आज काठमाडौंको झरीले बल्ल असार लागेजस्तो भएको छ। यसपाला औसतभन्दा निकै कम वर्षा भयो। साउन अन्तिम सातासम्म बाँझै खेतका गरा त्यसको ज्वलन्त प्रमाण हुन्।
घरको करेसाबारीका फूल र तरकारीमा साउनमा पनि पानी हालिरहनुपरेको स्थिति छ। आकाशे पानीले पुगेको छैन। पर्याप्त मूल फुट्न सकेको छैन।
यसको एउटै सुखद असर छ– राजमार्गहरु पहिरोले पोहोरपरार जस्तो 'डिस्टर्ब भएको सुन्नुपरेको छैन।
यस्तो बेला पनि सिन्धुपाल्चोक जुरे पहिरोले १ सय ५६ जाना निल्यो।
गाउँ नै पहिरोको ताण्डबमा परेर बिलायो। पहिरोलो थुनेर बनेको सुनकोशीको ताल खोल्ने काम एघार दिनसम्म पनि जारी छ। सेना, प्राविधिक र अन्य सुरक्षा निकाय अहोरात्र खटिएर स्थिती नियन्त्रणमा लिन भने सफल भएका छन्। तल्लो तट सुरक्षित हुनेगरि तालको सतह घटाउने प्रयास जारी छ।
सरकारले प्राकृतिक प्रकोपको तथ्याङ्क राख्न थालेयताको यो सबैभन्दा ठूलो पहिरो हो। पानीले फतक्क जमिन गलेर त्यहाँ प्रलय आएको होइन। दर्जनौं परिवारको वंशनास र धेरैको जिन्दगी छिनेको प्रलय सुख्खा पहिरो हो। यसको वर्षातसँग खासै साइनो छैन।
पहिरो जाँदा उडेको धुलोको कुहिरीमण्डल नै यो सुख्खा पहिरो हो भन्ने सबैभन्दा ठूलो प्रमाण हो। शनिबार बिहान २: ३२ बजेको ओसलाई छिचोल्दै त्यो धुलो परपरसम्म उड्यो।
अर्को तथ्य पनि छ, पानीले जमिन भिजेर जाने हिले पहिरोको घाऊ सामान्यतया २०/३० मिटर भन्दा बाक्लो हुँदैन। आकारले पनि यो पहिरो पानीले हैन भन्ने जनाऊ दिन्छ। जुरे पहिरोको उँचाई आठ सय, चौडाई पाँच सय र मोटाई एक सय मिटर हाराहारी छ।
पानी/झरीले सय मिटर तलसम्मको जमिन भिँजाएर गलाउन सम्भव नै छैन।
आखिर के हो त सुख्खा पहिरो?
सुख्खा पहिरोको अलिकति वैज्ञानिक चर्चा गरौं।
तीन करोड वर्षदेखि यूरोसियन प्लेटमा इण्डियन प्लेट धस्सीने क्रम जारी छ। यहि टक्करले हिमालयको उत्पत्ति भएको हो। हिमालय बन्ने क्रम अहिलेपनि जारी छ।
हिमालयको उचाई वर्षेनी २ सेन्टिमिटरले अग्लिरहेको हुन्छ। तलबाट नदीले काटेर पर्वत पनि लगभग त्यसैअनुसार धस्सिरहेको हुन्छ। सुनकोशी, भोटेकोशी जस्ता तिब्बतबाट आउने नदीले पर्वतलाई फेदबाट काट्दै पनि गरेको हुन्छ।
हिमालय अग्लिने क्रमको साइनो चट्टान बन्ने प्रकृयासँग पनि छ। भू–गर्भमा चट्टान बन्ने प्रकृया चलिरहेको हुन्छ। जमिनको सतह भन्दा धेरै मुनि चट्टान फलामको ताँतो फिलिङ्गो जस्तो हुन्छ। स्वभाविक रुपमा त्यो जस्तोसुकै आकारमा लच्किन सक्छ। त्यहिँ तातो चट्टान सतहमा आइपुगेपछि कडा हुन्छ। त्यो कडा चट्टानमा चिरा पर्छ। यी चट्टान चिरिएर ठूल–ठूला ब्लक जस्तो बनेको हुन्छ।
ब्लक ब्लक जस्तो चट्टानको चरमा हावा पानी छिर्छ। हज्जारौैं वर्ष लगाएर चट्टानको त्यो भाग कुहिँदै पनि गएको हुन्छ। पाखा, पर्वतमा हामीले नांगो आँखाले नै चट्टानमा धँजा फाटेको वा कुहिएको देख्न सकिन्छ।
चर कुहिँदै गएपछि चट्टानको आधार कमजोर हुँदै जान्छ। त्यसमा बाहिरि बल परेपछि चट्टानको 'स्लोप' पनि बढ्दै जान्छ। स्लोप पैतालिस डिग्रीसम्म हुँदा खासै फरक पर्दैन। हावापानीले चर खोलेर, चट्टान कुहिएर वा विविध कारणले स्लोप बढ्दै जाँदा जोखिम पनि बढ्छ। त्यस्तै मौकामा भू–कम्प, चट्याङ, ठूलो गर्जनको कम्पन लगायत बाहिरी बल पर्यो भने त्यो चट्टानले ठाउँ छाड्छ।
एउटाले ठाउँ छाड्नेबित्तिकै इटाको चाङ् लडेजस्तो गर्ल्यामगुर्लुम चट्टान खस्छन्। त्योसँगै बिचबिचको माटो, सानातिना ढुंगा लगायत खस्छ। पहाड नै खसेको जुरेमा यस्तै सुख्खा पहिरो गएको हो।
सुनकोशी पहिरोले त्यो एरियामा भुँइचालो जस्तै कम्पन ल्याएको थियो। भूकम्प मापन केन्द्रले २.३१, २.३२, २.३३ मा जुरे, बाह्रवीसे क्षेत्रमा जमिन हल्लिएको रेकर्ड देखाउँछ।
सबैभन्दा ठूलो झट्का भने २.३६ मिेनेटमा मापन भएको छ। ४.४६ र ४.४८ मिनेटमा पनि साना साना कम्पन आएको देखिन्छ।
यस्ता सुख्खा पहिरो त्यपछि पनि देखा परेका थिए ।
हेर्नुहोस् भिडियोमा यसरी गएको थियो पहिरो