‘खालि छ ?’
ट्याक्सी यात्रु पर्खेर बसिरहेको हुन्छ, हामी विनम्रसाथ सोधिटोपल्छौं।
‘कहाँ जाने ?’
हामी ढोका खोलेर भित्र बसिसकेका हुन्छौं, प्रश्न त्यस्तो आउँछ।
‘फलानो ठाउँ,’ हामी भन्छौं।
‘कति दिनुहुन्छ ?’ प्रश्न उल्टेर आउँछ।
‘मिटर चल्दैन र ?’ हामी सोध्न खोज्छौं, सोध्न पनि सक्छौं। सोध्या पनि हुन्छौं।
त्यसपछि बित्थामा बहस हुन्छ।
मैले छोरीलाई स्कुल पुर्याउने हतारमा लगालग दुईटा ट्याक्सीभित्र पस्दै, निस्कँदै गरेको अर्का एकजना ट्याक्सी चालकले देखेछन्। ट्याक्सी नै ट्याक्सीको भीडमा उनी पछाडि थिए। उनी चल्मलाएको आभाष पाएँ। उनले झ्यालबाट मुन्टो निकालेर मसँग जान नमानेका एउटा ट्याक्सीवाललाई सोधे, ‘किन नगएको ?’
‘मिटरमा जाने भन्छ,’ त्यो ट्याक्सीवाला सही जवाफ दिएर पन्छिए। म छोरीको हात समात्दै हेर्दै थिएँ, प्रश्न सोध्ने ट्याक्सीवाला त्यो भीडमा मुश्किलले आफ्नो वाहन सडकतिर निकाल्न कस्सिए। उबडखाबडमा त्यो वाहन हाँसझैं ढल्किँदै मल्किँदै हामी उभिएनेर सडकमा आइपुग्यो। धन्य, उनलाई अरुले अत्तो थापेर रोकिदिएनन्।
कतिको त अनुहारमै मिजास झल्किएको हुन्छ। उनको हँसिलो अनुहारमा आँट मिसिएको आभा थियो। बस्नुहोस् भन्दै हामीलाई अगाडि सीटबाट एक हातले पछाडिको ढोका खोलिदिँदै भने। कहाँ जाने सोध्दा नि सोधेनन्। कुरा बुझेर छोरीले आफ्नो स्कुलको ठाउँ भनिदिई।
बिहान बिहानै तपाईंको मुड खराब गरिदिए है तिनीहरुले ? उनले मुख्य सडकमा गाडी निकालेको केही बेरमा मुख खोले।
म त कराउनै छाडिसकेँ, मैले भनेँ, यस्तै भइरहन्छ बेलाबेला।
कोही बोलेन भने त झन् यस्तै भैरहन्छ, होइन र ? उनले मलाई सम्झाउने गरी भने।
मणिक लामा ट्याक्सी ड्राइभरको मान बढाउने मर्यादा पुरुष झैं प्रतीत हुन थाले। उनले थपे, मिटरमा जान कोही मानेन भने १०३ मा फोन गरिदिनुपर्छ। ट्याक्सी नम्बर टिपेर भनिदिनु भए जाति हुन्छ।
हगि ? मैले सही थाप्दै गएँ।
तपाईंले सित्तैमा जान खोज्नुभएको थिएन। मिटरमा जान्न भन्न पाईंदै पाईंदैन। तपाईंले बुझ्नुभएन ? चक्रपथबाहिर तीन किलोमीटर भन्दा टाढा कसैले जाऊँ भन्यो भनेमात्रै मोलतोल गरे हुन्छ। किनभने त्यति टाढा फर्किने यात्रु नपाइन सक्छ।
तपाईंले मलाई सही सम्झाउनुभयो, मैले भनेँ।
म हत्तपत्त ट्याक्सी चढ्दै चढ्दिन। काठमाडौं गाडी चढ्न गतिलो सहर हुँदै होइन। जथाभावी हर्न, फुंग धुलो र ह्वास्स धुवाँ। अर्काको ठाउँ च्याप्लाजस्तो, सडक हिँड्नेलाई किच्लाजस्तो। हरबखतको हैरानी। गति त त्यसै पनि हुँदैन। ओभरटेकमात्र चर्को।
साझा बस सबै रुटमा छैन र जहाँ गुड्छ त्यसमा पनि थोरै हुनाले धेरै बेर पर्खेर उकुसमुकुससाथ सर्दै उभिनुपर्छ। नेपाल यातायातका बस टन्न छन् तर पाएसम्म भकारी भरेरमात्र नपुगेर एक दुई बोरारुपी यात्रु कोचेरै गुड्न रुचाउँछन्। ट्याम्पो र माइक्रो त कोही उभिएको देख्नासाथ घ्याच्च रोकिहाल्छन् र यात्रुको टाउकोमा टुटुल्को जति उठोस् गएगुज्रेको सडकको भ्वांगमाथि उफार्दै गुड्छन्।
म हिँड्छु। तर हिँड्नेलाई झन् सास्ती छ। फुटपाथ कहाँ छ ? जहाँ जहाँ छ त्यहाँ बाँदरको पुच्छरजस्तो बांगिएको र पुरेतेको टुप्पीजस्तो खिइएको छ। फुटपाथ भएका ठाउँमा पसलहरुले अग्राधिकार जमाएका छन्। छिटो हिँड्न त त्यसै पनि पाईँदैन। बदाम खाँदै समय वियाल्न बरालिएजस्तो हुन्छ। अलि साँघुरा सडकतिरका फुटपाथहरुमा नानाथरी तारहरु गुजुल्टिएका हुन्छन्। फुटपाथ कहाँ सकिन्छ र कहाँ सुरु हुन्छ पत्ता लगाउन तपाईं सक्नुहुन्न। बनिरहेका घरका भित्ताबाट सिमेन्ट मिसिएको पानी छ्याप्प तपाईंको मुखमा परेन भने मलाई भन्नुहोस्।
फुटपाथको अवहेलना काठमाडौं महानगरको पहिचान भइसकेको छ। नत्र त काठमाडौं कत्रो न भवसागर हो र ? एक ठाउँबाट अर्कोसम्म हिँडेरै पुग्न सकिन्छ। फुटपाथ तन्दुरुस्त छ र अलि लम्किने हो भने जहाँ पनि जतिखेर पनि पुग्न नसकिने होइन। विकासको बाटो विराएर अलमलिएको तर सार्क शिखर सम्मेलनको ताक परेर सिँगारिन खोजेको यो अस्तव्यस्त ठाउँलाई व्यवस्थित सहर बनाउन सकिने ठाउँ र मौका अझै छ। त्यसका लागि सबभन्दा पहिला फुटपाथको पहिचान कायम हुनुपर्छ। साइकल सडक त्यसपछि कुरा गर्दै गरौँला।
अहिलेलाई मैले कुरा उप्काएको ट्याक्सीचालकहरुको रवैयाको हो। ट्याक्सीचालकहरु प्रायः बुझक्कड हुन्छन् र कुरा गर्न फरासिला। कोहीकोही देश देशावरका नानाभाँती कुरा ल्याउँछन्, कोही व्यावहारिक जीवनका गुढ रहस्य पनि खोल्ने गरी बोल्छन्। राजनीतिबारे तिनका तीखा टिप्पणी रोचक हुन्छन्। मेरा यी पछिल्ला ट्याक्सीचालक मणिक लामाले सरसरती पत्रकारझैं जानकारी पनि दिए, ‘अब अढाई हजार ट्याक्सी थपिँदैछन्, त्यसपछि लाइन्मा आउँछन् मात्तिएका ट्याक्सीवालाहरु।’
‘कसरी ?’
‘अहिले प्रायः ६ हजार चानचुन ट्याक्सीमात्र गुड्छन्, ती पर्याप्त भएनन्। त्यहीकारण उनीहरुले जे भने पनि यात्रुले मान्नुपर्ने अवस्था छ, उनले भने, ती ट्याक्सी थपिएपछि यात्रुले भनेको ट्याक्सीले मान्नुपर्ने हुनेछ। तपाईं पैसा तिर्नुहुन्छ तर जाडोमा न्यानो ट्याक्सी चढ्न पाउनुहुँदैन, गर्मीमा शीतल ट्याक्सी पाईँदैन। हामी ट्याक्सी चलाउँछौं र यात्रुसँग पैसा लिन्छौं तर सन्तुष्टी दिन सक्दैनौं।’
‘त्यही त,’ मैले पुनः सही थापेँ।
‘म हेर्नुस्, सात वर्षमा एकपल्ट ट्राफिक प्रहरीको जाँचमा परेँ, त्यो पनि ब्रेक लाइटको विषयमा। अहिलेसम्म छुसुक्क केही गरेको छैन। यात्रुहरुको दिमाग खराब पनि गरेको छैन।’
उनी हाँसेनन्। स्कुलछेऊ उनी रोकिए। उनको मिटर तन्दुरुस्त नहुने गुञ्जायसै छैन। ठ्याक्क डेढ सय रुपैयाँ। छोरीले बाहिर निस्केर झोला भिरेपछि बाईबाई भनी। मैले धन्यवाद् दिएँ। ती हँसिला र सेवामुखी भावनाका ट्याक्सीचालक अगाडि बढे। मैले पछाडिबाट उनको नम्बर ख्याल गरेँ र यस लेखको शीर्षक बनाएँ।