन्सिल र विश्वविद्यालयले लिने विशुद्ध प्राविधिक निर्णयहरूमा अदालतले बारम्बार अवाञ्छित हस्तक्षेप गर्दै गुणस्तर नपुगेका कलेजहरूमा सिट घटाउन नमिल्ने तथा अनिवार्य प्रवेश परीक्षामै नबसेका वा फेल भएका विद्यार्थीहरूलाई पढाउन पाउने भन्ने फैसला गरेर निरपेक्ष दण्डहीनताको अवस्था सिर्जना गरेकाले त्यस्ता फैसलाबारे कानुनबमोजिम छानबिन गरेर कारबाही गरियोस्।
८) त्रिवि, आइओएम, न्याम्सलगायत नेतृत्वदायी र नियामक संस्थाहरूमा पदाधिकारी नियुक्त गर्दा दलीय बफादारीको आधारमा नभएर वरिष्ठता र कार्य क्षमताको आधारमा नियुक्त गर्ने व्यवस्था गरियोस्। नेपाल मेडिकल मेडिकल काउन्सिलले अनुगमन र अध्ययनबिनै नयाँ मेडिकल कलेज खुल्न दिनेसम्बन्धी ‘सकारात्मक राय’ दिएकाले भ्रष्टाचार प्रमाणित भइसकेका र दलीय बफादारीका कारण नियुक्त भएका काउन्सिल अध्यक्षलगायत पदाधिकारीहरूलाई तुरुन्त बर्खास्त गरियोस्। साथै काउन्सिल नेतृत्वमा वरिष्ठ र स्वच्छ छवि भएका चिकित्सकहरूलाई ल्याउने व्यवस्था गर्न हाल कायम नियम कानुनमा त्यस अनुसारको सुधार गरियोस्।
९) आम मानिसका लागि सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने जिम्मेवारी राज्यको भएकाले त्यसका लागि दीर्घकालीन नीति लिएर कार्यान्वयन सुरु गरियोस्। त्यस प्रयोजनका लागि चिकित्सा तथा नर्सिङ र प्यारामेडिकल कोर्सहरूमा विद्यार्थीलाई निःशुल्क वा न्युनतम शुल्कमा पढाउने व्यवस्था गरियोस्। चिकित्साका स्नातकोत्तर र सोभन्दा माथिका तहलाई तत्काल पूर्ण निःशुल्क गरियोस्।
१०) ग्रामीण क्षेत्रमा सरकारी पहलमा मेडिकल कलेज खोल्ने सम्झौता भएकोमा तुरुन्त उक्त सम्झौता कार्यान्वयन गरियोस्।
डा. केसीका मागमध्ये कुनकुन माग सरकारको क्षेत्राधिकारभित्र पर्छन् र कुन-कुन पर्दैनन्? म त्यसको कानुनी वा संवैधानिक व्याख्या आज गर्न चाहन्न। डा. गोविन्द केसी एक अनुभवी अनशनकारी हुनु हुन्छ। उहाँलाई पनि बोध होला- माग गर्दा अलि बेसी नै गर्नुपर्छ ताकि न्यूनतम माग पूरा होऊन्।
उनको केही मागको सरकारको क्षेत्राधिकारका विषयमा मेरा केही प्रश्नवाचक जिज्ञासा भएता पनि म मूलरूपले डा. केसीको चिकित्सा शिक्षाको क्षेत्रलाई ‘मेडिकल इथिक्स’ अन्तर्गत ल्याउने अभियानको साथमा छु।
हुन त गोविन्द केसीजस्तो मानिस डाक्टर हुनुको साटो अरु केही थोक भएको भए पनि म उनैको साथ हुने थिएँ। किनभने आजकलको जस्तो हावापानीमा पनि उनीजस्तो मानिस हाम्राबीच जिउँदो हुनु मात्र पनि गर्वको बिषय हो। उनीजस्ता मान्छे बाँकी छन् र पो त, हामीले पनि नेपाली समाजमा फोहोरी खाल्डा मात्र छैनन, स्वच्छ हिमशिखर पनि छन् भन्ने गौरव गर्न पाएका छौँ।
रोगको मूल कारण के हो ?
डा. केसीका विषयमा कुरा गर्न मलाई कैयौँलाईभन्दा निकै सजिलो छ। उहाँप्रति आफ्नो आदर धेरै बखान गर्नुपर्ने आवश्यकता पनि म देख्दिनँ। मेडिकल शिक्षाको क्षेत्रमा नानाथरी लोभीपापी कृत्य गर्ने पार्टीका नेताहरूले गोहीको आँसु चुहाउदै अनशनकारी डा. केसीको भिजिटिङ बुकमा बुट्टेदार हाजिर गर्दैमा हिसाब-किताब साफ हुँदैन। डा. केसीको पक्षमा दुई-चार उत्तेजक कुरा गर्दैमा पनि ‘नेट रिजल्ट’ फरक हुने होइन।
आज डा. केसीको पक्षमा अपार नेपाली जनमत खडा छ। यो नेपाली जनताको न्यायप्रेमको जिउँदो उदाहरण हो। यो जोश कायमै राख्ने बेला हो। साथै यो होश राख्ने बखत पनि हो। जोश र होसको संगमले हामीलाई त्यो लक्ष्यतर्फ लिएर जाने छ, जसका निम्ति डा. गोविन्द केसी संघर्षरत हुनुहुन्छ।
म डा. गोविन्द केसीको आदर्श रक्षाका पक्षमा छु। साथै म उनको प्राणरक्षाका पक्षमा पनि छु। डा. केसीको आमरण अनशनमा एकपटक हाजिर लगाएर आफू पनि चोखिने भ्रम र लोभ मलाई छैन। गंगामा एकपटक डुबुल्ली लगाउँदैमा हरकोही शंकराचार्य भइहाल्दैन।
वर्षौंअघि जब डा. केसीलाई अलि थोरैले चिन्थे, तबदेखिको प्रसंशक हुँ। टेलिभिजन कार्यक्रमहरू बनाउने मौका पनि पाएको मानिस हुँ। यसैले मलाई सफा कुरा गर्न अलि सजिलो छ।
रुपचन्द्र बिष्टले मलाई भनेका शब्द - नेपाल भनेको आफ्नो जिउमा सानो घाउ पनि नलागोस् तर अरु सहिद भएको समाचार दिनहुँ सुन्न पाउँ भन्ने भिडको ठाउँ हो। तँ टिम्मुरेलाई पनि सुर्याउँदासुर्याउँदै बलिबेदीमा पुर्याउलान् भातेहरूले, होस राखेर युद्ध लडेस्। एउटा होइन धेरै लडाइँ लड्नु छ तैले। बुझिस् टिम्मुरे।
आगोजस्ता रुपचन्द्र बिष्ट ‘थाहा’को अगाडि कसले ‘बुझिनँ’ भन्न सकोस। मैले पनि सहमतिमा मुन्टो हल्लाएको हिजोजस्तै लाग्छ। ३० वर्ष बितिसके तर जिन्दगीलाई पछाडि फर्केर हेर्यो भने सबथोक हिजैजस्तो लाग्छ। कहिलेकाहीँ सोच्छु- जीवन भन्नुको साटो ‘हिजैजस्तो लाग्छ’ भने पनि हुन्छ। अर्थ फरक पर्दैन।
डा. केसीको अनशन प्रसंगमै फर्कौँ। रोगको औषधी दिनुभन्दा पहिला चिकित्सकले रोगको कारण पत्ता लगाउनु पर्छ। होइन भने औषधी उल्टो पर्छ। नांगो आँखाले हेरेर वा हेडलाइन पत्रकारिता गरेर वा न्युज कुनामा लुकाएर हामी कहीँ पुग्दैनौँ। एकै ठाउँमा फनफनी घुमिरहन्छौँ।
रोगको चुरो कारण हो- २०४८ पछि नेपालमा आर्थिक उदारीकरणको नाममा गरिएको अराजक र बेलगाम निजीकरण। निजीकरण आफैँमा खराब होइन तर बेलगाम निजीकरणले लुटमारको बर्बादी ल्याएका कैयौँ उदाहरण छन्। २०४८ पछि हामीले अनेकौँ यस्ता क्षेत्र निजीकरणका लागि खोल्यौँ, जो परम्परागतरूपले व्यापार र व्यापारीहरूका लागि वर्जित थिए।
परम्परागतरूपले ‘वर्जित’ ती क्षेत्रमा मनपरी र गैरयोजनाबद्ध तरिकाले लोभी नियत राखी निजी क्षेत्रलाई घुसार्दा समस्या उत्पन्न हुनु अवश्यंभावी थियो। रोगको बिउ त्यसै बेला रोपिएको थियो। हाँगाबिँगा मात्र पछि मौलाएका हुन्।
हुन त केही क्षेत्रमा निजीकरणको नतिजा फलदायी देखियो। तर, धेरै क्षेत्रमा स्तरहीनता र अराजक नाफाखोरीलाई नै निजीकरणको जामा ओडाइयो। नेपालको स्वास्थ शिक्षाको क्षेत्रमा अहिले देखिएको समस्या त्यसैको एक उदाहरण मात्र हो।
धेरैले सोचेजस्तो निजीकरण एकाङी, एक्लै उभिन सक्ने प्रक्रिया नै होइन। निजीकरणका दुई अन्य अभिभाज्य अंग हुन्छन्- इथिक्स (आचारसंहिता) र रेगुलेटरी एजेन्सी (नियामक निकाय)। इथिक्सको पालना उद्यमीले आफैँ गर्नुपर्छ र उसले त्यो गरे-नगरेको जाँच्ने कामका निम्ति नियामक संस्थाहरू बनेका हुन्छन्।
‘उद्यमी, आचारसंहिता र नियामक संस्था’ का तीन खुट्टामा उभिएको हुन्छ निजीकरण।
अपवादबाहेक नेपाली निजीकरण लँगडो निजीकरण हो। यसमा उद्यमी त छन् तर इथिक्स् र नियमायक निकायको अस्तित्व ज्यादै कमजोर छ या छँदैछैन। एक उदाहरण- नेपालमा निजी क्षेत्रलाई रेडियो र टेलिभिजन चलाउने अनुमति दिएको यति वर्षपछि पनि यहाँ तत्विषयको कुनै तिनको अनुगमन गर्ने कुनै नियामक निकाय नै अस्तित्वमा छैन। यतिका स्टेसन खुले तर ‘प्रशारण प्राधिकरण’ अस्तित्वमा आएन।
अस्तित्वमा आएको नियामक निकाय जस्तै विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नागरिक उड्यन प्राधिकरण... आदिको पनि आफ्नै रामकहानी छ। आजै तिनको व्याख्या गरेर विषयबाट विकेन्द्रित हुन चाहन्न।
मेडिकल शिक्षाको हकमा पनि नेपालका नियामक निकाय (रेगुलेटरी एजेन्सी) गतिला भएका भए, आज हालत यहाँ पुग्ने नै थिएन। स्वास्थ शिक्षण संस्थाका सम्बन्धमा कुनै उचित राष्ट्रिय नीति भएको भए आज यो बेथिति र उपद्रो हुने नै थिएन। डा. केसी पटक-पटक अनसनमा बस्नु पर्ने नै थिएन।
डा. केसीले नयाँ मेडिकल कलेज दिनै हुन्न भन्नु भएको छैन। उहाँको मागमा यो कहीँ उल्लेख पनि छैन। स्वास्थ शिक्षाको आधारभूत ‘इथिक्स’ नमारौँ भनेर उहाँले आफ्नै प्राणको बाजी थाप्नु भएको हो।
साँच्चै भन्नुपर्दा, उहाँका १० सूत्रीय मागलाई एक शब्दमा अभिव्यक्त गर्न सकिन्छ- इथिक्स, आंचारसंहिता पालनाको माग।
संघर्ष गर्दा शालीनताको अतिक्रमण नहोस्!
‘अनशन’ सत्याग्रहीहरूको हतियार हो। यो हतियार त हो, तर यस्तो हतियार, जसको कुनै भौतिक स्वरूप हुँदैन। यस्तो अस्त्र, जसको आत्मिक स्वरूप मात्र हुन्छ। यसको शक्तिको मात्रा सत्याग्रहीको आत्मबल र शालीनतामा निर्भर गर्छ। उसका समर्थकहरूको शैली र आचरणमा भर पर्छ।
यदि हामी कुनै सत्याग्रहीको पक्षमा छौँ भने हाम्रो प्रतिक्रिया शैली पनि तद्अनुरूप हुनैपर्छ। यो कुनै कुस्तीको अखडामा गरिने उत्तेजनात्मक हुटिङजस्तो नभएकै जाती हुन्छ।
हामी पत्रकारहरू, ब्रेकिङ न्युजको दौडमा वा ‘स्कुप’को चक्करमा यसरी पनि नदौडौँ कि भोलिपल्टै आफ्नै दाँत भाँचिने गरी लड्नु परोस्।
शनिबार आगो फैलिएसरह एक समाचार फैलियो- प्रधानमन्त्री कोइरालाले भने – डा. केसी मरे म के गरौँ त?
यस्तो समाचार फैलिएपछि व्यापक आक्रोशयुक्त प्रतिक्रिया आए। तर सोमबार डा. केदारनरसिह केसी, सुबोधराज प्याकुरेल, कनकमणि दीक्षीत र चरण प्रसाईंबाट त्यो समाचारको खण्डन आयो। घटना हुँदै नभएको, प्रधानमन्त्रीले आफूहरूलाई त्यसो भन्दै नभनेको र घटनाको पुष्टि नै नगरी समाचार दिएकोमा निजहरूले दु:ख प्रकट गरेका छन्।
यदि त्यसो हो भने प्रधानमन्त्री कोइरालाप्रति यस प्रकरणमा गम्भीर अन्याय भएको छ।
डा. केसीको लडाइँ आचारसंहिता (इथिक्स)को लडाइँ हो। उनका पक्षमा उभिएका हामीले न्यूनतम आचारसंहिता र मर्यादाबाहिर गएर बिमतिहरू प्रकट गर्न थाले संघर्षले आफ्नो गरिमा गुमाउने छ। सशस्त्र संघर्षहरू शालीनताबिना पनि चल्न सक्छन् तर सत्याग्रहका निम्ति शालीनता अनिवार्य छ।
कालो बादलमा चाँदीको घेरा र समाधानका सूत्रहरू
भाग्यवश, डा. गोविन्द केसीले अनशन सुरु गर्न करिब दुई महिनाअघि नै एक ‘स्वास्थ शिक्षा सुझाव समिति’ कार्यरत नै छ। सिधै प्रधानमन्त्रीलाई रिपोर्ट बुझाउने यो समितिको संरचनामा सौभाग्यवश इमान, योग्यता र क्षमताले भरिएका एकसे एक महारथीहरू त्यसका सदस्य हुनु हुन्छ।
जस्तै, डा. केदारभक्त माथेमाजस्तो पेसागत निष्ठाको बेदाग रेकर्ड भएका व्यक्तित्व यसका संयोजक हुनु हुन्छ। डा. भगवान कोइरालाको क्षमता र इमानमा खोट लगाउने आँट कसैले गर्न सक्दैनन। पन्ध्रौँ हजार मुटुको शल्य चिकित्सा गरिसकेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त डा. कोइराला सहिद गंगालाल अस्पतालका जनक मानिनु हुन्छ। त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक छँदा उहाँले सानो अवधिमा ल्याउनु भएका सुधार जनमानसको स्मृतिबाट हराएका छैनन्।
डा. कोइरालाझैँ निम्नमध्यम वर्गीय परिवारबाट हुर्किएका डा. अर्जुन कार्की पाटन स्वास्थ विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति मात्र हुनु हुन्न, विदेशमा समेत ख्यातिप्राप्त चिकित्सक हुनु हुन्छ।
यी मानिस आजसम्म अनशन नबसेका होलान। तर, आआफ्नो क्षेत्रमा यिनको तपस्या र योगदान कसैभन्दा कम छैन।
त्यसैगरी समितिमा रहनुभएका काठमाडौँ विश्वविद्यालयका परिकल्पनाकार डा. सुरेशराज शर्मा र चिकित्साशास्त्र अध्यन संस्थान, महाराजगन्जका पूर्व डिन तथा बिपी स्वास्थ प्रतिष्ठान धरानका संस्थापक निर्देशक डा. मदन उपाध्याय र डा. रमेशकान्त अधिकारीको दक्षताको रेकर्ड पनि साधारण छैन।
नेपालको स्वास्थ शिक्षा क्षेत्रमा बिरलै यस्तो समिति बनेको होला, जसका सदस्यहरू यो स्तरको हैसियत राख्नु हुन्छ। समितिमा स्वास्थ र शिक्षा मन्त्रालयका प्रतिनिधि सहसचिवद्वय गुणराज लोहनी र हरि लम्साल पनि हुनु हुन्छ।
मेरो विचारमा यो समितिलाई ‘कालो बादलको बीचमा चाँदीको घेरा’का रूपमा लिन सके समाधानतर्फ अगाडि बढन सजिलो हुन्छ। हामी यो समितिको रिपोर्ट पर्खौँ। यस्ता-यस्ता सदस्यले समाधानको खरो उपाय नदेलान् भन्ने शंकासमेत म गर्न चाहन्नँ।
अर्जुन कार्की, भगवान कोइराला, केदारभक्त माथेमा आदि जस्ता मानिसले खोज्ने समाधानको उपायभन्दा राम्रो उपाय डा. केसीलाई भेटेको एकैछिनमा बफ मोमो चपाउने मजस्ताले सोच्न नैतिक र बौद्धिक दुवै दृष्टिले मुस्किलै होला। मलाई उनीहरूको विवेकमाथि विश्वास छ। यो विश्वास – एकैदिन, एकैरात, एकैछाकमा उत्पन्न भएको हइन। उनीहरूको वर्षौँको साधनाको परिणाम हो मेरो विश्वास। वर्षौँको पेसागत निष्ठा पनि एक प्रकारको अनशन नै हो। नदेखिने, प्रचारमा नआउने अनशन।
यो समितिको रिपोर्ट आउन दुई तीन हप्ता लाग्ने अनुमान छ। तत्कालका निम्ति वातावरण बनाउन यस्ता केही कदम चाल्न सकिन्छ-
१. स्वास्थ शिक्षा सुझाव समितिको रिपोर्ट आएको एक साताभित्र त्यसलाई मन्त्रिपरिषद्ले लागू गर्ने निर्णय गर्ने। भविष्यमा आउने सरकारहरूको सनकमा ‘स्वास्थ शिक्षा नीति’ माथि खेलबाड हुन नसकोस् भन्ने ग्यारेन्टीका खातिर स्वास्थ शिक्षा ऐन बनाउने फैसलासमेत गर्ने। नयाँ सम्बन्धन त्यही ऐनको आधारमा मात्र गरिने मन्त्रिपरिषदले निर्णय गर्ने। स्वास्थ शिक्षाका विषयमा ऐन नै बनेपछि, डा. केसीले यस विषयममा पटकपटक अनशन बस्नुपर्ने बाध्यता समाप्त हुनेछ।
२. सम्बन्धनका समन्धमा शिक्षा मन्त्रालय र स्वास्थ मन्त्रालय धेरै विवादमा आएकाले समाजको बृहद् हितका निम्ति वातावरण बनाउन मन्त्रीद्वयले तत्काल स्वेच्छाले राजीनामा दिने वा प्रधानमन्त्रीले उहाँहरूको स्थानान्तरण गर्ने।
३.नेपाल मेडिकल काउन्सिलका सबै पदाधिकारीलाई तत्काल स्वेच्छाले राजीनामा दिने समयसीमा तोक्ने। नयाँ मेडिकल काउन्सिलको गठन गर्ने।
४. अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको भूमिकालाई लिएर विवाद आएको देखिएकोले निजहरूमाथि यथोचित प्रक्रिया अगाडि बढाउने। साथै हालै अख्तियारमा नवनियुक्त पाँच आयुक्तहरूलाई ‘टंगाल माछा उद्योगको इतिहास’ नामक पुस्तक पढ्ने सल्लाह दिने।
५. काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिएर सञ्चालनमा ल्याइसकेका दुई मेडिकल कलेजको स्तर जाँच गरी त्रुटि भेटिएको खण्डमा कारबाही गर्ने।
६. ग्रामीण क्षेत्रमा सरकारी पहलमा मेडिकल कलेज खोल्ने विषयमा डा. केसीसित भएको पुरानो सम्झौता तत्काल कार्यान्वयनमा ल्याउने।
अरु बुँदा पनि थप्न वा घटाउन सकिएला। तर मुख्य कुरा वातावरण बनाउने हो। मुख्य कुरा समाधानको उपाय खोज्ने हो। हामी सबै मिलेर समाधानका उपाय खोज्नु पर्छ न कि डा. केसीको ज्यान। डा. गोविन्द केसी हाम्रो समाजका अमूल्य रत्न हुन्।
हामीमाथि दोहरो दायित्व छ। डा. केसीका आदर्शलाई जोगाउने र डा. केसीको ज्यानलाई पनि जोगाउने। कुनै साधारण मानिस होइनन्। सजिलै आउने र जाने मानिस होइनन् उनी।
‘मानिसहरू आउँछन् र मानिसहरू जान्छन्। तर केही यस्ता पनि आउँछन्, हाम्रो हृदयमा यस्तो छाप छोड्छन्- त्यसपछि हामी पहिलाझैँ हुनै सक्दैनौँ।’
हो! गोविन्दजी! नेपालको स्वास्थ शिक्षाको क्षेत्र अब पहिलाझैँ कहिल्यै हुन सक्दैन! तपाईंको यस्तो छाप परेपछि, हामी पहिलाझैँ कसरी हुन सक्छौँ र?
@Vijaykumarko