गृहमन्त्री बामदेव गौतम ज्यू, सरकार, संसद र प्रभावशाली ठाउँमा रहेका संवेदनशील महानुभावहरू,
म यो खुला र सार्वजनिक चिठी यही २०७१/६/३१ मा जारी गृह मन्त्रालयको प्रेस विज्ञप्ति भनेर सामाजिक सञ्जालमा व्याप्त भएको एउटा पत्रबारे लेख्दैछु। यो विज्ञप्ति देखेर म ३१ गतेका दिन नै छक्क परेको थिएँ, तर मेरा मनले यो नक्कली पनि हुन सक्छ भन्ने आशा गरेछ, कदाचित् गृह मन्त्रालयले खण्डन गर्छ कि भनेर आस गरेर बसेँ। तर आजसम्म केही नआउँदा वास्तविक पत्र नै रहेछ भन्ने विश्वास गरेर यो पत्र लेख्दैछु।
पत्रको दोस्रो खण्डसित मेरो कुनै आपत्ति छैन। आतशबाजी हाम्रो संस्कृतिका अङ्ग होइनन्। बजारले मात्र भित्र्याएका यस्ता विष्फोटक पदार्थको आर्थिक, वातावरणीय र सुरक्षासम्बन्धी जोखिम ठूलो छ। त्यसमा संवेदनशील नागरिकहरूले सरकारलाई सधैँ साथ दिएका छन्। प्रहरीको अग्रसरता पनि प्रशंसनीय छ। तर पनि तिहारका बेला राजधानीमै पनि प्रसस्त पटकाहरू पड्किने गरेको कुरा हामी सबैलाई थाहा छ।
पत्रको पहिलो खण्डमा जारी भएको 'सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू बेलुका १९ बजेसम्म मात्र गर्न' गृह मन्त्रालयले 'सम्बन्धित सबैमा' गरेको 'हार्दिक अनुरोध' भने आपत्तिजनक छ।
भन्नुहोला, यो गृह मन्त्रालयको अनुरोध मात्र हो। तर सरकारका यस्तै अनुरोधलाई कानुन सरह पालना गराउन खोज्ने प्रहरीको व्यवहार यहाँहरूले बिर्सिनु भएको छैन भन्ने मेरो आशा छ।
परम्परादेखि नै देउसी भैली साँझ र राति नै खेलिने कुरा हो। दिनभर काम गरेर मानिसहरू साँझ परेपछि देउसी भैली खेल्न निस्किन्छन्। सहरमा कसैको निद्रा बिग्रिएला, तर गाउँमा आफ्ना घरमा देउसे भैले आइपुगेनन् भने मान्छेले आफूलाई अपमानित अनुभव गर्छन्। यो संस्कृति हो। मान्छे कुनै यन्त्रजस्तो भनेको समयमा 'अन' र 'अफ' हुन सक्दैन। रातभर नाच्ने रहर र अधिकार महँगा नृत्यशालामा मात्र सीमित हुनु हुँदैन। शताब्दियौँदेखि बलिराजाको आदेशमा घरघरमा आवतजावत गर्ने देउसेभैलेलाई रोक्ने अधिकार तपाईँहामीसित छैन।
माओवादी सशस्त्र द्वन्द्वका बेला मान्छे साँझ परेपछि हिँड्दैनथे। मान्छेले आफूलाई साँच्चै असुरक्षित ठान्यो भने घर पस्नलाई सरकारको अनुरोध चाहिँदैन। त्यसबेला रोकिएका चाडपर्व, जात्रा-मेलाहरूलाई सरकारले होइन, मान्छेको मनले पुनर्स्थापना गरेको हो। मान्छेको फुकेको मनलाई आदेश र अनुरोधको अङ्कुश नलगाइदिनुहोस्। सांस्कृतिक तत्त्वहरूले समाजका पुर्जाहरूमा ‘लुब्रिकेन्ट‘ को काम गर्छन् र सम्बन्धहरूलाई खिया पर्नबाट जोगाउँछन्। समाजलाई गति दिन्छन्। यस्ता कुरालाई रोक्नु भयो भने समाज त कुण्ठित हुन्छ नै, ड्राइभिङ सिटमा बस्ने तपाईँहरूलाई नै अप्ठ्यारो पर्छ।
तपाईँहरू पोहोर यसबेला चुनावको तयारीमा हुनुहुन्थ्यो। निर्वाचनका सिलसिलामा तपाईँहरूका कार्यकर्ता मनमा प्रतिष्पर्धा र यदाकदा प्रतिशोधका समेत भावना लिएर, धेरै नभए पनि लाठी र खुकुरी जस्ता सामान्य हतियार लिएर रातबिरात हिँड्थे। सुरक्षा व्यवस्थामै आँच आउने त्यस्ता कुनै घटना भएनन् पनि। सामान्यतया हामी शान्त छौँ। मनमा जोश र हातमा हतियार बोकेर हिँडेकाले त अप्रासङ्गिक काम गरेर हिँड्दैनन् भने देउसी भैलै खेल्न हिँडेकाले पनि गर्दैनन्। केही आपराधिक घटना त दिनहुँ भइरहेका हुन्छन्, तिहारमा पनि होलान्। हुन्छन् भने त्यसका कारण अरू होलान्, देउसी भैली जस्ता सांस्कृतिक कुरालाई दोष लगाउन मिल्दैन।
धर्म निरपेक्षता चर्को बहसको विषय भएको छ। म व्यक्तिगतरूपमा मुलुक धर्म निरपेक्ष हुनुपर्छ भन्ने नै धारणा राख्छु। तर माओवादी सत्तामा आउनासाथ इन्द्रजात्राको पूजाको बजेट र पशुपतिनाथमा गरेको जस्ता हस्तक्षेप हुन थाले भने अगाडि बढिसकेको निरपेक्षताको भावले पनि पछाडि फर्किन कर लाग्छ। पछाडि फर्किनु कसैका पनि हितमा हुँदैन।
कृपा गरेर देउसी भैलोलाई पुलिसको आँखाबाट नहेर्नुहोस्। अपराध अनुसन्धानका लागि पुलिसका आँखा नभई हुँदैन, तर अपराध हुन्छ कि भन्ने डरले प्रतिबन्ध लगाउन थाल्ने हो भने बन्दूकमा भन्दा कडा लाइसेन्स सलाईको बट्टामा लगाउनु पर्ने हुन्छ। बदमासी नै गर्ने हो भने एक बट्टा सलाई बोकेको मान्छेले परालका ५० वटा कुन्युमा आगो लगाउन सक्छ। बन्दूक महँगो हुन्छ, ठूलो हुन्छ, जसले पायो उसले न त किन्न सक्छ, न त चलाउन नै, सलाई जसले पनि किन्न सक्छ र आगो झोस्न सक्छ। तर त्यस्ता घटना किन सुनिँदैनन्? किनभने मान्छे सामान्यतया बदमास हुँदैन। जो बदमास छैन, त्यसलाई शङ्का नगर्नुहोस्। सरकारको शक्ति असामान्य र बदमासहरूलाई नियन्त्रण गर्नमा प्रयोग गर्नुहोस्, सामान्यजनलाई सम्पूर्ण सामान्यताका साथ चाड मनाउन दिनुहोस्।
कृपया, गृहमन्त्रालयको विज्ञप्ति सच्याउने समय अझै छ, ढिलो नगरिदिनुहोस्।
तपाईँहरू सबैलाई तिहारको शुभकामना
केदार शर्मा