राजनीतिक आन्दोलनका समयमा एउटा समूह सधैं असहिष्णु रूपमा प्रस्तुत हुने गर्छ। त्यसको मारमा यदाकदा निर्जीव सालिक र ऐतिहासिक स्मारकहरुसमेत पर्ने गर्छन्।
यस्तो असहिष्णुता हामीकहाँ मात्रै नभएर पश्चिमा राष्ट्रहरूमा पनि हुने गरेको हामीले देखेका छौं।
सन् १९९१ मा सोभियत संघ बिखण्डन भयो। ७४ वर्षसम्म महाशक्ति राष्ट्रका रूपमा रहेको एउटा विशाल साम्राज्य टुक्रिएर १५ वटा स्वतन्त्र राज्य बने। संक्रमणकालीन रुसलगायत केही पूर्व सोभियत गणराज्यहरूमा एउटा जमात उग्र हुँदै लेनिनलगायत केही बोल्सेभिक नेताहरूको सालिक भत्काउन सुरु गर्यो। यो जमात त्यसैगरी पूर्वाग्रही हुन थाल्यो, जसरी सन् १९१७ को राज्य विप्लवपछि लेनिन र बोल्सेभिकहरू जारशाहीसँग सम्बन्धित सबै कुरा नस्ट गर्ने अभियानमा लागेका थिए।
इतिहासका धरोहर यी स्मारक भावी पुस्ताका लागि सुरक्षित राखिनु पर्छ भन्ने आवाज तीव्र रुरूपमा उठेपछि यो काम तत्कालै रोकियो। भत्काइएका कतिपय सालिक पुन: जीर्णोद्धार गरी सुरक्षित र संरक्षित गर्ने काम तुरुन्तै सुरु भयो।
रुसमा सन् १९१७ मा बोल्सेभिकहरूले राज्यसत्ता हातमा लिएपछि जारकालीन पुराना संरचना निर्मूल गर्ने अभियान नै चलाइएको थियो। हजारौं चर्च, मस्जिद, स्मारकहरू निर्ममतापूर्वक नस्ट गरिए। सयौं वर्ष पुराना ऐतिहासिक नामहरू परिवर्तन गर्दै बोल्सेभिक नेताहरूको नाममा सहर, सडक, विश्वविद्यालय आदि पुन: नामकरण गर्न थालियो।
हाल आएर रुसमा परिवर्तित अवस्थामा सबैजसो सोभियतकालीन नामहरू परिवर्तित भएर पूर्ववत् नामकरण गरिएका छन्। यो प्रकिया सर्वप्रथम रुसको सांस्कृतिक राजधानीको नाम परिवर्तनबाट सुरु गरियो। जारकालीन रुस साम्राज्यको राजधानी रहेको र बोल्सेभिक पार्टीको नेतृत्वमा सन् १९१७ मा समाजवादी क्रान्ति भएको पेत्रोग्राद नगरले लेनिनको मृत्युपछि लेनिनग्राद भन्ने नाम पाएको थियो।
अहिले त्यस नगरका संस्थापक पिटर महान्कै समयमा राखिएको नाम पुन:स्थापित गरी यसलाई सेन्टपिटर्सवर्ग भनिन्छ। यस नगरका मेयर आनातोली साभ्चाकले नाम परिवर्तनबारे नगरस्तरीय जनमत संग्रहसमेत गराई प्रजातान्त्रिक आधारमा पुरानो नामको पुनर्स्थापना गराएका थिए।
रुसमा प्रजातन्त्र स्थापनाको अभियानका बखत मस्कोमा उर्लेको जनलहरको मागअनुसार मस्कोको एक केन्द्रीय चोकमा रहेको देर्जिन्स्कीको सालिक तत्कालीन मस्को मेयर युरी लुझ्कोभ्को आदेशले उखेलिएको थियो। स्टालिनको पालामा विपक्षीको दमनको क्रममा बेनामी चुक्लीको भरमा गिरफ्तार भई बन्दी शिविरमा पठाइएका र मारिएकाहरूको लागि दोषी ठानिन्छन्, केजीबीका संस्थापक देर्जिन्स्की।
उक्त सालिक र सोभियत कालका अन्य स्मारकसमेत विभिन्न स्थानबाट ल्याएर मास्कोमा बनाइएको सालिक पार्कमा सुरक्षित राखिएका छन्। मास्कोमा लेनिनका सबै सालिक कलात्मक रूपमा यथावत् राखिएका छन्। यस परिप्रेक्ष्यमा हाल युक्रेनमा विभिन्न नगरमा रहेका लेनिनका सालिकहरु ढाल्ने र टुक्राटुक्रा पार्ने जुन लहर चलेको छ त्यो शोभनीय देखिँदैन।
यसलाई पत्रकारहरूले रुसी भाषामा स्नेगापाद अर्थात् हिमप्रपातको अनुरूप लेनिनापाद अर्थात् लेनिनप्रपात भन्ने नाम दिएका छन्।
मस्को प्रदर्शनी केन्द्रमा रहेको साम्यवादको प्रतीक मानिने हँसिया-हथौडा लिएका कृषिबाला र मजदुरको भव्य र प्रसिद्ध स्मारक सन् २००३ मा एकाएक उखेलिँदा धेरै मानिसले अचम्म माने। तर केही समयपछि जीर्णोद्धार गरी सो स्मारकलाई पहिलेको भन्दा पनि विशाल रुपमा प्रतिस्थापन गर्दा हामी चकित हुन पुगेका थियौं।
मस्कोको केन्द्रमा जताततैबाट देख्न सकिने ठाउँमा विशाल सरकारी भवन निर्माण गर्ने योजनानुसार नेपोलियनविरुद्धको युद्धमा रुसी जनताको विजय स्मारकका रूपमा रुसी जनताको चन्दाबाट ४२ वर्ष लगाएर निर्माण गरिएको भव्य ख्रिस्ता स्पसितेल्या अर्थात् क्राइस्ट दि सेभियरको मन्दिर स्टालिनको पालामा ४२ सेकेन्डमै ध्वस्त गरिएको थियो।
तर छिटै सोभियत संघले फाँसिवादी हिटलरविरुद्ध लड्नु परेकाले त्यो ठाउँ खालि रह्यो। युद्धमा विजयपश्चात् आवास समस्याकै समाधानमा अल्झिनुपरेकोले ख्रुशचेभको पालामा त्यस ठाउँमा पहिलेको मन्दिरको जगमै हिउँदमा समेत तातो पानीमा पौडी खेल्न सकिने स्विमिङपुल बनाइयो। नयाँ रुसले पुराना भत्के बिग्रेका मन्दिरहरू जीर्णोद्धार गरी अर्थोडक्स चर्चलाई सुम्पिदिने निर्णय लिई ख्रिस्ता स्पसितेल्या (संरक्षक यशुख्रिष्ट) को मन्दिर पनि पहिलेकै रूपमा बनाइयो।
हाल त्यो रुसको अर्थोडक्स चर्चको प्रमुख गिर्जाघर बनेको छ। अहिले मास्कोमा पुराना सबै चर्चको मर्मत जीर्णोद्धार गरी दुई सय नयाँ चर्च बनाउने कार्यक्रम कार्यान्वयन भइरहेको छ।
रेड स्क्वायरमा रहेको लेनिनको शवलाई त्यहाँबाट हटाएर समाधिस्थ गर्नुपर्छ भन्ने आवाज पछिल्लो २५ वर्षदेखि चर्कै रुपमा चल्दै आइरहेको छ। तर यहाँ त्यसलाई चलाउनु हुँदैन भन्ने समुदाय पनि त्यत्तिकै सक्रिय छ। रुस कम्युनिस्ट पार्टीले समेत सदासर्वदा लेनिनको शव सुरक्षित राख्न नसकिने तथ्यलाई स्वीकार गरेको छ। तर उनलाई सर्वहाराक्रान्तिका नेता र सोभियत राष्ट्रका संस्थापकको रूपमा मान्ने पुस्ताको मनोभावनालाई कदर गर्न तत्कालै शव गाड्ने कदम चाल्न उपयुक्त नहुनेमा जोड दिइरहेको छ।
क्रेमलिन पर्खालमुनि रहेको समाधिस्थल अन्यत्र हटाएर सुरक्षित राख्ने सम्बन्धमा पनि औपचारिक चर्चा परिचर्चा सुनिनुका साथै यस्तो भव्य समाधिस्थलका लागि मास्कोबाहिर स्थान निर्धारित गरिएको छ।
मध्ययुगीन राजा-महाराजाका स्मारकहरुले तत्कालीन समय र परिवेशलाई बुझ्न मद्दतसमेत गर्छन्। विश्वका सात आश्चर्य मध्येको एक आग्रा सहरको कलात्मक ताजमहल अद्यापि मुगल बादशाह शाहजहाँ र उनकी रानी मुमताजको स्मृतिमा प्रेमको स्मारकस्वरूप रहेको छ। यद्यपि त्यसको निर्माणमा हजारौं मानिसले २० वर्षभन्दा बढी समय दास जस्तै भएर परिश्रम गर्नु परेको थियो।
नेपालमा पनि यस्ता स्मृति स्मारकहरु प्रशस्तै छन्। पाल्पास्थित रानीमहल वा काठमाडौंस्थित रानीपोखरीलाई उदाहरणको रुपमा लिन सकिन्छ। तसर्थ स्मारकहरुसँग वर्तमान पुस्ताले रीसराग र वैरभाव राख्नुको के अर्थ हुन सक्छ?
टुँडिखेल र भद्रकालीमा रहेका घोडामा सवार राणा प्रधानमन्त्रीहरुका सालिकलाई सातसालको क्रान्तिले पनि यथावत् रहन दिनु तत्कालीन नेपाली जनताको सहिष्णुताको द्योतक हो। युरोपमा निर्मित राणाशासकहरूको कलात्मक घोडचढी सालिकहरू अहिले देख्दा युरोपमुखी राणाहरूको चरित्रलाई समेत उद्घाटन गरिरहेझैं लाग्छ।
जनआन्दोलन २ को क्रममा भने नेपालमा पञ्चायतकालीन धेरै सालिकहरु भत्काउने कार्य गरियो। नेपालमा राजतन्त्रको प्रतिस्थापनपश्चात् राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा तोडफोड गरिनुका साथै यस सालिकबारे विवाद उठाइन्छ। काठमाडौंस्थित सहिद गेटमा रहेको राजा त्रिभुवनको सालिकका विषयमा अहिले उठिरहेको विवा पनि यसैको निरन्तरता मात्रै हो। कम्तीमा सर्वोच्च अदालतले यसलाई यथास्थानमा रहन दिएको आदेशले इतिहासको त्यो निरन्तरताको सम्मान गरेको अनुभूति भएको छ।
रुसमा भने हाल कैयौं जार (रुसी सम्राट्) का सालिक पुनर्स्थापित गरिएका छन्। हामी नेपालीहरूले रुस लगायत अरु देशहरुको इतिहासबाट आवश्यक पाठ किन नसिक्ने? इतिहासका धरोहर यी स्मारकहरुप्रति पूर्वाग्राही नबनौं। ती स्मारक हाम्रा अमूल्य सम्पति हुन। भावी पुस्ताका लागि यिनको सुरक्षा र संरक्षण गरौँ।