शुक्रबार साँझ हतारमा कलैया जाने योजना बन्यो। तराई मानव अधिकार रक्षक एलायन्स् (थर्ड एलायन्स्)का अध्यक्ष दिपेन्द्र झा कलैया आन्दोलनबारे बुझ्न त्यतै गएको थाहा पाएपछि मलाई पनि जाउँ जाउँ लागेको थियो। सिमरा आन्दोलित रहेकाले थर्ड एलायन्स्का साथीहरूले मलाई एयरपोर्टबाटै पिकअप गर्ने तय भएको थियो। शनिबार लगभग १२ बजे सिमरा पुगियो।
मूल सडकमा आन्दोलनकारीहरू क्रोधित मुद्रामा बाटो छेकेर बसेका थिए। जिपमा मानवअधिकारको ब्यानर झुन्डिएको थियो। तर, मैले मानव अधिकारवादीको ज्याकेट लगाएको थिइनँ।
सडकको पश्चिम छेउबाट हाम्रो गाडी विस्तारै अगाडि बढ्दै थियो। ५५/५७ वर्षका एक आन्दोलनकारीले गाडी रोक्न भन्नुभयो। दिपेन्द्रजी निलो ज्याकेट लगाएर अगाडिको सिटमा बस्नुभएको थियो। पछाडिको सिटमा बसेको मतिर औँला तेर्साएर सोधियो- उहाँ को?
मलाईचाहिँ परिचय खुल्ला कि भन्ने डर थियो। किनभने गत मगंलबार ‘कथा कलैयाको, व्यथा मधेसको’ शीर्षकमा मेरो लेख कान्तिपुरमा प्रकाशित हुँदा सिमरावासी कतिपयले मन नपराएको सुनेको थिएँ। त्यस विषयमा ट्विटरमा केही छेडछाड पनि चलेको थियो। चिनजानका केही मित्रसँग रमाइलो ट्विटर संवाद पनि भएको थियो। अपशब्द प्रयोग गरेर ट्याग गरेका केही फलोवरलाई ब्लक नै गर्नुपरेको थियो। कतै त्यस्तै रिसाएको कुनै पाठकको फेलामा परिने हो कि भन्ने त्रास मनमा थियो। तर त्यस्तो केही भएन।
हामी सरासर कलैया पुग्यौँ। आन्दोलनको नेतृत्व गरेको उद्योग वाणिज्य संघकै सभाकक्षमा सर्वपक्षीय भेला डाकिएको थियो। आन्दोलनकारी अगुवा, नागरिक समाज, व्यापारी, नेता, पत्रकारहरूको राम्रो उपस्थितिमा हामीले कलैयावासीका कुरा सुन्न थाल्यौँ।
करिब १५ जनाले बोलेको उक्त भेलामा अधिकांश वक्ताका कुरा मलाई सामान्य नै लाग्यो। तर, तीन जनाको भनाइ गम्भीर प्रकारको थियो। तिनीहरूको बोलीभन्दा पनि भावना, बोलीमा लुकेको त्रास र आक्रोश विचारणीय छ।
१. बालबालिकाको चिन्ता
स्थानीय माधवप्रसाद साहले भने- हजुर, साँझ पर्नुअघि नै छोराछोरीलाई घरमा लुकाएर राख्छौँ। स्कुल गएका बच्चा फर्केर आउँछन् कि आउँदैनन, ठेगान हुँदैन। हिजो (शुक्रबार) राति ७-८ वर्षको बच्चीको बलात्कार भयो। अचेत अवस्थामा भेटिएकी उनी बाँच्छिन् कि मर्छिन् ठेगान छैन्। प्रशासनलाई भन्दा हामी के गर्ने? भन्दै उल्टै प्रश्न गर्छन्। आन्दोलन दबाउन ट्रकका ट्रक पुलिस ल्याउन सक्ने, किलोमिटरैपिच्छे मोटरसाइकलको लाइसेन्स चेक गर्नसक्ने प्रशासनले नगरपालिकामा बालबालिकाको हत्या, बलात्कार हुँदा केही गर्न नसक्ने? यस्तो पनि हुन्छ, हजुर? तपाईहरूले भनिदिनु पर्यो- के हो मानव अधिकार र के हो पुलिस प्रशासनको काम?
माधवले थप्दै गए- एक महिना पनि भएको छैन। चार वर्षीय बालकको हत्या भएको। निर्दोष नाबालकको टाउको फुटाई हत्या भयो। तर, प्रहरी प्रशासन छानबिनको नाममा झारा टार्ने काम मात्र गरिराखेको छ। पीडितलाई शंका लागेको मानिसलाई सोधपुछ पनि गर्दैनन्। निर्दोषमाथि छानबिनको नाममा यातना दिइन्छ। व्यापारीसँग चन्दा असुल्न, तस्करसँग कमिसन लिन कलैयामा मात्र दर्जन बढी घुमुवा राख्न सक्ने तर नगरपालिकाका बालबालिकाको सुरुक्षा दिन नसक्ने? यो कस्तो प्रशासन हो?
२. मोतीलालको रोदन
मोतीलाल सीमावर्ती भारत मोतिहारीका हुन्। कलैयामा उनी सानो व्यापार गरेर बसेका छन्। २८ दिनअघि उनका छोराको हत्या भयो। साँझपख घरमा कोही नभएको बेला, उनको चार वर्षे छोरा हराएको थियो। भोलिपल्ट टाउको फुटाएर हत्या गरेको शव भेटियो।
‘शंका लागेको छिमेकीको नाम र ठेगाना देखाइदिँदा पनि प्रहरीले उसलाई समात्दैन। छिटो-छिटो शव लिएर नदीमा संस्कार गर्न मलाई दबाब दिइयो,’ मोतीलालको भनाइ थियो, ‘मसँग झगडा भएको छिमेकीले नै मेरो छोराको हत्या गरेको हुनुपर्छ। उनलाई समाउन पुलिस आलटाल गर्छन्। तर, अर्कै एक जनालाई समातेर छानबिन गरिराखेको भन्छन्।’
आफूमाथि अन्याय भइराखेको मोतीलालको दाबी थियो। अब म ५-६ दिनमै मोतिहारी फर्किन्छु। यो देशमा म जस्ता गरिबलाई हेर्ने कोही भएन। बोल्दै गर्दा उनको घाँटी अवरुद्ध भएको थियो।
३. गाउँमा नाचगान र प्रहरीको छापा
रामकिशोर यादव सीमावर्ती गाउँ सिम्रौनगढ निवासी हुन्। उनी हाल उपेन्द्र यादव नेतृत्वको फोरम नेपालको केन्द्रीय सदस्य हुन्। गत संविधानसभा निर्वाचनमा उनी बारा १ बाट उम्मेदवार पनि थिए।
शुक्रबार राति उनको गाउँमा रामकिशोर महतो कोइरीको छोरीको बिहे थियो। जन्ती सीमावर्ती बिहारबाट आएको थियो। जन्तीमा आर्केस्ट्रा (नाचगान गर्ने समूह)ले गीत संगीत प्रदर्शन गर्दै थियो। एकाएक मध्यरातमा दर्जनौंको संख्यामा प्रहरीले छापा मारे। जन्ती र बेहुली पक्ष दुवैलाई कुटपिट गरियो। जन्तीहरूको भागाभाग भयो। स्थानीय प्रहरी चौकीका इन्स्पेक्टरलाई सोध्दा माथिको आदेश भनेर जवाफ पाएको रामकिशोरले बताए।
रामकिशोरले प्रश्न थियो- काठमाडौँमा सैयौँको संख्यामा डान्सबार, डिस्को खोल्न सरकारले लाइसेन्स दिँदा शान्ति सुरक्षामा खलल पुग्दैन। हाम्रो गाउँघरमा नाच नचाउने, आर्केस्ट्रा ल्याउने परापूर्वकालदेखिको संस्कृतिमाथि प्रहरीले धावा बोल्ने? यो कहाँको न्याय हो। नगरपालिकामा बालबालिकाको सुरक्षा गर्न नसक्ने प्रहरी गाउँमा जन्ती आउँदा आक्रमण गर्ने?
शनिबारको उक्त कार्यक्रम सकेर राति वीरगन्ज आएर बस्यौँ। आज आइतबार काठमाडौँ फर्किन म र दिपेन्द्रजी ९ बजेतिर सिमरातर्फ लाग्यौँ। सिमरा पुग्नुभन्दा केही किलोमिटर दक्षिणतिरै चोकमा झडप भइराखेको कुरा प्रहरीले हामीलाई जानकारी गराए। जिपमा मानवअधिकारको व्यानर र निलो ज्याकेट हुँदाहुँदै पनि करीब २ किमी परै गाडी छोडेर हामी पैदलै एयरपोर्टतिर लाग्यौँ।
चोक नजिकिँदै जाँदा युवाहरू र प्रहरीबीच जताततै झडप भइराखेको दृश्य देखियो। घरको छत-छतबाट ढुगाँ फालिन्थ्यो। प्रहरीहरू दर्जनौं राउण्ड अश्रुग्यास फायर गरेको कारण एयरपोर्ट र चोक छेउछाउ जताततै आँखामा पिरोपिरो लागिराखेको थियो। आन्दोलनकारी समूहमा अधिकांश १५ देखि २० वर्ष उमेर समूहका युवा देखिन्थे। सिमराको उक्त दृश्यले मलाई हिजो कलैयामा भेटेका घाइते युवाहरूको सम्झना गरायो। कलैयाको छलफलमा ५ जना घाइतेहरूले हामीसँग भेटेका थिए। मैले उनीहरूको नाम, उमेर र अध्ययनरत कक्षा सोधेको थिएँ। तीमध्ये कोही एसएलसीको तयारी गर्दै त कोही ११-१२ कक्षामा पढ्ने विद्यार्थी थिए।
त्यसपछि मलाई २०४६ ताका जनकपुरमा आइएस्सी पढ्दै गर्दा आन्दोलनमा लागेको सम्झना आयो। एकछिनमै माओवादी जनयुद्धमा लागेको, मारिएका युवाहरूको उमेर पनि सोच्न बाध्य भएँ। तर त्यतिबेला सिमराको अवस्था यति तनावग्रस्त थियो कि धेरै एकाग्रता सम्भव थिएन। लुकीछिपी एयरपोर्टको गेटनजिक रहेको प्रहरी चौकीसम्म पुग्दा एक इन्सपेक्टर नै घाइते भएर आएको देखेँ। लगत्तै ५० भन्दा बढी संख्यामा रहेको प्रहरीको समूह थानातिर दौड्दै आएको पनि देखियो। हामी भागेर एयरपोर्ट छिर्यौँ।
साढे १० बजेको फ्लाइट ११ बजेसम्म नआएपछि हामी फेरि चिया खाने निहुँमा एयरपोर्टको मुखैमा रहेको चिया पसलतिर लाग्यौँ। पसलमा दुई वृद्ध ‘सिमरा भर्सेज कलैया’को ताजा आन्दोलन र राष्ट्रिय राजनीतिबारे गफिँदै थिए। केहीबेर हामी चुपचाप सुनेर बस्यौँ। हाम्रो जहाज ढिला-ढिला हुँदै गएकाले हामीले त्यो चियाचिन्तनको चुस्की लिइराख्यौँ। दुई वृद्धमध्ये एकजना ४० वर्षअघि नुवाकोटबाट बारा झरेका रहेछन्। स्थानीय हुलाकमा जागिर खाएर सेवानिवृत्त ती वृद्धको मधेसी समाज र मधेसी राजनीतिबारे बुझाई औसत पर्वते मनोविज्ञानभन्दा फरक थिएन। तर, त्यहाँ उपस्थित अन्य सिमरावासीको बुझाइ पनि के पाइयो भने, बारा जिल्लामा सेवा केन्द्रको विस्तार गरिँदा सिमरासँगै सिम्रौनगढलगायत दुर्गम क्षेत्रमा पनि गरिदिएको भए सिमरामा आज यो तनाव हुने थिएन।
चिया चिन्तनको अन्त्यमा वृद्धहरूले हामीलाई परिचय सोध्नुभयो। त्यहाँ त्रासको माहौल थिएन तैपनि मैले आफ्नो सही परिचय दिइनँ। दिपेन्द्रजीले आफ्नो परिचय दिनुभयो। अन्ततः साढे १० बजेको प्लेन २ बजे उडयो। हामी काठमाडौँ पुग्यौँ तर कलैयाको कहर र सिमराको तनावले मन शान्त हुन दिएको छैन्।