हातमा धारिला भाटा बोकेर एमाओवादी युवा दस्ता वाइसिएलले मंगलबार राजधानीमा जुलुस निकाल्यो। त्यसले नागरिक स्वतन्त्रता पूर्णबहाली गर्ने, नागरिकको मन जितेर राजानीति गर्नेभन्दा बलको भरमा राजनीति गर्ने एमाओवादीको मिचाहापनलाई फेरि एकपटक उजागर गरेको छ। त्रासको राजनीतिप्रतिको मोह उसमा सुषुप्त रूपमा भए पनि बाँकी नै रहेको देखाएको छ।
अर्कोतिर यो घटनाले हाम्रो कानुन र व्यवस्थाको जिम्मेवारी लिएर बसेको राज्यको निरीहपनलाई फेरि नांगो पारेको छ। नागरिकले चौतर्फी यसको विरोधगरे पछि २४ घण्टापछि गृह प्रशासनले ‘आइन्दा यसो गर्न दिइने छैन’ भन्ने लुते बिज्ञप्ति निकालेको छ।
भद्रकालीनिर मोटरसाइकलमा हिँडेका एक युवकलाई ताकीताकी भाटाले हान्दै गरेको दृश्य देखेर कसको मन द्रविभूत हुँदैन? सर्वसाधारणलाई वाइसिएलले लात्ती हानिरहेको तस्बिर देखेपछि लाग्यो- कठै हाम्रो मुलुकमा सामान्य नागरिकको जीवन!
सर्वसाधारणले बैंक लुटेका पैसाले मोटरसाइकल किनेर चढ्ने होइनन्। आफ्नो पसिनाको सुकासुका मिलाएर मात्र सवारी चढ्न सक्षम भएका हुन्छन् ।मोटरसाइकल चढ्न सरकारलाई पाइला-पाइलामा कर बुझाउँछन्। यस्ता सवारीसाधनको मूल्य निर्माता कम्पनीले तोकेकोभन्दा करिब ३ सय गुणा बढी पर्छ, यो देशभित्र।
त्यसरी तिरेको बढी रकम देशलाई करका रूपमा नागरिकले गरेको योगदान हो।त्यसपछि प्रत्येक वर्ष तिनले सडक प्रयोग बापत कर बुझाउँछन्। सार्वजनिक यातायात राम्रो बनाउन राज्यले काम नगरेपछि बाध्य भएर हरेक नागरिक आफ्ना लागि सवारी किन्न बाध्य छन्। नागरिकले सडकमा मोटरसाइकल वा अन्य सवारी चलाएर बेरोकटोक हिँड्न पाउने अधिकारको ग्यारेन्टी खोई?
वाइसिएलको भाटे जुलुस अघिपछि हिँडेका प्रहरी कसको संरक्षणका लागि? अनिधिकृत रूपमा बाटो कब्जा गरेर हिँडेका लाठीधारी वाइसिएलका लागि कि सडकमा सवारी चलाउन पाउने अधिकारको प्रयोग गरिरहेका आम नागरिकका लागि?
सडक सार्वजनिक प्रयोगका लागि बनाइएको हो। त्यो सार्वजनिक स्थानमा एउटा नागरिकमाथि राजनीतिको जामा लगाएको कुनै समूहले आक्रमण गर्छ भने उसलाई राज्यले संरक्षण गर्नु पर्दैन? मोटरसाइकल सवार सामान्य नागरिकमाथि भाटा बजार्ने कुनै वाइसिएलको पाखुरेलाई त्यही जुलुससँगै हिँडेको प्रहरीले पक्रियो?
‘तिमी कर देऊ, म सुरक्षा दिन्छु,’ राज्यले नागरिकसँग गरेको वाचा यही हो कि होइन? अनि खै त नागरिकको सुरक्षा? वा, जसको लाठी उसकै भैंसी !
सडकमा बहादुरी देखाउने वाइसिएलले नागरिकमाथि गरेको ज्यादतीलाई आफ्नो राजनीति लोकप्रिय हुँदै गएको विश्लेक्षण गर्दै होला तिनको माउ पार्टी एमाओवादी।
काम विशेषले सडकमा हिँडिरहेका बेला आक्रमणमा परेका ती युवा यतिबेला के सोच्दै होलान्? त्यो घटनाले उनलाई कति समयसम्म हृदयमा चोट लागिरहला? तिनले फेरि एमाओवादी नामको पार्टीका प्रति सकारात्मक सोच राख्लान्? त्यो दृश्य देख्ने आम नागरिकले सकारात्मक रूपले सोच्लान्?
दलका कार्यकर्ताले नागरिकप्रति अलिकति पनि सम्मान देखाउनु पर्दैन?प्रधानमन्त्री सुशील कोइराला वा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथिको रिस सडकमा नागरिकसँग देखाउनुको के अर्थ हुन्छ? नागरिकमाथि ज्यादति गरेर क्रान्ति गरेको ठान्ने प्रवृत्तिको आधारभूत प्रस्थापनामै समस्या छ।
सडकमा बाँसको भाटाले नागरिकलाई भकुरिरहेको दृश्यले मलाई भने त्यही सडकमा नागरिकलाई होच्याउँदै सुरक्षाका अगुवापछुवा लगाउँदै हिँड्ने नेता र मन्त्रीहरूको सम्झना गरायो। प्रत्येकपटक तिनले राता संकेतबत्ती बाल्दै नागरिकलाई परपर जान धम्क्याइरहेको देखिन्छ। वाइसिएलले अहिले सडकमा गरेको जस्तै दृश्य गर्दै जाने हो र नागरिकप्रति सुरक्षाकर्मीले नेताहरूको सुरक्षाका नाममा सम्मानहीन प्रदर्शन गर्दै हिँड्ने हो भने त्यसले कुनै दिन सडकमै नराम्रो दुर्घटना निम्त्याउन सक्छ।
एमाओवादी भ्रातृ संगठनको यो लाठी जुलुस देखेपछि सामाजिक सञ्जालहरूमा विभिन्न प्रतिक्रिया देखिएका छन्। तर, एमाले सभासद् रविन्द्र अधिकारीको ट्विट पढेपछि भने मैले यो आलेख नै लेख्ने निर्णय गरेको हुँ। अब यो विषयमा नलेखी हुन्न भन्ने लागेको हो।
सभासद अधिकारी लेखेका छन्- बन्दुकबाट लट्ठीमा रूपान्तरण सामान्य कुरा होइन। माननीयज्यू, यसमा मैले कुनै ठूलो रूपान्तरण देखेको छैन। मूल प्रश्न त्रासको राजनीतिको हो।
यस्तो धारिलो भाटाले हान्नेबित्तिकै मान्छे मर्दैन, बन्दुकले त मान्छे मरिहाल्छ भन्ने तर्कको कुनै अर्थ छैन। बन्दुक उज्याए पनि लाठी उज्याए पनि आक्रमण मान्छेको स्वाभिमानमाथि हो।
हामी अझै लोकरिझ्याइँमै छौं। ‘एमाओवादी हिजो त बन्दुक बोकेर आएको थियो, आज भाटा मात्रै बोकेर आयो, क्याबात!’ भन्नु पर्ने अवस्था होइन यो। तपाईंहरू आफैं विधायक हुनुहुन्छ। लौ भन्नुहोस्- मुलुकको कानुनले यसरी जुलुस लगाउन दिन्छ?
हामी देश दुनियाँमा आएका परिवर्तनका कुरा गर्छौं। अमेरिका, बेलायत, सिंगापुर आदिजस्तो हुनुपर्छ भन्न पनि छाड्दैनौं। अमेरिका, बेलायत वा सिंगापुरमा कुनै पार्टीले लाठी जुलुस निकाल्न पाउँछन्? यस्तो भयो भने त्यहाँका नागरिकले कस्तो प्रतिक्रिया देलान्? त्यसमा पनि स्थानीय प्रशासनको अनुमतिबेगर कसैले सडकमा जुलुस निकाल्ने कल्पनासमेत गर्न सक्दैन।
प्रहरी सडकमा तमासे भएर बस्न मिल्दैन। यस्ता हतियार लिएपछि तिनलाई निःशस्त्र गर्नुपर्छ। हाम्रो गृह प्रशासनमा कुनै ह्याउ छैन। प्रहरीलाई टाउको दुखाउनु नै किन र? भोलि सडकमा गुण्डागर्दी गर्नेलाई त्यही प्रहरीले सलाम ठोक्नु पर्छ। घटना तिनलाई चलाउने नेतासम्म जोडिन पुग्छ। त्यसैले यो लफडामा किन परिरहने? ऊ आरामसँग जागिर खान्छ।
सडक किनारामा मुसुमुसु हाँस्दै नागरिकमाथिको हुर्मत हेरिरहन्छ। बन्द/हड्तालका बेला एकाध मानिस हातमा लट्ठी लिएर बसेका हुन्छन्, तिनैको डरले बन्द हुन्छ।
आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर गृह प्रशासक हुने हो भने सडकको यो ज्यादती रोकिन्थ्यो। एमाओवादी नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला तत्कालीन गृहसचिव लीलामणि पौडेलले भने लाठी जुलुसमा रोक लगाएका थिए।
उनले यसलाई हतियारकै रूपमा चित्रण गरेर देख्नासाथ प्रहरीलाई खोस्न आदेश दिए। त्यति मात्र होइन त्यो बेला रत्नपार्कमा मसाल जुलुस निकाल्नसमेत रोक लगाइएको थियो। बडो जिम्मेवारी र दृढतापूर्वक उनले यसो गराएका थिए। उनले काठमाडौंको जिम्मेवारी लिएका प्रहरी, प्रमुख जिल्ला अधिकारीलगायतलाई सँगै राखेर आवश्यकता पर्नासाथ आदेश दिने व्यवस्था मिलाएका थिए। त्यसरी दिएको आदेशको अभिलेखसमेत राखिएको थियो। त्यसो हुँदा भोलि सडकमा ज्यादती गरेर अरु कसैको नाम लगाइदिने अवस्था आउन नदिन उनले जिम्मेवारी आफ्नो काँधमा लिएका थिए।
नागरिक जीवनप्रति मन्त्रालय, स्थानीय प्रशासन र प्रहरी संवेदनशील हुने हो भने कानुनको पालना गर्न गराउन गाह्रो छैन। अचेल नेपालीहरू विदेशमा कामका लागि मात्र गएका छैनन्, त्यहाँको काइदा, कानुन र अनुशासन पनि सिकेर आइरहेका छन्। कानुन पालना गर्न नागरिक तयार छन्। आखिर यही प्रहरी हो, जसले मादकपदार्थ सेवन गरी सवारी चलाउन नपाइने ‘मापसे’ अभियान सफल बनायो। दुई/तीन वर्षमै नागरिकमा पिएर सवारी चलाउनु हुन्न भन्ने चेत पसिसकेको छ।
हिजो भाटे जुलुस निकाल्न दिने सरकारले भोलि अरु कसैलाई रोक्न सक्दैन। यस्तो उछृंखल व्यवहारलाई आन्दोलन मान्न सकिन्न। प्रजातन्त्र भनेको बाहुबल, हुलहुज्जत र नागरिक जीवनलाई असर पार्नु होइन। यो अत्यन्तै सभ्य शासन व्यवस्था हो।
बल भएका र दलको सदस्यता लिएकाहरूले जे गर्न पनि पाएकै कारण आज तेजाब (एसिड) हाल्नेजस्ता जघन्य अपराध राजधानीमा पनि हुन थालेका छन्। हाम्रो प्रहरी प्रशासनका निम्ति यो ठूलो लज्जाको विषय हो, जसले घटनाको चार दिन बितिसक्दा पनि अपराधीलाई पक्रन सकेको छैन। नागरिकलाई लाठो हान्नु र तेजाब हाल्नु उस्तै हो। दुवैले नागरिकको जीवनलाई क्षति पुर्याउँछ।
सडकमा दलका कार्यकर्ताले एउटा सर्वसाधारणमा दिनदहाडै भाटा हान्दा बेवास्ता गर्ने प्रहरी प्रशासनको डर ती तेजाब हाल्नेहरूलाई कसरी हुन सक्छ र? कानुन हातमा लिएर सजिलै उम्किन सकिन्छ भन्ने आँट ती आततायीलाई परेको छ।
नागरिकले सहभागिता जनाउन नचाहेका आन्दोलनमा समर्थन रहेको देखाउन बाँसका भाटा बोकेर गरिने यस्ता आतंककारी गतिविधिमा रोक लाग्नु पर्छ।
गृह प्रशासनले तत्काल शान्ति सुरक्षा दिन नसकेकोमा वाइसिएलको लाठी खानेहरूसँग माफी माग्नुपर्छ। तिनलाई उपचार, आवश्यक क्षतिपूर्ति र नागरिकमाथि बेइज्जतिपूर्वक लात्ती र लाठी बर्साउनेहरूमाथि कडा कारबाही हुनुपर्छ। यो घटनाका निम्ति एमाओवादी पार्टीले माफी माग्दै आइन्दा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्नुपर्छ।
लाठीले समर्थन आउँदैन। फेरि हामी बन्दुक बोक्छौं भनेर घुर्की पनि कसैले नलाए हुन्छ। अब नागरिक चेतनाले हिजोको अवस्था दोहोरिन दिने छैन। मेरो चुनौती छ- एमाओवादी पार्टीले सर्वेक्षण गरेर हेरोस्, भद्रकालीमा युवाहरूमाथि गरेको ज्यादती कति नागरिकले मन पराए वा कति डराए। ‘आम आदमी’माथि अब भाटा-भयको राज सम्भव छैन। एमाओवादीले यो सामान्य कुरा जति चाँडो बुझ्छ, त्यति चाँडै उसले आफूलाई रूपान्तरण गर्ने ऊर्जा बटुल्ने छ। होइन भने नागरिकले अर्को चुनावमा भाटे होइन, झन् निर्मम ‘भोटे’ (भोटको)कारबाही गर्ने छन्।