विश्वकप छनोट चरणको पहिलो खेलमा भारतसँग प्रतिस्पर्धा गर्न गुवाहटी पुगेको नेपाली टोली २-० ले पराजित भयो। सुनील क्षेत्रीले एउटा पेनाल्टी मिस गरेर पनि दुई गोल गरे। दोस्रो लेगको खेल आज खेलिँदै छ। सम्भावना टरेको छैन, आज राम्रो प्रदर्शन गरे, नतिजा हाम्रो पोल्टोमा पर्नेछ।
नेपाली टोलीको समर्थन गर्ने र गत साफको इतिहास दोहोरिने आशासाथ हामी रंगशाला पुग्नेछौं। टेलिभिजन र इन्टरनेटमा दक्षिण एसियाका चिरपरिचित प्रतिद्वन्द्वीबीच हुने रोमान्चक खेलको मजा लिने छौं। खेलमा सोचेको नतिजा आए, खुसी हुनेछौं र सोचेजस्तो नभए खेलाडीलाई गाली गर्नेछौं। यो हाम्रो आवेग यसरी आजको वा एउटा खेलसँग मात्र जोडिएको विषय होइन।
आजको खेलको नतिजा जस्तो आए पनि हामीले स्विकार्नु पर्ने कुरा के हो भने- हाम्रो फुटबलको स्तर आजको खेलले खासै बढ्ने छैन्। विश्व फुटबलमा खासै चर्चा बटुल्ने छैन। यो हाम्रो धरातल हो। त्यसो हुन नसक्नु, हामीले फुटबलको स्तर उकास्न अघिपछि ठीक काम गरिरहेका छौं कि छैनौं भन्ने विषयसँग जोडिएको छ।
फुटबल खेलले हामी बीच सद्भाव बढाउने काम भने पक्कै गर्नेछ र त्यो नै यसको सुन्दर पक्ष हो।
यति सुन्दर खेलको विकासका लागि चाहिने कुराहरू हामीकहाँ छन् कि छैनन्? के हुन् फुटबलको विकासका लागि चाहिने आधारभूत कुराहरू? पहिलो आवश्यक कुरा भनेको फुटबल खेलको लोकप्रियता हो।
केही महिनाअघि ब्राजिलमा देखिएको आन्दोलन र विरोधका घटनाहरूका बाबजुद विश्वकप फुटबल सफलतापूर्वक सम्पन्न भएको थियो। नेपालका चियापसल, स्कुल, कलेज, अफिस, सामाजिक सन्जाल, सार्वजनिक स्थल विश्वकपको बहस र चर्चाबाट केही अछुतो रहेन। सार्वजानिक यातायातमा यात्रा गर्ने वा सार्वजनिक स्थलमा अपरिचत व्यक्तिहरू आफूले समर्थन गरेको दलको जर्सी लगाएकै आधारमा खुलेर वार्तालापमा उत्रन्थे र खुसी साटासाट गर्थे।
अर्जेन्टिना, ब्राजिल, जर्मनी, नेदरल्यान्ड, स्पेन वा अन्य कुनै देशका समर्थक रहेका हामी उनीहरूले राम्रो प्रदर्शन गर्दा खुसी र नराम्रो गर्दा वा हार्दा दुःखी भएका थियौँ। यसले फुटबल खेल हाम्रो समाजमा कति लोकप्रिय छ भन्ने पुष्टि गर्छ। गत साफ फुटबलअन्तर्गत भारतविरुद्धको खेलमा टिकट नपाएर रंगशालाबाहिर बस्न बाध्य हजारौंको दर्शकको भिडले सडक जाम भएर ट्राफिकलाई हम्मेहम्मे परेको थियो। काठमाडौँमा फुटबलको सानो स्वरूप ‘फुटसल’ अहिले लोकप्रिय खेल र प्रचुर सम्भावना बोकेको उद्योग हो।
हामीकहाँ फुटबल खेल्ने खेलाडीको जीवन कष्टकर छ। तर पनि राम्रो प्रदर्शन गर्ने मिहिनेती खेलाडीहरू निस्कन्छन्। यसले हाम्रो खेलप्रतिको आस्था पुष्टि गर्छ।
खेलको स्तर उकास्न चाहिने अर्को कुरा भनेको यसको सम्पूर्ण विकासको रणनीति हो। जसको विषयमा हामीले केही सुझाव दिने प्रयास गरेका छौं।
फुटबल खेल हाम्रो लागि नयाँ होइन। यसको इतिहास पनि आजको होइन। सन् १९२१ मा विदेश पढेर फर्किएका नेपाली विद्यार्थीले नेपालमा सर्वप्रथम फुटबल भित्र्याएका हुन्। यसलाई स्थापित गर्ने काम जनरल नरशमशेर राणाले गरे। गोलपोस्टबिना खेलिने त्यो बेलाको फुटबल सिंहदरबारभित्रको मैदानमा खेलिन्थ्यो, त्यस खेलले जनता र दरबारलाई एकै ठाउँमा भेला हुने अवसर जुराइदिन्थ्यो। क्लबहरू टोलका नाममा विभाजित थिए र ती क्लबको खेल हुँदा टोल नै खाली हुने गर्थ्यो।
सन् १९३४ मा महावीर ११, एनआरटी ११, जावलाखेल ११ र पब्लिक इन्स्टिच्युट ११ जस्ता टिम स्थापित भए। १९३४ मा नै पहिलो व्यवस्थित टुर्नामेन्टको आयोजना भयो, जसमा १२ वटा दल सहभागी भए र जनरल नरशमशेरले नेत्तृत्व गरेको जावलाखेल क्लबले बाजी मार्यो। सन् १९४७ मा त्रिभुवन च्यालेन्ज शिल्डको आयोजना गरियो। नेपालमा फुटबलको विकासका लागि ती प्रतियोगिता हरिहरभवनअगाडि टुँडिखेलमा खेलाइयो।
सन् १९५९ मा दशरथ रंगशालाको निर्माण भएपछि भने खेलहरू त्यहीँ खेलिन थालियो। सन् १९५९ मै दरबार ११ र प्रधानमन्त्री ११ बीच ऐतिहासिक फुटबल प्रतियोगिता आयोजना भयो। दरबार ११ को नेत्तृत्व राजा महेन्द्रले गरेका थिए भने प्रधानमन्त्री ११ को नेतृत्व प्रथम जननिर्वाचित प्रधानमन्त्रि बिपी कोइरालाले।
जानकारहरूको कुरा सुन्दा फुटबलको क्रेज कस्तो थियो भने एकपटक एनआरटी र संकटाबीचको खेलमा विवाद हुँदा काठमाडौंमा तीन दिन कर्फ्यु लगाउनु परेको थियो। २०३२ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) स्थापनापछि फुटबलको आधुनिक युग सुरु भयो। प्रजातान्त्रिक आन्दोलनले केही थलिएको नेपाली फुटबल त्यसको ५ वर्षपछि २०५२ सालदेखि व्यावसायिक बन्न थाल्यो। खेलाडीहरू क्लबमा अनुबन्धित भए भने प्रायोजकहरूले पनि फुटबलमा रुची देखाउन थाले। तर लामो र समृद्ध इतिहास बोकेको नेपाली फुटबलको स्तर भने घट्नुमा हाम्रो खेललाई हेर्ने दृष्टिकोण प्रमुख समस्या हो।
खेललाई हुने खानेले मात्र पेसा बनाउँछन् र बाँकीले खेल खेलेर गुजारा गर्न सक्दैनन् भन्ने परम्परा हामीमा अझै विद्यमान छ। डराइडराई लुकेर खेल्न जानुपर्ने र खेलेर घर फर्कँदा गाली खानुपर्ने नियति छ हाम्रो हुर्कंदै गरेका खेलाडीहरूको।
‘यसले खाली खेल्छ, खेलेर पढाइ खत्तम बनायो। अब यसको खेल बन्द गर्नुपर्छ,’ यो नसुनेर हुर्कने सायद कुनै खेलप्रेमी वा खेलाडी छैनन् होला। यस्तो निरुत्साहनका बीच हुर्किएको हाम्रो खेलजगत्ले कहिले पनि प्रगति गर्न सकेन। अब हामीले खेललाई हेर्ने दृष्टिकोण परिवर्तन ल्याउन अत्यावश्यक छ। त्यसका लागि समग्र खेलकुदको विकासलाई महत्त्व दिएर नीतिहरू निर्माण हुनुपर्छ।
एउटा व्यवसायिक फुटबल खेल्ने राष्ट्रका रूपमा नेपाललाई विकास गर्ने हो भने सबैभन्दा पहिले नेपालले फुटबलमा विकास गर्न नसक्नुका कारण र विद्यमान समस्याहरूको पहिचान आवश्यक छ। कमजोर आर्थिक अवस्था समग्र देशकै समस्या हो। तर समस्या आर्थिक मात्र छैनन्, हरेक क्षेत्रमा आर्थिक समस्या मुख्य देखाएर पन्छिने हाम्रो पुरानो संस्कार छ। हामीले फुटबलमा नयाँ दिशा लिन केही कुराहरू तत्काल र केही दीर्घकालीन रूपमा अवश्य सुधार गरेर अघि बढ्नु पर्ने हुन्छ। समग्र फुटबलको विकास रणनीति बनाउने छलफलमा सघाउन हामीले महत्त्वपूर्ण ठानेका केही विषय उठाउन चाहन्छौं।
१. स्रोत साधनको प्रभावकारी प्रयोग
खेलका लागि पर्याप्त पूर्वाधारको निर्माण गर्न नसक्नु र आवश्यक स्रोत साधनहरू जुटाउन नसक्नुले पनि हाम्रो खेल जगत्मा अपेक्षित सुधार हुन नसकेको स्विकार गर्नुपर्दछ। हामीले पूर्वाधारको विकास गर्न सक्नुपर्छ तर दोष सबै पूर्वाधार र स्रोतलाई मात्र दिएर पन्छिन सकिने अवस्था छैन्। अहिले लगानी भएको पुँजी र स्रोत पनि नतिजाउन्मुख छ? स्रोत र लगानी मात्रले फुटबलको विकास गर्न सकिने भए धेरै स्रोत र लगानी गर्न सक्ने भारत किन विश्व फुटबलमा पछाडि परेको छ? थोरै जनसंख्या र स्रोत भएका कोस्टारिका जस्ता राष्ट्रले भने विश्वलाई चकित पार्ने गरी फुटबल खेल प्रस्तुत गरे। जमैका र टोगोजस्ता राष्ट्र नेपालभन्दा कमजोर आर्थिक स्थिति भएका देश हुन्, जसले फुटबल विश्वकपको रस चाखिसकेका छन् । यी उदाहरणबाट हामीले केही सिक्नु पर्ने कुराहरू छन्। स्रोत र लगानीले मात्र फुटबलको विकास हुन्छ भन्ने हाम्रो मान्यता पूर्णरूपमा गलत छ। स्रोत र लगानीको प्रभावकारी प्रयोग अनि स्पष्ट रोडम्यापमा आधारित कार्यान्वयनले भने हामीले विश्वकपको सपना हुर्काउन सक्छौं।
२. ‘एन्फा’
फुटबलको विकास गर्ने जिम्मा पाएको शीर्ष संस्था हो- एन्फा। सीमित स्रोत र साधनका बीच केही राम्रा काम एन्फाले गरेको भए तापनि सत्य के हो भने नेपाली फुटबलको स्तर बढ्न सकेन। पूर्णरूपमा व्यावसायिक बन्न नसक्नु र यसमा राजनीतिक संस्कार हावी हुनुले पनि एन्फा नेपाली फुटबल विकासमा संवेदनशील देखिँदैन। यसभित्र चलेको राजनीतिक सिन्डिकेट, परम्परागत सोच र जागिरे प्रवृत्तिले फुटबललाई विकास गर्नेभन्दा पनि व्यक्तिगत प्रभुत्व कायम राख्ने थलो बन्न पुगेको छ।
एन्फाभित्र रचनात्मक सोच र कार्यशैलीको खडेरी नै छ। एन्फामा मैलाएका विकृति चिर्न सक्ने नेतृत्व जन्माउन नसक्दा एन्फाको छवि पनि धमिलो बन्दै गएको छ। जसले समग्र नेपाली फुटबलको विकासलाई पछि पारेको छ। खेल तालिका प्रकाशित गर्ने, आर्थिक पारदर्शिता र नियमितता कायम गर्ने, खेलहरूको व्यवस्थापन आदिमा एन्फा सधैँ चुकेको छ। विवादै विवादका बीच हुने एउटा राष्ट्रिय लिग र उधारोमा खेलाडीहरूलाई सम्मान गरेर पुग्दैन। एन्फाले फुटबलको विकासको रणनीति बनाउने स्कुल स्कुलमा र देशका कुना कुनामा फुटबल खेलाडीलाई स्तरीय बनाउने दिशामा काम गर्ने हो। एन्फाले निम्नअनुसारका कामहरू गर्न सक्छ।
क. फुटबललाई उद्योगको रूप दिन क्लबको ढाँचा परिवर्तन गर्ने
नेपाली फुटबल क्लबहरू पूर्ण व्यावसायिक खेलाडीहरूको उत्पादनमा केन्द्रित हुनसकेका छैनन्। हाम्रो क्लबहरूको ढाँचामै समस्या देखिन्छ। व्यावसायिक भनिएका क्लबहरू सामुदायिक क्लब जसरी सञ्चालनमा छन्। उनीहरूमा उद्यमशील सोच र व्यवस्थापनको कमी देखिन्छ। त्यसैले एउटा कम्पनीको आकारमा क्लबहरूको सञ्चालन हुन सकेको छैन।
राष्ट्रिय लिगमा सशक्त मानिने पुलिस क्लब, सशस्त्र प्रहरी क्लब र आर्मी क्लबले त अझ् खेलाडीहरूलाई सरकारी ढुकुटीबाट तलब खुवाउँछन्। त्यसैले पनि ती पूर्णरूपमा व्यावसायिक हुन सकेका छैनन्। हाम्रो फुटबललाई पूर्ण रूपमा व्यावसायिक बनाउन व्यावसायिक फुटबलको लामो समय अभ्यास गर्दै आएको इङ्ल्यान्ड र युरोपेली मुलुकहरूको मोडल वा अमेरिकी व्यावसायिक खेलकुदको फ्रान्चाइज मोडलमा ढाल्न सकिन्छ।
भारतमा क्रिकेट खेललाई पूर्ण व्यावसायिक बनाउन ल्याइएको आइपिएलले अमेरिकी फ्रान्चाइज मोडल अपनाएको छ। यो मोडल नेपाली फुटबललाई पनि व्यावसायिक बनाउन सान्दर्भिक देखिन्छ। यस मोडलअन्तर्गत एन्फाले अर्धविकसित फुटबल स्टेडियमहरू फ्रान्चाइजहरूलाई लिजमा दिन सक्छ।
फ्रान्चाइजहरूले स्थानीय स्तरबाट लगानी जुटाउन सक्छन् र क्लबको स्वामित्व लिन सक्छन्। मानौँ एउटा क्लबको फ्रान्चाइज लिँदा एन्फालाई एक करोड रकम बुझाउनुपर्छ। उक्त रकम फ्रान्चाइजहरूले समुदाय स्तर वा सेयर जारी गरेर वा कुनै पनि व्यापारिक मोडल अपनाएर केही वर्षमै लागत उठाएर क्लबलाई फाइदामा पुर्याउने योजना बनाउन सक्छन्। फ्रान्चाइजहरूलाई प्रदान गरिने सिमानाले ठूला सहरहरूलाई ओगट्ने गरी सिमांकन गरिएको हुनुपर्छ, जसले गर्दा एकै ठाउँमा दुईवटा क्लबहरू बीच सत्रूता नहोस्। तर, ठूला सहरहरूमा एकभन्दा बढी क्लबहरू पनि हुन सक्छन्। जस्तै- रियाल म्याड्रिड र एथलेटिको स्पेनका दुई क्लब एकै सहर म्याड्रिडका हुन्।
क्लबहरूलाई व्यावसायिक बनाउने मोडलले मात्र पनि पुग्दैन, क्लब बन्नका लागि चाहिने न्युनतम पूर्वाधार ‘एक क्लब एक एकेडेमी’को अवधारणा फ्रान्चाइजहरूलाई सर्तका रूपमा राख्नुपर्छ, जसले खेलाडीहरू उत्पादन हुन सक्दछ। क्लबहरूलाई पूर्ण व्यावसायिक बनाउने दिशामा हाम्रो फुटबल नीति बन्न सकेन भने जति नेपाली फुटबलको विकास गर्छु भनेर लगानी बढाए पनि वालुवामा पानी खन्याएजस्तो मात्र हुन्छ।
ख. लिगको संरचना
कुनै पनि देशको फुटबल विकासको मेरुदण्ड भनेको उसको राष्ट्रिय लिग हो। ‘ला लिगा’का टिमह/को युरोपमा दबदबा रहेको समय स्पेनले ‘युरो कप’ र ‘विश्वकप’ दुवै जितेको थियो। त्यस्तै अहिले सशक्त बन्दै गएको ‘बुन्डेसलिगा’मा खेल्ने अधिकांश जर्मन खेलाडीको मद्दतले जर्मन विश्वविजेता बन्न सफल भयो।
हाम्रो राष्ट्रिय लिगले भने घरेलु दर्शकसम्म पनि तान्न सक्दैनन्। हामीले भन्दै र बुझ्दै आएको ‘सहिद स्मारक ए डिभिजन लिग’ के साँच्चै हाम्रो राष्ट्रिय लिग हो? हामीले त्यसलाई राष्ट्रिय लिगको मान्यता दिई राख्दा के कुरा बुझ्नु जरुरी छ भने काठमाडौँभित्रका सीमित टिमले मात्र यसमा प्रतिस्पर्धा गर्छन्। यो वर्ष भने एन्फाले लिगको संरचनामा थोरै भए पनि सकारात्मक परिवर्तन गर्न खोजेको अनुभव भएको छ। अहिले लिगमा सहभागी ९ टोलीमध्ये ४ टोली काठमाडौँ उपत्यकाबाहिरका छन्। यो सकारात्मक सुरुवात हो तर कहिलेकाहीँ मात्र देखिने मोफसलका टिमहरू राष्ट्रिय भनिने लिगमा टिक्नै सक्दैनन्। खेलाडीलाई खेल दैरानमा काठमाडौँमा राखेर पाल्नेसमेत आर्थिक हैसियत छैन्, काठमाडौँबाहिरका टिमहरूको। बाहिरका टिमहरूको मात्र होइन, लिगमा नियमित सहभागी टिमहरूलाई कम्तिमा १६ जना खेलाडी अनुबन्ध गर्नुपर्छ वैशाखमा। तर, लिग पुसमा मात्र सुरु हुने भएकाले खेल सुरु हुनुपूर्व ९ महिना खेलाडीलाई तलब दिएर राख्दा क्लबहरूसँग लिग सुरु हुने बेलामा पैसाको अभाव हुने देखिन्छ। हाम्रो राष्ट्रिय लिगमा यी यस्ता थुप्रै समस्या छन्। यस्तो अवस्थामा हामीले आयोजना गर्दै आएको लिगलाई सही अर्थमा राष्ट्रिय लिग बनाउन यसको स्वरूपमा परिवर्तन र थप व्यवस्थित गर्नुपर्ने हुन्छ। साथै अरु डिभिजनका लिगहरू समयमै आयोजना र थप सुदृढ गर्दै लैजान जरुरी छ।
भारतले २०१४ सेप्टेम्बरमा आइपिएल ढाँचाको विश्वस्तरिय फुटबल लिग ‘इन्डियन सुपर लिग’ सफलतापूर्वक सम्पन्न गर्यो। ९ सहरहरूले प्रतिस्पर्धा गरेको उक्त लिगले भारतको फुटबललाई एक स्तर माथि उठाएको छ। छिमेकी मुलककै मोडलबाट सिकेर भए पनि नेपाली राष्ट्रिय लिगलाई पूर्ण व्यावसायिक लिगमा विकास गर्न जरुरी छ। विदेशी मोडल अपनाउँदा नेपाली फुटबलमा रातारात परिवर्तन हुने होइन। क्लबहरूको आम्दानी गर्ने स्रोतमध्येको प्रमुख स्रोत टेलिभिजन राइट्स हो, जुन नेपालको हकमा अहिले सम्भव देखिँदैन। नेपाली क्लबहरूले आफ्ना समर्थक संख्या बढाउन लामो समय कसरत गर्नुपर्ने हुन्छ, जसको परिणामले टिभीमा पनि नेपाली लिग व्यग्रतासाथ कुरेर हेर्ने परम्परा विकास हुनेछ।
ग. फुटबल ‘करिकुलम’ विकास गर्ने
एन्फाले सञ्चालन गरेको एकेडेमीले केही राम्रा खेलाडी उत्पादन गर्ने गर्दछ। तर क्लब र राष्ट्रिय स्तरसम्म पुग्दा केही सीमित योग्य खेलाडी मात्र बाँकी रहन्छन्। एकेडेमीले उत्पादन गरेका खेलाडीहरू को कता हुन्छन् त्यसको पत्तो हुँदैन। फुटबलको विकास गर्न एकेडेमी स्तरमा नै राम्रो ‘करिकुलम’को पालना हुनु पर्छ। फुटबल खेलको महत्त्वपूर्ण पाटोहरू शारीरिक, प्राविधिक, रणनीतिक र मानसिक कुरा हुन्। हामीले व्यावसायिक फुटबलको विकास गर्न यी चार पक्षमा ध्यान पुर्याउनुपर्ने हुन्छ। यसका लागि एन्फाले राष्ट्रिय फुटबल करिकुलम विकास गर्न सक्छ। थुप्रै कोचहरूलाई ट्रेनिङ दिएर देशभरि एउटै फुटबल करिकुलम प्रवाह गराउन सक्नु पर्छ। त्यस करिकुलमलाई समय अनुसार परिमार्जन गर्ने र पालना भए नभएको हेर्न क्षेत्रीय स्तरमा एक उच्च योग्यता भएको प्राविधिक निर्देशक नियुक्त गर्न सक्छ।
घ. स्कुलस्तरमा फुटबल
फुटबलको विकास गर्न लगानी बढाउनु पर्छ भन्दै गर्दा हामी ठूलो लगानी मात्र कुर्दै बस्यौं। अभिभावक र स्कुल दुवै फुटबल विकासका लागि सम्भावित लगानीकर्ता हुन् भन्ने बुझ्न सकेनौं। नेपालमा अहिले आँखा चिम्लेर मान्छेले लगानी गर्ने भनेको छोराछोरीको शिक्षामा हो। यो लगानीलाई फुटबलसँग जोड्न सक्ने हो भने हामीले बनाउनुपर्छ भन्दै आएको फुटबल एकेडेमी हरेक स्कुलमा खडा गर्न सकिन्छ। नेपालभर थुप्रै यस्ता स्कुल छन्, जसले खेलकुदमा राम्रो लगानी गर्छन्। स्कुल स्तरका खेलहरू प्रायोजित भएरै सन्चालन भइसकेको अवस्था पनि हो । तर यी स्कुलहरूको संख्या थोरै र प्राय: स्कुलहरू काठमाडौँमा अवस्थित छन्।
१९७६ को मोन्ट्रियल ओलम्पिक्स्मा एउटा मात्र रजत पदक जितेको अस्ट्रिलियाले त्यस प्रतियोगितालाई राष्ट्रिय लज्जाका रूपमा लियो र सुधारका कार्यक्रम अघि सार्यो। त्यसअन्तर्गत अस्ट्रेलियामा अस्ट्रेलियन इन्स्टिच्युट अफ स्पोर्टस् (एसआइएस)को स्थापना भयो, जसले सात सय खेलाडीलाई छात्रवृत्ति दिने गर्छ। अस्ट्रेलियाले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्न परेन। यो उदाहरण किन सान्दर्भिक छ भने हामीले ठूलो इन्स्टिच्युट अहिले स्थापना गर्न नसकौँला तर शैक्षिक करिकुलममा फुटबललाई समायोजन गरेर देशभर पुर्याउन सके, स्कुल स्तरका फुटबल खेलहरू वर्षैभरि सञ्चालन गर्ने तालिका विकास गर्न सके धेरै खेलाडी उत्पादन गर्न सम्भव हुने थियो । नेपाली खेलाडीले विदेशमा गएर पनि खेल्ने अवसर र सम्भावना देखेका हाम्रो अभिवावकहरूका आफ्नो सन्तान खेलाडि भएर भविष्य बिग्रिएला भन्ने मानसिकतामा परिवर्तन आउने क्रम पनि जारी छ।
३. निजी क्षेत्रको भूमिका
विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्ने र केही खेल प्रायोजन गर्नेबाहेक निजी क्षेत्र फुटबलमा आकर्षित हुन सकेको छैन। निजी क्षेत्रले फुटबल खेल विकासका लागि तत्परता देखाउन चाह्यो भने उसले थुप्रो लगानी गर्न सक्छ, तर त्यस्तो भइरहेको छैन्। हामीकहाँ सानो उमेरमा खेलाडी हुने सम्भावना बोकेकाहरूलाई एनआरएन समुदायले वा देशभित्रको निजी क्षेत्रले लगानी गरेर विदेशमा ट्रेनिङ गराउन सक्छन्। नेपालमा विश्वस्तरको ट्रेनिङ सेन्टरहरू सञ्चालन गर्न सक्छन् र नेपाली फुटबल लिगमा लगानी गरेर क्लबहरूको स्वामित्व लिएर फुटबल विकासमा टेवा पुर्याउन सक्छन्। एन्फाले अलिकति प्रयास गरेमा पनि क्लबहरूलाई सम्भावित लगानीकर्ताको इन्भेन्टरी बनाएर लगानीको खोजी गर्न सहयोग पुर्याउने, खेल मैदानमा क्लबहरूलाई ब्यानर राख्ने स्पेस दिने र सानो स्टलमा उनीहरूको जर्सी वा उत्पादनहरू बिक्री गर्ने सुविधा दिने जस्ता काम गर्न सक्छ। यसले क्लबहरूलाई आर्थिकरूपमा सबल बनाउन मद्दत पनि गर्नेछ। सम्भावना बोकाका एकेडेमीबाट ग्रेजुएट भएका खेलाडीहरूलाई स्कलरशीपको खोजी गर्न एन्फाले निजी क्षेत्रसँग सहकार्य गर्न सक्छ।
यो सुची लामो कोरिँदै जान सक्छ। बुँदाहरू थपिँदै जान्छन् किनकि हामी फुटबल विज्ञ होइनौं, खेलप्रेमी मात्र हौं। हामीले त केवल फुटबलमा सार्थक बहस होस् र ठोस काम अघि बढोस् भन्ने चाहेका हौं किनकि हामलाई लाग्छ, नेपालमा फुटबलको प्रचुर सम्भावना छ। हामीले चाहेको कुरा भनेको नेपालले साफ फुटबलमा आफ्नो दबदबा कायम गर्न सकोस्, एसियाली मध्यम स्तरका टिमहरू जस्तै- लेबनन र मलेसियाको स्तरमा नेपालको खेल पुगोस् र विश्वस्तरका अरु प्रतियोगिताहरूमा सहजरूपमा प्रतिस्पर्धा गरोस्।
२० वर्ष पुगेको युवकले नेपाल विश्वकप खेल्ला त? भन्ने प्रश्नको जवाफ यसरी दिन्छ, ‘म बाचुन्जेल खेल्दैन।’ सोझो हिसाबले पनि अहिले २० वर्ष पुगेको युवक ७० वर्ष (नेपालीको औसत आयु ६८.२ वर्ष छ) बाच्ला । उसका अनुसार अबको ५० वर्षसम्म पनि नेपालले विश्वकप खेल्ने सम्भावना छैन। कुरा ठीकै हो, एकपटक पनि साफ फुटबल नजितेको नेपाललाई विश्वकप खेल्ला भन्ने प्रश्न पनि गलत प्रश्न हुन्छ। तर हामीले सुन्दै आएको एउटा सत्य के हो भने ‘असम्भव केही हुँदैन’ । सपना देख्ने साहस गर्नुपर्छ तर सपना आफैँ साकार हुँदैन। त्यसका लागि पर्याप्त तयारी गर्नुपर्ने हुन्छ। हामीले तयारी नगरी देख्ने सपना त्रासदिपूर्ण स्वप्न मात्र हुन जान्छ।
थुप्रै समस्याका बाबजुद पनि नेपाली फुटबलको भविष्य आशालाग्दो छ किनभने हामीसँग सीमित स्रोत साधनमै भए पनि केही प्रचुर सम्भावना भएका खेलाडीहरू उत्पादन भएको इतिहास छ। हामीसँग ठूलो फुटबलप्रेमीहरूको जमात छ, जो खेलको संगठित विकास भएको हेर्ने चाहना राख्दछन् र थप त्यसलाई प्रोत्साहन पनि गर्दछन्।
दशरथ रंगशाला मैदानमा नेपालको जर्सी त ११ जनाले लगाउनेछन् तर विश्वकपको बेला विभन्न देशको जर्सी लगाएर विभाजित, राजनीतिमा विभिन्न मुद्दामा विभाजित, राष्ट्रियताको खडेरीबाट गुज्रिएका हामी आज एउटै टोलीको समर्थन र जर्सीमा हुनेछौं। खेलले राष्ट्रको गौरव, सद्भाव र एकता बढाउने हो। यो नै खेलकुदमा अन्तरनिहीत शक्ति हो। अब खेललाई खाली बिलासिताको विषय बनाएर हेर्नुभन्दा हामीले खोज्दै आएको विविधताभित्रको एकतालाई सुदृढ बनाउने अवसरका रूपमा हेरिनुपर्छ। हामीले एकताको प्रतिक अब कुनै राजा वा धर्म वा कुनै वादभन्दा माथि रहेको खेलप्रेममा खोज्ने बेला आएको छ र यसको लागि हामीले थुप्रै सार्थक प्रयास गर्नुपर्नेछ। खेलकुदले निम्त्याउने राष्ट्रियताको भावनाभन्दा प्रभावकारी एकताको सूत्र के हुन सक्ला?