संसद्को सार्वजनिक लेखा समितिको निर्णय सार्वजनिक भएपछि म जहाँ पुग्छु त्यहाँ ५८ करोडको कुरा हुन्छ। खाँदै नखाएको विष लागेर मलाई सकस भइरहेको हुन्छ।
मैले कहाँ कहाँ भ्रष्टाचार गरे कुनै निकाय भन्दैन। छानबिन गर्ने निकायले पनि भन्दैन। खाली मेरो ३५ वर्षको फुटबल करिअरलाई दाग लगाउने हिसाबले यो सबै खेल भइरहेको छ। मैले फुटवललाई गरेको योगदानको अवमूल्यन भएको महसुस गरिरहेको छु।
बरु वारपार गर्दिए घर गएर बसौला जस्तो लाग्छ। मैले यसबारे खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग छलफल गरे।
मलाई गरिएको भनिएको कारबाहीको अहिलेसम्म पत्र आएको छैन। उनीहरुले म सहित तीन पदाधिकारीलाई पद छाड्न भनेका छन्। नमाने कडा कारबाही गर्ने चेतावनी पनि दिएका छन्।
यहाँनेर अप्ठेरो स्थिति उत्पन्न भएको छ।
हामीले एन्फा, फिफा, एएफसीको विधान मान्ने की नमान्ने? हामी दोधारमा छौं। हामीलाई कारबाही मात्र भनिएको छ। के काममा गल्ती भयो भनिएको छैन। मान मर्दन गर्ने काम मात्र भएको छ।
हिजो मलाई हेर्ने दृष्टिकोण र अहिलेको फरक भएको छ। टिभी पत्रपत्रिका, रेडियो सबैतिर ५८ करोडको चर्चा छ। ठीक छ मैले गल्ती गरेको भए कारबाही होस्। तर, छानबिन त बेलैमा सक्दिन पर्यो नी!
ध्यानपूर्वक छानबिन गर्ने हो भने ७ दिनमै सकिन्थ्यो। यसलाई लम्बाएर मानसिक यातना दिने काम भइरहेको छ। सात महिनाअघि एन्फाका पूर्व महासचिव कुमारजंग थापाले मलाई विराटनगरमा भनेका थिए, 'तपाइँलाई विर्गान खोज्ने काम भइरहेको छ।' चार जनाको नामै किटेका थिए।
सात महिनापछि उनको त्यो भनाई सत्य भएको छ। मेरा सहकर्मी मविरुद्ध झुठा आरोप लगाउन सफल भए। यो छानबिनबाट सफाई पाएपछि एन्फामा बस्ने रहर र चाहना छैन।
मैले एक पैसा पनि हिनामिना गरेको छैन। एन्फा भवन बनाउँदा आठ करोडको कुरा झिकियो। रकम कसरी जोहो गरेको खोजिएन।
खेलाडी कोष संचालन र टेन्डर प्रक्रियामा समेत रकम हिनामिना गरेको आरोप लगाए। एएफसीसँग भएको सम्झौता अनुसार साथी संस्थालाई सहयोग गर्दाको विषय ठूलो भयो।
यो विषयले मलाई धेरै निद्रा हरण गरेको छ। राती १ बजे उठेर म माथि लागेका १६ बुँदे आरोपमा पढ्छु। एउटा बुँदा पनिसत्य छैन। त्यसले झन् पीडा दिन्छ।
यस्तो घडीमा आक्रोश हुन पनि मिलेन। सार्वभौमसत्ता भनेपछि त्यस विषयमा धेरै चियोचर्चा गर्न नपाइने रैछ। जनता सार्वभौमसत्ता सम्पन्न भएको मलाई थाहा थिएन, तर संसद चाहि सार्वभौमसत्ता रहेको मैले आम नागरिक भएर अनुभूति गरिरहेको छु।
सार्वभौमसत्ताको नाममा फुटवलमा योगदान पुर्याउनेलाई रेट्ने काम भइराछ। फुटवल क्षेत्रलाई तहस नहस बनाउने काम भइराछ। यस विषयमा सम्बन्धित निकायले पर्नविचार गर्न आवश्यक छ।
मलाई विश्वास छ यो काण्ड दुई तीन महिनापछि सेलाउनेछ। म माथि लागेका सबै आरोप झुठो सावित हुनेछ। हामीलाई बदनाम गराउने साथीलाइ म चुनौती दिन चाहन्छु, 'एउटा आरोप प्रमाणित गर्नुस, फाँसी चढ्न तयार छु।'
व्यक्तिगत स्वार्थका लागि फुटबल विनास हुन दिनुहुन्न। त्यसको लागि पनि म फाँसी चढुँला।
अस्पतालमा छटपटाइरहेको विरामीलाई जति सुई घोच्दा पनि निको नभएपछि मरु जस्तै लाग्छ। मलाई त्यस्तै भएको छ। मेरो परिवारबाट पनि फुटवल क्षेत्रबाट विदा हुन दबाब छ।
लेखा समितिले हाम्रो पद स्थगन राख्न निर्दशन दिएपनि हामी आफ्नो काम पूर्ववत गरीरहेका छौं। म छानविनलाई सघाउछु तर निलम्बनमा बसेर हैन।
म आफै पछि हटे भने राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा मैले आत्मसमर्पण गरे जस्तो हुन्छ। गल्ती नै नगरि किन पछि हट्ने?
म आफै एन्फाबाट पछि हटे भने फिफा र एएफसीले नेपाललाई निलम्वन गर्छ। फिफाले मलाई निलम्बनबारे एन्फालाई समेत पत्र काटेको छ। हामीले हैन भनेर टार्दे आएका छौं। त्यसैले म भन्छु, मलाइ चाडै वार की पार गर्दिनुपर्यो। छानविन चाँडै हुनुपर्यो। दोषी देखिए म जस्तोसुकै कारबाही गर्न तयार छु।
(सेतोपाटीसँग कुराकानीमा आधारित)