नेपालमा मेडिकल शिक्षाको बहस अहिलेसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने कि नदिने, दिँदा कहाँ र कसरी दिने र तिनलाई कसरी नियमन गर्ने भन्ने विषयको वरिपरि घुमिरहेको छ। तर, हाल कायम मेडिकल कलेजहरूको गुणस्तर सुधारबारे उचित मात्रामा बहस हुन सकेको छैन, जबकि यो पनि उत्तिकै महत्त्वको विषय हो।
अहिले भएका निजी मेडिकल कलेजमध्ये धेरैमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको न्यूनतम आवश्यकता पनि पूरा भएको छैन। यसमा काउन्सिल र विश्वविद्यालयजस्ता नियामक निकायहरूसमेत सहमत छन्। भौतिक पूर्वाधार त बरु पछिल्लो समयमा देखाउनै भए पनि धेरै मेडिकल कलेजले बनाइरहेका छन् तर दक्ष जनशक्ति र बिरामीको चाप सन्तोषजनक छैन।
नेपालका निजी मेडिकल कलेजहरू कति नाजुक हालतमा चलेका छन् भन्ने बुझ्न एउटा सामान्य तथ्य हेरे पुग्छ- एउटा कक्षाकोठामा कतिसम्म विद्यार्थी राखेर पढाउँदा पढाइ प्रभावकारी हुने हो?
सामान्यतः ४० देखि ४५ वा बढीमा ५० जनासम्म विद्यार्थी एउटा कक्षामा राखेर पढाउने चलन हुन्छ। नेपालमा झैं योग्य र दक्ष चिकित्सक-शिक्षकहरू कम भएको अवस्थामा त्यत्रा सरदर कक्षाको सिकाइ पनि कति प्रभावकारी होला भन्ने प्रश्न त आफ्नो ठाउँमा छँदैछ। तर, एकै ठाउँमा १५० विद्यार्थी कोचाकोच गरेर पढाइयो भने के होला?
कुरा स्पष्ट छ- त्यो पढाइ मानविकी संकायका सरकारी कलेजहरूमा झैं हुन्छ, एकाधले सुन्छन् र बुझ्छन् बाँकी सबैले एक घन्टाको समय जसोतसो कटाएर निस्कन्छन्।
मेडिकल शिक्षामा प्रत्येक विषयको प्रत्येक अध्याय उत्तिकै महत्त्वपूर्ण हुन्छ। एउटै तथ्य वा सीप हासिल गर्नबाट विद्यार्थी चुक्नु भनेको बिरामीको ज्यान जोखिममा पार्नु हो। यस्तोमा डेढ सय विद्यार्थीलाई एउटै कक्षामा कोचेर पढाउँदा के होला?
लेक्चर त माइक प्रयोग गरेर सबैका कानमा पुर्याउन सकिएला तर हातले काम गरेर सिक्ने सीपहरू हुलमूलमा प्रत्येक विद्यार्थीले कसरी सिक्लान्? सैद्धान्तिक पढाइ त पुस्तकै नछोएर गाइड पढेर पास गर्ने विद्यार्थीहरूको अधिकता भइसक्यो। व्यावहारिक रूपमा सीप हासिल गर्ने बेला भिडमा पछि लुकेर बस्ने विद्यार्थीको पनि अधिकता भयो भने के होला?
नेपालमा मेडिकल शिक्षाको बहसमा सञ्चार माध्यमहरूले राम्रो भूमिका खेलिरहेका छन्। मिडियाका मित्रहरूलाई म के आग्रह गर्छु- प्रत्येक मेडिकल कलेजमा कति विद्यार्थी छन्? कतिवटा सेक्सन चलिरहेका छन्? यदि एउटै सेक्सन हो भने झन्डै सय सिट भएका दर्जन जति मेडिकल कलेजहरूमा कसरी कक्षाकोठाको पढाइ हुन्छ? यस्ता विषय बाहिर आउन जरुरी छ।
विद्यार्थीले कक्षाको पढाइ कत्तिको बुझ्छन्? नबुझेको कुरा शिक्षकलाई सोध्न कत्तिको सहज हुन्छ? प्रत्येकले बिरामी छोएर सिक्नु पर्ने प्राक्टिकलको पढाइमा कतिजना विद्यार्थी एउटा ग्रुपमा हुन्छन्? तिनको सिकाइका लागि कति बिरामी उपलब्ध छन्? कतै बिरामीलाई हातै नलगाई डिग्री लिने विद्यार्थी त छैनन्?
यो अवस्थामा ६० देखि ७० प्रतिशत विद्यार्थी बोर्ड परीक्षामा फेल हुनु सामान्य हो। केही दिनअघि आएको धेरै मेडिकल कलेजको नतिजा त्यस्तै थियो। ती फेल हुनेहरूले अब अर्को नयाँ वर्षका लागि पढ्ने हुन् कि अघिल्लो फेल भएको वर्षका लागि?
बुझिनसक्नुको कुरा त के छ भने यस्तो हालत र नतिजा आउँदाआउँदै काउन्सिल र विश्वविद्यालय के हेरेर बसेका छन्? के गुणस्तरीय चिकित्सक उत्पादन गर्ने तिनीहरूको जिम्मेवारी होइन?
गाली मात्र गरेर समस्याको समाधान हुँदैन। यदि काउन्सिल र विश्वविद्यालयले साँच्चिकै गुणस्तर कायम गर्न चाहन्छन् र आफ्नो जिम्मेवारी निभाउन चाहन्छन् भने उनीहरूलाई मेरो एउटा सरल सुझाव छ- ५० भन्दा बढी सिट हुने सबै मेडिकल कलेजमा गएर हेर्नोस्- कतिवटा सेक्सन चलेका छन्। जहाँ एउटै सेक्सन छ (अहिलेको कुरा गर्दा सबै मेडिकल कलेजहरूमा), तिनलाई अबको सेसनमा ५० भन्दा बढी सिट नदिनोस्।
त्यसपछाडि तिनले भौतिक पूर्वाधार, जनशक्ति र बिरामीको चाप तीनै कुरामा सुधार गर्दै गए भने त्यसैअनुसार सिट थप्दै जानोस्, नत्र त्यति नै राख्नोस् वा अवस्था बिग्रँदै गयो भने अझ घटाउँदै जानोस्। तिनलाई लिलाम बढाबढमा विद्यार्थी भर्ना लिन नदिनोस्, आइओएमले जसरी महाराजगञ्जका लागि मेरिटमा विद्यार्थी लिन्छ, त्यसरी नै अब्बल विद्यार्थी मात्र छानेर निजीमा पनि पठाओस्, शुल्कमा एकरूपता गरेर तत्काल अहिलेको मनोमानी रोकियोस्। त्यस्तै केयुले अहिले जसरी पिजीलाई गर्छ, त्यसरी नै एमबिबिएस र बिडिएसलाई पनि मेरिटमा विद्यार्थी पठाओस्।
यति गर्ने हो भने एकै वर्षमा हाम्रो चिकित्सा शिक्षा क्षेत्रको कायापलट हुन्छ। योग्य र सक्षमले पढ्न पाउँछन्। अयोग्य र पाँचपटक फेल हुनेहरू यहाँ छिर्न सक्दैनन्।
साँच्चै भन्ने हो भने यसो गर्दा ती कमजोर विद्यार्थीहरूको पनि कल्याण हुन्छ। निजी मेडिकल कलेजको लहैलहैमा लागेर फसेर डाक्टर बन्न आएका अनि फेल भएर वा पढ्नै नसकेर बाहिरिएका विद्यार्थीहरूको पीडा के हुन्छ? तिनका बाबुआमाको लगानीको के हुन्छ? कसैले सोचेको छ? आजको जमानामा राम्रो गर्न मेडिसिन नै पढ्नुपर्छ भन्ने छैन, रुचि अनुसारका अनेक विषय छन्।
सरकार र माफिया मिलेर मलाई चुप लागेर बस्न देलान् जस्तो छैन। सरकारले पहिले सम्झौता त गर्यो तर अब ती सम्झौता भंग गर्न चर्को तत्परता देखाइराखेको छ। चिकित्सा विश्वविद्यालयसम्बन्धी सम्भाव्यता अध्ययन समितिले रिपोर्ट बुझाएको र त्यसलाई कार्यान्वयन गर्नू भनेर मन्त्रिमण्डलले निर्णय गरेको डेढ महिना भइसक्यो। तर, काम गर्नुपर्ने शिक्षा मन्त्रालय आफैं चोर बाटोबाट सम्बन्धन दिने प्रपञ्चमा व्यस्त छ। अख्तियारदेखि अदालतसम्म सबैतिरबाट माफियाहरूले छुट पाइरहेका छन्। काउन्सिल र विश्वविद्यालय पदाधिकारीका त कुरै छाडौं, त्रिवि उच्च पदाधिकारी अहिले पनि कसरी आइओएम टुक्र्याएर नयाँ सम्बन्धन दिन पाइएला भनेर ढुकेर बसिरहेका छन्।
जसले जे गरे पनि म चुप लागेर बस्ने कुरा हुँदैन। एउटा नागरिकका रूपमा मेरो कर्तव्य के हुन्छ र मैले के गर्नुपर्छ भन्ने मलाई थाहा छ। अहिले म केही भन्दिनँ तर मेरो कर्तव्य पूरा गर्न म जहिले पनि तत्पर छु।
हामीले अब फेरि नयाँ चरणको आन्दोलन सुरु गर्यौँ भने नयाँ मेडिकल कलेजको सम्बन्धन मात्र त्यसको मुद्दा बन्दैन। पुरानै मेडिकल कलेजहरूमा जसरी मनपरी धन्दा चलेर मेडिकल एजुकेसनको क्वालिटीमा कम्प्रोमाइज भइराखेको छ, त्यसलाई अब बन्द गर्नैपर्छ।
कुन-कुन मेडिकल कलेजले कति विद्यार्थीलाई कतिवटा सेक्सनमा र प्राक्टिकलमा कति जनाको समूहमा पढाइराखेका छन्? काउन्सिलका अहिलेका नियम एउटा क्लासमा कति विद्यार्थीका लागि भनेर बनाइएको हो? विद्यार्थी बढेपछि फ्याकल्टी कति बढ्नुपर्ने हो? सिट बढाउँदै मात्रै जाने हो भने अनि काउन्सिल, आइओएम र केयुले अनुगमनको नाटक किन गर्नु पर्यो।
अनुगमन गुणस्तरकै लागि गर्ने हो भने यसपालि सिट बढाइएका कलेजहरूले केकस्ता सुधार गरेका हुन्।
कक्षामा पढाइ हुन्छ कि हुँदैन? उनीहरूले टेक्स्टबुक पढ्छन् कि गाइड? मैले त सुनेको छु, कति मेडिकल कलेजमा कति विषयका एउटा पनि शिक्षक छैनन्। बाहिरबाट एउटा शिक्षक आएर दुई हप्तासम्म बिहानदेखि बेलुकासम्म एउटै विषय पढाएर कोर्स खतम गरेर जान्छन् अनि अनुगमनका बेला १५ जना ‘खडेबाबा’ प्रोफेसरहरू खडा हुन्छन्। त्यस्तो पढाइ कति बुझिन्छ? वास्तवमा यो सब भ्रष्टाचारका सबैभन्दा पीडित त विद्यार्थी हुन्। उनीहरूलाई थाहा छ कि छैन- कसरी पचासौं लाख तिरेर पढेको कोर्सले उनीहरूलाई धोका दिइराखेको छ।
स्थिति यस्तै रहिरह्यो र गाइड पढेर बिरामी नदेखी विद्यार्थीहरू डाक्टर भइराखे भने भोलि बिरामी हुँदा त डाक्टरकहाँ जानुपर्छ नि। अनि त्यहाँ त्यस्तै डाक्टरको फेला परियो भने के हुन्छ? त्यही भएर त भन्छु- लडाइँ हाम्रो मात्रै होइन, सुलभ र स्तरीय स्वास्थ्य सेवाका लागि सबै नेपालीहरूको लडाइँ हो।
हाम्रो ठाउँबाट हामीले के गर्नुपर्ने हो, हामीलाई थाहा छ। मिलेर गर्यौँ भने यो काम अझ सजिलो हुन्छ।