उत्तम तामाङले मलाई गोरा भन्ठानेका रहेछन्। मधुरो बत्ती बलिरहेको डाइनिङ रूमको एउटा सानो टेबलमा म एक्लै पढ्दै थिएँ। मेरो पछाडि बरू युरोपेली जोडी थिए जसका हातमा अपुङ्गे किताब थिए।
मैले पनि उत्तमलाई नेपाली भनेर चिनिरहेको थिइन। नगरकोटको त्यो पर्यटक लजमा उनी चिनीया हूलमा हाहू गरिरहेका थिए। उनी ठूलो टेबलभरिका अतिथिको ध्यान खिच्दै मण्डारिनमा धाराप्रवाह बोल्दै थिए।
उनको टोलीका केही सदस्यहरूले अर्को टेबलमा तासको खाल सुरू गरिसकेका थिए। आगोछेऊ टेबलमा तासका पत्ती एकेक गरी फाल्दै उनीहरू हल्ला गर्दै रहे। त्यही एउटी युवतीले ओठमा औंला पुर्याएर चुप लाग्न अह्राइन्। उनको इशाराअनुसार त्यहाँ गोराहरू पनि थिए जो पढिरहेका छन् र अरूको हल्ला रूचाउँदैनन्।
हिउँदको साइत थाल्ने गरी झरी पर्न लागेको आकाश धुम्म थियो। बादल च्यातियो भने मात्रै अर्को दिनको बिहान उत्तरतिर लश्करै चुचुराहरूमा घामको रेखी बसेको देख्न पाइने थियो। चिसो ह्वात्तै बढेको थियो। हामी न्यानोसँग बसिरहेको डाइनिङ रूमको माझमा ह्वारह्वारती बलिरहेको आगोतिर सबैजसोको ध्यान थियो।
नेपालमा अहिले बढी देखिने पर्यटक कहाँका हुन् भन्ने प्रश्न गर्नै पर्दैन। यिनको संख्या दुई तीन वर्षमै दोब्बर बढ्ने गरेको छ। संसारभरि नै चिनीयाँ पर्यटक बढ्दै छन्। एशियाका छरछिमेक उनीहरूका आकर्षण हुने नै भए। चिनीयाँ राजदूत चेङ सियाङलेनका अनुसार नेपालमा चिनियाँ पर्यटकको आकर्षणका चार कारण छन्।
डेढ वर्षअघि नेपाली टाइम्सको सहकार्यमा नेपालमा पिपुल्स डेलीको प्रकाशन आरम्भ गर्ने कार्यक्रममा उनले भनेअनुसारका आकर्षण थिए हँसिला नेपाली, हिमालदेखि तराईसम्मको अनुकूल मौसम र प्राकृतिक वरदान, बौद्ध धर्म र सगरमाथा। ‘हामी एकार्काका लागि नौला होइनौं, जब म यहाँ राजदूत बनेर आएँ मलाई एकजना नेपालीले मामा भनेर बोलाउनुभयो। भृकुटी बिहे गरेर गएको नि त स्रङचङगम्पोसँग,’ उनले हाँस्दै भनेका थिए।
नेपाली पर्यटनलाई आवश्यक पर्ने पर्यटक मानिन थालेका छन् चिनीयाँ। यिनीहरू बाह्रै मास जसो घुम्न आउन सक्छन्। नेपाल उनीहरूका लागि न जाडो न गर्मी। यिनलाई होटलमा तातोपानी भने अनिवार्य चाहिन्छ। बिछ्यौना पनि सिनित्त सफा चाहिन्छ। त्यत्ति भए यिनलाई पुग्छ भनेर एकजना होटल व्यवसायीले मलाई चिनीयाँ पर्यटक कति सजिला भन्ने सन्दर्भ बुझाउँदै भनेका थिए।
मैले उत्तमलाई नियालिरहेँ। हँसिला, रसिला बोलिरहनुपर्ने। गधे पच्चिसी उमेरतिरका। खुलस्त कुराकानी गर्न सक्ने। पर्यटकलाई राम्ररी सम्झाइबुझाई गर्ने। मिलनसार स्वभावले त होला नि उनी त्यसरी आफ्ना पर्यटकसँग रत्तिरहेका थिए।
मीठो नेपाली खानासहित विभिन्न परिकारहरूको बफे लाग्यो। उनकै टोलीका पनि केहीले थपीथपी खाए। एउटी महिला भने त्यस्तो स्वादिलो र ताजा खाना छाडेर आफूले ल्याएको चाउमिनको प्याकेज निकाल्नपट्टि लागिन् र चिम्टाले त्यही चाउमिनका तान्द्रा मुखमा बुझो लगाइरहिन्।
भोलिपल्ट बिहानैदेखि झरी दर्कियो। हिँडेर जाने मेरो सूरमा तुषारापात भयो। ब्रेकफाष्टका बेला मैले त्यही चिनीयाँ टोलीका ड्राइभरसँग तल भक्तपुरसम्म झर्ने लिफ्ट पाइएला भन्ने निवेदन गरेँ। गाइडलाई सोध्नुपर्छ भने। गाइड रहेछन् तिनै तन्नेरी जसलाई मैले अघिल्लो साँझदेखि ख्याल गर्दै थिएँ। ‘ए, तपाईं नेपाली पो हो ?’ उनले उल्टै मलाई सोधे, अनि मेरो समस्याको गाँठो फुकाउँदै भने, ‘हा, भैहाल्छ नि।’
उनको टोलीका सदस्यहरूका गतिबिधि चाखलाग्दा थिए। एउटा गोरा दम्पतिलाई पृष्ठभूमिमा पारेर एक महिलाले फोटो खिचाइन्। उनले पृष्ठभूमिमाथि जोड दिएर आफ्नो फोटोको पोजका लागि आफ्नो साथीलाई सम्झाइरहेबाटै त्यो बुझिन्थ्यो। उनीहरूमा पश्चिमेली मानिसप्रतिको उत्सुकताको चिन्ह थियो त्यो।
एकछिनमा अर्की एक एउटी युवतीले नेपाली मजेत्रो लगाएर फोटो खिचाइन्। फोटो खिचिदिने चिनीयाँले खित्खित गर्दै गाइड उत्तमसँग भने, ‘हेर त ऊ नेपाली पो भई।’
ड्राइभर गाइडसँग जिस्किए, ‘हामी यति गर्दा त नेपाली हुन सकिया छैन, ऊ एउटा फोटो खिचाएर कसरी नेपाली हुन्छे होली ?’
गाइडले मतिर हेर्दै भने, ‘उहाँ दाह्री कपाल फुलिसक्दा त नेपालीजस्तो देखिनुभएन.....।’
नेपाली को हो, के भए नेपाली हुन्छ भन्ने विवाद त्यहीँ छाडेर बाह्र जना चिनीयाँ बोक्दै ठूलो भ्यानले हर्न बजायो। म पनि लुसुक्क पसेँ। चिनीयाँहरूले खासखुस गरेर गाइडसँग केही भनसुन गरे। गाइडले गुरूजीलाई सुनाउन चर्कोसँग भने, ‘पानी परिरहेकाले बाटो चिप्लो छ, विस्तारै चलाउनोस् भन्दैछन् है दाइ।’
गाडी गुड्न थालेपछि सबैजनाले ताली बजाए। अनि एकै स्वरमा लेशम फिलिलि....लेशम फिलिलि गाउन थाले। गीतको रन्को सकेर कुन सर्कोमा हो उनीहरू आपसमा कुराकानी गर्न थाले। उनीहरू आफू–आफू भने क्यान्टोनिजमा बोल्थे।
उत्तमले मसँग भने, ‘उनीहरू अहिले आफ्नो भाषामा बोलिरहेका छन् जुन मलाई छेउटुप्पो आउँदैन। मसँग सोध्नमात्र उनीहरू मण्डारिन बोल्छन्।’
उनले चीनमा पाँच वर्ष बसेर भाषा सिकेको र काम गरेको नै मण्डारिन भाषामा हो। त्यो सम्पर्क भाषा हो। ‘त्यो चीनको नेपाली भाषा हो भन्नुस् न, नत्र त ५६ वटा जातिले बोल्ने भिन्न–भिन्न भाषा म कहिले सिक्न सक्थेँ होला र ?’ उनले भने। उनको समूहका सदस्य प्रायः दक्षिणी प्रदेशको एउटै जिल्ला वा भेगका थिए जो एउटा हूल बाँधेर नेपालतिर निस्किए। झुरुप्प परेर हिँड्ने यिनको बानी नै छ।
त्यो टोली दश दिने नेपाल भ्रमणमा थियो जसलाई ‘विमानस्थलमा स्वागतदेखि विदाइसम्म’ गाइड गर्ने जिम्मा लिएका थिए उत्तमले। प्रायः चिनीयाँ पर्यटक गाडीमै घुम्न चाहन्छन्, पदयात्रा खोज्दैनन्। ‘यो ग्रूपलाई भने पून हिल चढाएर ल्याएका हौं। त्यहाँबाट देखिने सूर्योदय सायदै अर्को ठाउँबाट त्यति सुन्दर देखिन्छ। नगरकोटबाट त बरु सूर्यास्त राम्रो देखिएला,’ उनले भने।
युरोपेली पर्यटकहरू प्रायः नेपालमा ‘एडभेञ्चर’का लागि आउँछन्, लामो पदयात्रामा रमाउँछन्। ‘चिनीयाँ भने घुम्न आउने भनेको आरामका लागि हो। चीनमा त गर्नु दुःख गरिहाल्छन्,’ उनले भने।
‘तपाईंहरू सुन्ने भए चुप लाग्नोस् है’ उनले फेरि आफ्ना अतिथिहरूसँग भने। भ्यान केही बेर उकालोमा सकस गर्दै नगरकोटको मुख्य चोक पुगेर भक्तपुरतिर ओरालो झर्न लाग्यो। सबैले कान ठाडा पारे। उनले धारा प्रवाह भक्तपुरको इतिहास, मन्दिरहरु, हिन्दु धर्म आदिबारे बोले। एकाध प्रश्नमात्र आए। ‘तपाईंले गजब मन्त्रमुग्ध पारिदिनुभयो, उनीहरुले गाईंगुईं केही नगरी सुने,’ मैले भनेँ, ‘के भन्नुभयो त त्यस्तरी ?’
उनले भने, ‘तपाईंहरु राम्ररी सुन्ने भएमात्र म भन्छु, नत्र भन्दिन, हल्ला गर्न पाईंदैन भनेर पहिल्यै भनिदिएको थिएँ नि त।’
उनका अनुसार चिनीयाँको एउटा खराब बानी के छ भने धेरै हल्ला गर्छन्, उत्तर भारतीयजस्तै हुन्। अर्को खराब बानी– पैसाको फुईँ गर्छन्। सबै समस्याको समाधान पैसाले गर्छ भन्ने घमण्ड पाल्छन्। ‘त्यो मलाई मन पर्दैन,’ उनले भने, ‘पैसाले सबै समस्या समाधान गर्न सक्दैन। म ठोकेर भन्न सक्छु।’
उनी बेइजिङमा बस्दा अनुभव गरेछन् चिनीयाँहरू कम्ती देखावटी पनि गर्दैनन्। ‘एउटाले मर्सिडिज किन्यो भने अर्काले फेरारे किनेर देखाइदिने गर्छ। पैसाको तुजुक बलियो हुँदै गएको छ ,’ उनले भने।
मैले रस मान्दै उनलाई हेरिरहेको थिएँ। उनले थपे, ‘तर उनीहरू आज यो ठाउँमा सजिलोसँग पुगेका होइनन्। तीस वर्षअगाडि लगभग हाम्रै अवस्थामा थिए। यहीबीच उनीहरुले यतिविघ्न मेहनत गरे कि आज विश्व आर्थिक शक्ति हुन पुगे। विकास कस्तरी गरेका छन् भने के कुरा गरी साध्य्?’
चिनीयाँहरु त भर्खरका वर्षमा हो यसरी पर्यटक हुन थालेको। उनले दुई वर्षअघि नेपालमा चिनीयाँलाई घुमाउन थाल्दा चिनीया गाइड नै जम्माजम्मी २०, २२ जना थिए रे। अहिले दुई सय जना नाघेजस्तो उनलाई लागिसकेको छ। ‘म के भन्छु भने हाम्रा दाजुभाइहरूले एउटा अर्को भाषा सिकेर केही बिग्रँदैन, फाइदै हुन्छ,’ उनले सुझावमूलक भंगिमासाथ भने, ‘अहिले तपाईंहरू चिनीयाँ भाषा सिक्नुहुन्छ भने दोभाषेको काम पनि पाउन सक्नुहुन्छ, रुचि छ भने गाइड बन्न पनि सक्नुहुन्छ, रेष्टुरेन्टमा काम गर्न पनि सक्नुहुन्छ।’
चिनीयाँ पर्यटकको नेपाल आगमन हाम्रा लागि एउटा अवसर भएको बुझ्न उनले धेरै जोड दिए। ‘जिन्दगीमा आफ्नो मात्र भाषामा टाँस्सिनुहुँदैन, एउटा नयाँ भाषा सिक्यो भने अवसर थपिन्छ,’ उनले आफ्नो गाउँघरतिरका साथीभाइको अनुहार र सोचविचार सम्झिँदै भने।
उनको घर काठमाडौंकै लप्सेफेदीमा छ। फेदी भने पनि उनको घर डाँडामा रहेछ। गाउँको गुम्बामा आएका एक चिनीयाँमार्फत उनी बेइजिङ जान पाएका रहेछन्। त्यहीँ पुगेर मण्डारिन भाषा सिके। दुई वर्ष काम पनि गरे। ‘चिनीयाँ अक्षर एउटैले अवस्था हेरी अनेक अर्थ दिन्छ, चिनीयाँ सभ्यता नै पाँच हजार वर्ष पुरानो छ। अक्षर त्यसरी बदलिँदै, आधुनिक हुँदै आएको छ। नेपालमा हेर्नोस् न लिच्छिविकालको अक्षर हामी बुझ्छौं त ? बुझ्दैनौं नि, होइन ? पृथ्वीनारायण शाहको पालाको भाषा पनि बुझ्न गाह्रै हुन्छ,’ उनले मलाई पनि सिकिहाल्छ कि झैं गरी अथ्र्याउँदै भने, ‘त्यसैगरी अक्षरको टोनमा धेरै ख्याल पुर्याउनुपर्छ।’
गाउँघरका आफ्ना साथीभाइ तथा अरू नेपाली युवाहरूलाई उनी निराश, अलमस्त र अन्यौलग्रस्त देख्छन्। ‘प्रायः सबैजना खाडी देशमा काम गर्न गएका छन्, नजानेहरु जान खुट्टा उचालिरहेका हुन्छन्। गाउँघरमा काम गर्न कोही चाहँदैन। आफ्नो काम नगर्ने, अरुको काम गर्ने बानी हाम्रो बनिसकेको छ,’ उनले भने, ‘यस्तो बानी कसरी बदल्ने होला ?’
उनलाई खट्केको अर्को कुरा पनि रहेछ। ‘हाम्रो समुदायमा नपढ्ने संस्कार छ। म पाँच जना सन्तानमध्ये माहिलो हुँ। दिदीले पढ्न पाउनुभएन। बहिनीले पनि थोरै पढ्नासाथ बिहे गरी। भाइ बहिनी जेनतेन पढ्दैछन्,’ उनले भने, ‘म के देख्छु भने हाम्रो समुदायमा पढ्नै पर्छ भनेर कर गर्ने, पढ्न हौसला दिने, पढ्ने वातावरण बनाउने कुराको अभाव छ। त्यहीकारण हामी पछि परेका हौं।’
‘ठीक भन्नुभयो,’ मैले भनेँ।
‘यही तालले त सधैँ पछि परिरहन्छौं, यो बदल्नुपर्छ,’ उनले भने, ‘कसरी बदल्ने होला ?’
कसरी बदल्ने होला भन्ने उनको प्रश्न खल्तीमा खाम राखेझै मनमा सुटुक्क साँच्दै थिएँ भक्तपुर आइपुग्यो। म सबैलाई बाई गर्दै निस्किएँ र चिप्लो भक्तपुरे सडकमा चिप्लिँदै हिँडेँ। भ्यानले हिलो फाल्दै मलाई पनि बाई गर्यो।