२०५२ सालपछि ‘दीर्घकालीन जनयुद्ध’ चलाइरहेका बेला एमाओवादी नेता बाबुराम भट्टराई आफ्ना लेख र भाषणहरूमा चीनका चेयरम्यान माओ से तुङलाई उदृत गर्न छुटाउँदैनथे। माओबाट सापटी लिँदै उनी भन्थे, 'क्रान्ति भोजभतेर जस्तो शिष्ट र सौम्य हुँदैन।'
माओ क्रान्तिकारीहरूलाई रोमान्चित र तरंगित पार्न भन्ने गर्थे- ‘क्रान्ति भनेको रात्रिभोजजस्तो होइन, वा निबन्ध लेख्नु, वा चित्र बनाउनु वा जरी भर्नुजस्तो पनि होइन, यो त्यति प्रशोधित, फूर्सदिलो र भद्र, मिजासिलो, दयालु, प्रेमपूर्ण, धैर्यवान र उदात्त पनि हुँदैन। क्रान्ति एउटा हिंसात्मक विद्रोह हो, हिंसाबाटै एउटा वर्गले अर्को वर्गलाई विस्थापित गर्छ।’
माओवादीले 'जनयुद्द' बिसाएको सात वर्ष पुग्दा-नपुग्दा बाबुरामका उद्दरण माओबाट महाभारततिर सरेका छन्।
संविधानसभाले प्रश्नावली समितिको प्रस्ताव पारित गरेपछि उनले आफ्नो फेसबुकमा लेखे, 'पुरानो महाभारमा द्रोणाचार्यलाई ढाल्न ‘...अशोत्थामा हतोहतः’ को झुठो हल्ला पिटिएको थियो। भीष्मलाई ढाल्न सिखण्डीको प्रयोग गरिएको थियो!! नयाँ महाभारतमा माओवादी–मधेसवादी– जनजातिलाई ढाल्न केही ठूला मिडिया/सामाजिक सञ्जालमार्फत् अनर्गल प्रचार गरिएको छ। सिखण्डीको ठाउँमा सभाभुखलाई प्रयोग गरिएको छ।’ (भट्टराईको सिखण्डीको प्रशंगप्रति तेस्रो लिङ्गी नागरिकका तर्फबाट पूर्व सभासद सुनिलबाबु पन्तले आपत्तिसमेत प्रकट गरिसकेका छन्।)
भट्टराईलाई लाग्न थालेको हुनुपर्छ, नेपाली समाजले माओका उद्धरण भन्दा महाभारत प्रशंगलाई बढ्ता पत्याउँछ। त्यतिमात्र होइन उनी अचेल पटक–पटक संस्कृतका श्लोकहरूसमेत राखेर आफ्ना धारणा सार्वजनिक गर्छन्। उनले संस्कृतका श्लोक उद्धृत गर्दा धेरैले हिजो संस्कृत स्कुल बमले उडाएका प्रशंग कोट्याइदिने गरेका छन्।
भट्टराईले महाभारतको प्रशंग मात्र उठाएका छैनन्, एमाओवादीलाई पाण्डवसँग तुलना गरेका छन्। उनले संघीयतामा पूर्वका झापा, सुनसरी र मोरङ अनि पश्चिमका कैलाली र कञ्चनपुरलाई तराईका प्रदेशमा मिलाउन कांग्रेस-एमालेले अस्वीकार गरेको प्रशंगलाई पाण्डवले पाँच गाउँ माग्दा कौरव पक्षले नदिएको प्रशंगसँग जोडेका छन्।
माओवादीले 'जनयुद्द' सुरू गर्दा र अहिलेको युग फरक हो भन्ने भट्टराईले बुझिसके।
'जनयुद्द' २०५२ मा नभएर २०७१ मा सुरु भएको भए के हुन्थ्यो होला?
झन्डै ३० लाखभन्दा बढी फेसबुक र १० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ता भइसकेका छन्। सामाजिक संवाद ब्यापक र सीधा-सिधी हुन थालेको छ। अब ढाँटढुट धेरै काम लाग्दैन।
कुनै बेला नेताहरूलाई आफ्ना कुरा सुनाउन या तिनका ढोकैमा पुग्नु पर्थ्यो या टेलिफोनमै कुरा गर्नुपर्थो। अब समय त्यस्तो रहेन। तिनलाई सम्बोधन गरेर सामाजिक सञ्जालमा मार्फत सीधा तिनको मस्तिष्कमा पुग्न सकिन्छ। यसैको कारण हजारौं ताली र गाली भट्टराईले एकै साथ पाउँदै आएका छन्।
राजा नभए देशै रहँदैन भन्ने समयबाट हाम्रै जनताका छोराछोरीले शासन गर्न थालेको पनि एक दशक पुग्न लायो। मुलुकमा प्रजातन्त्रको अभ्यास भएकै पनि २५ वर्ष पुग्न लाग्दैछ। योबीच हामीले अनेकन संवैधानिक र राजनीतिक अभ्यास देखेका छौं । हामी यस्तो रोचक समयमा बाँचिरहेका छौं कि यस्तो भाग्य हाम्रा सन्तानहरूलाई प्राप्त हुने छैन। नहोस् पनि। जब समाज थिग्रिएर स्थायी विकास निर्माणतर्फ लाग्छ, त्यो बेला अहिलेको जस्तो अप्ठ्यारो अवश्यै हुने छैन।
अहिले हामी सबैलाई अप्ठ्यारो लाग्दो समय पनि हो यो। यहाँ यी पहाडे बाहुनहरूले बिगारे भनिएला। मलाई झनक्क रीस उठ्ला। किनभने हाम्रो पहाडबाट मेरो परिवारमा यतिका वर्षपछि सेवा क्षेत्रमा आएको म नै पहिलो पुस्ताको हुँ। खै हाम्रा पहाडेहरूले त मौका पाएका छैनन् भन्ने तर्क अघि सार्न सकिने भयो। अर्को तराईको मानिसलाई देखाएर लौ यसले त नेपाल टुक्र्याइहाल्छ भन्न पनि सकिने भयो। अनि ऊ पनि के कम भनिहाल्छ– हामीलाई दोस्रो दर्जाको नागरिक बनाएपछि कसरी एक ठाउँमा बस्न सकिन्छ।
सबैखाले परिवर्तनलाई आत्मसात गर्दै अघि बढेको नेपाली समाजले सम्प्रादायिकतालाई स्वीकार नगर्ने प्रष्ट देखियो। जातीयताको विषयलाई सर्वसाधाणले किन अस्वीकार गरे भने, यसले समाजलाई खण्डित गर्ने रहेछ भन्ने अहिलेको सञ्चारले सामुन्नेमा ल्याइदियो। अब नेताले भनेर मात्र तिनले मान्दैनन्। बरु सजिलै ती गुगलबाबाको सरण पर्छन्। अनि सत्यतथ्य के हो विवेक लगाउँछन्।
हाम्रो समाजलाई यतिबेला सीधा हिसाबले छलफल र तर्क गर्ने मानिसहरूको आवश्यकता छ। अब कसैले कसैलाई अधिकार दिने होइन कसलाई कति अधिकार चाहिने हो, नेपाललाई कसरी समुन्नत बनाउने हो त्यसको जिम्मा लिने बेला हो। हामीकहाँ समस्या हाम्रो बुद्धिको भन्दा पनि वाह्य सल्लाहको बढी देखिन्छ। हामीकहाँ बुद्धि नभएका मानिस छन् र? किन धेरै बाहिरका मानिसलाई सुन्नु पर्ने भएको हो त्यो बुझ्न सकिएको छैन। बाहिरका मानिसले नै हामीलाई राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री बनाइदिन्छन् भन्ने विश्वासले बढ्ता घरजम गरेको छ।
नेपाललाई कहिल्यै स्थिर हुन नदिने तत्व के हो? त्यो वाह्य हो कि आन्तरिक हो? त्यसलाई पनि अहिलेको खुलापनले चिनाइसकेको छ। त्यति हो, नेता बोल्न सक्दैनन्, सर्वधारणले सामाजिक सञ्जालमा बोल्न थालिसक्यो। हिजोका सर्वसाधारण आज असाधारण बनिसके। अब तिनलाई ‘इन्गेज’ गर्ने हो भने तिनले पत्याउने विषय ल्याउँनै पर्ने हुन्छ।
हामीले थामिनसक्नुको परिवर्तन ल्यायौं। अन्यत्रका क्रान्तिका कथामा पढ्ने गरेको ‘जनयुद्ध’ पनि भोग्यौं। जातीय विभेद पनि देख्यौं र त्यसलाई अन्त्य गर्न पनि हामी आफैं तयार भयौं। मधेसमा आन्दोलन भएर हाम्रा आफ्नै तराईबासी दाजुभाइप्रति भएको ज्यादति पनि महसुस भयो। तर, यी कति जानेर भए वा कति नजानेर भए भन्ने पक्ष पनि आफ्नै ठाउँमा छन्।
हामीले सामाजिक – राजनीतिक क्षेत्रका व्यापक परिवर्तनलाई अनुभव गरिसकेपछि यो देशलाई कसरी स्थायित्व दिन सकिन्छ भन्नेमा हाम्रै दल, हामैै नेता र हाम्रै समाज अग्रसर हुनुको विकल्प देखिएन। तर, त्यो तत्परता सर्वसाधारणले नेतामा देख्न सकेको छैन। २०६२/०६३ को आन्दोलनका बेला नेताभन्दा जनता अगाडि भनिन्थ्यो। अहिले त झन् त्यो गति अरु तिव्र भएको छ।
पहिलो संविधानसभाले संविधान लेख्न नसकेपछि हाम्रो समाजको उत्साह ह्वात्तै घटाएको थियो । दोस्रो संविधानसभा निर्वाचन नहोस् भन्ने धेरैको कामना हुँदाहुँदै पनि यो सम्पन्न भयो। त्यो बेला चुनाउ हुन नदिन कोसिस गर्नेहरूको केही लागेन। त्रासदीपूर्ण अवस्था सिर्जना गर्दागर्दै पनि ८० प्रतिशतभन्दा बढी मतदाताले लाम लागेर मतदान गरे। र, यो तत्परताका पछाडि पनि हाम्रो बढ्दो सामाजिक चेतना र सञ्जालले भूमिका खेलेको थियो ।
यो सबै पृष्ठभूमिमा एमाओवादीलाई अहिले परेको अप्ठ्यारो बुझ्न सकिन्छ। बाबुरामले महाभारतको सहारा किन लिए अनुमान गर्न सकिन्छ।
‘हारे नेल जित संसार’ भन्दै प्रशिक्षित गरिएका कार्यकर्ताहरूलाई शिविरबाट निकालेर गाउँ फर्काउनु परेको छ। सर्वाहाराको सत्ता भनेको ठाउँमा आफैंले बुर्जुवा र सामन्त भनेकाहरूसँग एउटै थलोमा बसेर काम गर्नु परेको छ। अस्ति भर्खरै संविधानसभामा त्यत्रो आवेग देखियो। त्यो आवेग नियन्त्रण गर्नुपर्ने अवस्थामा एमाओवादीलाई पुर्याउन फेरि पनि सामाजिक सञ्जालमा ब्यक्त सर्वसाधारणका प्रतिक्रियाले ठूलो भूमिका खेले।
त्यो घटनाले एमाओवादीको शान्तिपूर्ण रुपान्तरणलाई थप मद्दत गरेको छ। संविधानसभाका भाँचिएका कुर्सीमा सर्वसाधारणले आफ्नो सम्पत्ति तोडफोड गरेको महसुस गरे। एउटा खुला र पारदर्शी राजनीतिक व्यवस्थामा प्रवेश गरेपछि सर्वसाधारणले यो सबै देख्छन्। त्यसैका आधारमा तिनको मूल्यांकन हुन्छ।
एमाओवादीले त्यो घटनाबाट पाठ सिक्दै विस्तारै पछि हटेको देखिँदैछ। यस्तै पाठ सिक्न एमालेलाई पनि कम्ति समय लागेन। सडकका रेलिङ उसले पनि भाँचेर यहाँसम्म आइपुगेको हो। एमाओवादीले प्रश्नावली समिति बनाउने बेलामा धेरै ठूलो वाधा विरोध गरेन। र, प्रक्रिया अघि बढेको छ। संविधानसभा अध्यक्षमाथि सबै खनिएका छन्। त्यो पनि आवश्यक छैन। हिजो संविधानसभा त्यतिकै विघटन हुँदा उनले के गरे भनेर सोधिएको थियो। त्यो बेला सरकारले बिजिनेस दिएकै थिएन। बरा तिनले के गरुन्। आज सरकारले बिजिनेस दिएपछि उनले त्यसलाई रोकेर राख्न मिल्दैन।
यस्तो बेलामा बन्द गरेर, क्रान्ति र ध्वंशबाट मात्रै मुलुक परिवर्तन गर्न सकिन्छ भन्ने कार्यसूची दलहरूले दिए भने अब नागरिकले पत्याउँदैनन्। अनि हातहातमा संचारका अत्याधुनिक सुविधा लिएर बसेका व्यक्तिहरूले दल र तिनका नेताका गलत काम कारवाहीको विरोध गर्छन्। नेताहरू ढुक्क भए हुन्छ, अब सडकमा जनता आउँदैनन्।
त्यस अर्थमा बाबुराम भट्टराईको महाभारत प्रशंगले सुखद संकेत नै गरेको छ। महाभारतका सिखण्डीलाई सम्झने बेलामा उनले ठूला मिडिया र सामाजिक सञ्जाललाई सँगसँगै गाली गरे। उनलाई सम्झना नै होला बालुवाटारमा पहिलोपटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनी आउँदा सञ्चार माध्यमको ठूलो प्रशंसा गरेका थिए। यो बीचमा उनीहरूलाई हेर्न हजार आँखा पनि थपिएछन– सामाजिक सञ्जाल मार्फत्।
सामाजिक सञ्जालमा सक्रिय भट्टराईलाई यो थाहा नहुने कुरै भएन। उनले यसको महत्व बुझेका छन्। त्यही भएर उनले महाभारतका कथा भनीभनी आफ्ना आलोचकहरूलाई जवाफ दिइरहेका छन्। यो उनी र उनको पार्टीको पनि ‘ ग्रयाजुएसन’को प्रक्रिया हो। अब महाभारतकै उदाहरण दिनु र मुलुकमा थप महाभारत नमच्चाउनु नै श्रेयस्कर हुन्छ।
हामीलाई भोजभतेरजस्तो, निबन्ध लेखेजस्तो वा चित्र बनाएजस्तो वा जरी भरेजस्तो, प्रशोधित, फूर्सदिलो र भद्र, मिजासिलो, दयालु, प्रेमपूर्ण, धैर्यवान र उदात्त क्रान्ति चाहियो। हिंसा धेरै सुनियो। कसैलाई विस्थापित होइन सबै स्थापित गर्ने शान्ति चाहियो।