प्रत्येक वर्ष जुलाई २८ को दिन विश्व स्वास्थ्य संघले "विश्व हेपाटाइटिस दिवस" विभिन्न कार्यक्रमसाथ संसारभरि मनाउने गर्दछ। नोबेल पुरस्कार बिजेता स्यामुयल ब्लुम्बर्ग, जसले हेपाटाइटिस बीको जिवाणु पत्ता लगाए, को जन्म दिन पारेर यो दिवस बिगत ७ बर्ष मनाइँदै आएको छ। विश्व स्वास्थ्य संघले मार्च २४ मा क्षयरोग दिवस, अप्रिल २५ मा मलेरिया दिवस र डिसेम्बर १ मा एड्स दिवस मनाउन सुरु गरेपछि चौथो दिवसको रुपमा यो मनाउन थालेको हो। प्रत्येक वर्ष बिभिन्न नाराका साथ मनाइने यो दिवसको यस वर्षको नारा "हेपाटाइटिस: यसलाई पुनर्बिचार गरौ" भन्ने राखिएको छ। यसपालिको नारा अनुरुप हेपाटाइटिस सीबारे पुनर्विचार गरौँ भन्ने उद्द्येश्यले यो लेख प्रस्तुत गर्दछु।
हेपाटाइटिस भन्नाले कलेजोको संक्रमण बुझिन्छ। जिवाणुद्वारा हुने हेपाटाइटिसलाई भाइरल हेपाटाइटिस भनिन्छ। हेपाटाइटिस गर्ने विभिन्न जिवाणु मध्य हेपाटाइटिस सी पनि एउटा हो। यो जिवाणुले दीर्घकालीन रोग अथवा क्रोनिकहेपाटाइटिस गर्दछ। समयमै पहिचान गर्न सकेन भने यो रोगले गर्दा लिभर सिरोसिस र लिभर क्यान्सर जस्तो प्राणघातक रोग लागेर बिरामीको मृत्यु हुन सक्दछ। हाम्रो देशमा यो रोगको चर्चा काम हुने गर्दछ। वास्तवमा भन्ने हो भने यो रोगलाई हेपाटाइटिस बीले छायाँमा पारेको छ। त्यसैले यो रोगको बारेमा विचार एवम पुनर्विचार गर्न जरुरी छ।
हाम्रो देशमा हेपाटाइटिस सीका रोगीहरु कति छन् भन्ने यकिन तथ्यांक छैन। सरकारले यसको अध्ययनमा चासो देखाउन जरुरी छ। लागु पदार्थ दुर्ब्यसनीहरुमा सुई प्रयोगकर्तामध्ये यो रोग अत्यधिक मात्रामा पाइएको छ। लेखकको आफ्नो अनुभवको आधारमा भन्ने हो भने अहिलेसम्म उपचार गराइसकेका रोगीहरुमा करिब ८५% प्रतिशत बिरामीहरुले जीवनको कुनै न कुनै बेला दुर्ब्यसन गरेको पाइएको छ। त्यस्तै एचआईभी संक्रमित व्यक्तिहरुमा पनि सर्ने तरिका एउटै भएको कारणबाट यो रोग धेरैलाई नै पाइएको छ। मिर्गौलाको दीर्घकालीन रोगबाट पीडितहरुमा डायलाइसिस गर्न पर्ने र बारम्बार रगत चढाउनपर्ने भएकोले त्यस्ता बिरामीहरुमा पनि यो रोग देखिन्छ। रोग लाग्न नदिन विभिन्न कदमहरुमा सरकारले ध्यान दिने हो भने यो रोग सर्नबाट जनताहरुलाई जोगाउन सकिन्छ।
हाम्रो देशमा हेपाटाइटिस भन्ने बित्तिकै यसको एलोप्याथीमा कुनै उपचार छैन र यसको उपचार आयुर्वेदमा मात्र छ भन्ने गलत धारणा धेरै जनमानसमा पाइन्छ। डाक्टरहरुले हेपाटाइटिस को निदान गरिसकेपछि यसको उपचार छैन र भए पनि ज्यादै महँगो छ भनेर भनेर वैकल्पिक उपचार पद्धतिमा जानेहरुको संख्या धेरै छ। गलत उपचार गर्नाले रोग अझ जटिल हुन सक्ने, उपचारमा ढिलो हुनाले उपचार गर्न सक्ने स्थितिभन्दा बाहिर जाने, उपचार प्रकिया पनि जटिल र खर्चिलो हुन सक्दछ।
हाम्रो देशमा हेपाटाइटिस सी रोगको उपचार नेपालमा छैन भन्ने अवधारणा हटाउन जरुरी छ। यो कुरा सत्य हो कि यसको उपचार महँगो छ तर उपचार महँगो भए ता पनि हेपाटाइटिस बीभन्दा सीको उपचार सजिलो र निको हुने सम्भावना बढी हुन्छ। यसलाई ठीकसँग उपचार गर्ने हो र यसको सर्ने श्रोत ठीकसँग ध्यान दिने हो भने यो रोगलाई पोलियो रोगजस्तै निर्मुल गर्न पनि सकिन्छ। दु:ख को कुरा के छ भने यो रोगको अहिलेसम्म रोकथाम गर्न सक्ने खोपको आविष्कार हुन सकेको छैन। त्यसैले रोग निर्मुल गर्ने कुरा फलामको च्युरा चपाउनु सरह हुने छ।
लेखकको अहिलेसम्मको उपचार अनुभव बाट यो भन्न सकिन्छ कि नेपालमा यसको उपचारको सफलता अरु देशभन्दा बढी नै पाइएको छ। हाम्रो देशमा जेनोटाइप ३ धेरै पाइनु र जेनोटाइप १ मा पनि औषधीले काम गर्ने टाइपको पाइनुले गर्दा ८० देखि ९८% सफलता पाइएको छ। सुरुसुरुमा प्रतिब्यक्ति १२ लाख रुपैयाँसम्म खर्च लाग्ने गरेकोमा अहिले २ लाख पचास हजार रुपैयाँमा पनि उपचार सम्भव भएको छ। तर यति कम खर्चमा सबैको उपचार सम्भव भने छैन। जेनोटाइप १ मा भने नयाँ औषधीको जेनेरिक औषधी नबनुन्जेल करिब ६ लाख ५० हजार रुपैयाँसम्म लाग्ने हालको अवस्था छ। उपचार महँगो भएको कारणले गर्दा सरकारले यसमा साँच्चि नै पुनर्विचार गर्नु जरुरी छ। निको हुन सक्ने रोग भएको कारणले गर्दा औषधी सुपथ मुल्यमा उपलब्ध गराएर बिशेषज्ञको निगरानीमा उपचार गराइदिनु सरकारको दायित्व हुन आउँछ।
अन्त्यमा, हाम्रो देशमा समग्र रुपमा हेपाटाइटिस सीको सम्बन्धमा पुनर्विचार गर्नु जरुरी छ। यो रोगको सर्ने तरिका, उपचार प्रविधिबारे जनचेतना जगाउनाले यो रोगको संख्यामा कमी आउन सक्दछ। उपचार महँगो भएको कारणले गर्दा धेरैजना बिरामीहरु उपचार बाट बन्चित भएका छन्। उपचार समयमा गर्न सकेमा धेरै धनजनको क्षति बाट जोगिने थियो।
(लेखक वीर हस्पिटल लिभर युनिटमा विगत १ दशकदेखि विशेषज्ञ चिकित्सकका रुपमा काम गर्दै आएका छन्।)