एमाले अध्यक्ष केपी ओलीले केही दिनअगाडि एउटा भाषणमा भने, ‘महाधिवेशनमा पाएको मतका आधारमा भागबण्डा र निर्णय गर्दै जाने हो भने त्यसले पार्टी एकता कायम गर्दैन, गुटबन्दी सिर्जना गर्छ। त्यतिबेला पार्टी गुटहरुको मोर्चा बन्छ।’ कांग्रेस सभापति सुशील कोइरालाले यसो भन्न सकेनन्, उल्टो महाधिवेशनमा प्राप्त मतलाई अंशबण्डाको कागज सम्झे र त्यहीअनुसार भागबण्डाको दबाबमा आफूलाई पारे। नियुक्ति र निर्णयमा अंशबण्डा हुँदै आयो, जसले गर्दा कांग्रेस अहिले ‘एउटा संगठित पार्टी कम र गुटहरुको मोर्चा बढी’को स्वरुपमा देखिन पुगेको छ ।
निर्वाचित पार्टी सभापतिको हैसियतले कोइरालाले पार्टीको महाधिवेशनको मतलाई अंशबण्डाको आधारका रुपमा ‘स्वीकार’ गरे पछि स्वभाविक रुपमा अर्को पक्षको दबदबा पार्टी सभापतिलाई पर्दै आएको छ। त्यसको पछिल्लो कडीका रुपमा हेर्नसक्छौँ, उनले ७ महिनापछि बैठक बोलाए, आलोचना नै भयो, उनले २६ जना सभासदमा पार्टीको प्रतिनिधित्व गराए, आलोचना नै भयो, केन्द्रीय समितिलाई पूर्णता दिए, आलोचना नै भयो। कुनै तयारी नै हुन नसकेको महाधिवेशन विधानअनुरुप एक वर्षपछाडि गर्ने औपचारिक निर्णय गराए, आलोचना नै भयो। मन्त्रीमण्डलमा आफूलाई सजिलो हुनेगरी केही सदस्य विस्तारको तयारी गरेको चर्चा बाहिर आयो, त्यसको पनि आलोचना नै भैरहेको छ। कोइरालाले जे गर्दा पनि देउवा पक्षबाट आलोचना हुँदै आएको छ। मानौँ कोइरालाको कामको आलोचना गर्ने दायित्वका साथ देउवा समूह उभिएको छ र आफ्नो दायित्व बहन गर्न ऊ कटिबद्ध पनि छ। यसरी पार्टी एकता हुन्छ कि दीर्घकालसम्म पार्टीमा विभाजनका रेखा कोर्ने काम हुन्छ भन्ने सामान्य हेक्का पनि न त कोइरालाले राखेको देखियो, न त देउवाले नै।
गुटहरुको मोर्चा बनेका कारण कार्यकर्ताहरु पार्टीका भन्दा पनि गुटका बन्न रुचाउँछन्। कार्यकर्ता मात्रै हैन, नेताहरु पनि कांग्रेसका भन्दा गुटका भएर फाइदा लिने मानसिकतामा देखिन थालेका छन्। यो संस्कृतिले पार्टीलाई कहाँ पुर्याउने हो भन्ने कुरातर्फ कोही चिन्तित देखिँदैनन्, सबैभन्दा चिन्ताको बिषय यो हो।
अहिले केन्द्रीय समितिमा मनोनीत भएका युवानेताहरुको नयाँ पुस्तामाझ आफ्नै उचाइ र प्रभाव छ। क्षमताका धनीहरुलाई गुटको सहारा लिनुपर्दैन। मनोनीत उनीहरु कुन गुटका हुन् भनेर हेरिराख्नु पर्ने अवस्थाबाट मुक्त मानिएका थिए। तर, मनोनयनसँगै उनीहरुलाई एउटा गुटको बनाएर अर्को गुटले प्रचार थालेको पाइयो। विश्वप्रकाश शर्माले गुट परिवर्तन गरेका कारण केन्द्रीय समितिमा नपरेको प्रचार गराइएको छ। असक्षम र अयोग्यहरुले गुटको बलमा अवसर खोज्छन्। मनोनीत हुने र नहुने विश्वप्रकाशसम्मलाई गुटको संरक्षणले मात्र उनीहरुको व्यक्तित्वलाई जोगाउँछ भन्ने लाग्दैन। तर, गुटबन्दीलाई यसरी फैलाइयो कि हरेकको निधारमा गुट लेखिन र देखिन थाल्यो, कांग्रेस देखिन छाड्दै गयो। गुटबाट हैन योग्यता र क्षमताका बलमा पार्टिमा स्थापित हुनसकिन्छ भन्ने सन्देश प्रवाहित गर्न सक्ने नेतृत्व नै गुटको संरक्षणको खोजीमा रहेको चर्चा पनि आउने गरेको छ। यसो हुँदा नेपालमा साँच्चिकै पार्टीहरु कमजोर बन्दै गएका छन् र उनीहरु गुटका मोर्चामा सीमित हुँदै गएका छन् भन्ने देखिन्छ। दलीय व्यबस्थालाई मजबुत गराउने हो भने दलहरुलाई बलियो बनाउनुपर्छ। दलहरुलाई बलियो बनाउन दलभित्र भागबण्डा हैन, न्यायमा आधारित छनौट प्रणाली विकास गर्नुपर्छ। कांग्रेसमा देखिएको रोग भर्खरै महाधिबेशन गरेको एमालेमा देखिँदैछ। त्यो रोगलाई रोक्न अध्यक्ष केपी ओली कति सफल हुन्छन्, हेर्न बाँकी छ। तर, कांग्रेसमा महाधिवेशनमा पाएको मतको प्रतिशतको आधारमा भागबण्डाको प्रस्ताव गर्ने देउवा समूह र त्यसलाई अनुमोदन गर्ने कोइराला समूहले पार्टीमा अंशबण्डाको संस्कृति मौलाउन मद्दत गरे र त्यसको मार नयाँ पुस्ताका कार्यकर्ताहरुमा समेत परिरहेको छ। पार्टीलाई यो अवस्थाबाट मुक्त गरी भागबण्डाका आधारमा हैन, न्यायका आधारमा छनौट प्रणाली स्थापना गर्न नयाँ र आशालाग्दो नेतृत्व अगाडि सर्नुपर्छ। पार्टीका दुबै गुटभित्र एकथरि अतिवादीहरु छन्, जसले गुटका आधारमा हुने अंशबण्डामा मात्र आफ्नो भविष्य सुरक्षित देख्छन्। उनीहरुलाई शीर्ष नेतृत्वले चिनेर आफूलाई त्यो वृत्तबाट जोगाउला भन्ने कुरा अब आशा नगर्दा हुन्छ। बरु नयाँ पुस्ताले सामूहिक रुपमा आफू गुटमा हैन, पार्टीमा रहेको उद्घोषसहित पार्टीमा अंशबण्डाको संस्कृतिबिरुद्ध जेहाद छाड्नुपर्दछ। गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, कल्याण गुरङ, केशब सिं, महेन्द्र शर्माहरुले सामूहिक रुपमा भन्न सक्नुपर्छ कि आफूहरुको मनोनयन हुनु र नहुनुको कारण गुटवादीहरुले चर्चा गरेझैँ हैन भनेर। यो वक्तव्य पार्टीभित्रको अंशबण्डाको खेललाई निरुत्साहित गर्न पहिलो तर प्रभावकारी कदम हुनेछ।
अहिले संविधान निर्माणको चरणमा पार्टी छ। कम्युनिष्टहरुको बढ्दो प्रभावले लोकतान्त्रिक संविधान निर्माणमा समस्या पैदा हुन्छ कि भन्ने आम चिन्ता पनि छ। कांग्रेसले लोकतान्त्रिक संविधान निर्माणका लागि सम्पूर्ण सामर्थ्य खर्चन पर्ने भएको छ। यसका लागि एकताबद्ध कांग्रेसको उपस्थिति अपेक्षित छ। तर, पार्टीमा विकास भएको अंशबण्डाको संस्कृतिले पार्टीलाई झनै कमजोर पार्दै लगेको छ। नयाँ पुस्तालाई सिंगो, एकताबद्ध र देशको अगुवाइ गर्नसक्ने पार्टीका रुपमा कांग्रेस चाहिएको छ। भागबण्डाको प्रस्ताव राख्ने र त्यसलाई अनुमोदन गर्ने नेतृत्वबाट यो अब सम्भव छैन। नयाँ पुस्ताका नेताहरु, जो जिम्मेवारीमा पुगेका छन्, औपचारिक जिम्मेवारीमा नरहे पनि अलग व्यक्तित्वका साथ आफ्नो पुस्तामाझ प्रिय छन्, उनीहरुको जबर्जस्त अगुवाइबिना कांग्रेसलाई नयाँ पुस्ताले चाहेजस्तो गुट मुक्त र न्यायका आधारमा निर्णय हुने र जिम्मेवारी दिने पार्टीका रुपमा स्थापित गर्न सकिँदैन। यसतर्फ नयाँ नेतृत्वले गम्भीरताका साथ विचार गरी आफूलाई प्रस्तुत गर्न आवश्यक हुन्छ।