स्वामी विवेकानन्दले भनेका छन्, आत्मज्ञानबिनाको भौतिक जीवन पराजयमा टुंगिन्छ । जगतगुरु आदी शंकराचार्यको उद्घोष छ, ब्रह्म सत्य जगत मिथ्या । ओशो भन्छन्, आत्मोपलब्धी ‘वुनियादी’ आवश्यकता हो । अर्थात, हाम्रा सबै आवश्यकता पूरा भएर पनि आत्मलाभ तथा आत्मोपलब्धी भएन भने हामी रित्तो तथा खालि महसुस गर्छौं ।
सारा संसारमा यही भइरहेको छ । मान्छे सुख र आनन्द खोज्छ तर तृप्त छैन, बाहिरको उसको खोजी मृगमरिचीका जस्तो हुन्छ । सबै महापुरुषको खोजी आनन्द र शान्तिका लागि थिए । दुःख, पीडा र अतृप्तिका खिलाफ उनीहरू पनि अन्तर्यात्रा सुरु गर्दा अशान्त नै थिए । बुद्ध पनि अशान्त थिए सुरुमा, खोजीका दिनमा, पीडा थियो, छट्पटी थियो, अतृिप्त । निर्वाण अर्थात आत्मोपलब्धीपछि मात्र उनी पनि तृप्त भए र ४० वर्षसम्म अनवरत त्यो तृप्ति, त्यो आनन्द र त्यो सत्यानुभुति सबैलाई बाँडन उद्यत रहे, धर्म देशनाको ज्ञान र साधनाको माध्यमवाट ।
विवेकानन्द, शंकराचार्य र ओशोका यी महान वाक्य त्यसै आएका छैनन् । अनुभूतिबाट आएका छन् अर्थात यथार्थ ज्ञानको प्रज्ञा प्रस्फुटनबाट आएका छन् । अभिव्यक्तिका शैली फरक भए पनि एकै प्रकारका अनुभूतिका प्रतिफल हुन् यी महापुरुषका अध्यात्मका उत्कृष्ट उद्घोष । यी सुक्ष्म र गहिरा विषय छन् अनि अति महत्वपूर्ण पनि । यी वाक्यले बोकेको सार के पनि हो भने यदि आत्मलाभ भयो तर अरु सांसारिक आवश्यकता पूरा भएन भने पनि आफूभित्र एउटा गहिरो सन्तुिष्टको परितोष प्राप्त हुन्छ । यही कारण हो घर छोडेर हिँडेपछि बुद्ध भिखारी भएर पनि सम्राट थिए । एउटा सिद्ध सन्तलाई महाराज भनिन्छ । यी महावाक्य कुनै कथा वा रोमाञ्चकारी चित्रण होइनन्, अपितु मानव जीवनप्राप्तिको उत्कृष्ट ध्येय प्राप्त गर्न प्रोत्साहन गर्ने, अभिप्रेरित गर्ने सत्यका उद्घाटन हुन् । शिखर पुरुषहरूमा प्रज्ञा प्रस्फुटित भई सत्यका पटाक्ष हुन् ।
आत्मोपलब्धी के हो ? यो कहाँ कसरी हुन्छ त ? यसको पहिचान के हो ? वास्तवमा यो त व्यक्तिको शक्तिको स्रोतभित्र हुन्छ । बाहिर त केही देखिदैन । आत्मोपलब्ध व्यक्तिसँग वाहिरी दुनियाँको ताम–झाम, धन–दौलत, मान–प्रतिष्ठा त हुँदैन तर भित्र शान्त र आनन्दरूपी दौलतको अथाह भण्डार हुन्छ र उसको बोली, व्यवहार, शिक्षा, चालढाल र प्रभामण्डलवाट ऊ धनवानको पनि राजा भएको अनुभूति हुन्छ देख्दैमा, उसको शान्त र मधुरताबाट ।
यी माथिका महावाक्यको निचोड के पनि हो भने महाज्ञानको प्राप्ति पनि आत्मोपलब्धीबाटै हुन्छ । यसरी प्राप्त महाज्ञानले नै भय, निराश र कामनावाट मुक्ति दिलाउँछ र यसमा त्यो दिलाउने अकाट्य र स्वभाविक शक्ति हुन्छ । निर्वाणको अवस्था, ब्रम्ह्ज्ञानको अवस्था र आत्मोपलब्धी जे भने पनि एउटै गन्तव्यको पहुँचको अवस्था हो जहाँ सत्य र दिव्यता स्वतः प्रकट हुन्छ । यही कुरा गीता, उपनिषद, वुद्ध वाणी र अन्य महान आत्माका वाणीवाट मुखारित भएका छन् । परा प्रकृतिको प्रत्यक्ष बोध तथा ज्ञान र त्यही दिव्य चेतनाको अवस्था नै आत्म दर्शन हो र त्यसअघिका अवस्था कम प्रकाशित हुन्छन् र मान्छे शुक्ष्मवाट स्थुलतातर्फ बढदै जादा अस्पष्ट दिशा र ज्ञानहिन अवस्थामा रहन्छ । कारणवाट शुक्ष्म र त्यसवाट स्थूल तर्फको यात्रामा अघि बढदा परा प्रकृतिभन्दा अपरा प्रकृितमा गुण र दृष्य घनिभूत हुँदै जान्छन् । आत्मा कुनै वस्तु वा अब्जेक्ट होइन । यो विकाररहित ज्ञानको दिव्य अवस्था हो जसबाट मनुष्यले जीवन र जगतको यथार्थ अवस्था स्वयं प्रकाशित अवस्थामा अनायास नै भेट्टाउँछ । आत्मोपलब्धी र आत्मज्ञान एकै अवस्था हो । कठोपनिषदमा आत्मज्ञान भनिएको छ यसलाई ।
आत्मोपलब्धी नै निर्वाणको अवस्था हो, समाधिको अवस्था हो, भलै समाधि पनि विभिन्न अवस्था तथा चरणमा छन् । यो नै निश्चल नीरवता, स्थितप्रज्ञ तथा प्रशान्तिको अवस्था हो । शान्तिको अर्थ हो, भित्र गहिराइमा बिनाहलचलको अवस्था अर्थात इनर हार्मनीको अवस्था । भित्रको तृप्ति, सन्तुष्टि आफैंभित्र । भित्रको असन्तुष्टि नै मान्छेले बाहिरी जगतमा व्यक्त गर्छ, तर उसलाई त्यो असन्तुष्टिको संस्कार बिजवारे थाहा हुँदैन । भगवान कृष्णले गीतामा भन्नुभएको युक्तसँग जोडिएको अवस्था आफूभित्रकै संगीतको अनन्त धारामा समाहित भएको अवस्था अर्थात आफैंभित्र मोर देन इनफको अवस्था हो । युक्त पुरुष शान्त र ज्ञानी हुन्छ । यी दुवै अवस्था एक अर्कामा परिपूरक छन् । युक्त पुरुषलाई मन र इन्द्रीयका विषयले हरण गर्न सक्तैनन्, त्यसैले उनीहरूलाई अशान्त र अस्थीर बनाउन सक्तैनन्, इन्द्रीयका विषयहरु वशमा हुन्छन् र प्रज्ञा स्थिर हुन्छ । बुद्ध युक्त पुरुष थिए, त्यसैले उनी ज्ञानी, स्वयंमा प्रतिष्ठित र तृप्त अनि शान्त थिए । त्यसैले वुद्ध सम्यक सम्बुद्ध भए ।
आत्मोपलब्धी शान्ति र आनन्द प्राप्तिको त्यो स्थायी मनोदशा र अवस्था हो जहाँ पुगेपछि व्यक्ति स्थूल रहँदैन । व्यक्तित्व अस्तित्वमा नै विलीन हुन्छ, अस्तित्वसँगै एकाकार हुन्छ । फूलमा पंख पूर्ण रूपमा खिल्छन्, उसले लुकाएको महक र सुवास अरुले पनि स्वतः महशुश गर्छन् । बुद्ध, महावीर, नानक, शंकर, कविरलगायतका सन्त पुरुषका जीवनी र शिक्षा मात्रवाट पनि मान्छे आनन्दित, हर्षित र पुलकित हुने कारण यही हो । यस्ता दिव्य पुरुषको प्रत्यक्ष सामिप्य पाउँदा कस्तो महसुस होला, विचार गरौं !
आत्मोपलब्ध व्यक्ति समग्रतामा अर्थात अस्तित्वमा समाहित हुने हुँदा ऊ चुपचाप बस्ता पनि सृजनात्मक उपस्थितिको वोध हुन्छ जुन हामी वुद्ध, महावीर, शंकराचार्य, नानकलगायत श्रेष्ठ पुरुषका जीवनगाथा, जिज्ञासु र साधक तथा दुखवाट गुज्रिएका व्यक्तिलाई दिएको शीतलजल रूपी ज्ञान र साधनाको दिव्यता मार्गमा घटित तथा फलित भएको उदाहरण पाउँछौ । बोलीमा मधुर मिठास, सिर्जनाको अन्नत क्रम, संगीत, कला र साहित्यको एकैसाथ समायोजन जस्ता गुण प्रत्यक्ष हुन्छन् । त्यसैले गीताका वाणी, बुद्धमा धर्म देशना एकैसाथ श्रेष्ठ सृजना, सत्य वचन, काव्य, कविता र संगीतका सुमधुर लहर पनि हुन् ।
आत्मोलब्धी वुद्धत्वको अवस्था हो अर्को अर्थमा । शुद्ध वुद्ध अवस्थाका तथा स्वरुपका मनुष्यलाई देखेर देवता पनि चरणमा शीर झुकाएर आउँछन भनिन्छ र यसको बहुतै काव्यात्मक वर्णन पाउँछौ हामी वुद्ध समयका प्रसंगमा । वुद्ध मनुष्य र देवता दुवैको शास्ता अर्थात आचार्य थिए र देवता पनि मध्यरातमा वुद्ध सामु आउँथे ज्ञानका लागि भन्ने वर्णन छन् । देवताहरु पनि सुखको जतिसुकै पराकाष्ठामा भए पनि सुख त आखिर बन्धन नै हो । भोग जतिसुकै गाढा र शुक्ष्म भए पनि इन्द्रीयको दासता र जालसिवाय केही होइन र अन्त्यमा इन्द्रीयलाई सुकाउने नै हो । तर, आत्मोपलब्धीको अवस्थामा शान्त इन्द्रीयका कारण विक्षिप्तता, विकार, द्वन्द्व हटने हुँदा मान्छेले सुख र दुःख दुवै अवस्थावाट पार पाउँछ । आनन्द बर्सन्छ र शान्ति घनिभूत हुन्छ, सवै प्रकारका व्याकुलता र उत्तेजना क्षीण हुन्छन्, मनमा कुनै तरंग उठ्दैन र शान्त तलाऊ झैं बन्छ मन । यस्तो अवस्थामा अस्तित्वसमेत ईष्र्यालु बन्छ, लोभी बन्छ भन्ने वुद्धको वुद्धत्व प्राप्तिको अवस्थामा अस्तित्वले समेत आफ्ना गति रोकेको अवस्थाको रोमाञ्चित वर्णन सुन्दा साधक कति हर्षित, पुन्कीत र विभोर हुन्छ !
आत्मोपलब्धी, आत्मज्ञान, परमात्माको प्राप्ति, इश्वर साक्षात्कार, प्रभुको दर्शन, मोक्ष र निर्वाणको प्राप्ति सबै एकै अवस्था हुन् । विभिन्न अभिव्यक्ति मार्फत घटित हुने तथा नाम जे दिए पनि महान आत्माको अनुभूति एकै हो । यो नै मानव जीवन प्राप्तिको अन्तिम ध्येय अर्थात स्वयंको स्रोतमा फर्कने यात्रा हो त्यसैले भनिन्छ अन्तरयात्रा । यसका साधनाका माध्यम धेरै छन् । मार्ग धेरै छन्, तर सानातिना अभ्यास, श्रद्धा, विश्वास र समर्पणले मात्र पनि मान्छेलाई माथि उचाल्दै लैजान्छ र आफै बुझ्दै जान्छ अध्यात्म के रहेछ, साधना के रहेछ र ध्यान किन र कसरी जस्ता प्रश्नहरूको जवाफ !