यतिबेर मुलुक असाध्यै जटिल मोडमा छ। हिजो हामीले महान् जनयुद्धका क्रममा आर्जित गरेका समग्र सौन्दर्यमूल्य ध्वस्त पारिएका छन्। देशी-विदेशी प्रतिक्रियावादी वर्ग महान् जनयुद्धको त्यो गरिमामय १० वर्षे इतिहासलाई कालो इतिहासका रूपमा चित्रित गर्न उद्यत छ र बलिदानको बाटो रोज्ने महान् योद्धाहरूलाई अपराधी प्रमाणित गर्ने तारतम्य रच्तैछ। यस्तो बेला ती प्रतिक्रियावादीहरूको पाखण्डपनविरुद्ध सच्चा क्रान्तिकारीहरू एकताबद्ध हुनु आवश्यक छ।
नेपाली माओवादी क्रान्ति बडो संगीन अवस्थाबाट गज्रिरहेको छ। यसले एकपल्ट पुनः व्यापक एकता र बृहत् आन्दोलनको माग गर्दछ भन्नेमा विवाद छैन। परन्तु एकता कोसित र केका लागि भन्नेमा चाहिँ प्रस्ट हुनु आवश्यक छ। मूल कुरा पनि यसैमा निहित छ। को हुन् सच्चा माओवादी? त्यसको प्रस्ट परिभाषा र पहिचानबिना एकताको कुरा गर्नु भनेको बालुवाको घर बनाउनुजस्तै हो। होहल्ला गर्नु र सिद्धान्तनिष्ठ एकता अलग कुरा हुन्।
विश्व माओवादी क्रान्ति यतिखेर दोहोरो मारमा छ। साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूबाट प्रहार हुनु अस्वाभाविक होइन। परन्तु माओवादको आवरणमा माओवादी आन्दोलनलाई नै ध्वस्त पार्ने जुन काम भइरहेको छ, यो साँच्चिकै गम्भीर छ। आज एकताको कुरा गर्दा यो पक्षलाई पनि ध्यानमा राख्नु आवश्यक छ। यति मात्र नभएर एकताको कुरा गर्दा नेपालको माओवादी आन्दोलनलाई यस्तो विशृङ्खलताको स्थितिमा पुर्याउन क-कसको, कहाँ-कहाँ के-कस्तो भूमिका रह्यो, त्यसको पनि निर्मम समीक्षा गर्नु आवश्यक देखिन्छ। यो समीक्षामा नरमगरम कोही पनि अछुतो रहने स्थिति छैन।
समयक्रममा सैद्धान्तिक तथा व्यावहारिक रूपमा सबै कुरा प्रस्ट भइसकेका छन्। नेपाली जनताले महान् जनयुद्धमार्फत आर्जन गरेका समग्र वैचारिक, राजनीतिक, फौजी र सांस्कृतिक मूल्यलाई देशीविदेशी प्रभुहरूलाई सुम्पेर आत्मसमर्पण गर्ने प्रचण्ड-बाबुरामहरूको नेपाली क्रान्तिप्रतिको गद्दारीका कारण नेपालको माओवादी आन्दोलनले अकल्पनीय रूपमा वैचारिक विचलन र संगठनात्मक बिसर्जनको स्थिति भोग्नु परेको हो। तिनले नेपाली मुक्तिकामी जनतालाई मात्र धोका दिएका छैनन्, भारतीय फाँसीवादी सत्ताका विरुद्ध जीवनमरणको निर्मम लडाइँ लडिरहेका भारतीय माओवादीका विरुद्ध सोनिया गान्धीलाई चिट्ठी लेखेर आफ्नो जनविरोधी र राष्ट्रघाती कुरूप अनुहार पनि प्रदर्शित गरिसकेका छन्। प्रचण्ड-बाबुराम समूहमा कतिपय इमानदार कार्यकर्ता होलान्। परन्तु, नेतृत्व तह र संगठनात्मक दृष्टिले एकीकृत नेकपा (माओवादी) क्रान्तिप्रति गद्दारी गर्ने समूहका रूपमा स्थापित भएको छ। वैचारिक र राजनीतिक दृष्टिले नवप्रतिक्रियावादका पतन भइसकेको छ। नयाँ जनवादी क्रान्ति र वर्गीय प्रश्नलाई त्यागेर डलरवादी जातीयतावादीहरू र मधेसका सामन्तहरूसितको उसको बढ्दो उठबस र गठजोडले पनि यसै कुराको द्योतन गर्दछ।
वैचारिक र राजनीतिक दृष्टिले पतन भइसकेपछि प्रचण्ड समूह अहिले आफ्नो अस्तित्व रक्षाका लागि एकताको होहल्ला गर्दैछ र हातमा सुनको सिक्री लिएर लोभी बाहुनलाई आकर्षित गर्ने बूढो बाघको कथाको पुनरावृत्ति गर्दैछ। यसप्रति हामी चनाखो हुने कुरा त छँदैछ। यसका साथै यतिखेर क्रान्तिको कुरा गर्ने तर व्यवहारमा कहिल्यै अघि नसर्ने सारसंग्रहवादी अकर्मण्यतामा फसेकाहरू हातमा सुनको सिक्री लिएको बूढो बाघको वाक्छलप्रति लालायित भइरहेको स्थिति पनि हामी अनुभूत गरिरहेका छौँ। यसप्रति पनि त्यत्तिकै गम्भीर हुनु आवश्यक छ।
नयाँ जनवादी क्रान्ति परित्याग गरेको र वैचारिक र राजनीतिक रूपबाट धेरै पर पुगिसकेको प्रचण्ड समूहसित एकता गर्नु भनेको वैचारिक र सांगठनिक दृष्टिले विसर्जनवादलाई अँगाल्नु हो र यो भनेको नेपाली क्रान्तिप्रतिको अर्को किसिमको गद्दारी हो। वर्गीय प्रश्नबाट असम्पृक्त पारेर नेपालको माओवादी आन्दोलनलाई तहसनहस पार्न थालिएको अवस्थामा एकताका नाममा हुन थालेका विचारविहीन नानाथरीका नाटक र अभ्यासप्रति पनि हामी त्यत्तिकै सजग हुनु आवश्यक छ। जात, क्षेत्र, लिंगको उखरमाउलोसँगै अहिले फेरि उमेरवादको उखरमाउलो आरम्भ भएको छ। यस्ता विसंगतिबाट माओवादी आन्दोलनलाई जोगाउने हो भने क्रान्तिकारीहरूले कतिपय साँधसिमाना र पर्खाल भत्काउनु आवश्यक छ र नयाँ प्रतिबद्धतासाथ मालेमाको झण्डालाई माथि उचाल्नु आवश्यक छ। यस कार्यमा बौद्धिक-सांस्कृतिक क्षेत्रको अहम् भूमिका रहने कुरा पनि प्रस्ट छ।
आज राजनीतिक क्षेत्रले जुन किसिमको वैचारिक तथा राजनीति ऊर्जा र उत्प्रेरणा दिन सक्नुपर्दथ्यो, त्यो हुनसकेको छैन। अध्ययन-चिन्तनप्रति भन्दा भीडतन्त्रमा रमाउने प्रवृत्ति युवा पुस्तामा विकसित हुँदोछ। माओवादी आन्दोलनका लागि यो शुभसंकेत होइन। माओवादको नाम लिएर विसर्जनवादको जसरी अभ्यास भइरहेको छ, यो निकै खतरनाक छ। ‘नवसंशोधनवाद’सितको मेलमिलापले माओवादी आन्दोलनमा थप अन्योल र भ्रम मात्र उत्पन्न गर्ने छ।
‘पोलिटिक्स इन कमान्ड’मा कतै विमति छैन। तर माओले, भनेझैँ राजनीतिले गलत बाटो लिएमा अधिरचनाका अन्य अंगहरू अगाडि आउनैपर्ने हुन्छ र यतिबेर सांस्कृतिक-बौद्धिक क्षेत्रका सामु यो जिम्मेवारी आएको छ। मालेमाको रक्षाका लागि समयले एकपल्ट फेरि विद्रोहको झण्डा उठाउन हामीलाई आह्वान गरेको छ।
माओवादी आन्दोलन भनौँ सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कुरामा विमति छैन। तर यो भावना र भावुकताको रहर र लहड हुन सक्तैन। भीडतन्त्र जम्मा गर्नु र सिद्धान्तनिष्ठ बोल्सेविक पार्टीको निर्माण गर्नु एउटै कुरा होइन। समयले नयाँ आधारमा नयाँ एकताको माग गरेको कुरा सही हो ।
एकताको कुरा गर्दा आधारभूत रूपमा तलका बुँदामा प्रस्ट हुनु आवश्यक छ- १. मार्क्सवाद-लेनिनवाद-माओवाद नेपाली क्रान्तिको निर्देशक सिद्धान्त हो। २. नयाँ जनवादी क्रान्ति नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम हो। ३. ‘क्रान्तिका तीन जादुगरी हतियार’ नेपाली क्रान्तिका आधारभूत पक्ष हुन् र ४. नेपाली क्रान्ति वर्गसंघर्षको (यसलाई एकीकृत वर्गसंघर्ष पनि भन्न सकिन्छ) बाटो भएर अघि बढ्छ र अन्ततः यसले नेपाली विशिष्टताको जनयुद्धको चरित्र ग्रहण गर्छ।
यी आधारभूत पक्षका साथै यताका दिनमा नेपाली समाजमा सहरीकरण बढ्दो रूपमा भए पनि अझै नेपाली क्रान्तिमा गाउँ नै आधारभूत र प्रधान पक्ष हो। बाह्य शक्तिका दृष्टिले भारतीय विस्तारवाद नै नेपाली नयाँ जनवादी क्रान्तिको प्रमुख दुस्मन हो भन्नेमा पनि हामी प्रस्ट हुनु जरुरी छ।
यिनै आधारभूत पक्षहरूका आधारमा नै हामी एकताका साथ जान सक्छौँ। अन्यथा यसले विसर्जनवादसिवाय केही निम्त्याउने छैन।
लेखक नेकपा-माओवादीका नेता हुन्