चिकित्सकका लापरबाहीका घटना नेपाली मिडियामा बारम्बार आइरहने विषय हुन्। विगत केही वर्षयता 'चिकित्सकीय लापरबाही' का समाचार कम्तीमा हरेक महिनाजस्तो आउने गरेका छन्। केही दिनअघि नर्भिक अस्पतालमा भएको अमी रिसालको असामयिक मृत्युको समाचार र त्यसको जवाफमा मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिललाई सोझो पत्र लेखेपछि यो विषय नयाँ चरणमा प्रवेश गरेको छ।
समाचारका अनुसार, मुटुको दुइटा भल्भ परिवर्तन गरेर केही महिनाअघिदेखि रगत पातलो बनाउने औषधि 'वार्फरिन' सेवन गरिरहेकी अमी रिसाललाई अचानक टाउको दुख्ने, वाक्वाक लाग्ने र मानसिक स्थिति परिवर्तन भएको अवस्थामा नर्भिक अस्पतालमा उपचार सुरु गरिएको थियो। तीन दिनसम्म मानसिक स्थिति खस्कँदै गएपछि टाउकोको सिटी स्क्यान गर्दा रक्तश्राव भएको देखिएको र मस्तिष्कमृत्यु भएर बिरामीको ज्यान गएको प्रसङ्ग अजयभद्र खनालले लेखेका थिए। नर्भिक अस्पताल आफैँले आफ्नो गल्ती नभएको भनिरहँदा मन्त्रिपरिषद्को निर्देशन आएको हो। निर्देशनमा 'अमी रिसालको उपचारमा लापरबाही भएको घटनामा विज्ञ चिकित्सकबाटै छानबिन गराई यथाशिघ्र सत्यतथ्य उजागर गरी दोषी जो कोही भए पनि बिना मोलाहिजा कडा कारबाही गर्नू' भनिएको छ।
पत्रअनुसार यो घटनामा कोही न कोही पक्कै दोषी भएको ठहर मन्त्रिपरिषद्को छ। कुनै पनि बिरामीको उपचारमा संग्लग्न चिकित्सक वा चिकित्साकर्मीले चाहिनेभन्दा कम वा गलत उपचार गरेका कारणले बिरामीलाई शारीरिक वा मानसिक हानि भएको प्रमाणित भएमा 'चिकित्सकीय लापरबाही' मानिन्छ। यस्ता लापरबाही भएका छन् वा छैनन् भन्ने निर्क्यौल पत्रपत्रिकामा लेखिएको समाचार वा बिरामीको आरोपको आधारमा हुँदैन। अदालत वा देशको प्रचलित कानुन अनुसार त्यस्ता आरोपको छानबिन गर्न बनेको समिति वा मेडिकल काउन्सिलले मात्रै यस्ता कुनै घटनालाई 'लापरबाही' भन्ने निर्णय गर्न सक्छ। नेपालको हकमा भने लापरबाही भनेर दाबी गरिएका एकदमै कम घटनामात्र अदालतसम्म पुग्छन्। त्यसमा पनि अदालतले लापरबाही भनेर निर्णय दिएका घटना त न्यून।
मेरो आफ्नै अनुभव के छ भने बिरामीको उपचारमा सबैलाई चित्त बुझाउन सम्भव छैन। संसारभरि नै लाखौंको संख्यामा बिरामी वा बिरामीको परिवारले उपचारमा चित्त नबुझेर कम्प्लेन गर्ने वा मुद्दा दायर गर्ने गर्छन्। तीमध्ये धेरै कम मात्र साँच्चिकै 'चिकित्सकीय लापर्बाही' प्रमाणित हुन्छन् र बिरामी वा परिवार क्षतिपूर्तिको हकदार बन्छन्। हदैसम्मको लापरबाही गरेको ठहर भएमा चिकित्सकको लाइसेन्स रद्द हुने वा जेल नै जानु पर्ने पनि हुन सक्छ। बिरामी वा तिनका परिवारलाई उपचार प्रक्रिया राम्रोसँग सम्झाउने हो र आफूलाई थाहा भएको कुरा बिरामीलाई खुलस्त भन्ने हो भने सही गर्दागर्दै बिरामी वा परिवारले लापरबाही भयो भन्ने सम्भावना कम हुन्छ।
गल्ती मानवीय स्वभाव हो। डाक्टरबाट पनि गल्ती हुने सम्भावना प्रसस्त हुन्छ। आफूबाट कुनै गल्ती भइहालेमा बिरामी वा बिरामीको परिवारलाई इमान्दार भएर भन्न डराउनु हुँदैन। गल्ती भएमा ढाकछोप गर्दा बिरामी वा बिरामीको परिवारलाई अझै शंका गर्ने ठाउँ हुन्छ। धेरैजसो घटनामा बिरामीको परिवारले 'डाक्टरले बोल्न नखोजेको, 'लापरबाही'पछि आफूअघि पर्न नखोजेको' भन्ने गरेका छन् जसले समस्या झन् चर्किन्छ। आफूले सक्दो प्रयास गर्दा पनि बिरामी वा तिनका परिवारलाई चित्त नबुझेमा चिकित्सकको बारेमा कम्प्लेन गर्ने सुबिधा उपलब्ध हुनुपर्छ। पहिले अस्पताललाई, अनि त्यहाँबाट आफूलाई चित्त नबुझे मेडिकल काउन्सिलमा गुनासो गर्ने प्रणाली बस्नु राम्रो हुन्छ।
मेडिकल काउन्सिलले पनि यस्ता घटनामा चाँडोभन्दा चाँडो छानबिन गरेर गलत भएको छ भने बिरामी वा तिनका परिवारलाई क्षतिपूर्ति दिलाउने तथा चिकित्साकर्मीलाई कारबाही गर्न पनि पछि पर्नु हुँदैन। यदि मेडिकल काउन्सिलको न्याय पनि चित्त नबुझे अदालतसम्म पुग्न पाउनुपर्छ।
तर केही समययता लापरबाहीको नाममा धेरै गलत कामहरु हुँदै एक छन्। चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई हातपात गर्ने, अस्पतालका भौतिक संरचना ध्वस्त गर्ने, अस्पताल बन्द गर्ने/गराउने। धेरै ठाउँमा त प्रहरी प्रशासनले पनि हुलदंगा गराउनेलाई समर्थन गरेर आँखा चिम्लिदिने गर्नाले गलत काम गर्ने गराउनेलाई प्रोत्साहन मिलेको छ।
नेपालका प्रहरीभन्दा इन्डियाका प्रहरी यो सम्बन्धमा बढी संबेदनशील भएको मैले पाएको छु। कानपुरको एउटा अस्पतालमा बालिकाको मृत्यु हुँदा परिवारले प्रहरीमा रिपोर्ट लेखाउँदा प्रहरीले 'आफू चिकित्सकीय लापरबाहीको ज्ञाता नभएको' भन्दै पोस्टमार्टम गरेर अनुसन्धान गरेपछि मात्रै थाहा हुने बताएका थिए।
लापरबाहीको कुरा गर्दा बुझ्नु के पर्छ भने नेपालमा स्वास्थ्य सेवा चिकित्सकले मात्र प्रदान गर्दैनन्। बहुसंख्यक जनसंख्याले गैरचिकित्सक स्वास्थ्यकर्मी अनमी, अहेव, औषधिपसले, बैद्य, झारफुके इत्यादिबाट स्वास्थ्यसेवा लिरहेका छन्। चिकित्साशास्त्र नपढेका ठग चिकित्साकर्मीको संख्या पनि उत्तिकै छ। आफूले गर्न पाउनेभन्दा बढी गरेर बिरामीलाई हानि भएको भए त कडाभन्दा कडा सजाय दिनुपर्छ। चिकित्सक नामधारी ठगहरुलाई त जेल हाल्नुको विकल्प छैन।
क्षतिपूर्तिको कुरा गर्ने बित्तिकै अर्को कुरा टड्कारो रुपमा आउँछ। क्षतिपूर्ति कसले दिने? ५० हजार तलब हुने चिकित्सकले लाखौं क्षतिपूर्ति दिनु पर्दा कसरी दिने? विकसित देशमा अस्पतालले चिकित्सकलाई 'लापरबाही बीमा' किनिदिन्छन्। कुनै कारणले चिकित्सकले गल्ती गरेको प्रमाणित भएमा बीमा कम्पनीले सो क्षतिपूर्ति दिने गर्छन्। त्यसको समस्या के हो भने त्यसले स्वास्थ्य सेवा अझै महँगो हुन जान्छ। चिकित्सा सेवा महँगो हुदै जाँदा मर्का पर्ने निम्नस्तरका नागरिक नै हुन्। स्वास्थ्यसेवा लिन सक्ने समुदायमा पनि बढी पैसा तिर्दा सेवाको गुणस्तरमा वृद्धि होस् भन्ने चाहना रहन्छ, जसलाई अस्वाभाविक भन्न मिल्दैन।
'चिकित्सकीय लापरबाही' जस्तो जटिल समस्यामा नेपाल मेडिकल एसोसिएसन, नेपाल मेडिकल काउन्सिल लगायत संघसंस्थाले आफ्नो अवधारणा बनाउनु आवश्यक भैसकेको छ। सरकारले पनि यससम्बधी नीतिनियम बनाउन अघि सर्ने बेला भएको छ। यदि यस्तो नियम बनाउन सके स्वास्थ्यसंस्थामा कुनै अप्रिय घटना भए कसरी छानबिन गर्ने भन्नेमा सबैलाई स्पष्ट हुन्छ। बिरामी र परिवारलाई पनि आफूलाई चित्त नबुझे के गर्न सकिन्छ, थाहा हुन्छ। अस्पताल र क्लिनिकमा गन्जागोल सिर्जना गरेर फाइदा उठाउने तत्वहरुले खेल्ने मौका पाउँदैनन्।
अन्त्यमा अमी रिसालको घटना अजयभद्र खनालले आवेशमा आएर लेखेको पत्र र नर्भिकले दिएको स्पष्टीकरणको भरमा मात्रै उपचार गर्ने चिकित्सकले लापरबाही गरेको वा नगरेको टुंगो लगाउन सकिन्न। उपचारमा संग्लग्न सबै र बिरामीको परिवारसँग बयान लिएर, भएका सबुतहरुको अध्ध्ययन र अन्य बिशेषज्ञ चिकित्सकको साबितीको आधारमा मात्रै यसै भएको हो भन्न सकिन्छ। यस्ता घटनामा मिडियाले पनि 'चिकित्सकीय लापरबाही' भनेर न्यायाधीश बन्ने काम गर्नुभन्दा उपचार गर्ने र गराउने दुवै पक्षको भनाइ राखेर 'चिकित्सकीय लापरबाहीको आरोप' भनेर समाचार प्रकाशन गर्नु निष्पक्ष ठहरिन्छ।
(डा. दाहाल अमेरिका न्यू ह्याम्सायरस्थित अस्पतालमा कार्यरत छन्।)