आकाश खस्नेगरी चिच्चाए पनि गृहमन्त्री बामदेव गौतम सुन्दैनन्। सिंहदरबारको मूल ढोकामा घाँटीमा पासो थापेर झुन्डिन खोजे पनि प्रधानमन्त्री सुशील कोइराला देख्न सक्दैनन्। किनभने यिनको सुन्ने कान र देख्ने आँखा प्रेस सल्लाहकारहरूको खल्तीमा निदाइरहेको छ, कानेगुजी निस्कन सकिरहेको छैन।
यी नेताको मुखाले मुख जो छ, त्यो धाराप्रवाह नै छ, कुनै रोकावट छैन। मानौँ कुनै एफएम प्रसारण लाइनमा हिजोआज विद्युत आपूर्ति बन्द हुँदैन। तर दु:खको कुरा हाम्रा नेताहरूले नियिमित अखबार भने पढ्दैनन्। अखबार पढ्ने सुन्दर बानीको विकास हुँदो हो त आफ्ना व्यभिचारी अभिव्यक्तिमाथि लोकबासीको कटु आलोचना प्रतिक्रिया, गुनासो के कस्तो छ भनेर यिनलाई अवगत हुने थियो र जथाभावी बोल्ने थिएनन्।
प्रेस सल्लाहकारले यिनको कानमा सुखद्-सुखद् खबर सुनाइदिन्छन्। यिनको आँखामा राम्रा-राम्रा तस्बिर देखाइदिन्छन् अनि नित्य कर्म पूरा गरी छाड्छन्। तिनको विभागीय टेबुलमाथि कतै प्रमुख अतिथि बनेर ढाई सय किलोको माला पहिरिएको तस्बिरको कटिङ फाइल पनि हुन सक्ला तर मृत्युको मुखमा पुगिरहेका डा. गोबिन्द केसीको आमरण अनशनवाला तस्बिर नहुन पनि सक्छ।
आफ्नो नित्यकर्म नियमित राख्न मिडियामा प्रतिबिम्बित आम नागरिकको जनभावनालाई भिआइपी आवास छिर्ने मूल गेटमा सिन्डिकेट लगाइएको त छैन? भनेर गम्भीर शंका पैदा भएको छ। अन्यथा बाहिर यति चर्को चिच्चाहट छ तर भित्र किन चुपचाप छन्? अनि के ती सभासदहरू जनताको करमा भुँडी भरेर जुवा घरमा तास खेलिरहेका छन्?
आफ्ना मुख्य सहयोगीहरूले सही र तथ्य सूचना नदिँदा संसारका ठुल्ठूला राजनीतिक शक्ति र तिनका नेताहरूको अप्रत्यासित अवशान भएका थुप्रै उदाहरण छ्न्। नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने पूर्व राजा ज्ञानेन्द्र पनि कहीँ न कहीँ गलत सूचनाको मारमा परेका थिए। कम्तीमा कमल थापाले ‘बाहिरको सबै स्थिति अन्डरकन्ट्रोल छ सरकार’ नभनेको भए ज्ञानेन्द्र कानमा तेल हालेर सुत्दैन थिए होलान्, केही न केही त पक्का गर्थे।
व्याक्तिगत रूपमा म चाहन्न कि तत्काल एमाले र कांग्रेसको हविगत राजतन्त्रको जस्तै होस्, किनभने वामपन्थी चरम अराजकवादलाई सम्हाल्न प्रजातान्त्रिक नरम अराजकवाद त चाहिन्छ, चाहिन्छ। तर, हाल सरकारमा कानमा तेल हाली सुत्ने भिआइपीहरू धेरै देखियो। जनतामा बाहिर सबै ठिक छ नि हजुर भन्नेहरू पनि देखियो। इतिहास उल्टेला नि फेरि होस गर!
बामदेवले दिएको अस्वभाविक अभिव्यक्तिको फेसबुकमा आलोचना भइराखेको छ। तर, दु:खको कुरा यो छ कि बामदेवसँग फेसबुक एकाउन्ट नै छैन। सायद संक्रमणकालको नेपालमा फेसबुक हुँदैन होला वा यिनको नजरमा फेसबुक चलाउन जान्ने मानिस नेपालमा एकजना पनि बस्दैनन् कि?
आफ्नै नाकको टुप्पोमा बसेको झिँगा धपाउन नसक्ने सुशील दा’को ट्विटर एकाउन्ट होला र? मलाई त होलाजस्तो लाग्दैन। अन्यथा ‘संक्रमणकालमा बलात्कार भइरहन्छ’ तथा ‘डाक्टर गोबिन्द केसी मरे मैले के गरम्?’ जस्ता घटिया अभिव्यक्तिको प्रतिउत्तर सामाजिक संजालबाटै धित मर्ने गरी मिल्ने थियो।
मिडियामा आइरहेका समाचार, खण्डन तथा आलेखहरूको दबाबबारे त प्रेस सल्लाहकरज्युलाई थाहा नै होला। यस्ता कुरामा चनाखो नहुने मानिस प्रेस सल्लाहकार बन्दैनथे। मिडियाबाहेक यो सामाजिक सञ्जालतिर कत्तिको नजर दिइन्छ कुन्नि? किनभने सामाजिक सञ्जालका विचार भनेका मुलुकको प्रतिनिधिमूलक नागरिकको बलियो अवाज हो। कम आँकलन गरे पश्चाताप होला।
यो डिजिटल युगमा विश्वको कुना-कुनाबाट नेपालीहरू आफ्नो मुलुकबारे धारणा बनाइरहेका छन्। बामदेवको दिमागले ठहर गरेको अंग्रेजी बोल्न नजान्ने नेपाली आज ऊ आफ्नै मातृ भाषामा बामदेवको विचारप्रति असहमति व्यक्त गरिराखेको छ। प्रम सुशील कोइरालामा एक्कासि देखिएको पागलपनबाट सबै चिन्तित छन्। बामदेवलाई जानकारी होस्- नेपाली कम्प्युटर पनि चलाउँछन्।
प्रेस हल्लाहकारको काम प्रेस विज्ञप्तिलाई मिडियामा सञ्चारित गरिदिने मात्र होइन होला। मुलुकको वस्तुस्थितिबारे नेताहरूलाई वस्तुवादी धारणा बनाइन मद्दत पुर्याउने पनि हुन्छ होला। हाल मुलुकमा डा. गोबिन्द केसीको आमरण अनशनले यति ठूलो व्यापकता पाइरहेको छ, सबै क्षेत्र, समुदाय, संस्था अनि पेसागत समूहहरूको ऐक्यबद्धता छ। तर यस्तो मुद्दालाई राज्यका तर्फबाट सम्बोधन गर्ने अनि निकास खोज्नुको साटो खै कहाँबाट झुक्किएर प्रम फ्याट्ट बोलिदिन्छन्- डा. केसी मरे म के गरुँ?
देशको होनाहार सेवकलाई जोगाउनु पर्दछ, मर्न दिनु हुँदैन भनेर सोच-विचार गर्नु त कहाँको कहाँ, उल्टै मरे म के गरम् भन् लाज लाग्दैन? मुलुकको वैधानिक प्रम भइसकेपछि के गर्नुपर्छ सुशील दा, थाहा छैन? प्रमको पद भनेको कस्तो हुन्छ? काम के-के गर्नुपर्छ? जिम्मेवारीहरू के-के हुन्छन् भनेर पनि यिनलाई थाहा छैन? कपालको केश अनुभव र उमेरका कारण फुलेको हो कि आयोडिन नुन दलेर हो? गालामा झुम्म परेको दाह्रो अल्छी लागेर नकाटेको हो कि दार्शनिकजस्तो देखाउन? पदीय मर्यादा भनेको कस्तो हुन्छ अनि आफू को हुँ भनेर ख्याल पुर्याउन नसक्ने हो भने पदबाट राजीनामा दिएर घरमै आराम गरेर सुते भइहाल्यो नि।
मेरो सल्लाह छ्यासमिसजस्तो लागे पनि सुशील दा’ले मात्र होइन, बामदेवले पनि अरिंगालको गोलामा पत्थर फ्याँक्ने काम गरेका छन्। दैनिक उब्जिने बलात्कारका घटना आफैँमा तिखा छन्, ती जटिल छन्। दोषीलाई फाँसीको माग गर्ने नागरिकहरूको आवेश थामिनसक्नुको छ।
आफू सुरक्षित घेराभित्र छु भन्दैमा अन्य सामान्य नागरिकहरूले सहनु परेको आपराधिक घटनालाई चाहिँ सधैँभरि संक्रमणकाल भनेर सहिरहनु पर्ने गृहको कस्तो ज्यानमारा नीति हो? के एमाले र कांग्रेसद्वारा साझेदारीमा चलिरहेको नेपाल सरकारको नागरिक सुरक्षासम्बन्धी पछिल्लो धारणा यही हो? यसबारे सम्बन्धित पार्टीका अन्य जिम्मेवार नेता बोल्न पर्छ कि पर्दैन?
राज्यको जिम्मेवार पद तथा निकायमा बसेर काम गरिरहेका नेताहरूको हल्का अभिव्यक्ति सुन्दा यस्तो लाग्छ- यिनीहरू दैनिकजसो मुलुकमा घट्ने घटना तथा राष्ट्रिय महत्त्वलाई असर गर्न सक्ने कदमप्रति बिल्कुल बेखबर छन्। यिनीहरूबिना कुनै अध्ययन तथा जानकारीमा बोलिरहेका छन्।
यदि यसो होइन भने नागरिकमा गुज्रिरहेको असमान्य विरोध र असहजलाई नेतासम्म पुर्याउने संयन्त्रले सामान्य तथा सजह बनाइदिइरहेको हुनु पर्दछ। नेपालका बुद्धिजीवी, लेखक, वरिष्ठ पत्रकारहरूले बलात्कारको घटना मात्र होइन, डा. केसीको आमारण अनशनबारे जोडदार आवाज उठाइरहेका छन्, नेताहरू सुनिरहेका छैनन्। नागरिक सामाजको आवाजलाई टेरपुच्छर नलगाउने नेताहरू कहाँको आकाशबाट खसेका हुन्?
विवेकहीन मानिस विवेकशून्य हुन्छ। ऊ अरुलाई पनि आफूजस्तै ठान्छ। जब ऊ अरुको विवेक छ भनेर थाहा पाउँछ अनि बल्ल माफी माग्छ। यो माफीको कुरा होइन। मान्छे मरेपछि माफी माग्नुको खास अर्थ रहँदैन। राज्य माफी दिने वा लिने दुवै निकाय होइन। कानुन पालना गर्ने र गराउने निकाय हो। भोलि डा. केसीलाई तलमाथि भइहाल्यो भने राज्यले माफी माग्नेछ। के पूजा साहको चिरआत्माले बामदेवलाई माफी देला? बामदेवले जोगाइराखेको संक्रमणकाल भोलि उनकै घरभित्र छिरे, उनको मन कति दुख्ला?
प्रेस सल्लाहकारज्युहरूले सुशील दा’को हाड नभएको जिब्रो सम्हालेर राखिदिन त सक्दैनन्। फेरि प्रमको जिब्रो आफैँमा रोगी छ। करोड तिरेर पुनर्निर्माण गरेको जिब्रोमा के जादु पस्यो कुन्नि? त्यो त थाहा भएन तर उमेरका कारण पनि स्मरणशक्ति घट्दै जाने हुँदा सेकेन्ड-सेकेन्डमा घट्ने मुलुकको अवस्थितिबारे प्रेस सल्लाहकारहरू चनाखो भइदिन पर्यो। कम्तीमा संवेदनशील विषय प्रेससँग कम बोल्नुस् भनेर सुझाव दिए पनि वा यसबारे नागरिकको धारणा चर्को उठिरहेको छ भनेर बाहिर निस्कँदा सम्झाइदिए पनि बूढाको जिब्रो चिप्लिने थिएन।
मेडिकल माफियाको यति धेरै जालो छ कि त्यो जालो भत्काउन कोही न कोहीले आफ्नो जीवनको आहुति दिनैपर्ने जस्तो गरी सरकारले लाचारीपन प्रदशन गरिरहेको छ। दुई-चारजना मान्छे मरेपछि बल्ल माग सुनुवाइ गरिने नेपाल राज्यको चिसोपना निकै खतरनाक तथा डरलाग्दो देखिन्छ। स्वास्थ्यजस्तो संवेदनशील विषयमाथि राष्ट्रिय खेल खेल्नेहरू सम्भावत: पराजित हुनै पर्दछ।
पराजित मानसिकताको उपज खोज्न धेरै टाढा जानै पर्दैन, सुशील दा’को पागलपन सम्झे पुगिहाल्छ। आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको भन्थे। उमेरका हिसाबले पनि सुशील दा’लाई सम्मानको भाव जागेर आउँथ्यो। जिउ बूढो भएपछि निहुँ खोज्दै जान्छन् भन्ने उखान सत्य नै रहेछ किजस्तो लाग्यो।
भोलि फेरि अर्को कुनै बालिका बलात्कारको सिकार होलिन्। शैक्षिक माफियाहरूले बिरामीको ज्यान जोखिममा पारेर अर्बौँ कमाउलान्। बाँडीचुँडी सबै जनाको भुँडी भरिएर जाला, त्यो अलग कुरा हो। मुलुकबासीको चाहना, भावना र इमान्दारिताचाहिँ अलग कुरा होइन। यसरी राज्यलाई सम्हाल्छु भनेर कसम खाएका नेताहरू लाजै नमानी नांगो नाच नाच्नु शोभनीय कुरा होइन। कुनै पनि मागको उचित सम्बोधन हुनै पर्दछ। नारिकलाई बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको कर्तव्य हो। कर्तव्यवबाट राज्य भागेर कहाँ पुग्छ?
नेपालीमा नेताप्रति यति धेरै उत्तेजना, निराशा किन छ? दु:खी मुलुक हाँक्न अघि सरेका हाइप्रोफाइल हुनेहरू पनि ब्रेक फेल भएको गाडीजस्तै अनियन्त्रित बनेका छन्। कुनै युगका नेताहरूले जनतालाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भनेर भनेका थिए। सोझा जनताहरू चलाख नेताको भरमा परे, अनि तिनले आफ्ना दुवै आँखा चिम्लेर पत्याउन विवश बने। यिनै कांग्रेसीजनको जोदडार अह्वानमा जनताले पञ्चायती व्यवस्थालाई जरैदेखि उखलेर फालिदिएका होइनन्? सुशील कोइरालाको प्राजातन्त्रमा भोकभोकै मान्छेलाई मर्न दिनु भनेको पञ्चायतकालमा रुखको बुटामा झुन्ड्याएर मार्नुजस्तै हो र?
यद्यपि हेर्दाहेर्दै यिनी कांग्रेसजनले झ्यालबाट पञ्चहरू नहुलेका थिएनन्। पछिल्लो समय नेताहरूले नेपाली जनताको दूर्भाग्यको कारण राजतन्त्र हो भने, यो कुरा जनताले पत्याइदिएपछि राजतन्त्र बिदा भयो। के गणतन्त्रको परिकल्पना अध्यगमनजस्तो संवेदनशील निकाय विदेशीलाई सुम्पिनु थियो? वा पूजा साहहरू बलात्कारको पीडा खप्न नसकेर धर्तीबाट बिदा हुनु थियो? यो कस्तो गणतन्त्र हो, जहाँ पूजा साहहरूलाई रात, बिहान, उज्यालो, अँध्यारो सधैँभरि संक्रमणकाल लाग्छ? राजाको बाहुलीमा नाम चढाउन गए, कहिले पाउमा दाम चढाउनेहरूलाई गणतन्त्र फापेन कि?
नेताहरूले संविधानसभा भवनलाई नयाँ नेपाल बनाउने एउटा सुनौलो कडी भनेकै थिए।
त्यो सुनौलो कडीमा जनता जागे अनि कसी पनि लगाइदिए। नयाँ संविधान देशमा चमत्कार गर्ने जादुको छडी जस्तै हो भनेर तिनले जनताको आँगनमा हजार सपना बाँडे । त्यो पनि जनताले हो भने, भोट हालेर यिनीहरूलाई खाली खुट्टा काठमाडौँ पठाए। हेदौहेर्दै यिनीहरूले आफ्नो खुट्टामा बुट लगाएर जहाँतहीँ बजार्न थाले अनि संविधानसभालाई डान्स रेस्टुरेन्टमा परिणत गरेर मात्तिएर नांगानांगै नाच्न थाले। यही नांगो नाचको अभियानकर्ता हुन् सुशील, बामदेव र केही अन्य उस्तै प्रजातिका नेताहरू।
हुन त जनता वा हामीजस्तो नागरिकमा पनि समस्या छ। अधिकांश मानिस राजनीतिलाई फोहोरी खेल भन्छन्। फोहोरी खेल खेलिरहेका यिनै राजनीतिज्ञबाट फेरि सफा चिज खोज्नु नयाँ किसिमको झन् ठूलो फोहोरी खेल हो भन्छु म त। यो फोहोरी खेलमा सुशील बामदेवहरू जसरी चम्किए, त्यसैगरी राधाकृष्ण मौनाली र खुमबहादुर खड्काहरू धमिलो बनिसके।
एक विद्वान्ले भनेका थिए – तिमीले राजनीतिमा चासो राख्नै पर्दछ। यदि राखेनौ भने तिमीभन्दा कमजोर मानिसले तिमीमाथि शासन गर्न थाल्छ।
हो रहेछ, बामदेवले लाखौँ शिक्षित नेपालिमाथि शासन गर्दै भनिरहेका छन्- नेपालीलाई कम्प्युटर चलाउन आउँदैन, अंग्रेजी बोल्न आउँदैन। कति हाँस्नू?
एउटा सत्य कुरा के हो भने राम्रोसँग पढ्न चाहने मानिसलाई राजनीति गर्न समय हुँदैन। राजनीति गर्ने मानिसहरूसँग पढ्ने समय हुँदैन। आफूले पाइलट पढेर बाउलाई जहाज उडाउनुस् भन्न मिल्दैन। त्यसैले नयाँ शक्तिको बहस थालिएको होलाजस्तो लाग्छ। मुढेबल लगाएर भए पनि राजनिति गर्नेले गर्छ, तर मलाई मन्त्री पद देऊ भनेर भन्न पढे-लेखेका मानिस हुँ भन्दैमा सक्दैनन। संसारमा यस्ता धेरै मुढेबलको भरमा मात्र चलेका नेताहरू छन्, तिनको खासै औपचारिक अध्ययन देखिन्न तर कमन सेन्सचाहिँ छ ।
हाम्रा नेताहरूमा त कमन सेन्स पनि भएन। बिल गेट्स यी बामदेव गौतमभन्दा पनि अनपढ थिए तर बिल गेट्सको माइक्रोसफ्टमा दुनियाँ चलेको छ। बामदेव भने नेपालीहरू कम्प्युटर चलाउन जान्दैनन् भन्छन्। नेल्सन मन्डेला कुनै डिग्री होल्डर मानिस होइनन्। उनले मानवअधिकारको क्षेत्रमा कायापलट गरे। हाम्रा प्रधानमन्त्रीचाहिँ ‘मान्छे मरे म के गरम् त नि’ भन्छन्। कमन सेन्स भन्ने कुरा दुर्लभ रातोपान्डाजस्तो रहेछ। कसैको कमन सेन्सले काम गरेको हुन्छ, कसैको कमन सेन्सले हुँदैन।
अन्त्यमा नेताहरूको कमन सेन्सलाई विकास गरिदिन बाहिरका सत्य, तथ्य सूचनालाई अबास गृहको मूल गेटबाट भित्र प्रवेश गराइदिन तिनका प्रेस सल्लाहकारहरूसमक्ष विनम्र अनुरोध गर्दछु, सल्लाह दिन्छु।