भारतीय आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालको जस्तै विचार बोकेका कुबेर शर्माले नयाँ शक्तिका रूपमा उदाउने भन्दै ‘हरियाली नेपाल’ नामको पार्टी खोलेका थिए। अहिले कुबेर शर्मा कहाँ छन् थाहा छैन। चितवनमा चार मनुवा मिलेर पत्रकार सम्मेलन गर्दै ‘असली माओवादी त हामी हौँ नि’ भनेछन्, त्यो पनि नयाँ शक्ति नै होला।
बहुजन समाज पार्टी, समाजवादी गरिब पार्टी, नेपाल जनहित पार्टी, नेपाल सुरक्षा पार्टी जस्ता कैयौँ पार्टी दल खोल्न पाउने अधिकारको प्रयोग गर्दै निर्वाचन आयोगमा दर्ता भएको पाइन्छ। अहिले यिनीहरूको अस्तित्व कोराकागजमा समेत भेट्न सकिँदैन। ती पनि अनेक ‘धारणा’ बोकेका नयाँ शक्तिहरू थिए।
पोर्चुगिज आर्टिस्ट ‘पाउलु कोएलु’ले भनेका छन्, ‘यो संसार तिम्रो धारणाले मात्र चल्दैन, संसार त तिमीले काम गरेर देखाउन सकेको उदाहरणबाट मात्र चल्न सक्छ।’ कोएलु जे-जस्तो भने पनि ‘काला गए, गोरा आउँछन्’ भन्ने नेपाली मानसिकताबाट हामीले छुटकारा पाउन सकिरहेका छैनौँ।
नेपालमा नयाँ शक्तिको आवश्यकता पनि ‘काला गए, गोरा आउँछन्’ भन्ने मानसिकताबाट गुज्रिएको देखिन्छ। यद्यपि कालो हटाएर गोराको आवश्यकता ठानिएको छ वा गोरा हटाएर फेरि कालो ल्याउने कोसिस हुँदैछ- यसै भन्न सकिन्न।
पछिल्लो समय नयाँ शक्तिबारे बिबिसीका पत्रकार रविन्द्र मिश्रको विचार धेरै पढ्न पाइन्छ। डा. बाबुराम भट्टराईलाई पनि पढ्न पाइन्थ्यो, अहिले उनी शान्त छन्। कमरेड प्रचण्डको बाहुलीबाट अध्यक्ष पद फुत्काउने जुक्तिलाई मानिसले बाबुरामको नयाँ शक्तिका रूपमा बुझेका हुन्।
रविन्द्र मिश्रको एउटा अभियान थियो- भ्रष्टाचारीलाई किरा परोस्। नागरिक तहबाट भएको यो एउटा सशक्त प्रयासले निरन्तरता पाउन भने सकेन। अहिले मिश्र परोपकारी पत्रकारिताका माध्यमबाट जनहितका सेवामूलक काम गर्दैछन्। यी दुवै जोडदार ‘स्टन्ट’ नयाँ शक्ति जन्माउने राजनीतिक आधार हुन् कि होइनन् भगवान् जानुन्। लोकवासीले त शंका गरिसके है मिश्रज्यु!
आजभोलि मुलुकको राजनीतिक वृत्तमा नयाँ शक्तिको बहस भइरहँदा पुरानो शक्तिको असफलताबारे विवेचना हुन आवश्यक देखिन्छ। आफ्नो पुरानो लुगा फाट्यो भन्दैमा कम्मरको साइज ननापेर नयाँ लुगा छान्दा फस्नरमाथिको टाँक लगाउन मुस्किन हुन सक्छ। बेल्टको सन्तुलनसमेत बिग्रन सक्छ। अन्यथा जिरोबाट हिरो हुने रहर कसलाई हुन्न र?
उदाहरणका लागि, बिहारमा नितिशकुमार पुन: मुख्यमन्त्री बनेका छन्। बिहारी जनतालाई यसपालिसम्म कुनै नयाँ शक्तिको आवश्यकता परेन। बेलायतको राजतन्त्र नेपालमा जस्तो कहिल्यै पुरानो शक्ति हुन सकेन। चिनियाँ कम्युनिस्ट पार्टीको बदलामा अर्को नयाँ शक्तिको आवश्यकता भएको पनि देखिँदैन। आजको स्थिर बेलायत अनि विश्वलाई आर्थिक प्रगतिको नयाँ दिशा प्रदान गरेको चीनबाट हामीले कुनै पाठ सिक्नु पर्छ कि पर्दैन?
कुनै न कुनै रूपबाट विकासको फड्को नमारेसम्म राजनीतिक परिवर्तन भइरहने कुरा त सत्य हो तर राजनीतिक परिवर्तन हुनासाथ राज्यव्यवस्था र संयन्त्र नै परिवर्तन हुनुचाहिँ आजको नेपालले भोग्नु परिरहेको रोग, शोक अनि भोकको चुरो कारण हो। झुसिल्किरा नबनेसम्म पुतली बन्न सकिँदैन। पखेंटाबिना हावामा उड्न कहाँ सकिन्छ?
अब यहाँनेर, पुरानो र नयाँ शक्तिबारे केही विवेचना गरौँ।
राणाशासनका असफलता के-के थिए? के राजतन्त्र सफल भयो? पञ्चायतकालका असफलता के-के थिए? के प्रजातन्त्र सफल भयो? राजसंस्थाका असफलता के-के थिए? के गणतन्त्र सफल भयो? यिनै सफलता अनि असफलता राज्यव्यवस्था तथा पद्धतिहरूको बीचमा हाम्रो गरिबी, अशिक्षा, भोकमरी, बेरोजगारी, राष्ट्रियता, अखण्डता, सार्वभौमिकता अनि देशप्रेम लुकेको देखिन्छ।
त्यसैले नयाँ शक्ति भनेको के हो बुझ्नु आवश्यक छ। त्यसै साँझबिहान नयाँ शक्ति-नयाँ शक्ति भनेर कराएर हुँदैन। मानिसले कल्पना गरेजस्तो कायापलट वा चमत्कार गर्ने शक्ति वा सामर्थ्यको सिद्धान्त नयाँ शक्तिभित्र पर्दैन। नेपालमा नयाँ शक्तिको निम्छरो बहस भए पनि त्यसको प्रभावकारी विकल्प देखिँदैन।
राणाशासनसँग डराउने, पञ्चायती शासनलाई जिस्काउने, राजतन्त्रलाई घुँडा टेकाइयो भनेर गर्व गर्ने, प्रजातान्त्रिक अधिकारहरूलाई खिसिटिउरि गर्ने, गणतन्त्र असफल भइसक्यो भनेर कराउने, के अब नेपालमा जनवादी व्यवस्था चाहियो? कि भर्खरै चराजस्तै उडेर साम्यवादमा पुगुँ-पुगुँ लाग्यो?
राजनीतिमा जनताको निरपेक्ष सन्तुलन रहन्छ। कुनै एक राजनीतिक दर्शनको सन्तुलन गुमे पनि बलियोसँग जरा गाडेको विचारलाई सजिलोसँग विस्थापन गर्न सकिँदैन। विचारलाई बहुमत अनि अल्पमतचाहिँ बनाउन सकिन्छ। पुरानो शक्तिको ठाउँमा नयाँ शक्तिको जन्म भए पनि विचारभन्दा बाहिर बसेर न दुनियाँमा राजनीतिक विकास भएको देखिन्छ, न कोही नेता बन्न सक्छ, त्यसैले बुद्धिजीवीहरू दु:खी मानिस हुन्।
नेपाली राजनीतिको चरित्र ‘डायनामिक’ देखिन्छ। जस्तो कि ८२ प्रतिशत हिन्दु रहेको नेपालमा कमल थापाको राप्रपा नेपालजस्तो हिन्दुवादी पार्टीले कहिल्यै बहुमत प्राप्त गर्न सकेन। एकल जातीय पहिचानसहितको संघियतालाई जनताले रुचाएका छैनन् भन्ने विभिन्न आँकडा बाहिर आउँछन् तर चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाले देशभरिबाट जम्मा १ सिट जित्छ। इमान्दार नेता मानिएका नारायणमान विजुक्क्षेको नेपाल मजदुर किसान पार्टी सधैँभरि गुमनाम रहन्छ।
२०५२ सालपछाडि नेकपा माओवादी नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा उदायो। खुला राजनीतिमा माओवादी एक दशक पनि टिक्न नसकेको परिस्थिति देखिन्छ। २००७ सालमा प्रजातन्त्र उदाउँदा नेपाली कांग्रेस पनि पुरानो पार्टी थिएन। राणाशासनलाई क्यान्सरका रूपमा किटान गरेका नेताहरू स्थापित बने।
यो नेकपा एमाले भन्ने ‘जिनिस’को आफ्नै लामो रामकहानी छ। कमरेड केपी ओली साम्राज्यको ‘झापा-सेक्टर’ काण्डबारे यहाँनेर उल्लेख नगरौँ होला। रात रहे, अग्राख पलाउँछ भन्छन्।
राणाशासनको अन्त्यसँगै प्रजातन्त्र आयो। जनतालाई लेखपढ अनि मन लागेका कुरा बोल्ने अधिकार प्राप्त भयो। जनताको जिब्रो काटिनबाट जोगियो। तर, कोइरला परिवारको फोबियाबाट कांग्रेस सदस्यहरू आजसम्म पनि जिब्रो नकाटिए पनि काटिएजस्तै छन्। कार्यकर्ताको रायसुझाव र सल्लाह सभापति सुन्दैनन्, बुझ्दैनन्। यो प्रजातन्त्र नामको ‘जिनिस’ कांग्रेसजनका निम्ति राणाशासनजस्तै छ।
राजतन्त्रलाई घुँडा टेकाएपछि सिस्नुको पातमाथि पनि बिजुली बालेर देखाइदिने चर्को कुरा गर्ने माओवादी ‘नुन खाएर मरेको भाले’जस्तो भइसक्यो। केही वर्षपछि कसैले एउटा माओवादी भेटियो भने क्यान्सरको दबाइ हुन्छ रे भन्यो भने पनि माओवादी भेटिन्न। करिब २५० वर्ष पुरानो राजतन्त्रलाई आफैँले त्याग गर्नु परे पनि पूर्वराजा ज्ञानेन्द्रको मुहार माधव नेपाल र बाबुरामको भन्दा उज्यालो देखिन्छ।
यस्तो भद्रगोल अवस्थामा के विप्लव माओवादी नयाँ शक्तिका रूपमा उदाउन सक्ला?
४३ करोड डलर निजी सम्पत्तिका मालिक भारतीय व्यवसायी मुकेश अम्बानीले स्विस बैंकमा कालोधन जम्मा गरेको भन्दै आम आदमी पार्टीका नेता केजरीवालले ‘आजतक’ टेलिभिजनलाई अन्तर्वार्ता दिँदा भनेका थिए- मेरे पास अम्बानी साहेबका स्विस बैंक एकाउन्ट नम्बर भी है, उन्हो ने कालाधन सञ्चित किया है।
यस भनाइको सामान्य अर्थ केजरिवाल नयाँ शक्तिका रूपमा उदाउनुको मुख्य कारण उनले कुनै पनि शक्तिशाली भ्रष्ट्राचारीसँग ‘कम्प्रमाइज’ गर्न नचाहेको देखिन्छ। प्याज, तेल, इन्धन, रासनपानी तथा विद्युत् जस्ता अत्यावश्यक वस्तुलाई सस्तो, सुलभ र सहज बनाइदिने काममा केजरिवाल अगाडि नै देखिन्छन्।
नेपालमा पनि विप्लव माओवादीको कतिपय कार्यशैली करिब-करिब केजरिवालको जस्तै देखिन्छ। कानुनी राज्यको पालना नगरी विधि र पद्धतिको उपहास गरेका कारण विप्लव माओवादीको कदम खल्लोमात्र लागेको भनेर बुझ्न सकिन्छ। सयौं कार्यकर्ताले अख्तियार घेरेर ठूला माछालाई समात्न दबाब दिने कामलाई नराम्रो संकेतका रूपमा बुझ्नु हुँदैन।
साथै विप्लव माओवादीसँग ठूला भ्रष्टाचारीहरूको नामावली टिपोट पनि छ भनेर सुन्नमा आँउछ। यसलाई कतिपय माओवादी नेताहरू ‘विप्लवको हिटलिस्ट’ भन्न रुचाउँछन्। यद्यपि को-को हुन्? त्यो हिटलिस्टबारे खुलस्त हुन नसक्दा खुद प्रचण्ड-सुमार्गी केमेस्ट्रीलाई समेत निकै तनाव छ।
दैनिक रूपमा नागरिकलाई नभई नहुने ग्यासमा विप्लव माओवादीको चासो देखियो। विप्लव माओवादीले केही निजी ग्यास डिपोमा छापा मारेर नागरिकलाई ग्यास बाँड्यो। डिपोभित्र छिरेर कानुनविपरीत ग्यास निकाल्दा पनि प्रहरी, प्रशासन चुपचाप थिए। के चुप लागेर बस्नु माथिको आदेश थियो?
गोप्य सूचनालाई आधार मान्ने हो भने सार्क सम्मेलनभन्दा केही दिनअगाडि गडबड हुन सक्ने भन्दै गृहमन्त्री बामदेव गौतमले विप्लवलाई समातेर केहीदिन सुरक्षित ठाउँमा राख्ने योजना बनाइरहेका थिए। यो कुरा प्रचण्डलाई सोध्दा उनले सहमति नजनाई उल्टै विप्लवलाई समात्नु हुँदैन झन् स्थिति डरलाग्दो बन्न सक्छ भनेपछि बामदेव हच्किएको बुझिन्छ। यही समयको पेरिफेरिमा बामदेवका सल्लाहकार प्रदिप नेपालले राजीनामासमेत दिएका थिए।
विप्लवलाई समातेर ‘हिरो’ बनाउन नहुने तर्क एमाले नेताहरूले प्रकट गर्नु, अनि प्रचण्डसमेतले विप्लवलाई समात्न नहुने सुझाव दिनुका पछाडि नेपाली राजनीतिक वृत्तभित्र कहीँ न कहीँ ‘विप्लवफोबिया’ वा निकट भविष्यमा नै नयाँशक्ति जन्मन सक्ने डर उत्पन्न भएको बुझ्न सकिन्छ।
कहिलेकाहीँ बाबुराम भट्टराई अनि जनार्दन शर्मा प्रभाकरहरू भन्ने गर्दछन्- बम, गोला बारुद जम्मा गरेर अझ ५० वर्ष लामो युद्ध गर्न पनि तयार छौँ, हामीले नगरे पनि कोही न कोहीले त गर्छ।
बाबुराम र विप्लवबीच घनिष्ट सम्बन्ध भएको तथा प्रचण्डलाई एक्लो बनाउन यी दुवै नेताबीच बेलाबेलामा अस्वस्थ सम्बन्ध हुने गरेको तथ्यलाई अकाट्य सत्य भन्न सकिन्छ। यसको अर्थ के विप्लव माओवादीलाई नयाँ शक्तिका रूपमा अगाडि बढाउन स्वयं संस्थापन माओवादी पनि चाहन्छ त?
विप्लव माओवादीले घोषित रूपमा संसदीय व्यवस्था मान्न नसकिने नीति अगाडि सारेको छ। उनीहरूले यस्तो किसिमको व्यवस्थालाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था’का रूपमा बुझेका छन्। प्रत्येक नेपालीलाई सैनिक तालिम दिने भनेपछि त सक्किएन र? एकीकृत जनक्रान्तिमार्फत् जनसत्ता निर्माण गर्ने विप्लव माओवादीको भित्री चाहनासमेत खुलिसकेको छ। यस्तै हो, नयाँ शक्तिको चाहना?
कहिलेकाहीं नेता मोहन वैद्य किरण तथा रामबहादुर थापा बादलहरू भन्ने गर्छन्- विप्लवलाई विदेशीहरूले उक्साइरहेका छन्। विप्लवको विदेशीहरूसँग साँठगाँठ छ।
यो आरोपलाई विप्लव स्वयंले कैयौंपटक स्विकार गरिसकेका पनि छन्। उनी विदेशीहरूको समर्थन जुटाउन बाक्लो भेटघाटमा छन्। हतियार सहितको राजनीति गर्ने योजना बनाइरहेको विप्लव माओवादीलाई विदेशीहरू किन सहजै भेट दिन्छन्?
के यी सबै रहस्यमय गतिविधि नेपालमा नयाँ शक्ति जन्माउने योजनामा हुँदैछैन?