नारी स्तनको विषयलाई लिएर मुम्बई फिल्म उद्योगकी परिचित नायिका दीपिका पादुकोणे र अग्रणी अखबार ‘टाइम्स अफ इण्डिया’ बीच चलेको जुहारी अब आएर विश्वव्यापी हुन थालेको छ। पश्चिमा प्रभावशाली मिडियाहरुले पनि यसबारे चाख लिएर चर्चा गर्न थालेका छन्।
‘टाइम्स अफ इण्डिया’ मातहतकै एउटा वेब पोर्टल ‘टिओआइ इन्टरटेनमेन्ट’ले १४ सेप्टेम्बर (भदौ २९)का दिन उसको ट्वीटर ह्याण्डलबाट एउटा समाचार सामग्रीको लिंक पोष्ट गर्यो जसको शिर्षक थियो, ‘ओ माइ गड, दीपिका पादुकोणेज क्लिभेज शो’ (हे दैव, दीपिका पादुकोणेको स्तन चिरा प्रदर्शित)।
झण्डै एक वर्ष पहिले कुनै समारोहमा पुगेको बेला कसैसँग झुकेर कुरा गरिरहँदा खिचिएको त्यस तस्बिरमा दीपिकाको स्तन र चिरा परेको भाग देखिएको थियो । कुनै सञ्चारकर्मीले अग्लो स्थानबाट स्तनलाई नै केन्द्रित गरेर खिचेको भिडियो थियो त्यो ।
त्यो ट्वीट आएकै दिन दीपिकाले उनको ट्वीटर ह्याण्डलबाट जवाफ दिइन्, ‘सपोज्ड्ली इण्डियाज् ‘लिडिङ’ न्यूजपेपर एण्ड दिस इज ‘न्यूज’ ११??’ (भारतको अग्रणी भनिने अखवारका निम्ति यो समाचार हो?) कुरा यतिमा मात्र सकिएन पहिलो ट्वीटको तीन मिनेट नबित्दै उनले फेरि लेखिन्, ‘यस आइ एम अ वुमन । आइ ह्याभ ब्रेस्ट एण्ड अ क्लिभेज १ यु गट अ प्रोब्लम ११??’ (हो म महिला हुँ । मेरा स्तन छ र त्यसको चिरा परेको भाग पनि छ । तपाईंलाई यसले के समस्या पार्यो ?) उनले फेरि ठोकिन्, ‘डन्ट टक अबाउट वुमन्स इम्पावरमेन्ट इफ यु डन्ट नो हाउ टु रेस्पेक्ट वुमन १’ (नारीको इज्जत गर्न सक्नुहुँदैन भने महिला सशक्तीकरणका कुरा गर्न छाडे हुन्छ)
यसले तत्काल भारतका थुप्रै मिडिया र चलचित्रकर्मीलाई उचाल्यो । अमिताभ बच्चनदेखि लिएर हृतिक रोशनसम्म अनि अधिकांश नायिका ट्वीटरबाटै दीपिकाको पक्षमा उभिए भने अखवारले पनि आ–आफ्ना कुराहरु राखे । ‘टाइम्स अफ इण्डिया’ले त्यो समाचारै हटाइदियो । तै पनि पछिल्लो समय यो बहसको विषय बन्न पुगेको छ, जसले समुद्रपारिका ‘इन्डिपेन्डेन्ट’ र ‘गार्डियन’ जस्ता अखवारहरुमा समेत लामै फेहरिस्तसहितको स्थान पटकपटक पाउन थालिसकेको छ । अहिले पनि यो विषयलाई लिएर समाचार आइरहेकै छन् ।
पाठक–दर्शकहरुमा महिला अझ विशेष गरेर अभिनेत्रीहरुका उत्तेजक सन्दर्भ एवं तस्बिरहरु प्रसार गर्ने एक किसिमको होडबाजी सञ्चारकर्मीमाझ छ । यो विश्वब्यापी कुरा हो । यो होडबाजीले बेला बेलामा घेरा नाघिदिन्छ । कहाँनिर गएर यस्ता विषयवस्तु समाचार हुनछाड्छ र कहाँबाट व्यक्तिको स्वतन्त्रता हनन् हुनपुग्छ भन्ने कुरा कहिलेकाँहि हेक्का रहँदैन । अन्यत्र यस विषयमा बेला बेलामा कुरा पनि उठ्छन् र बहस पनि हुन्छ । यस्ता बहसले आगामी दिनमा जिम्मेवार पत्रकारिताका निम्ति दिशानिर्देश पनि गरिरहेको हुन्छ । तर, हामीकहाँ एकथरि पत्रकारहरु यसलाई सस्तो उठानकै विषय मात्र ठानिरहेका हुन्छन् भने गम्भीर मुद्दामा लेख्नेहरुले यो विषय छनौटयोग्य नै सम्झदैनन् । यसले गर्दा अराजकता झन् झनै हुर्किरहेको छ ।
केहि दिनअघि मात्र काठमाडौंमा आयोजित एक साहित्य महोत्सवमा सहभागी नेपाली रजतपटकी एक नायिकाबारे समाचार आएको थियो । उनको रुचिको पहिरनमा आएकी नायिका, उनको अप्ठेरो बसाइ र त्यसबाट प्रदर्शित अंगको बारेमा त्यसमा उल्लेख गरिएको थियो । त्यसमा कसैले कुनै प्रतिवाद गरेनन् । त्यस्ता सामग्री मनपराउने पाठकहरुमाझ वाहवाही हुनु र त्यसको लिंक सेयर गर्नु त सामान्य भइहाल्यो ।
काठमाडौंकै अर्को सन्दर्भ चाहि केहीअघि कै हो । त्यसमा पनि कुनै नायिकाले उनको रुचीको पहिरन लगाएर सार्वजनिक समारोहमा आएका बेला एक उत्सुक सञ्चारकर्मीले अलिक झुकेर फोटो खिच्न चाहेका थिए । यसरी तस्बिर खिच्दा क्यामरामा सक्दो बढी स्त्रीको संवेदनशील अंग अटाओस् भन्ने चाहना हुन्छ । त्यस किसिमको तस्बिर सञ्चारकर्मीका निम्ति ‘हटकेक’ बन्न पुग्छ ।
ती नायिकालाई यसरी फोटो खिचेको मनपरेन र सञ्चारकर्मीको क्यामरा खोसिदिइन् । त्यसपछि यो मामला उठाएर ‘प्रेस स्वतन्त्रता’सम्म पु¥याउन खोजिएको थियो । तै बेलैमा साम्य भयो । पत्रकारले क्यामरा फिर्ता पाए ।
कसैले यो पनि भन्न सक्छन्, सकभर शरीरका बढी अंग देखाएर अरुलाई आकर्षित पार्न खोज्ने नायिकाका नग्न तस्बिर वा सामग्री बाहिर ल्याउँदा के गलत भयो ? हामीकहाँ प्रायः यही नै भनिँदै आएको छ ।
तर, होइन । मिल्दैन ।
यसका निम्ति दीपिकाकै सन्दर्भमा जाऔं । स्तन र त्यसको चिरा देखाउने दीपिकाको त्यो पहिलो तस्बिर थिएन । उनले बकाइदा स्टुडियोमै गएर त्योभन्दा उत्तेजक तस्बिर खिचाएकी छिन् । गुगलमै गएर हेर्ने हो भने उनैका त्यस्ता तस्बिर टन्नै भेटिन्छन् । सार्वजनिक गर्ने उद्देश्यका साथ खिचेका तस्बिरहरु कसैले मुद्रण वा प्रकाशन गरिदिएमा पक्कै पनि उनलाई आपत्ति नहुँदो हो ।
दीपिकाको मात्रै के कुरा, शरीरभर तेल धस्काएर अनि प्रकाशको संयोजनमा आकर्षक ‘सिक्स प्याक्स’ देखाएर नाङ्गै तस्बिर खिचाउने कुनै नायकलाई पनि कतै स्विमिङपुलमा नुहाइरहेको बेला कसैले जथाभावी तस्बिर खिचिदियो भने आपत्तिजनक लाग्न सक्छ।
एक त त्यसैपनि रजतपटकी नायिकाहरुलाई आफ्ना दर्शकका सामुन्ने सदैव आकर्षक देखापरिरहनुपर्ने बाध्यता हुन्छ । त्यस्तो आकर्षणलाई ब्यूँताउन उनीहरु उत्तेजक बन्न पनि तयार हुन्छन् । त्यो पनि उनीहरुको बाध्यता हो । उनीहरुको मेकअपदेखि लिएर पहिरनसम्मले त्यसैलाई प्रतिविम्वित गर्छ ।
सञ्चारकर्मीका हकमा भने सोच्नुपर्ने एउटै कुरा हो, उनको व्यक्तिगत स्वतन्त्रता हनन् नहोस् । प्रत्येक उपस्थितीमा उनले आफ्नानिम्ति जुन दायरा बनाएकी हुन्छिन् त्यसैभित्र सीमित रहेर मात्रै उनलाई उल्लेख गर्न सकिन्छ । त्यो दायरा कसैले नाघ्न पाउँदैन ।
‘टाइम्स अफ इण्डिया’ले ट्वीट गरेको लिंकमा एउटा भिडियो क्लिप राखिएको थियो जसमा क्यामराम्यानले लेन्स जुम गरेर उनको छातीमा अड्याएका छन् । क्यामराका अघिल्तिर पोज दिएर उनले तस्बिर खिचाएको भए बेग्लै कुरो हुने थियो । तर, कसैसँग कुरा गर्नका निम्ति झुकिरहेको बेला देखिएको अंगलाई खिचेर सार्वजनिक गर्नुमा पत्रिकाको गलत नियत रहेको दीपिकाका पक्षमा बोल्नेहरुको ठहर छ । त्यो दृश्यलाई जुन शिर्षक दिएर उल्लेख गरिएको छ त्यसले पनि पत्रिकाको स्तरलाई शोभा दिँदैन भन्ने तर्कलाई बल मिल्छ ।
उता पत्रिकाले भने एक वर्षअघि खिचिएको यस भिडियोको बारेमा आजसम्म केहि नबोल्ने दीपिकाले ‘टाइम्स अफ इण्डिया’मा आउने बित्तिकै तहल्का मच्चाएर ‘पब्लिसिटी स्टन्ट’ गर्न खोजेको आरोप लगाएको छ। यो मुद्दालाई उनले उनको रिलिज हुनलागेको आगामी चलचित्रको विज्ञापन बनाउन खोजेको पत्रिकाले दाबी गरिरहेको छ ।
‘के अब हामीले सार्वजनिक समारोहहरुमा उपस्थिती जनाइरहेको बेला खिचिएका दीपिकाको प्रत्येक तस्बिर छाप्नुअघि उनको अनुमति लिनुपर्ने हो ?’ पत्रिकाले प्रश्न पनि गरेको छ ।
यो प्रतिक्रिया आएलगत्तै भारतको अर्को महत्वपूर्ण दैनिक ‘हिन्दू’ले उसको ब्लगमा सोझै ‘टाइम्स अफ इण्डिया’लाई उद्धृत गर्दै यस विषयमा उसले या त माफी माग्नु पर्ने वा चुपो लागेर बसिदिनु पर्नेमा उल्टो तर्क वितर्कमा उत्रिदिएर झनै खाल्डो गहिरो पार्न थालेको लेख प्रकाशित गरेको छ । फरक फरक विषयलाई मिडिया हाउसहरुले हेर्ने बेग्लाबेग्लै दृष्टिकोण भए पनि सम्पादकीय मूल्य र मान्यतामा एकरुपता रहनुपर्ने भनेर ‘हिन्दू’को उक्त लेखले सम्झाएको समेत छ ।
नायिका हुन् वा अरु नै कोहि, कुनै पनि महिलाको शरिर उसको आफ्नो हो । आधुनिक समाजमा त्यसलाई कति देखाउने र कति छोप्ने भन्ने स्वतन्त्रता उनीहरुलाई हुन्छ । तर, कसैको कुनै अंगमा फोकस गरेरै तस्बिर खिच्ने र पत्रकारलाई मनलागेको तरिकाबाट त्यसलाई वर्णन गर्ने छुट कदापि हुँदैन । यो पाठ हाम्रो सन्दर्भमा अझ बढी मननीय छ ।