विश्व मानचित्रमा चीन कस्तो देखिन्छ ?
सबभन्दा ठूलो जनसंख्या भएको देशको राजधानीको भित्री मुटुबाट हामी बाहिर निस्कन खोजिरहेका छौं। दुई करोड जनसंख्या बस्ने महानगर छिचोल्ने भनेको यहाँका सातवटा चक्रपथ काट्ने हो। हो, हामी बेइजिङबाट चीनको प्रमुख विदेशी आकर्षण तीर्थ गर्न जाँदैछौं। हजुर, ग्रेटवाल। त्यहाँ नपुगी चीन घुमेको ठहरिएला त?
तीव्र गतिको राजमार्ग निस्केर नजिकको ग्रेटवाल बिन्दु पुग्न पनि हामी बसेको रेन्मिन विश्वविद्यालयबाट ७० किलोमिटर पार गर्नुपर्छ। बसमा हामी विदेशी भनेका नेपालीहरू छौँ, जसलाई दिग्दर्शन गर्न एक पेसेवर गाइड माइक समातेर ड्राइभरछेउ उभिएका छन्। ड्राइभरको विपरीत दिशामा हामीतिर फर्केर उनी मन्डारिनमा बोल्छन् र हाम्री दोभाषे अंग्रेजीमा उल्था गरिदिन्छिन्।
‘सज्जनहरू,’ उनले प्रश्न गरे, ‘तपाईंहरूले ख्याल गर्नुभएको छ चीनको आकार कस्तो छ?’
मैले कपाल कन्याएँ। हाम्रो गोलोबाट कसैले जवाफ दिन सकेन। उनी आफैंले भने, ‘गहिरिएर हेर्नुभयो भने थाहा पाउनुहुन्छ, हाम्रो देश कुखुराको भाले आकारको छ।’
‘त्यसो भए,’ मैले बसको बीचभागको सीटबाट हात हल्लाउँदै उनलाई रोकेर दोभाषेमार्फत सोधेँ, ‘चीन भाले हो भने पोथीचाहिँ कुन हो त? विश्व मानचित्रमा?’
उनी हाँसिन्। गाइडलाई मन्डारिनमा मेरो प्रश्न बुझाइदिइन्। फिटिक्कै नहाँस्ने अनुहार परेका, सायद दैनिक यसरी पर्यटक डुलाउने अभ्यासले केही पनि अनौठो नलाग्ने भइसकेका गाइडलाई खास असर परेन। उनले मेरो प्रश्नको सपाट पाटोमात्र ग्रहण गरेछन्। भने, ‘मैले त आकारमा कस्तो देखिन्छ भनेर मात्र तपाईंहरूलाई बुझाउन खोजेको हुँ। भाले नै हो भन्न खोजेको होइन।’
‘भन्न खोज्नुभएन वा चाहनुभएन,’ मैले जिस्क्याउन छाडिनँ, ‘यसरी आकारको कुरा गर्ने हो भने नेपाल त अण्डामात्र होला। विश्व मानचित्रमा।’
उनी हाँस्न चाहेनन्। बस तेज गुडिरह्यो। चीनले हरेक वर्ष जनतालाई सहरतिर सार्ने गरेको छ। बर्सेनि दुई करोड नागरिक सहरिया हुने गर्छन्। आर्थिक सुधार थाल्दा २० प्रतिशत पनि सहरमा बस्थेनन्। अहिले ६० प्रतिशत माथि भइसकेका छन्। चीन भनेको ठूलो भूभाग भनिए पनि ठुल्ठूला सहरहरूको शृंखला भने पनि हुनेछ। १० लाखभन्दा बढी जनसंख्या बस्ने सहरमात्रै अढाई सय जति छन्। एक करोडभन्दा बढी बस्ने नै १३ वटा भइसकेका छन्।
विकास, निर्माण, संरचना विस्तार कति तीव्र छ भने पछिल्लो सय वर्षमा संयुक्त राज्य अमेरिकाले जति सिमेन्ट प्रयोग गरेको थियो, त्यसभन्दा बढी त गत तीन वर्षमै चीनले खपत गरिसकेको समाचार छ।
सिमेन्टै सिमेन्ट। बरु ग्रेटवाल सिमेन्ट आविष्कार हुनुअगावै बनाइसकेका थिए।
हाम्रा गाइड एकनासले कथा हाल्दै गए- यो ग्रेटवाल चन्द्रमाबाट पृथ्वीमा देखिने एउटै मानवनिर्मित संरचना हो। ६ हजार किलोमिटरभन्दा लामो छ। खण्ड-खण्डमा फैलिएको छ। चीनमा हजारौं वर्ष विभिन्न राज्य रहे। एक राज्यको आक्रमणबाट अर्को राज्य बच्न यस्तो विशाल पर्खाल बाँध्ने र ठाउँ-ठाउँमा सामरिक बुर्जा बनाएर रसदपानी संग्रह गरेर सुरक्षित हुने चलन थियो। पछि गएर चीन एकीकरणपछि बादशाहले खण्ड-खण्डका पर्खाल जोडेर एउटै बनाए।
‘माओले भन्नुभएको थियो,’ उनले थपे, ‘उद्देश्य के लिनु पैदल ग्रेटवाल पूरै छिचोल्नू। त्यति गर्न सक्ने नै असली बहादुर हो।’
तर चीनमा अहिलेसम्म कोही बहादुर निस्केको छैन क्यार। हिँड्न जान्ने हामीलाई त्यो मौका पनि थिएन। समय दुई घन्टा मात्र थियो।
दुई साता बस-उठ गर्दा मैले चीन वर्तमान विश्वको भाले बन्न खोजिरहेको भेउ पाएँ। उसको सोचाइअनुसार ऊ पहिला विश्वकै भाले थियो। इतिहासक्रममा पछि पर्यो। अब फेरि ब्युँतिदैछ। चीन ब्युँतिदैछ। भाले बास्दैछ।
कसरी? म यो सविस्तार भन्दै जान्छु है।
* * *
विमानमा चरा ठोक्किएर अवरुद्ध हुने त्रिभुवन विमानस्थल यसपल्ट अर्कै कारण समाचार शीर्षक बनेको थियो। धावनमार्गछेउ धस्सिएको टर्किस विमानले त्यो मौका छोपेको थियो। त्यो यामानको विमान निकाल्न धौधौ पर्दा उड्न नपाएर धेरै विदेशीको विचल्लीको हल्ला बाहिर फिँजिएको थियो। तीमध्ये ‘हजारौँ चिनियाँ अलपत्र’ भन्ने थियो, जसको एउटा फाइदा पन्ध्र सदस्यीय हाम्रो नेपाली सञ्चार सेमिनार समूहलाई भयो।
चार दिनपछि बल्लतल्ल मध्यरातमा खुलेको काठमाडौंबाट आफ्ना नागरिक उद्धार गर्न चीनले एकपछि अर्को लगालग ९ वटा विमान पठाउने भयो। मौकाको चौका पार्दै हामीले दोस्रोकै बोर्डिङ पास हासिल गर्यौँ। कुन नियमित त कुन विशेष उडान, कतिखेर आइपुग्ला र उड्ला भन्ने तालिकाले खासै काम गरिरहेको थिएन। विमानस्थल उखरमाउलो गन्जागोल थियो। चिनियाँ विमान भने कतिखेर काठमाडौं खुल्ला भनेर चनाखो बसेजस्तै भएछ। हाम्रो वायुयान आएरै छाड्ने भयो। हामीलाई सखारै टिपेरै जाने भयो।
‘के छ तपाईंको झोलामा?’ प्रहरीले सुरक्षा जाँचको स्क्रिनमा केही अस्वाभाविक सामान चाल पाएर सोधिन्।
‘रूद्राक्षको माला हो,’ हाम्रो समूहको अगुवाइ गर्ने सहधर्मी किशोर श्रेष्ठले भने, जो चीनको २७ औं औपचारिक भ्रमण गर्दै थिए। उनैले त हो चिनियाँहरू उपहारप्रेमी हुन्छन् भन्दै केही न केही ‘कट्याक कुटुक’ लैजाने अनुभवी उपाय सुझाएको। रूद्राक्षको माला चिनियाँमाझ लोकप्रिय भइरहेको जानकारी दिएका उनैले आफ्नो ह्यान्डब्यागमै त्यही थुपारेका रहेछन्।
‘धेरै छ त,’ प्रहरीले स्क्रिन-टेस्टको रिपोर्ट हेर्दै लत्तो नछाडी सोधिन्।
‘हाम्रो टोली ठूलो छ,’ उनले जवाफ दिए, ‘उपहारको सामान हो।’
खानतलासी गर्नुपर्ने हाउभाउ बनाउँदै गरेकी सहकर्मीलाई अर्का एक बुझ्झकी प्रहरीले रोक्दै भैहाल्यो भन्ने इसारा गरे। नत्र त त्यत्रोविधि उपहार जोगाड जफथ हुन नदिन हामीले त्यो ह्यान्डब्यागबाट झिकेर रूद्राक्षको माला आ-आफ्नो गलामा तुन्द्रुङ झुन्ड्याउँदै हिँड्नुपर्ने हुन्थ्यो।
काठमाडौंमा मिर्मिरे हुन लाग्दा बास्ने भालेहरूलाई जिस्क्याउँदै चाइना साउर्दनको जहाजले ग्वान्जाओतिर वेग मार्यो। पाँच घन्टापछि त्यस दक्षिणी चिनियाँ समृद्धोन्मुख महानगरमा पाइला टेक्दा हाम्रा खुट्टा भुइँमा थिएनन्। दुई हप्ते कार्यक्रममा एक दिन ढिलो भए पनि हामी पुगेरै छाडेका थियौं।
विमानको भर्याङ सकिनासाथ कनेक्टिङ फ्लाइट मिलाइदिन उभिएकी एउटी हँसिली युवतीले हाम्रो समूहलाई एकत्रित पारेर छातिछेउ रातो टाँचा टाँसिदिइन्। ती रसिली पनि रहिछन् भन्ने थाहा पाउन वेर लागेन। हामीलाई अर्को जहाजमा हुल्ने व्यवस्था गरिसक्नुअघि उनले बसमा चढेर नपुग्ने दुरीमा हिँडाउनुपर्थ्यो। ‘अबेर गरेरै भए पनि तपाईंहरू आइपुग्नुभयो,’ उनले भनिन्।
‘हो।’
‘काठमाडौंमा दुर्घटना भएको रहेछ,’ उनैले भनिन्।
‘हो,’ मैले फेरि सही थापेँ। म उनको लयमा गोडाफाट् गर्दै थिएँ।
‘के दुर्घटना भएको हो मलाई थाहा भएन।’
‘हामीलाई थाहा छ,’ मैले उनको जिज्ञासा नाप्ने निहुँले सोधेँ। तर उनले आँखीभौं सीधा पार्ने, आँखा एकत्रित गर्ने केही गरिनन्। उनलाई काठमाडौंमा के भएको थियो भन्नेमा खास चासो रहेनछ।
‘विमानस्थल बन्द हुँदा धेरै उडान रोकिन पुगे,’ मैले तैपनि उनलाई भनेँ, ‘एउटै धावनमार्ग हुनुको समस्या।’
‘हाम्रो यो विमानस्थलमा त तीनवटा धावनमार्ग छन्,’ उनले भनिन्। उनले विमानस्थलमा काम थालेको पहिलो वर्षमात्र भएको रहेछ। तैपनि उनलाई धेरथोर जानकारी भइसकेको छ। तेस्रो धावनमार्ग एक महिनाअघि मात्र थपिएको रहेछ। बेइजिङ र सांघाईपछि तीनवटा धावनमार्ग हुने तेस्रो चिनियाँ सहर दरिएको रहेछ। सुरुको दिन चाँजो मिलाउन आठ घन्टा विमानस्थल रोक्दा ९० वटा उडान प्रभावित हुन पुगेछन्। नेपाल त के समग्र दक्षिणी देशहरूतिर सहस्र मालसामान आपूर्ति गर्ने व्यापारिक केन्द्र न पर्यो। काठमाडौंमा खासा र ल्हासापछि सुनिने सहरको नाम ग्वान्जाओ नै भइसक्यो होला। पहिला सुनिन्थ्यो- ल्हासामा सुन छ कान मेरो बुच्चै। अब त भनिन के बेर- ग्वाञ्जाओमा नाना छ आङ मेरो नाङ्गै।
देङ सियाओ पेङले आर्थिक सुधार क्रान्ति थाल्दा यही क्षेत्रलाई सुरुआती नमूना बनाएको लाभ हुने नै भयो। तर हामीलाई जानु थियो सियामेन हुँदै च्वाङ्ग्जाओ। हङकङपारिको क्षेत्रमा पर्ने यो सहरदेखि हुइँकिँदै ताइवानपारि पर्ने फिजियन प्रान्तको समुद्रतटीय सहर। ग्वान्जाओबाट च्वाङ्ग्जाओ।
टमक्क मिलेको दुब्लो शरीर फुरफुर गर्दै हिँड्ने केटीले हामीलाई आफ्नो ‘लगेज’ उठाएर ल्याउन अनुरोध गर्दै मसिनो स्वरमा बोलाइन्, ‘सज्जनहरू।’
‘हजोर।’
‘तपाईंहरूलाई पर्खिँदै म ऊ त्यो कुनामा उभिरहेकी हुनेछु, है,’ उनी आफैँ सज्जन बनिन्। कपासझैँ बत्तिएर केही बित्ता पर पुगिन् र आफैंले तोकेको कुनामा उभिँदै मैनको मूर्तिझैँ पग्लिरहिन्।
आ-आफ्नो सुटकेस चिनीवरी, नम्बर रुजु गरेर, कतिले त चाबी पनि चेक गरीवरी गुडाउँदै हामी आज्ञाकारीहरू उनको सामुन्ने हाजिर भयौँ। उनले हाम्रो छातिनेरि टाँसिएका टाँचा एकेक गिन्ती गर्दै फेरि हिँडाइन्। लगेज चेक इन् गर्न त्यसैगरी सघाइन्। त्यसैगरी आफू कुनामा उभिँदै हामीलाई पर्खिरहने मसिनो स्वरमा बताइन्। मानौं उनले चर्को बोल्दा विमानको कक्पिटसम्म हल्ला हुनेछ।
उनको सीसाकलमरूपी शरीर एउटा कुनामा कैयौँवेर ठिंग उभिरहनुपर्दा पनि मुस्कानले पोसिएको हुन्थ्यो। समूहका सबै सदस्य आइपुग्नासाथ हामीलाई छिटो हिँडाइहाल्थिन्। कति छिटो भने मोबाइलबाट एक क्लिक फोटो खिच्दा उनका पाइला तीनपल्ट फट्की सक्थे।
‘तिमी त छिटो हिँड्दी रहिछौ,’ मैले गति मिलाउँदै भनेँ।
‘एयरपोर्टमा काम गर्छु नि त,’ उनले झन् फटाफट हिँड्दै भनिन्।
‘के हाम्रो जहाज छुट्दै छ र?’ मैले सोधेँ।
‘यत्रो एयरपोर्टमा एउटा मात्रै जहाज होला त?’
देङको सुधार क्रान्तिको देन। तीव्र बृद्धिदरले चम्किँदाचम्किँदै विश्व आर्थिक शक्ति बन्न समर्थ देश हतारमै छ। धेरै हतारले सन्तुलन गुमाउँछ भन्ने समीक्षा गर्दै दिगो विकासका लागि राष्ट्रपति सी जिनपिङले नयाँ नारा दिएका छन्, ‘न्यु नर्मल’। उच्चस्तरीय वृद्धिका लागि मरिमेट्न छाडेर उच्च-मध्यमस्तरीय दर कायम राख्ने यो अभियान हिजोआज जुन अधिकारी भेट्दा पनि थेगोझैं प्रयोग गर्दा रहेछन्। सिवाय यी हाम्री सेविका। उनलाई भने हतारै छ। अध्यागमन पास गर्ने बेला त्यसैगरी कुनामा उभिएर हामीलाई पर्खिरहिन्। हामीलाई एउटा बिजनेस-लाउन्झमा पसाएपछि मात्र उनको ड्युटी फत्ते हुनेवाला छ।
उनीसँग छुट्टिने बेला धन्यवादका शब्दबाहेक हाम्रा अगुवाले एउटा उपहार निकाल्नैपर्थ्यो। त्यही रूद्राक्षको माला पट्याएर राखेको सफा सेतो चार कोसे सानो एउटा बट्टा। उपहार प्रदान गर्दाको क्षणलाई तस्बिरमा उतार्न साथीहरूले आ-आफ्ना क्यामरा तम्तयार राखे। अरू कोही थपडी मार्न तयारै थियौँ। तर अचम्म, युवतीले त अनुहार गम्भीर पार्दै यसरी नाइँनास्ती गरिन् कि उनका दुवै हात झट्किँदै सरे।
‘नो, नो, नो,’ उनले भनिन्, ‘मैले केही लिनु हुँदैन।’
‘हामीलाई धेरै सहयोग गर्यौ,’ अगुवाले नाइँ नभन्नू ल भन्ने भावमा अनुरोध दोहोर्याए, ‘धन्यवादस्वरूप यो सामान्य चिनो हो।’
‘मेरो कम्पनीले अनुमति दिँदैन,’ उनले भनिन्।
साथीहरू अक्क न बक्क भए। बिदाइमा हात हल्लाउँदा भने पहिलाको पूर्ण मुस्कानको पुनर्स्थापना गरिन्। छुट्टिने बेला मछेउ आएर भिजिटिङ कार्ड दिँदै भनिन्, ‘बरू के गर्न सक्नुहुन्छ भने.....।’
‘म के गर्न सक्छु?’ मैले सोधेँ। अरूले मलाई हड्बडाएको ठान्न सक्थे। मैले उनका अगाडि दुवै हात पसारेको थिएँ।
‘यो ठेगानामा इमेल गरेर मेरो सेवा कस्तो रह्यो लेखिदिन सक्नुहुन्छ,’ उनले भनिन्, ‘धन्यवाद।’
म रोकिएर उनको कार्ड हेर्नपट्टि लागेँ। उनले भन्दै गएको सुनिन्थ्यो, ‘अफिसले त्यही आधारमा मलाई नम्बर दिन्छ।’
‘ए?’ मैले थाहा नभएको अनुहार पारेँ।
‘तपाईंले राम्रो लेखिदिनुभयो भने त्यही नै मलाई उपहार हुनेछ,’ उनले भनिन्, ‘तर मेराबारे तपाईंले यस्तै लेखिदिनुपर्छ भन्दिनँ म।’
अघिल्लो तीन दशकसम्मको चिनियाँ वृद्धिदर झल्काउने गतिमा पछिल्ला दुई दशकभित्र जन्मिएजस्तो लाग्ने केटी टाप कस्दै अदृश्य भइन्, चिनियाँ वेगमा।
नर्मल? कुन्नि।
न्युन नर्मल? सायद।
* * *
हाम्रो अबको केही दिनको पहिलो गन्तव्य नयाँ चीनलाई चिनाउने खास्सा चिनो रहेछ भन्ने ख्याल भ्रमण सकिएपछि हुने रहेछ। च्वाङ्ग्जाओ अर्थात् स्थानीय गाइडका भाषामा माछाको आकारको सहर। भनौं न मत्स्यनगर।
दोहोरीलत्त सडकमा आरु फूलका मुनाले वसन्त याम बोलाइरहेको थियो।
सियामेन विमानस्थलमा स्वागत गर्न अरू कोही नपठाएर आयोजक चाइना फाउन्डेसन फर पिस एन्ड डेभलपमेन्टका उपप्रमुख जी पिङ आफैं मुस्कानसहित तैनाथ थिए, बेइजिङबाट हाम्रा लागि भनेर उडेका। कूटनीतिक सेवाबाट अल्पायुमै अवकाश लिएर यो नवगठित गैरसरकारी प्रतिष्ठानको कार्यकारी नेतृत्व गर्न थालेका उनले हामीलाई यहीँ छाडेर फर्किनेछन् र बेइजिङमा फेरि स्वागत गर्नेछन्। र, सह-आयोजक रहेको रेन्मिन विश्वविद्यालयका प्राध्यापकहरूको कक्षा लिन हौस्याउनेछन्।
च्वाङग्जाओमा घुमघाम र बेइजिङमा पढाइ-लेखाइका साथै अन्तर्क्रियाको उद्देश्य बुझ्दै जाँदा थाहा भयो- चीनले मारिरहेको फड्को छरछिमेकलाई अवगत गराउने यो सेमिनारको सार हो। हरेक छिमेकी देशलाई पालैपालो यस्तैगरी बोलाउँदा रहेछन्। विश्व व्यवस्थालाई आफू अनुकूल ढाल्दै गर्दाका प्रक्रिया र परिवेशबारे आश्वस्त पार्न खोज्दा रहेछन्। म्यान्मार, मलेसिया र मंगोलियाका सञ्चार समूहसँग सेमिनार गरिसकेछन्।
‘म’ शब्दबाट उठ्ने अर्को छिमेकी देश छैन र? मैले हाँसो गरेँ। अब ‘न’ को पालो?
उनीहरूले हामीलाई बुझाउनेवाला थिए चीन के हो र के थियो? अब के हुन चाहन्छ? त्यहीँनेरि कुँदिएको छ राष्ट्रपति सीको ‘चिनियाँ सपना’।
संसारकै पुरानो सभ्यतामध्ये पाँच हजार वर्ष पुरानो इतिहासप्रति चीन गर्व गर्छ। दुई हजार वर्षदेखि त चिनियाँ राज्य स्थायी छ। किन स्थायी रहन सकेको छ त भन्नेमा एक प्राध्यापकले हामीलाई पछि कक्षामा प्रकाश पार्दैछन्। त्यतिबेला भन्नेछन्- कन्फ्युसियज्म, बुद्धिज्म र ताओइज्मको त्रिवेणीले समाज स्थीर बनायो र एक संस्कृति, एक इतिहास र एक मुलुक कायम राख्यो। चीन आफूलाई विश्वको केन्द्र रहेको इतिहास गहिरोसँग महसुस गर्छ र त्यही पुनर्स्थापित गर्न चाहन्छ। त्यसका लागि उनीहरूले अमेरिकी प्रभुत्वको वर्तमान विश्व व्यवस्था बदल्न खोजिरहेका छन्।
चीन अनुकूलको विश्व व्यवस्था स्थापनाका लागि आर्थिक शक्ति संरचना आवश्यक हुनेछ। त्यसका लागि सी जिनपिङले ल्याएका छन्- सिल्करोड विकास योजना, जुन जलीय र थलीय दुवै क्षेत्रीय छन्, जसले पूर्वी, दक्षिण तथा मध्यएसिया, अफ्रिका र युरोपलाई जोड्नेछन्। त्यसका लागि पूर्वाधार विकास गर्न आवश्यक रकमको जोहोका लागि एसियाली पूर्वाधार विकास बैंक स्थापनाको पहल गरेका छन्, जुन वर्तमान विश्व व्यवस्थाका हतियार भनिएका विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको समानान्तर लाग्छ। अमेरिकी धुरीमै बस्ने कि चीनतिर सर्ने भन्ने खाले श्यामश्वेत बहस अन्तर्राष्ट्रिय मञ्चमा नजानिँदो ढंगले आकर्षित हुँदै गएको छ। हुँदाहुँदा अमेरिकी नाखुसी देख्दादेख्दै पनि उसको दाहिने हात मानिने बेलायतसमेत नयाँ बैंकको एउटा संस्थापक बन्न तत्पर भएको र अरु देशको पनि ओइरो लाग्ने सुखद् संकेतले चिनियाँ समाचार बजारमा वसन्त याम भित्रिरहेको बेला हामी पुगेका हौँ च्वाङ्ग्जाओ, जहाँबाट सुरु भएको थियो दुई हजार वर्षअघि समुद्री सिल्करोड।
यो माछाको आकारको समुद्रीतटीय सहरलाई उति बेला मार्कोपोलोजस्ता मध्ययुगीन खोजकर्ताले उजिल्याउने किताबै लेखेका थिए। सांघाईजस्तै प्रशंसा गर्दै, अझ पोर्ट अफ अलेक्जान्ड्राजस्तो एउटै नगर भनेर। विभिन्न धर्मका प्रचारक र व्यापारका प्रवर्द्धक आए। विभिन्न संस्कृतिको मेल गराए। जलमार्ग हुँदै व्यापार गर्न अफ्रिका र अरब, पर्सिया र इन्डियादेखि पूर्वका थुप्रै एसियाली सभ्यताका यात्रुको जमघट हुनाले विश्वग्रामको सानो आँखीझ्यालजस्तो लाग्ने नगर। रेसमदेखि चियासम्मको व्यापारको केन्द्र। चीनकै सबभन्दा पुरानो मस्जिददेखि हिन्दु मन्दिरसम्म, चीनको सबभन्दा अग्लो जुम्ल्याहा पगोडा टावरले नियालिरहेको नगरमा बौद्ध गुम्बादेखि क्रिश्चियन गिर्जाघरसम्म, संसारमा प्रचलित सबैखाले धार्मिक अनुष्ठानका चिह्नहरू।
हिन्दु मन्दिर कस्तो होला त भनी हेर्न गयौँ। ‘सेतो कुकुर’को मन्दिर रहेछ शताब्दियौँअघि एकजना श्रीलंकाली राजकुमार यहाँ सुरक्षित आइपुगेर बनाउन लगाएको रे। कहावत रहेछ, त्यो सेतो कुकुरले उनलाई समुद्री यात्रामा कतै बचाइदिएको थियो।
बाहिरतिर सडकछेउ रातै फुल्ने टाइटुन रूख छन्। जति बढी जाडो उति फुल्ने। एकफेर पात र एकफेर फूल। फूल हुँदा पात नहुने, पात हुँदा फूल नहुने।
स्थानीय गाइडले भनिन्, ‘त्यसैले यो माछाको आकारको नगर समावेशी छ, यसले सबैखाले अतिथिलाई स्वागत गर्छ।’
यस सहरबाटै त गएका रहेछन् नि चिनियाँहरू दक्षिण पूर्वी एसियाका विभिन्न देशमा। सिंगापुर होस् कि मलेसिया वा इन्डोनेसिया। ताइवानको त कुरै भएन। समुद्रको ठिक्कपारि पर्यो, जहाँ बरफ पग्लिनुअघि मानिस र जनावर आतेजाते गर्थे। १० हजार वर्षभन्दा अघिको कुरा। पाँच हजार वर्षअघि सरेकाहरू अहिले आदिवासी छन्। पछि-पछि त डुंगाबाटै जाने भए। शताब्दियौंदेखि यही नाका भएर चीनबाहिर संसार बनाउन गएका ६ करोड पौरखी आप्रवासी चिनियाँले चीनको यही चुच्चोलाई मूलघर सम्झिने गर्छन्।
चीनले आफूलाई चिनाउँदा हजारौं वर्षदेखिको इतिहास ल्याइहाल्छ। जता जे घुमाए पनि र जे देखाए पनि। इतिहास छ र त भविष्य पनि भन्ने आत्मविश्वास पो जताउँदा रहेछन्। भविष्य नै इतिहास र इतिहास नै भविष्य। प्रधानमन्त्री ली भन्ने गर्छन्- इतिहासको ऐनामा आफूलाई हेर्नुपर्छ।
इतिहास ऐना हो, जसले भविष्य बताउँछ।
चाइना डेलीकी पत्रकार याङ जिमिन हाम्री दोभाषे बन्न बेइजिङदेखि बिदा लिएर आएकी छिन्, जसलाई मैले सुरूमै सावधान गरेँ, ‘म खानेकुराबारे कुरा गरिरहेको छु भने ठान्नु हामीलाई भोक लागेको छ है।’
काठमाडौंदेखि नै उडानको बेठेगान हुँदै आउँदा समय नमिलेर अखण्ड भोक जागेको बेला उनी हामीलाई त्यस्तो ऐतिहासिक थलो घुमाउँदै थिइन्, जुन घर समुद्री सिल्करोड व्यापारबाट समृद्धि हासिल गर्ने व्यापारीले डेढसय वर्षअघि दिल खोलेर बनाएका रहेछन्। त्यस्तो परम्परागत घरमा पाँचौं पुस्ता बसिरहेको रहेछ, जुन घरकी नयाँ पुस्ताकी बुहारी निस्केर हामीलाई पुर्खाको चालचलन बेलिविस्तार लगाइन्। ढिकी, जाँतो, कोदालोजस्ता लाग्ने तत्कालीन प्रयोगका सामग्रीसमेत त्यसरी सजाएर राखेको देखेर एक नेपाली साथीले अर्कासँग खासखुस गरे, ‘हाम्रो वर्तमान समय त उनीहरूको संग्रहालयमा कैद भइसकेको रहेछ।’
साँझ पर्यो। होटल पस्दा रिसेप्सनछेउ मनोरम पोसाकमा बेहुला-बेहुली उभिएर पाहुनाको स्वागत गरिरहेका थिए। बिहे भोजका निम्तालुझैं हामी पसेजस्तै भएछ। बेहुली फूल लिएर हाँसिरहेकी छन्, एउटा हातमा मोबाइल लिएर अर्को हातले बेहुला चुरोट तानिरहेका छन्। उनको छेउमा उभिएका एकजना साथीले चुरोटको बट्टा तेर्स्याइरहेका छन्, पाहुनाको स्वागतका लागि। जुन निम्तालु आउँछ फोटो खिचाउँछ र एक खिली निकालेर उडाउँदै भोजतिर पस्छ। बेहुलाका औंला र ओठमा धुवाँ अटुट छ। सिगरेट सगुन त होइन नि।
वर्षको सबभन्दा ठूलो र लामो चाड वसन्त आगमनसँगै भर्खरै सकिए पनि साँझको सहरमा रंगीचंगी कागजी लाल्टिनका बत्ती बलिरहेका चोकहरू छन्। कतै सामूहिक नाच जारी छ। महिला पुरुषको शारीरिक अभ्यासरत नाचमा मिसिँदै हामी त्यो सहरको साँझको स्वाद पहिल्याउन निस्कन्छौँ। याङलाई मैले गाइड बनाएको छु, जो नभए त त्यहाँ न आफू चिनियाँ बोलिन्छ, न कोही अंग्रेजी बोल्ने नै निस्किएला। अपरिचित सहर घुम्न निस्कँदा परिचितहरूमात्र झुन्ड भएर हिँड्ने होइन। तर मेरी गाइडरूपी दोभाषे आफैं पहिलोपल्ट आएकी थिइन्, त्यो सहर, जहाँ साँझ ढल्किँदै गर्दा मैले मच्चिएर हिँड्न प्रेरित गरिदिएको छु। उनको जीउमा फुर्ती छ तर घुँडासम्म आउने छालाको जुत्तालाई उनले सराप्नै पर्ने भयो। उनलाई लाग्यो होला, नेपालबाट आउने सञ्चार समूह दिनभरि सेमिनारपछि थाकिहाल्छ, को पो बिनाकाम सहरका पैदलमार्ग छापा मार्न हिँड्ला र? हिँडे पनि कसले पो मलाई पनि हिँड्न बाध्य बनाउला र? बनाउन सक्ला र?
मेरो गतिमा ती युवतीको जिउ हिँड्न खोजिरहेको थियो तर खुट्टाले माथ गरिरहेको थिएन। हाम्रा एक साथी पनि तन्किरहेका थिए तर उनको पुट्ट पेटले त झन् गुनासो गरेको गर्यै थियो। भन्दै थिए, ‘नेपालमै बरू यस्तरी मच्चिएर कहिल्यै हिँडिन।’
‘जुत्ताले मलाई साथ दिएन,’ याङले मसँग हिँड्न हार नमानेको जनाउ दिँदै भनिन्।
‘होटलको कोठामा हिँड्ने जुत्ता छ त?’
‘बेइजिङबाटै ल्याइनँ नि,’ उनले भनिन्। उनलाई के थाहा मजस्तो हिँडुवाको फेला परुँला भन्ने?
‘एक जोर किने भइहाल्यो नि त,’ मैले उकासेँ, ‘त्यसो भए।’
‘यति राति? कता पाइएला? साँच्चै किनुम् त?’ उनले लमक लमक गर्दा पनि के गरौँ, कसो गरौँको भाव देखाइन्। हामीसँग मुस्किलले पाइला जोख्दै हिँडिरहेका साथी भने फर्कौँ कि फर्कौँ भन्ने हत्तो गरिरहेका थिए। एक झमक ५-१० किलोमिटर नहिँडी सहर बुझ्न सकिँदैन। त्यसका लागि ट्राफिक लाइटमात्र अनुशरण गरेर पनि हुँदैन। कतै जेब्राक्रसमा रातो बत्ती छ भने पाइला रोक्नुको सट्टा अर्को बाटो लाग्नु वेस। नचिनेको ठाउँ भएर के भयो त? हाम्रो होटलको टुप्पामा यस्तो बुर्जा थियो, जुन टाढाबाट रातको बत्तीमा पनि छुट्टिएन भने जे पर्ला टर्ला। तर याङलाई हिँड्न गाह्रो भइरहेको थियो। उनी थाकेकी भने होइन।
बन्द हुन बाँकी एउटा जुत्ता पसल आयो, जसमा उनले हिँड्न हलुका हुने कपडाका केही जोर छान्न पाइन्। सुन्तला रंगको जुत्ता हो कि चप्पलजस्तो खुट्टामा उन्न मिल्ने उनले किनिन् र उनिन्। बुटचाहिँ हाते झोलामा कोचिन्। पक्का महँगो पर्यो। मोलतोल गरिनन्।
‘सरी है,’ मैले भनेँ, ‘यत्ति केही बेर हिँड्नलाई मैले तिमीलाई नयाँ जुत्ता नै किनाइदिएँ।’
‘ठीकै छ नि,’ उनले भनिन्, ‘मलाई केही मनखत छैन।’
‘तर बेइजिङ डेरामा जुत्ता होला, यहाँ बित्थामा किन्नु पर्यो नि त,’ मैले भनेँ।
‘अनुभव त भयो नि,’ उनले भनिन्।
‘चीनमा आएर चिनियाँलाई नै जुत्ता किनाइवरी हिँडाइदिनु मेरो पनि त अनुभव भयो नि,’ मैले भनेँ।
उनले हाँसेको मैले थाहा पाइनँ। त्यसो त चिनियाँहरू थोरै हाँस्छन्। मलाई पहिला यस्तो थाहा थिएन। हाँसेको थाहा पाउन अनुहार अलिकति उज्यालो भयो कि ठम्याउनुपर्छ। अनुहार त त्यसै पनि उनीहरूको उज्यालै हुन्छ। सायद हाँसोजस्तै कुनै भाव अनुहारमा आउँदा उनको ओठ हल्लिएको थियो र हामी लम्किरह्यौँ।
गोडामा सही जुत्ता भएको जोडा भए यात्रा लामो होस् पत्तै नपाई बित्छ भन्ने फेरि पुष्टि गर्नु थियो।
* * *
२६ वर्षीया याङको आफ्नै सपना छ, जुन राष्ट्रपति सीले देखेको वा देखाएको ‘चिनियाँ सपना’सँग जोडिन चाहँदैन। ‘म आफ्नो सपनालाई कुनै नाम दिन चाहन्न,’ उनले भनिन्।
राष्ट्रपति सी सधैँ गम्भीर मुद्रामा देखिन्छन्, गजक्क परेका हुन्छन्, उनको गुरू गम्भीर तस्बिरमात्र छापिन्छ। त्यसबारे कसैलाई सोध्नुपर्ला भन्ने थियो। केही समयदेखिको खसखस मेट्न उनलाई फेरि लन्च होस् कि डिनर टेबलमा प्रश्न गर्न मैले छाडिनँ।
यी राष्ट्रपति अरुभन्दा प्रभावशाली छन् भन्ने सुनिन्छ। यिनले त सेनाको समेत कमान्ड सम्हालेका छन्, पार्टीको महासचिव त छँदैछन्, उसमाथि चीन स्वतन्त्रता संग्राम अर्थात् माओको नेतृत्वको पार्टी संस्थापनाकालकै एक नेताका छोरा हुन्। पार्टीको प्रभावमाथि आफ्नो पकड बढाउने र चीनलाई आफूअनुकूल डोर्याउने अनुकूलता उनलाई छ। त्यहीकारण त भ्रष्टाचारविरुद्ध अभियानको शंखनादै गरेका छन्। सरकारी खर्चमा मितव्ययिता ल्याएका छन्। फजुल खर्च र फुर्माइस गर्नुहुन्न रे भन्ने छ। हाम्रो डाइनिङ टेबलमै हामी नेपालीमध्ये नै कसैले भनेको थियो- खाना प्लेटभरि लिएर खेर फाल्नु हुँदैन है, आजकल चीनमा।
बाहिरी विश्वमा प्रभाव परेजस्तो गजक्क परी बस्ने होइनन् रे सी। याङले भनेअनुसार, राष्ट्रपति भएपछि उनी एक दिन बेइजिङको एउटा प्रख्यात ब्रेकफास्ट चेन रेस्टुरेन्टमा पसेछन्। एकाएक पसेर एउटा टेबल ओगटेर कुर्चीमा बसे। खाना अर्डर गरे। अंगरक्षकहरू पनि सादा पोसाकमा थिए। खाजा खाइरहेकाहरूमध्ये एक दुईजनाले चिने-चिने जस्तो गरेछन्। खासखुस, गाइँगुइँ भयो, बढ्दै गयो। सबैले घोरिएर हेर्न थाले। चिनिहाले। लौ जा त्यसपछि त भएभरकाले मोबाइल फोनमा फोटो खिचाउन थालिहाले।
अर्को एकपल्ट पनि त्यसैगरी बेइजिङमा विदेशीहरू बढी हुने ठाउँमा टुप्लुक्क देखा परेछन्। केही बेर हिँडिरहेछन्। जोखिम हुनसक्थ्यो तर उनले आफूलाई जनतासँगै राख्न चाहेको छवि स्थापित गर्न खोजे। उनकी श्रीमती लोकप्रिय गायिका थिइन्, हिजोआज चिनियाँ पहिरन प्रवर्द्धन गर्छिन्। आफ्ना श्रीमान्को पेट पुट्ट लागेको उनलाई पनि निको त लागेको छैन होला। तर याङका अनुसार श्रीमतीले एकदिन भनिन् रे- यसरी पेट छोपेर हुन्छ र? देखाए केही बिग्रँदैन।
‘के उनी हामीजस्तो हिँड्दैनन् कि क्या हो?’ मैले याङलाई जिस्क्याएँ।
उनी पत्रकार न परिन्। आफ्नो समाचारकक्षका कुराकानी त ल्याउने नै भइन्। (अमेरिकी राष्ट्रपति बाराक) ओबामासँग उनको भेट रोचक छ। ओबामाले भने- म त हरेक दिन जिम गर्छु।
सीले जवाफ दिएछन्- म पनि हरेक दिन पौडी खेल्छु।
सी परम्परागतरूपमा कम्युनिस्ट पार्टीको वर्चस्वको व्यवस्था निरन्तर राख्न चाहन्छन्। छोरा पुस्ताका नेता हुन्, साथसाथै राष्ट्रवादी स्वभावका भएकाले यिनीमार्फत् चीनको महत्त्वाकांक्षा प्रकट हुँदैछ भन्ने बाहिरी विश्वको विश्लेषण पाइन्छ।
मैले सीले देखेको वा देखाएको सपना बुझ्ने प्रयत्न गरेँ। त्यसका लागि सायद चिनियाँ समाजसँग गहकिलो संवाद चाहिन्छ। याङको सपना के हो त? मैले फेरि कोट्याएँ।
‘सायद म आफ्नो सपना पहिल्याउन संघर्ष गर्दै छु,’ उनले भनिन्।
‘तिमी कुन सन्तान?’ मैले सोधेँ र झल्यास्सँ भएँ, जब उनले तत्क्षण मलाई सम्झाइन्, ‘चीनमा एक बच्चा नीति छ भन्ने तपाईंलाई थाहा छैन?’
त्यो नीतिकै कारण जनसंख्या नियन्त्रण त भयो तर त्यसका असर पर्ने नै भए। महिला अधिकार नियन्त्रण भयो, पारपाचुके जटिल बन्यो, अभिभावकमा निराशा बढ्यो, सन्तानले रेखदेख नगर्ने भए आदि समस्या तेर्सिरहेकै छन्। पीडित अभिभावकहरूले न्याय पाउन नसक्दा सामाजिक असन्तोष देखिन्छ। सरकारले गरेका वाचा पूरा नगर्दा असन्तोष झन् बढ्छ नै।
एक सन्तान नीतिबारे मैले बेइजिङभित्र एउटा सानो सामुदायिक केन्द्रमा बाल शिविर चलाउने व्यवस्थापकलाई सोधेको थिएँ- के एउटामात्र बच्चा पुल्पुलिएका हुँदैनन् त?
तिनले जवाफ दिइन्- राजकुमार र राजकुमारीझैं हुर्काउँछन्, कुनै कुनै परिवारमा त तीन पुस्तासम्मका गरी ६ जनाले एउटै बच्चा खेलाइरहेका हुन्छन्। तर गाह्रोसाह्रो त समाजले सिकाउँदै लगिहाल्छ।
याङको सपना हासिल गर्ने संघर्ष बेइजिङबाहिरको एउटा साधारण सहरमा सम्भवतः सम्भव थिएन। आम पढालेखा युवाझैं उनी पनि बुवाआमालाई बाइबाइ गर्दै राजधानी गइन् र डेरा गर्न थालिन्। सुरुमा एउटी तिब्बती केटीसँग कोठा साझा गरिन्। महानगर अत्यन्त महँगो छ। थोरै आम्दानी गर्नेहरू टिक्न सक्दैनन्। सहरी जीवन त्यसै पनि निर्मम हुन्छ। त्यो महानगर त झनै निर्मम हुने नै भयो। सबैको पहुँच र सामर्थ्य कहाँ हुन्छ र?
उनका बुवा यसपटक हिउँदका कठोर दिनमा छोरी भेट्न बेइजिङ आएका रहेछन्। अलि न्यानो दक्षिणी प्रान्त हुनानका ती अधवैंशेले बेइजिङको कठ्यांग्रिँदो चिसो खप्न सकेनन्। फर्किहाले।
याङले पत्रिकामा काम पाइन्। अंग्रेजी ठिकठिकै हुनेले समेत बेलाबेला दोभाषेको काम र कमाई पाएको देखिन्। उनको त अंग्रेजीमा पकड राम्रो छ। अनलाइनमार्फत् पार्टटाइम दोभाषेको काम लगाइदिने एजेन्सीहरूमा आवेदन गरिन्। तिनैले काममा सम्पर्क गराइदिएवापत् हिस्सा लिन्छन्। यसपटक पनि लिने नै भए।
‘धेरै हिस्सा काटिँदा भने मन कटक्क काट्छ,’ उनले भनिन्। यतिबेला भने उनी हाँसेको मैले देखेँ।
चीनमा धेरै काम अनलाइनमार्फतै हुन थालेको छ। अनलाइनको साम्राज्य समानान्तर बनाउँदै छन्। अनलाइन कम्पनीहरू दैनिक बग्रेल्ती खुल्छन्। ई-कमर्स कम्पनी अलिबाबा त विश्वकै ठूलो र अग्रणीमध्ये भइसक्यो। आफ्ना सबै खाले उत्पादन बेच्न व्यवसायीहरू अनलाइनलाई मुख्य माध्यम बनाउँछन्। जस्तो हामीलाई घुमाउन लगिएको एउटा गाउँ लान्टिनको कम्युनिस्ट पार्टी इकाई कार्यालय एउटा दृष्टान्त थियो।
दशकअघिसम्म यो गाउँ पिछडिएको मामुली र दरिद्र थियो। पार्टी इकाई चुनावपछि स्थानीय व्यवसायी पान चुनल्याक प्रमुख भए। गाउँको तरक्की कसरी होला त भन्ने सरसल्लाह, अन्य प्रान्ततिरका प्रगतिका सन्दर्भ हेरे। एउटा जुक्ति लाए- किसानलाई चाहिने भनेकै आवश्यक जानकारी हो, के उब्जनी गर्ने र कहाँ कतिमा कसरी बेच्ने। त्यसपछि प्रस्ताव गरे एउटा ई-कमर्स कम्पनी खोल्ने। गाउँका उब्जनी बेच्न। कम्पनीको स्वामित्वको २० प्रतिशत सेयर गाउँलेलाई दिने, बाँकी आफूले नेतृत्व गर्ने। गाउँको नाममा खोलिएको त्यो कम्पनीलाई शताब्दी ग्राम भन्ने नामले ब्रान्ड गरे।
अहिले चीनभित्र जहाँबाट जसले जति जे अनलाइन अर्डर गरे पनि निश्चित समयमा सामान पुग्छ। कसैले आफ्नो बारीमा कुनै विशेष उत्पादन गरेको छ र त्यसको अनलाइन विज्ञापन गरेर प्रचार गरेको छ भने त्यसले देशभित्र जहाँ पनि आफैं बजार बनाउने भयो। हामी एउटा स्थानीय पसल पुग्यौँ जुन त्यस ग्रामको शोरूम रहेछ। बयरको प्याकेट देखेर किन्ने भाउ सोध्दा थाहा भयो, ‘यसरी किन्न पाइँदैन, अनलाइन अर्डर गर्नुहोस्, पुर्याइदिन्छौं।'
‘जहाँ पनि?’
‘चीनभित्र,’ पसलेले भने, ‘विदेश भने पुर्याइसकेका छैनौँ।’
गाउँमै सय जना र देशभरि सात सय जना गरी आठ सय कर्मचारी बनाइसकेको एउटा सानो पार्टी इकाई कार्यालयले कृषि उब्जनीलाई मर्यादा दिएपछि कृषि मन्त्रालयले यसलाई नमूना गाउँ घोषित गरिदिएछ। पार्टी प्रमुख हरबखत विभिन्न सहरमा बिजनेस टुरमा हुँदा रहेछन्। हामीले उपप्रमुखमात्र भेट्यौँ। उनले भने, ‘हामीले त एउटा प्लेटफर्म बनाएका मात्र हौँ, उत्पादन त गाउँलेले नै गर्ने हो। गाउँले नै उत्पादक र बिक्रेता हुन्, डिलर पनि उनै हुन्।’
किसानलाई अनलाइन पहुँच दिन राउटरजस्तो यन्त्र स्थानीयरूपमै बनाएर चलाउन सिकाइवरी वितरण गरिँदो रहेछ। हरेक कारोबारवापत् सेवा शुल्क भनेर १० प्रतिशतमात्र प्लेटफर्मले लिने गरे पनि कुस्त पैसा कमाउने भइसकेछ।
‘आठ वर्षअघि गाउँको प्रतिव्यक्ति आय जति थियो, यो कम्पनी खोलेपछि ६ गुणा बढ्यो,’ पार्टी इकाईका उपप्रमुखले भने, ‘तपाईंहरू जुन सडक हुँदै यहाँ आउनुभयो, त्यो सरकारले बनाएको होइन, हामीले आफ्नै कमाइले बनाएका हौँ।’
कम्युनिस्ट पार्टीले पहिला कम्युन चलाउँथ्यो। अब त कम्पनी चलाउन थालेको रहेछ भन्ने निष्कर्षसाथ हामी इकाई कार्यालयले कम्पनीमार्फत् कमाएको पैसाबाट बनेको सडकबाटै सहर फर्क्यौँ।
होटलमा साँझ टुप्लुकिनु भनेको वसन्त यामको साइतमा हुनेखाने परिवारका अर्का जोडा बेहुला बेहुलीको स्वागत हेर्ने न हो।
‘तिमी यसरी कहिले उभिन्छ्यौ त?’ मैले याङलाई त्यहाँ मै राम्री बनेर उभिरहेकी बेहुलीतिर देखाउँदै सोधेँ।
‘सायद यही वर्ष,’ उनले भनिन्।
‘त्यसपछि नेपाल आऊ है त,’ मैले भनेँ।
‘किन?’
‘हनिमुन मनाउन नि,’ मैले भनेँ।
* * *
बेइजिङमा भर्खर बितेको हिउँले जिङरिङ्ग पारेका राईसल्लाका रूख सडक किनार दुवैतिर उभिएका छन्। अर्का साना रूखमा अब केही दिनमा सेता, सुनजस्ता र कफी रंगमा फूल फुल्नेछन्। चीनभरि प्रचलित यो फूलको विशेषता पात नहुनु हो। कतै आरू त कतै नीलकमलका फूल पनि देखिन्छन्।
राष्ट्रिय विधायिकाको १० दिने वार्षिक बैठक जारी छ, जसमा प्रधानमन्त्री ली खछ्याङले आर्थिक वृद्धिदर सात प्रतिशतमात्र कायम राख्ने कारण र परिस्थितिको व्याख्या गर्दैछन्। अहम् प्रश्न त उही छ- कसरी चीनले विश्वमा आफ्नो भूमिका बढाउँदै लैजाला। उसको व्यवहार कसरी बदलिँदै जाला। थलीय र जलीय सिल्करोड योजनाले विश्व जोड्ने त भनिएको छ तर त्यसलाई धान्ने पूर्वाधार बैंकलाई कसरी विश्व स्वरूप दिइएला।
‘हेर्नोस् है सिल्करोड भन्ने शब्द प्राचीन चिनियाँ साहित्यमा कतै पनि छैन,’ रेन्मिन विश्वविद्यालयको स्कुल अफ इकोनोमिक्सका प्राध्यापक हुआङ विपिङले हामीलाई तीन घन्टा लामो कक्षामा सम्झाइबुझाई गरे, ‘पर्सियाली, अरबी र युरोपेलीहरूको प्राचीन साहित्यमा छ, किनभने उनीहरू व्यापार गर्न चीन आउँथे।’
चीनको प्राचीन राजधानी सियानमा प्राचीन विश्व व्यापारको केन्द्र चल्दा त्यहाँसम्म विभिन्न बाटो मानिसको आवतजावतबारे पुरातात्त्विक खोजबिन-अनुसन्धान अझै जारी छ।
‘यो त कहिल्यै नसिद्धिने खोजी अभियान हो, हाम्रा विद्यार्थीका पनि विद्यार्थी र तिनका पनि विद्यार्थीले समेत पत्ता लाउँदै जानेछन्,’ प्राचीन सिल्करोडका अध्येयता प्राध्यापक वाङ जिजिनले भने, ‘तर जारी खोजबिनले अहिले पनि हरेक वर्ष हामीलाई छक्क पार्ने परिणाम दिने गरेका छन्।’
सिल्करोड इतिहास तथा रहस्य, कथा तथा गाथा, साहित्य तथा संस्कृति, राजनीति तथा कूटनीति सबैथोकको मिश्रणजस्तो छ। यो एउटा गहिरो मिथकलाई पुरातत्त्वको गर्भबाट निकालेर वर्तमान चीनले वर्तमान विश्वलाई सम्बोधन गर्ने आर्थिक तथा सांस्कृतिक कूटनीतिको माध्यम बनाउन थालेको छ।
‘राष्ट्रपति सीले घोषणा गर्दा सिल्करोड एउटा शब्दमात्र थियो,’ अर्थशास्त्रका प्राध्यापक हुआङले भने, ‘जब ५० भन्दा धेरै अर्थतन्त्र (देश)ले यसको सक्रिय स्वागत गरे। यो विश्वसँग खुल्ने चिनियाँ अभिव्यक्ति हुन पुग्यो। यसप्रति विश्वको उत्साहले म आफू पनि छक्क परेँ।’
सिल्करोड अभियानले विश्वको ६३ प्रतिशत जनसंख्यालाई समेट्ने उनीहरूको विश्वास छ। ‘विश्वलाई खुसी लाग्ने कुरा हो,’ उनले भने, ‘हामी गत वर्ष पहिलोपल्ट शुद्ध लगानीकर्ता हुन सक्यौँ।’
१५ वर्षअघिसम्म चीनको आर्थिक व्यवहारबारे विश्वमा विभिन्न आशंका थिए। विश्व व्यापार संगठनको सदस्यता दिनेबारे कतिधेरै झमेला र संघर्ष गर्नुपर्यो भन्ने तिनका आफ्नै अनुभव छन्। एकपल्ट सदस्यता लिने तयारी वार्तामा आफू पनि सरिक भएको स्मरण गर्दै हुआङले भने, ‘खुला व्यापार सम्झौताको लाभ हामीले लियौँ। अब हामी विश्वलाई थप खुला पार्दै लैजान चाहन्छौँ।’
चीनले व्यापार गर्नु छ भने त छरछिमेकमा पूर्वाधार विकासमा साझेदारी गरिदिनुपर्छ। कतै राजमार्ग, कतै रेलमार्ग, कतै विमानस्थल, कतै पाइपलाइन, कतै विद्युत् उत्पादन तथा प्रसारणजस्ता पूर्वाधारमार्फत छरछिमेक जोड्नुपर्ने छ।
‘तपाईंहरूले युरोप र अमेरिकामा गाडी चलाउनुभएको छ?’ उनले सोधे।
आफैँ जवाफ दिए, ‘मैले चलाएको छु। त्यसआधारमा म भन्न सक्छु- सबभन्दा उन्नत राजमार्ग चीनमा छ। उनीहरूले दशकौंअघि पुरानो प्रविधिअनुसार बनाए। हामी केही वर्षदेखि धमाधम बनाउँदैछौँ। भनाइ छ नि- पछि आउनेले बढी फाइदा पाउँछ।’
अमेरिकाले नचाहँदा नचाहँदै पनि चीनले पूर्वाधार तथा लगानी बैंकको प्रस्ताव आक्रामक तवरले अघि बढाउँदा कतै दुई ध्रुवीय शीतयुद्ध सुरु हुने त होइन? प्राध्यापक हुआङ प्रष्ट छन्, कसरी चीन र अमेरिकाको भविष्य एकार्कामा आश्रित छ भनेर किनभने दुई अर्थतन्त्र नै आपसमा निर्भर छन्।
‘चीन भनेको बढी उत्पादन गर्ने मुलुक हो, अनि अमेरिका बढी खपत गर्ने,’ उनले सम्झाए, ‘यी दुवै असन्तुलित भीमकाय शक्तिहरू विश्व बजारमा एकार्कालाई भेट्छन्, अमेरिकामा कुनै समस्या भयो भने त्यसको असर मेरो देशमा पर्नेछ।’
चीन बरा केही दशकअघिसम्म कहाँ यस्तो आत्मविश्वासी थियो त? माओले विकासको जग हाले, देङले देशलाई विश्वसँग जोडिदिए। जनता कसरी बाँच्लान् भन्ने अभिप्रायले त सन् १९७८ मा आर्थिक सुधार सुरु भएको थियो, जतिखेर प्रतिव्यक्ति आम्दानी दुई सय डलर थियो। अहिले सात हजार चार सय डलर पुगेको छ।
चीनलाई आफ्नो समृद्धिका लागि अनुकूल विश्व चाहिएको छ। जस्तो उसले खपत गर्ने तेल र ग्यासको दुइतिहाई आयात गर्छ, जसका दुई बाटा छन्, उत्तरी बाटो रूस हुँदै र दक्षिणी समुद्री बाटो।
‘रूसबाट आउने पाइपलाइनप्रति हामी सधैँ ढुक्क रहन सक्दैनौँ किनभने विगत त्यसको प्रमाण छ, उसले भोलि के गर्छ भन्न सकिँदैन,’ हुआङले भने, ‘दक्षिणी समुद्री बाटो अमेरिकी नियन्त्रणमा छ। मेरो देशको (स्वार्थको) सुरक्षाको व्यवस्था गर्नुपर्ने छ।’
विशाल देश आफैँमा विविधतापूर्ण हुँदै हो, उसमाथि विकासका दृष्टिले असन्तुलित पनि छ। तिब्बतलगायत पश्चिमका ६ वटा प्रान्तलाई उनीहरू पिछडिएको मान्छन्। धन्य ७० प्रतिशत जनसंख्या पूर्वी विकसित भेगमा बसोबास गर्छन्। तर पनि पश्चिमी क्षेत्रको विकास, सहरीकरण र पूर्वाधारमा सिल्करोड अभियान सहयोगी हुने आन्तरिक राष्ट्रिय अभिप्राय पनि देखिन्छ।
उच्च आर्थिक वृद्धिदरले वातावरण र प्राकृतिक सम्पदामा धेरै असर गरेको उनीहरू सकार्छन्। त्यसकारण पनि राष्ट्रपति सीले गत वर्षबाट ‘न्यु नर्मल' भन्ने शब्दावली उच्चारण थाले, आर्थिक विकास दीगो गतिमा राख्न। सुधारका सुरुका दुई दशक दुई अंकको वृद्धिदर र त्यसपछि एक अंकको भए पनि उच्च तहमै बसेको प्रतिशत अझै घट्न सक्नेछ।
‘तपाईंहरू काठमाडौं फर्कुन्झेलसम्म हामीलाई भारतले उछिनिसकेको हुनेछ है,’ हाम्रो भ्रमणको आयोजक संस्थाका उपमहासचिव जीले मुस्कानसहित भने, ‘तपाईहरू छक्क पर्न पाउनुहुनेछैन किनभने मैले अहिले नै भनिदिइहालेँ।'
वृद्धिदर घटे पनि विश्व आर्थिक शक्तिका रूपमा बलियो हुँदै गएको देशका प्रधानमन्त्री कंग्रेसको बैठक सकिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दैछन्, जसलाई ठूलो पर्दामा हामी विश्वविद्यालयको कोठामा बसेर हेर्दैछौँ। प्रधानमन्त्री ली विनम्र बन्दै भन्छन्, ‘(चीन विश्वको पहिलो आर्थिक शक्ति भन्ने) यस्तो कुरा म विदेश जाँदा सुन्छु। तथ्यांकअनुसार हामी दोस्रो ठूलो देखिन्छौँ। तर प्रतिव्यक्ति आयअनुसार हामीभन्दा अगाडि ८० वटा देश छन्। हाम्रा २० करोड जनता अझै गरिबीको रेखामुनि छन्। हामी अझै विकासोन्मुख देश हौँ।'
तीन हजार पत्रकारले समाचार संकलन गरेको वार्षिक बैठकमा ६ सय त विदेशी पत्रकार नै रहेछन्। लीले थपे, ‘हाम्रो देश विकास गर्न हामीलाई शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण चाहिन्छ।’
* * *
किनमेल नगरी चीन घुमेको मानिने छैन। हामीलाई बसमा राखेर पुर्याइएको अग्लो किनमेल केन्द्रमा ठूलो अक्षरमा लेखिएकै थियो, ‘संसारमा यहाँ जति मोलमोलाई सायदै अन्यत्र कतै होला।’
कुन सामानको भाउ कति कसरी घटाउने भन्ने खास व्यावहारिक ज्ञान नभएका साथीहरू विद्युतीय सामानमा कसरी ठगिएछन् भने अनेकौं किस्सा बन्न थाले। लुटिए रे कोही त। हामीबीच केही साथी पहिलोपल्ट विदेश पुगेकाले त्यो व्यस्त परिसरमा हराउनु स्वाभाविक थियो तर चिन्ता हाम्री दोभाषे र अकी सहयोगी कर्मचारीमा थपिएपछि म उनीहरूको पछि लागेर सुरक्षाकक्षमा पसेँ। कक्षभरि हरेक तला र कुनाको गतिविधि देखिने सिसिटिभीका पर्दाहरू चलायमान थिए। हाम्रा साथी देखिएनन्। त्यसमाथि माइक समातेर मैले नेपालीमा दुईजना हराइरहेका साथीहरूको नामै लिएँ र सम्पर्कमा आउनू भन्ने घोषणा गरेँ।
तोकिएको समयभन्दा एक घन्टा ढिलो भएपछि साँझ अबेर बसमा होटल फर्किरहेको बेला सहयोगी महिला कर्मचारीले मुखै फोरेर हामीलाई सम्झाउनुपर्यो, ‘यस्तो कहिल्यै नगरिदिनुहोला कृपया, किनभने समयको निकै महत्त्व हुन्छ। हेर्नोस् न, आफ्नो सन्तानसँग सप्ताहान्तमा गतिलो समय बिताउन पाइएला भनेर हामी अरु दिन बढी खटिएका हुन्छौँ। आजै यस्तो गरिदिनुभयो तपाईंहरूले। मेरो १० वर्षे छोरा घरमा कति नियास्रिरहेको होला।’
त्यसैको प्रभाव हो, ग्रेटवाल चढ्दा भने कसैले विलम्ब गर्ने भएन। एकपल्ट आकाश चम्किँदा तर्सेको हाम्रो समूह बिजुली देख्दा क्वाइँक्वाइँ गर्ने नै भयो। साथीहरूलाई छाडेर म सिँढी चढ्न थालेँ। शारीरिक परीक्षा लिने उकालोले तरतरी पसिना चुहाइदिन्थ्यो। जति माथि पुग्यो उति पर बेइजिङ देखिएला भन्दै सुरिँदै चढ्यो, कतै पनि देख्न नदिने अन्यायी तुवाँलोले राज्य गरेको रहेछ। प्रदूषणको यो विघ्न रूप समाचारमा मैले पढेको मात्र थिएँ।
सन्तुलित र दीगो विकासमा जोड दिने गरी हाल भइरहेको छलफलले हरित आर्थिक वृद्धि खोजेको सन्दर्भ राख्दा जीले हामीसँग भनेकै थिए, ‘हावामा प्रदूषणको मात्रा हरेक बिहान आफ्नो मोबाइलको एपमा चेक गरेर मात्र म बाहिर निस्कन्छु, त्यो पनि मास्क लगाएर।’
पर केही देख्न नसकिए पनि माओले दिने पदवीको प्रयास त गर्नुपर्यो। बहादुर बनेर त हेर्नुपर्यो भन्दै म कस्सिएँ। साथीहरू तलतलै छुट्दै गए। कोहीकोही अलि माथिसम्म चढे। तर त्यो भागको ग्रेटवालको अन्तिम बिन्दुमा पुगेर म एक्लै सुस्ताएँ। पसिना पुछेँ। यात्रीहरू निकै पातलिसकेका थिए। एकाधमात्र आइपुग्थे। अब त तोकिएको समयमा झर्नु पनि पर्थ्यो। फर्किन लाग्दा हाम्री दोभाषे सकीनसकी उक्लिरहेकी देखेँ।
मलाई भेट्ने उनी नै भइन्। भनिन्, ‘तपाईं त यतैबाट मंगोलिया चलिदिनुहुन्छ भनेर तपाईंका साथीहरू तल भन्दैछन्।’
‘त्यस्तो बाटो भइदिए त हुन्थ्यो नि,’ मैले भनेँ।
बेइजिङबाट स्वदेश फर्किने बिहान विश्वविद्यालयको कक्षाकोठामा समीक्षा छलफलको अगुवाइ गर्दै जीले सबैलाई आफ्नो अनुभव खोल्न लगाए। याङले भनिन्, ‘मैले पूर्णकालीन पत्रकारिताबाट बेलामौकामा बिदा लिईवरी यसरी दोभाषे गर्न थालेको चार वर्ष भयो। यसपटक ठूलो समूह र उच्च कूटनीतिक अन्तर्क्रियामा पनि काम गर्नुपर्ने हुनाले म निकै तनावमा थिएँ।’
जीले उनलाई सुनिरहे। ‘तपाईं कडा हुनुहुन्छ भन्ने सुनेकी थिएँ,’ उनले थपिन्, ‘केही चित्त बुझेन भने फिल्डबाटै निष्कासित गरिदिनुहुन्छ भन्नेसम्म सुनेकी थिएँ।’
उनी हाँसे। मैले उकासेँ, ‘धन्य, तिमीलाई त्यस्तो केही भएन।’
‘होइन, उनले राम्रो काम गरिन्,’ जीले फुर्क्याए।
‘पत्रकार हुन् नि त,’ मैले भनेँ।
‘तपाईंको अनुभव कस्तो रह्यो त?’ उनले सोधे।
‘म जब ग्रेटवालको माथि पुगेर सुस्ताइरहेको थिएँ। मलाई थाहा थिएन हाम्रो समूहबाट कसैले भेट्न सक्छ भनेर,’ मैले भनेँ, ‘याङले मलाई पछ्याउँछिन् भन्ने थाहा पाएको भए म त्यहाँ रोकिन्नथेँ।’
उनले मलाई एकटकले हेरे। मैले थपेँ, ‘मलाई साथीहरूले मंगोलिया पुग्ला भन्ने हल्ला मच्चाएका थिए तर मेरो भित्री चाहना अर्कै थियो। म यात्रा जारी राखिरहने थिएँ।’
अनि?
‘खासमा म चन्द्रमा पुग्न चाहन्थेँ,’ मैले भनेँ, ‘र, त्यहाँबाट पृथ्वीमा देखिने एउटै मानवनिर्मित आकृति नियाल्ने थिएँ।’
कस्तो देखिएला मलाई के थाहा? त्यति पर पुगेपछि त देशको राजनीतिक सीमाको पनि कुनै अर्थ हुँदैन। चीनको आकार कस्तो छ भन्ने पनि केही ठम्याउन सकिने छैन।
* * *