टुन्डु शेर्पा रेडियो समाचार सुन्न मग्न हुन् कि ट्याक्सी चलाउन? उनी सवारी चाप हुने बिहान नौ बजेको बुलेटिन बकाइदा घन्काउँदै हामी बाबु छोरीलाई स्कुलतिर गुडाउँदै थिए। उनको शान्त मुद्रा एक्कासि भंग भयो।
'नेपालमा पैसा बढी भएको हो?' उनले मुख फोरे। खासै बोल्न नखोज्ने टुन्डुलाई आक्रोशित बनाउने समाचार भर्खर प्रसार भएको थियो। त्यो कति करोड रुपैयाँबारेको थियो मैले हेक्का राखिनँ। उनी जंगिए, 'काठमाडौंमा फूल विरुवा रोप्न कसरी करोडौँ खर्च हुन्छ?'
मैले छोरीलाई हेरेँ, ऊ झोलाको चेनको टुप्पो मुखमा घुसाएर गिजा चलाउँदै बाहिर सडकको अस्तव्यस्तता नियालिरहेकी थिई।
'मलाई जिम्मेवारी दिने हो भने एक डेढ लाख रुपैयाँमा काठमाडौंभरि विरुवा रोपिदिन्छु,' उनले भने।
'त्यही त है?' मैले उनलाई बकाउने गरी थप उक्साउन भनेँ।
हात स्टेयरिंगमा नभएको भए उनले औंला भाँच्दै हिसाब सुनाउने रहेछन्। मैले बुझ्ने गरी उनले भने, 'पाँच हजारमा एउटा ट्रिपर भाडामा पाइन्छ। त्यो लिएर डाँडापाखातिर जाने हो भने फूलका बेर्ना गोटाको पन्ध्र, बीस रुपैयाँमा जसले पनि दिन्छ। तपाईं कति रोप्नुहुन्छ? रोप्नुपर्ने कहाँ कहाँ छ?'
रेडियोमा हरेकपल्ट आउने करोडका करोड खर्चबर्चका समाचारले उनलाई उफार्नु स्वाभाविक थियो। यस्ता श्रमजीबीहरूले राज्यका तर्फबाट हुने खर्चप्रति प्रश्न उठ्दा जवाफ पाउन सक्दैनन्। मनको सन्तोषका लागि भए पनि कान थापिदिने आफ्ना यात्रुसँग यसरी भुत्भुताउँछन्।
सार्क सम्मेलनसम्बन्धी चहलपहलले राजधानीका सडकलाई व्यस्त बनाएको छ। सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लिँदै गएको छ। सेनासमेत गस्तीमा देखिन्छ। सरसफाई, लिपपोत, फूलविरुवा रोपण जारी छ। आखिरी घडिमा काम गर्ने त हाम्रो बानी नै हो। गरे के नहुँदो रहेछ र? राजधानीको नाभीस्थलमा दशर्कौदेखि राज्यको लाचारीको छायाँ कोरल्दै बसेको राष्ट्रिय सभागृह समेत चिटिक्क पार्न सकिने रहेछ।
हेर्नुहोस् तस्विरहरूमा
सार्वजनिक भवनहरू हुँदाहुँदै ठूला कार्यक्रमका लागि होटलको मुख नताकि हुन्थेन। किनभने सरकारी गृहहरु ठुस्स गन्हाइहाल्छन्। राष्ट्रिय सभागृह समेत सार्क शिखर सम्मेलन गर्न समर्थ बन्न सक्छ भने मान्नुहोस् नेपालमा जुन भवनले जस्तोसुकै कार्यक्रम पनि थेग्न सक्ने बनाउन सकिन्छ। चाहिने रहेछ चाँजोपाँजो मिलाउनसक्ने क्षमता र अठोट।
हाम्रा निकायहरूले यत्ति पनि कहाँ गर्थे र? सार्क सम्मेलन परेर न हो नाकका चालले यसरी काम गर्नु परेको। परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेका शब्दमा सक्रिय राजतन्त्रका बेला पहिलोपल्ट सार्क सम्मेलन गरियो, दोस्रो संसदीय व्यवस्थाकालमा र अहिले गणतन्त्रकालमा। जुन काल होओस् न अकालमा अकारण आउने होइन यस्तो सम्मेलन। तीन वर्षअघि तोकिएको भए पनि आखिरी तीन महिनामा काठमाडौंलाई तजोतराज राख्न पाइला चालिएको न हो। अरु बेला त काठमाडौंलाई आलस्यको धुवाँदार तन्नाले बेरेर राखेकै थियो।
टुन्डु शेर्पाको धीर, शान्त अनुहारमा नीलो नशा देखिएलाझैं लाग्ने गरी उठेको प्रश्नको रन्कोबीच मैले खल्तीमा हात घुसारेँ। भर्खर किनेको मास्क जतनले पल्टाएर राखेको थिएँ। हिँड्दा अनिवार्य लगाउनैपर्छ। दिनकै फेर्नुपर्ने गरी फोहोर हुन्छ। त्यो जाबोको दश रूपैयाँ पर्छ। एक, दुई रूपैयाँ भन्दा बढी परल पर्दैन। थोकमा किन्दा तीन, चार रूपैयाँमा पाइने त्यस्तो कागजी मास्कलाई तीन वर्षअघि सरकारले यस्तै सफाई अभियानमा हजारौँ हजार खरीद गर्यो, गोटाको ३५ रूपैयाँ दरले।
सुरक्षाकर्मीहरूलाई काठमाडौंका सडक सफाई अभियानमा उतार्दा एकै दिनको प्रयोजनका लागि कति करोडको खर्च देखाइयो साँधी भएन।
महंगीले त्यसै डामेको सहरमा सरकारी खर्च यति अचाक्ली अपत्यारिलो हुन्छ जसमा टुन्डु शेर्पाहरू मुर्मुरिन मात्र सक्छन्। अघिल्लो साताका मेरा
ट्याक्सीचालक मणिक लामाझैँ आइपुगेका थिए टुन्डु हामी बाबुछोरीछेउ। उनले कहाँ जाने भनेर सोधेनन्। जबकि त्यसयता काठमाडौंमा जतिसुकै ट्राफिक प्रहरी कडा प्रस्तुत भइरहे पनि ट्याक्सीचालकमध्ये कतिपय अझै 'कहाँ जाने' भनेर यात्रुलाई सोध्छन्। भित्र बसिसकेपछि 'मिलाएर दिनोस्न' भन्छन्। 'मिटर चलाएर कहाँ जीविका चल्छ र' भन्नेहरू मैले कत्ति झेलेँ। मणिक लामाले अघिल्लो साता मसँग भनेका थिए, 'पैसा पुगेन भनेर यात्रुलाई भन्ने हो र? सरकारसँग पो माग्ने हो।'
मैले ट्याक्सीचालक चिन्ने एउटा सरल काइदा बनाएको छु। 'कहाँ जाने' भनेर सोध्ने र 'मिलाएर दिनोस्न' भन्नेसँग भरसक यात्रा नगर्ने। त्यस्ता एकजना चालक निकै तन्नेरी थिए जसले मलाई सुनाएअनुसार सरकारले ६७ रूपैयाँ प्रति लिटर पेट्रोल हुँदाखेरि प्रति किलोमिटर २५ रूपैयाँ उठ्ने मिटर निर्धारित थियो। १ सय ३५ रूपैयाँ लिटर पेट्रोल हुँदा पनि प्रति किलोमिटर ३५ रूपैयाँमात्र बनाइयो, जबकि ५० रूपैयाँ बनाइनुपर्थ्यो।
'अहिले तेलको भाऊ घट्यो नि त,' मैले भनेँ।
'दुई चार रूपैयाँ घटाएर के पुग्छ?' उनी राँक्किए, 'साहूलाई दिनको हजार रूपैयाँ बक्सिस टक्र्याउनुपर्छ। मान्छेहरू ट्याक्सीमा पैसा फल्छ भन्ठान्छन्।'
'मिटरले धान्दैन भनेर सरकारसँग भन्नुभएन त?'
'सानो जुलुश निकाल्यौँ तर हाम्रो के कदर?' उनले भने।
प्रायः तन्नेरीहरू बढी कमाइहालुँ भन्नेमा लालायित भेटिनु सामान्य लाग्छ। विदेश जान पाए के के न भइहाल्थ्यो भन्ने त आम रूमानी धारणा छँदैछ। श्रमिकका रुपमा विदेश जान पासपोर्टै बनाउन भनेर काठमाडौं धाउने हजारौं तन्नेरीमध्ये एकजनालाई त एउटा ट्याक्सीवालाले पहिल्यै भाऊ मिलाएका रहेछन्। उनलाई अगाडि राखेर पछाडिका सीटमा हामी बाबुछोरीलाई बस्न भने। हामीसँग पनि दर मिलाउन भने। अगाडि बसेका 'म्यानपावर'को हातमा बरा फोटोकपी गरिएका कागजको फाइल थियो।
'म्यानपावर' भएर विदेश जानेहरू ठगिने सिलसिलाको कहीँ अन्त छैन।
टुन्डु जस्ता अनुभवी ट्याक्सीचालक परे भने तपाईं ढुक्क भए हुन्छ। नेपाली सेनाबाट अवकाश पाइसकेका उनले दुईटी छोरीलाई स्कुल पढाउन यसरी काम गर्नैपर्छ, पेन्सनले थेग्दैन। उनलाई जीवनमा सन्तोषै छ। नियमअनुसार चलेकै छन्।
काठमाडौंको जीवनमा सम्भव हुने सपनालाई ओत दिएका छन्। यात्रुको सेवा गर्नुपर्छ भन्ने मन्त्र लिएका छन्। बरु जनताको 'सेवा' गर्छु भन्ने सरकारले 'मेवा' र 'ढेवा'मा मात्रै ध्यान दिने गरेकामा उनको चित्त बुझ्दैन।
कस्तो व्यावहारिक कुरा गर्नुहुन्छ तपाईं भन्दै फुर्काउँदा उनी जोशिँदैनन्। तपाईंको उमेर त अनुहारमा देखिँदैन नि भनेर कोट्याउँदा उनले भने, 'डाँडापाखामा खोरिया खन्दै हुर्केको ज्यानमा उमेर त लुक्छ।'
त्यसो भनेर उनी हाँस्न पाउने थिएनन् किनभने रेडियोमा समाचार जारी थियो।