अफ्रिकाबाट शुरु भएर हाल कम्तीमा तीन महादेशसम्म फैलिइसकेको इबोला रोगले संसारभर मानिसहरुलाई त्रस्त बनाएको छ।
तर यो त्रासबाट माथि उठेर हेर्ने हो भने के देखिन्छ भने जनस्वास्थ्यका लागि यो एउटा मात्र जोखिम हैन। पछिल्ला दशकमा देखा परेका विश्वव्यापी स्वास्थ्य संकटमध्ये एचआइभी एड्सजस्ता रोगसित बाँच्न हामीहरु अभ्यस्त भइसकेका छौं भने सार्स र स्वाइन फ्लू भनिने एचवन एनवन इन्फ्लुएन्जाजस्ता संकट चर्चामा आउँदै हराउँदै गरेका छन् र बर्ड फ्लू भनिने एभियन इन्फ्लुएन्जा चाहिं लोड गरिएको तर ट्रिगर दबाउन बाँकी राइफलजस्तै बनेर हाम्रै वरिपरि घुमिरहेको छ। तीव्र रुपमा बढिरहेका उच्च रक्तचाप र मधुमेहजस्ता मोटोपनजन्य रोग र क्यान्सरजस्ता नसर्ने रोग मात्र नभएर एन्टिबायोटिक—प्रतिरोधी संक्रमणजस्ता सर्ने रोगहरु पनि अब जनस्वास्थ्यका सदाकालीन चुनौतीका रुपमा देखा परेका छन्।
तर यो तथ्यले के कुरालाई नकार्दैन भने, त्यस्ता धेरै जोखिममध्ये अहिलेका लागि इबोला प्रमुख जोखिम भएर देखा परेको छ।
अहिले मंगल ग्रहबाट फरक प्रजातिको जीव पृथ्वीमा आयो भने उसले हाम्रो संकटलाई हामी जसरी हेर्छौं, त्यसरी हेर्दैन। यदि हामीले एउटा रुखमा हेरेर सारा जंगलको बारेमा निश्कर्ष निकाल्न थाल्यौं भने त्यसले केही आंशिक सत्य त उद्घाटन गर्ला तर जंगलको समष्टिगत स्वरुप वा प्रकृतिबारे कुनै पनि सत्य उद्घाटित गर्न सक्दैन।
हो, इबोलालगायत विश्वव्यापी स्वास्थ्य संकटबारे समग्र सत्य उद्घाटन गर्ने हो भने त्यस्तै मंगल ग्रही भिजनसहित हेर्नुपर्छ। अर्थात्, एकछिनलाई रुखको अध्ययन थाँती राखेर झाडीको अध्ययन गर्नुपर्ने हुन्छ।
त्यसरी हेर्दा के देखिन्छ भने, दैनिक सयौंको दरमा पृथ्वीका अन्य प्रजातिका वनस्पति तथा प्राणीलाई यहाँबाट लोप पार्दै, घण्टाको सयौं हेक्टरका दरले जंगल सखाप पार्दै, हावामा लाखौं टन विषाक्त धुवाँ र रसायन छाड्दै, पानीमा दैनिक लाखौं टन विषाक्त औद्योगिक फोहर मिसाउँदै अनि बेलाबेलामा अप्राकृतिक र पर्यावरणका लागि घातक रेडियोधर्मी विकिरण छाड्दै मानिसले पृथ्वीमा जुन ध्वंश मच्चाउँदैछ, प्रकृतिले यो भाइरस वा त्यो सुनामी, यो खडेरी वा त्यो महामारीका रुपमा दिने सजायँहरु त्यसको तुलनामा केही पनि हैनन्।
उसै पनि मानिसजस्तो विध्वंशक प्रजातिका छ वा सात अरब सदस्यका लागि यो ग्रह बनेकै हैन। ती सात अरबले अझ पाए भने झण्डैं दुई अरब रेफ्रिजेरेटर, तीन अरब अटोमोबाइल, दुई अरब टेलिभिजन सेट, पाँच अरब सेलफोन सेट र दुई अरब निजी कम्प्यूटर राख्थे। प्रविधिले फड्को मार्दै गर्दा एकाध वर्ष वा दशकमा मानिस जातिले यी सबै भौतिक आवश्यकता पुर्ति गर्ने सम्भावना पनि छ। तर त्यसो भए पछि न जमिन बस्न र खेती गर्न लायक रहने छ, न त पानी पिउन लायक र हावा सास फेर्न लायक नै रहनेछ।
अहिले नै चीनका कति तटीय शहर लगायतका धेरै औद्योगिक क्षेत्रमा त्यो अवस्था आइसकेको छ भने विकासोन्मुख तर पहिल्यै जनसंख्या विस्फोट भइसकेका भारत र बंगलादेशजस्ता देशहरु त कुनै ठूलो स्तरको मानवीय विपत्तिका लागि तयार पारिएका भीमकाय प्रयोगशालाका रुपमा रहेका छन्।
कुरा के भने, इबोलाबारे झिनामसिना कुरामा जानुअघि अहम् महत्वका तर चर्चामा नआउने गरेका यी तथ्यबारे जानकारी पाएपछि त्यसले हामीलाई रोगको सानो वा माइक्रो तहको आंशिक जानकारीबाट अत्तालिनुको सट्टा यो र योजस्ता रोगको वरपरको यथार्थलाई समष्टिमा बुझ्न सघाउ पुर्याउँछ। हामीलाई याद रहे पनि वा नरहे पनि प्रकृतिलाई मानव जातिले जुन स्तरमा चुनौती दिंदै जान्छ, त्यही स्तरमा प्रकृतिले पनि प्रतिक्रिया जनाउँदै जान्छ, खाली कुन रुपमा र कति मानवीय क्षति हुने गरी अनि कति अवधिको फरकमा भन्ने प्रश्न मात्र हो। त्यो किनभने प्रकृतिमा कुनै पनि कुरा असीमित छैन, जब कि मानव जातिको व्यवहार हेर्दा लाग्छ प्रकृतिमा उपलब्ध सबै कुरा असीमित छन्।
रेबिजजस्ता शत प्रतिशत मृत्यूदर हुने र इबोलाजस्ता उच्च मृत्यूदर भएका संक्रमणहरुले मानिस जातिलाई आफ्नो भौतिक तरक्की र प्रकृतिलाई चुनौती दिएर पनि बाँचिरहने क्षमताको सीमितताको बोध गराउँछन्। चार हजार वर्षअघि इबोलाजस्तो रोग देखियो भने रोग देखिएको क्षेत्रका निश्चित मानिसहरु विना उपचार मरेर जान्थे तर रोग अर्को महादेश त के केही हजार किलोमिटर परसम्म फैलिनु पनि असम्भव थियो। १९७६ यता अफ्रिकामा पटकपटक ससाना स्थानीय वा क्षेत्रीय महामारकिो रुपमा देखिने गरेको इबोलालाई पनि यसपालिको महामारी आउनु अघि त्यस्तै कुनै क्षेत्रमा देखिने तर त्यहीं हराएर पनि जाने महामारीको रुपमा लिइन्थ्यो। अहिले इबोलाको भ्याक्सिन तयार नहुनु र त्यसको औषधि अझै परीक्षणको अवधिमा रहनुपछाडि यो तथ्यको पनि हात छ।
त्यसरी मानव जातिको इतिहासमा सयौं र हजारौं घातक रोग र संक्रमणहरु आए र गए। तर अब त्यो सम्भव छैन।
एकतिर, विश्वको एक कुनामा देखा परेको संक्रमण दिन वा हप्ताभरमै अर्को कुनामा पुग्छ। हुन पनि हाम्रो समग्र भौतिक समृद्धि र आधुनिक जीवन पद्धति यस खालको तीव्र यात्रामै अडेको छ। त्यसो नभए ब्राजिलका कुखुरा ल्याएर अमेरिकाको कम्पनीले काठमाडौंमा पकाएपछि त्यो खाएर मात्र पूर्ण मानव बन्ने कल्पना बोकेर हिंड्ने मानि; कहाँ अस्तित्वमा हुन्थे ?
अर्कोतिर, जसरी दश हजार वर्ष अघिको मानव जाति र अहिलेको मानव जाति उस्तै छैन, दश वर्ष वा सय वर्ष अघिका भाइरस र ब्याक्टेरियाहरु र अहिलेका तिनका उही प्रजातिका सन्ततिह उस्तै छैनन्। जुन सुकै मूल्यमा तिनलाई जितेर मानिसले बाँच्न प्रयास गरेसँगै तिनले पनि प्रतिकुलतालाई झेल्ने आ–आफ्ना तरिकाहरु विकास गरेका छन् जसमध्ये एन्टिब्याक्टेरियल वा एन्टिभाइरल औषधिहरुबाट बच्न तथा सजिलै एउटा ठूलो प्राणीबाट अर्को ठूलो प्राणीमा सर्ने विधि आविष्कार गर्ने तरिकाहरु प्रमुख हुन्।
इबोलाको सन्दर्भमा यो भाइरसले विगत भन्दा धेरै छिटो र सजिलोसँग सर्ने क्षमता विकास गरेको त देखिन्छ नै, त्यस खालको विकासक्रम अझ तीव्र भएर हामीले अध्ययन गर्न नपाउँदै त्यसले त्यसरी तर्ने नयाँ तरिका र माध्यमहरु विकास गर्ने सम्भावना पनि उत्तिकै छ।
हो, इबोलालगायतका सबैजसो आधुनिक स्वास्थ्य समस्या प्रत्यक्ष वा परोक्ष रुपमा हाम्रा यस्तै प्रवृत्ति र व्यवहारका परिणाम हुन्। तिनको उत्पत्ति जतिसुकै प्राकृतिक र मानव गतिविधिसँग असम्बद्ध भए पनि तिनको फैलावट जहिले पनि मानिसको आधुनिक जीवन पद्धतिसँग जोडिएको हुन्छ। यो तथ्य यी सबैको बीच बसेर बानी परेका हामीले जति देख्छौं, त्योभन्दा धेरै राम्रोसँग बाहिरी ग्रहबाट आएको जीवले देख्न सक्थ्यो।
तर दुर्भाग्य, हामी सबै पृथ्वीवासी मानव समुदायका सदस्य हौं। इमान्दारीपूर्वक भन्नुपर्दा, पृथ्वी एकाध वर्षमा मानिस बस्न अयोग्य होस्, यसका भुमिगत प्राकृतिक सम्पदा शुन्यमा झरुन्, समुद्र माछाविहीन र विषाक्त पानीको भण्डारमा बदलियोस्, नदीहरुका सतहमा हजारौं मरेका सुँगुर तैरिरहुन्, पानीका मुहान सुकुन्, संसारका सबै शहरको वायु सांघाइ वा मेक्सिको सिटीको जस्तै प्रदुषित होस्, हिमालयको र ध्रुवीय हिउँ पग्लेर माल्दिभ्सजस्ता देशको अस्तित्व हराओस् र बंगलादेशजस्ता देश आधा पानीमुनि पुगुन्, तैपनि हामी हाम्रा जीवन शैली बदल्न तयार छैनौं।
भएका सुविधा त्याग्नु त कता कता, टार स्याण्ड्सजस्ता तेल निकाल्ने अतिशय प्रदुषणजन्य उपाय खोजेर भए पनि क्षणिक सम्पन्नताका लागि मानव—मैत्री ग्रहका रुपमा पृथ्वीको आयु छोट्याउन हामी नै उद्यत् छौं। अर्थात् भनौं, मानव समुदायका ती नेतृत्वदायी व्यक्ति उद्यत् छन्, जसको एउटा निर्णयले (जस्तो कि अमेरिकामा किस्टोन पाइपलाइन निर्माणका लागि अनुमति दिने कि नदिने भन्ने निर्णय) छ अरब मानिसको भविष्यमा प्रत्यक्ष असर पार्छ।
हो, हामीपछि आउने दोस्रो वा चौथो वा छैटौं पुस्ताले पृथ्वीलाई प्रदुषित र बाँझो मरुभुमिका रुपमा किन नपाओस्, हामीलाई अहिल्यै कारहरु चढ्नु छ, विशाल कंक्रिटका घरमा बस्नु छ, मानिसले आवश्यकता महसुस नै नगरेका वस्तुहरु निर्माण गरेर विज्ञापन र प्रोपागाण्डा गरेकै भरमा बेचेर धनी हुनु छ, प्रविधिकै बलमा बालुवाको पहाडलाई डोजरले ओधारेर तीव्र भुक्षय गर्दै गाडीहरु गुडाउनु छ। अर्को शब्दमा, आम सरोकार र दीर्घकालीन भविष्यका विषयमा न हामी चिन्तित छौं, न हाम्रो नेतृत्व, न सरकार र राज्य। सीमित वैज्ञानिकहरु जो चिन्तित छन्, तिनको आवाज धनी उद्योगीहरुको रट लगाइरहने मूलधारको मिडियाको चर्को हल्लामा कता हराएका छन् कता।
त्यति हुँदाहुँदै, अर्को व्यवहारिक सत्य के हो भने, मानव जातिका कुकर्म र अतिकर्मका लागि मानव जाति नै दण्डित हुनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रुपमा सहमत हुन सकिए पनि इबोला वा सुनामीमा मर्ने पहिलो व्यक्ति वा पहिलो नेपाली बन्न हामी तयार छैनौं। त्यो स्वभाविक पनि हो, जस्तो सुकै अपराधी पनि अपराधबोध र कुण्ठा पालेर पनि बाँच्नचाहिं चाहेजस्तै प्राणी जगत्को एउटा प्रजातिका रुपमा जति अपराध गरे पनि मानव जाति ठूलो संकटमा परोस् र लाखौं वा करोडौं मानिस मरुन् भनेर हामीले सोच्न सक्दैनौं।
त्यसैले इबोलाबाट बच्नेबारे यो 'डाइरेक्ट्री'मा जति चर्चा हुन्छ, त्यो इबोलाजस्ता मानवजन्य कारणबाट फैलिइरहेका रोगहरुको समग्र निराकरणतिर हैन कि फैलिइसकेको रोगबाट हामी र हाम्रो वरपरका मानिसलाई कसरी बचाउने भन्ने मात्र हो। यही निहुँमा प्रजातिका रुपमा मानवले पृथ्वीमा मच्चाइरहेको ताण्डवबारे पनि मानिसहरुको ध्यान गयो भने त्यो सुनमा सुगन्ध हुनेछ।