वीर अस्पताल नेपालकै सबैभन्दा व्यस्त र पुरानो अस्पताल हो। करिब १२६ वर्षअगाडि खास व्यक्ति वा समुदायलाई मात्र स्वास्थ्य उपलब्ध गराउने योजना अनुसार वीर अस्पातलको निर्माण भए पनि आज यो नेपाल सरकारको केन्द्रीय अस्पताल हुन पुगेको छ र नेपालका गरिब तथा अति विपन्न वर्गको स्वास्थ्य सेवाका लागि आशाको केन्द्रविन्दुको रुपमा छ। दिनहुँ हजारौं बिरामीलाई सामान्य स्वास्थ्य सेवादेखि अति विशिष्ट सेवा प्रवाह गराउँदै गर्दा यो अस्पताल अझैसम्म सम्पूर्ण नेपालीको स्वास्थ्यको सेवाको केन्द्रविन्दु बन्न भने सकेको छैन।
करिव १०-१२ वर्षअगाडि खुलेका निजी अस्पताल र मेडिकल कलेजहरुले स्वास्थ्यमा छलाङ मारिसक्दा वीर अस्पताल मुकदर्शक जस्तो बनेर राजधानीको केन्द्रमा ठिङ्ग उभिरहेको छ। ई.सं. २००३ मा वीर अस्पताललाई चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानमा विलय गराएर अरु प्रभावकारी स्वास्थ्य सेवा दिँदै नेपाललाई चाहिने जनशक्ति उत्पादन गराउने हेतु हुँदाहुँदै २-४ थान चिकित्सक उत्पादन गर्नुबाहेक खास अरु उपलब्धि हासिल गर्नबाट यो संस्था चुकेको छ।
विश्व स्वास्थ्य संगठनको स्वास्थ्यको परिभाषामा “कुनै रोग नहुनु मात्रै होइन कि यो त सम्पूर्ण रुपमा शारीरिक, मानसिक र सामाजिक रुपमा पूर्ण स्वस्थ हुनु हो” भनिएको छ र विकसित देशहरुले त्यसअनुसार स्वास्थ्य सेवालाई सर्वांगीङ बनाउँदै लगेका पनि छन्।
तर नेपालको र खास गरी वीर अस्पतालको दुर्भाग्य के छ भने, बिरामीलाई निमोनिया लागेर चिकित्सकले छातीको एक्सरे गर्नुभन्दा त्यस अस्पतालमा एक्सरे मेसिन नहुनु वा बिग्रनुबारे चिन्ता लिनुपर्ने स्थिति छ। एक गाविस/एक चिकित्सकको फ्रोस्रो नारा लगाउने तथा संविधानमा स्वास्थ्य नेपालीको मौलिक अधिकारको रुपमा लेख्नेबाहेक हाम्रा नीति निर्माताहरुले केही गर्न नसक्नाले नै आज एउटा नेपाली जीवन जलको पुरिया नपाएर मर्ने स्थिति छ भने एक नेपाली आमा प्रश्रववेदनाले छटपटाएर मर्ने अवस्था छ।
देशमा स्वास्थ्य सेवा यति नाजुक भइसक्दा त्यसलाई सुधार्नतिर नलागेर अलिकति खोकी लाग्दा पनि जहाज चढेर सरकारी खर्चमा विदेश उपचार गर्न जाने राजनेताहरुका कारण स्थिति अरु भयावह भएर जाँदैछ।
बिपीको समाजवादी चिन्तनको रटान गर्ने तथा मार्क्सवादको जप लगाइरहनेहरुले त्यही खुलामञ्च अगाडि अति जर्जर र कारुणिक अवस्थाको वीर अस्पताललाई समेत कमाइ धन्दाको माध्यम बनाएर विपन्न नेपालीहरुलाई सेवाबाट वञ्चित गराउनु अर्को दुर्भाग्यको कुरा हो।
निर्वाचन अगाडिका भाषणमा गाउँगाउँमा अस्पताल बनाइदिन्छु भनेर धाक लगाउनेहरु आज नेपालको एक मात्र केन्द्रीय अस्पतालमा सामान्य एक्सरे सेवा समेत उपलब्ध नहुँदा के हेरेर बसेका छन्?
त्यसै गरी विगत एक वर्षदेखि वीर अस्पतालको सी टी स्क्यान मेसिन बिग्रिएको अवस्था छ, सामान्य रगत परीक्षणको लागि पनि अन्यत्र धाउनु पर्ने अवस्था छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी रिक्त भएको चार महिना भइसक्यो, अवस्था लथालिङ्ग छ। पोस्ट ग्राजुयट गरेका विद्यार्थीको दीक्षान्त समारोह आजसम्म हुन सकेको छैन। यी र यस्ता समस्याले वीर अस्पताल ग्रसित छ।
सिटी स्क्यान गराउनका लागि अति सिकिस्त विरामीलाई पाए एम्बुलेन्स नत्र ट्याक्सीमा भए पनि अन्यत्र लैजानुपर्ने अवस्था छ। पैसाको त कुरा छोडौं, त्यो मानसिक र शारिरीक पीडा कसले बुझ्ने? नेपालको दुर दराजबाट रोग निको पार्ने आशा बोकेर आएका नेपालीहरुलाई यो वा त्यो निहुँमा सेवाबाट वञ्चित गराएर फर्काउने वातावरण नीति निर्माताहरुका यी सबै आपराधिक लापरवाहीको नतिजा हो।
सँगैको ट्रमा सेन्टरको विषयमा धेरै कुरा भए, निर्णय भए, तर अझैसम्म संचालनमा आउन सकेको छैन।
अर्कोतिर विभिन्न विषयमा स्नातकोत्तर अर्थात् विशेषज्ञता तहमा विद्यार्थी लिने न्याम्सले के कस्तो मापदण्ड पुरा गर्नुपर्छ, मेडिकल काउन्सिललाई चासो छैन किनकि काउन्सिलका पदाधिकारीको प्रवृत्ति पनि त्यही हो जुन यहाँका पदाधिकारी र मन्त्रीहरुको छ।
आर्थिक हिनामिना वा घुस खानुमात्रै भष्ट्राचार होइन, पदीय जिम्मेवारी पूरा नगर्नु पनि भष्ट्राचार हो। आजसम्म नियुक्त भएका पदाधिकारीहरुले पदीय जिम्मेवारी बहन नगरेको ठहरमा अख्तियार लगायतका निकायहरुले छानबिन गर्ने कि नगर्ने भन्ने अर्को प्रश्न उठ्छ यहाँ। स्थापनाकालदेखि आजसम्म दर्जनौँ व्यक्तिहरु निर्देशक भइसके तर वीर अस्पताल अहिले पनि जस्ताको तस्तै छ र राणाकालदेखि गणतान्त्रिक नेपालसम्म आइपुग्दा हजारौं नेताहरुले त्यहीँ अगाडिको खुला मञ्चबाट देश बनाउने सपनाहरु बाँडे तर कसैले वीर अस्पताल सुधार्ने र सपार्ने सपनासमेत बाँडेनन्। प्रत्येक निर्वाचन क्षेत्र सुधारको नाममा ५ करोडको लागि लबिङ गर्ने सभासदहरुलाई आज वीर अस्पतालको समस्याले छुन सकेको देखिँदैन।
आज वीर अस्पताल देशको मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त एक स्वास्थ्य प्रदायक तथा अनुसन्धानात्मक केन्द्र हुनु पर्नेमा झन् झन् अवस्था खस्किँदै गएर एउटा रुग्ण अञ्चल अस्पतालको अवस्थामा परिणत हुँदैछ। आज नेपालीहरु उपचारको खोजीमा छिमेकी देश मात्र होइन थाइल्याण्ड र सिंगापुर धाउने क्रम बढ्दो छ र यसले नेपालको अर्थतन्त्रमा पक्कै पनि नकरात्मक असर पारेको छ।
हो, हाम्रो देश अझै पनि राजनीतिक संक्रमणकालबाट गुज्रिरहेको छ तर त्यस्ता अनेकौ देश छन् जहाँ गृहयुद्ध चलिरहँदा पनि स्वास्थ्य क्षेत्रले राम्रो प्रगति गरेको छ।
अनेकौँ राजनीतिक वाद र सिद्धान्तमा देश अल्झिरहँदा आम मानिसको स्वास्थ्यको मुद्दा कसैको प्राथमिकतामा नपर्नुको ज्वलन्त उदाहरण वीर अस्पताल हो। मानवीय स्वभावले आफूलाई समस्या नपर्दासम्म त्यस समस्याप्रति खासै चासो रहँदैन तर वीरको समस्या यति चरम भइसकेको छ कि अब कसै न कसैले बिरालोको घाँटीमा घण्टी बाँध्नै पर्ने भएको छ।
दुनियाँमा जीन थेरापीजस्ता अत्याधुनिक पद्धतिका उपचारहरु उपलब्ध भइसक्दा आज हामी मध्ययुगीन उपचार प्रणालीमै बाध्यतावश अल्मलिरहेका छौं। गर्भवती महिला र शिशुहरुको स्वास्थ्यमा भएको अति सामान्य प्रगतिलाई मात्र मागिखाने भाँडो बनाउने काम अब बन्द गरिनुपर्छ। अनि स्वास्थ्यलाई विकसित देशमा जस्तै समग्रमा हेरिनु पर्दछ।
अब सामान्य नागरिकदेखि राष्ट्रपतिसम्मको उपचारको सुबिधा यही देशभित्र खोजिनुपर्दछ। सगरमाथा र बुद्ध जन्मेको देश मात्र होइन, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिने देश भनेर पनि नेपाललाई चिनाउन सक्नुपर्दछ। आज समग्र देशको स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गर्ने वीर अस्पतालले करुण स्वरमा भन्न खोजेको कुरा यही हो।
लाखौँ बिरामीको उपचार गरिरहेको वीर अस्पताल आफैँ आज सघन उपचार कक्षको भेन्टिलेटरमा छटपटाइ रहेको छ। यसको तत्काल उपचार गरिनुपर्यो भनेर एउटा आन्दोलन शुरु भएको छ, आउनोस् सबै मिलेर यसलाई सफल पारौं।
(राना वीरका रेसिडेन्ट डाक्टर हुन्।)