खासमा खोजी पत्रकारिताले नेताको कुर्सी हल्लाउँछ। तर पछिल्ला केही साता भारतीय समाचारपत्र ‘दि इन्डियन एक्सप्रेस’मा एउटा समाचार छापिएपछि अहिले पत्रकारको कुर्सी हल्लिइरहेको छ।
खबर अनुसार केही पत्रकार एस्सर नामक कम्पनीको खर्चमा ट्याक्सी प्रयोग गरेर फाइदा उठाइरहेका छन्। आरोप सामान्य हो। तर पनि ‘अनैतिक’ स्वीकार गर्दै दुई सम्पादकले आ-आफ्ना अखबारबाट राजीनामा दिइसकेका छन्। राजीनामा दिनेमा एक महिला र एक पुरुष छन्।
टेलिभिजन समाचार च्यानलमा काम गर्ने एक महिला पत्रकारलाई आन्तरिक छानबिन चलिरहेका बेला कामबाट हटाइएको छ।
भारतीय पत्रकारमाथि औंला उठेको पहिलोपटक होइन।
सन् २००९ मा केही फोन टेप सार्वजनिक भएका थिए। आयकर विभाग केही मुख्य पत्रकार र अन्य विचौलियाबीचको कुराकानी गोप्यरूपमा रेकर्डिङ गर्ने काममा लागेको थियो। उनीहरू पत्रकारिता कम र दलाली ज्यादा गरिरहेका थिए।
नेताको अखबारसँग साँठगाँठ
त्यसो त नेता र उद्योगपतिहरूबीचको साँठगाँठको सिलसिला पुरानै हो। तैपनि भारतीय पत्रकारहरूको चालचलनमा मूल्य गिरावट पछिल्ला २५ सालयता धेरै भएको छ।
यसका प्रमुख चार कारण छन्- पहिलो पत्रकारलाई प्राप्त भएको विशेष कानुनी संरक्षणको पतन। दोस्रो, समाचारभन्दा मुनाफामा प्राथमिकता। तेस्रो समाचार संस्थामा उद्योगपतिको लगानी र चौथो, पत्रकारको निजी स्वार्थ।
पत्रकारको स्वतन्त्रतालाई संवैधानिक संरक्षण दिँदै भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरूले सन् १९५५ मा जर्नालिष्ट एन्ड अदर न्युजपेपर इम्पल्वाइज एक्ट बनाएका थिए।
यो कानुनले पत्रकारलाई मनमानी अवकाश दिन रोक लगाएको थियो र पत्रकारले राजीनामा दिएमा त्यो स्वतः उसले चाहेर दिएको होइन भने श्रम विवादको मान्यता दिइएको थियो। नियुक्ति, बिदा, पदोन्नति इत्यादिको नियम निर्धारित गरिएको थियो।
निष्पक्षता र साहस
कानुनले सरकारलाई तलब वृद्धि निश्चित गर्न सर्वोच्च अदालत या उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा मालिक र कर्मचारी युनियनसहितको एक ‘ट्राइब्युनल’ बनाउने जिम्मा दिइयो। यसले स्वतन्त्ररूपमा तलबमान तय गर्न सक्छ।
वर्किङ जर्नालिस्ट एक्टले पत्रकारलाई निष्पक्ष काम गर्ने साहस दियो। सम्पादकको मनोमानी आजजस्तो सजिलो र साधारण थिएन। अखबार मालिकको पनि न्युजरूममा घुसपैठ कम थियो।
८० को दशकको अन्त्य आउँदा-नआउँदै वातावरण बदलिन थाल्यो। ‘ट्राइब्युनल’द्वारा निर्धारित तलबभन्दा तीनचार गुणा बढी तलब पाउने आकर्षणमा पत्रकारले आफैंले वर्किङ जर्नालिस्ट एक्ट छोडेर ठेक्कामा नोकरी गर्न मञ्जुर भए।
यसरी उनको नोकरी एक झट्कामै असुरक्षित भयो। साथै सम्पादकहरू अखबार मालिकको इसारामा चल्न थाले।
न्युजरूममा कब्जा
पुरानो समयमा पत्रकारले अखबारको नाफा नोक्सानबारे सोच्नु पनि अनैतिक थियो। जागिर ठेक्कामा दिन थालेपछि न्युजरूममा बजारले कब्जा गर्यो।
कुनै जमानमा दिग्गज बुद्धिजीवी, साहित्यकार र अर्थशास्त्री अखबारका सम्पादक हुने गर्थे। अब अखबार मालिक बफादारलाई सम्पादक बनाएर मुनाफाको जिम्मेवारी दिन थालेका छन्। अखबारका पानामा समाचारभन्दा बढी विज्ञापनले प्राथमिकता पाउन थाल्यो। विज्ञापनको प्रभाव बढ्नुसँगै कर्पोरेट सेक्टरका गडबडीका खबर अखबारमा कम हुँदै गए। सम्पादकको तलबभन्दा धेरै मार्केटिङ वा सेल्स म्यानेजरको हुन थाल्यो।
अखबार मुनाफाको धन्दा बन्यो
८० को दशकको उत्तरार्द्धमा लेटरप्रेसको ठाउँ अफसेट प्रिंटिङ र कलम-नोटबुकको ठाउँ कम्प्युटरले लियो। नयाँ प्रविधिले छपाइको गुणस्तरमा सुधार आयो। कम समयमा धेरै प्रति छाप्न सम्भव भयो। रंगीन छपाइ सुरु भयो। साथै अखबार छाप्ने कर्मचारीको आवश्यकता पनि कम हुँदै गयो। सबै मिलाएर अखबारका धन्दा मुनाफाका लागि हुन थाल्यो।
खासमा खबर त्यो हुन थाल्यो, जुन बिक्छ। मनोरन्जन, ग्ल्यामर, फेसन, क्रिकेटका रंगीन परिशिष्ट छापिन थाले। अखबारको पहिलो पृष्ठ कुनै बेला पत्रकारको मन्दिर हुने गथ्यो। नयाँ दौडले यसमा धनका देवता कुबेरको बास गराएको छ।
पत्रकारको कर्पोरेट कनेक्सन
कर्पोरेट जगत्सँग हात मिलाएर उनीहरूको प्रायोजनमा अखबारले सेमिनार वा सम्मेनल आदि गराउन थाले।
पत्रकारले राजीखुसी यसमा कर्पोरेट म्यानेजरसँग काँधमा काँध मिलाएर काम गर्न थाले। २१ औं शताब्दीमा समाचार टिभी च्यानलको विस्तार भयो। यसमा सुरुबाटै कर्पोरेट विज्ञापनदातामा निर्भर हुन थाल्यो, जसले खबर कार्यक्रममा प्रायोजन गर्न थाले।
विज्ञापन गुमाउने भयले अखबारको प्रकृति अरु बजारमुखी हुँदै गयो।
पत्रकार होइन मिडियाकर्मी
एउटा बेला थियो, जब अखबारको वार्षिक खर्च धेरथोर बिक्री वा विज्ञापनले धान्थ्यो। तर, टिभी च्यानल स्थापना गर्ने वा चलाउने ठूलो खर्च विज्ञापनबाट मात्रै पूरा हुन नसक्ने भयो। यस्तो स्थितिमा ठूला पुँजीपतिले यो व्यवसायमा पुँजी लगाउन थाले।
यसरी औद्योगिक व्यवस्थाका दास बनेका पत्रकारबाट निष्पक्ष तथा निर्भिक पत्रकारिताको अपेक्षाको कुनै अर्थ छैन। उनीहरू पत्रकार होइनन्, मिडियाकर्मी हुन्। उनको काम अखबारको बिक्री तथा समाचार टिभी च्यानलको रेटिङ बढाउनु हो।
आज पत्रकारहरू यो उत्तरदायित्वसँग लड्न चाहन्छन् भन्ने छैन बरु प्रत्येक पत्रकार भविष्यमा म्यानेजरको जिम्मेवारी पाउने अपेक्षा राख्छ। आखिरमा धन्दामा अगाडि बढ्न यो एक खुट्किलो छ।
-बिबिसीबाट