जीवन र मृत्युको महिमा बोध गर्न म उभिएको छु, दनदनी बलिरहेको चिताअगाडि । यी जलिरहेका मान्छे साधारण जीव थिए । नाम– रामसिंह घर्ती । उनले पशुपतिको वृद्धाश्रममा बसेर घाट कुरेको दश वर्ष बितेछ । वृद्धाश्रममा बस्ने कुनै वृद्ध मरेपछि वृद्धाश्रमको पहिलो कर्तव्य हुन्छ, उनको सतगत गरिदिनु । मुटुको गति र रगतको बेग थामिएपछि मानिस अररो र र डरलाग्दो भएर पल्टिन्छ । केही छिनअघिसम्म रामसिंह यस्तै देखिन्थे ।
दाउरा दन्किइरहेछ । उनका निर्जीव हात, खुट्टा कक्रक्क परेका छन् । मानौँ, उनी चुपचाप आगो सहन गरिरहेछन् । वा, यसो भनौँ, उनलाई अग्निको ज्वालाले डाह भएकै छैन । कुनै परचक्रीको मृत्यु र लासको दृश्यबाट उठेको भावनालाई म कसरी व्यक्त गरूँ ? त्यसको एक अंश उनेर कुनै कविता लेख्नपाए ?
०००
नाम : नवराज प्याकुरेल
उमेर : ४० वर्ष
ठेगानाः काभ्रे, फूलबारी
पेसा : लास जलाउनु
यो उनको परिचय हो, जो रामसिंहको लास जलाइरहेका थिए । उनी पनि साधारण मान्छे हुन् । पृथ्वीबाट बिदा भएको मान्छेलाई आर्यघाटमा खरानी पार्नु उनका लागि साधारण कुरो हो । उनले हजारौँ लास पोलिसके । अब काम गर्ने रहर छैन रे । ‘यही काम गरेरै ४० वर्ष लागेँ,’ उनी सुस्केरा हाल्छन् । सेतो धोती र सर्टमा भेटिएका उनले हरियो बाँसको घोचोले लासको बलिरहेको खुट्टामा ठ्वास्स पार्दै भने, ‘अब मलाई पनि बाँच्ने मन छैन ।’ पहिले उनी व्यापार गर्थे । ‘दशा लागेर यस्तो काम गरिएछ,’ उनी विरक्त छन् ।
पशुपतिनाथको आर्यघाटमा लास पोल्नु उनको ‘ड्युटी’ हो । कहिलेकाहीँ बिहानदेखि मध्यरातसम्म ड्युटी गर्छन् उनी । त्यसैले कहिलेकाहीँ अनिँदै रहन्छन् । उनका बुबाले पनि यही पेसा रोजे । जलिरहेका लासहरूबीच हुर्किएका हुन् उनी । लास जलाएर उनी रोजीरोटी खोज्दै छन् । जिन्दगी चलाउने मेसो !
उनी बैरागी वा भिक्षु होइनन् । उनी त आफ्नो, छोराछोरी र श्रीमतीकोे पेट भर्न मसान कुरिरहेका छन् । उनीनजिकै जलिरहेको छ, एउटी युवतीको लास । लासमा बाँसले ठ्वाक्क हान्दै उनी फतफताउँछन्, ‘नत्र यहाँ किन बस्नु ?’ उनका जीवनका पछिल्ला १५ वर्ष मानिस जलाएरै बिते । उनले १० वर्षको बालकदेखि १०० वर्षका वृद्धसम्म पोलेका छन् । कति पोले ? के हिसाबकिताब ? आर्यघाटमा आएका लास उनका लागि लास होइन, रोजीरोटीको माध्यम हो । उनलाई ‘यो संसार नाटकमात्रै हो’ भन्ने लाग्छ । कुनै बेला सेक्सपियरले पनि यस्तै भनेका थिए–
सारा संसार रङ्गमञ्च हो एउटा
सारा नरनारी कलाकार हुन् केबल ।
‘जन्मेपछि मर्नैपर्छ,’ उनी भन्छन्, ‘म पनि एक दिन मर्नेछु, मलाई पनि यसैगरी कसैले खरानी पार्नेछ ।’
जन्म, मृत्यु, आँसु र हाँसो जीवनका पक्ष हुन् । तर, एउटा मानिस चितामा जलिरहेको हुन्छ, जलाउनेमा कुनै संवेदना छैन । दालभातको धन्दाले मानिस मृतकको अनुहारमा पनि पैसाको रङ देख्छ । जलिरहेको चिताले पनि उसका आँखाबाट एक दाना आँसु गिराउँदैन । मृत्युको संवेदनाभन्दा मानिसलाई पैसाले छोपेको छ । चिताबाट खरानी पखाल्ने बेलासम्म उसको मन दामको हिसाबमा अल्छिएको हुन्छ । कसैको शरीरलाई पञ्चतŒवमा विलिन गराएपछि नवराज हिसाब लाउँछन्– ‘अब एक हजार असी रुपियाँ पाक्यो ।’ उनको कामै यस्तो छ ।
बेला–बेला उनी झनक्क रिसाउँछन् । ‘भो जानुस्,’ अघिदेखि सोधखोज गरिरहेको मलाई हेरेर फेरि चितालाई घोच्छन्, ‘मेरो कुरा लेखेर के हुन्छ ? आफ्नो दुःख जस्ताको तस्तै ।’ उनीजस्ता ३२ जना मानिसको पेसा हो, लास जलाउनु । उनीहरूलाई यो काम पटक्कै मन पर्दैन तर के गर्नु ? नगरी सुख छैन । उनलाई थाहा छैन, अहिलेसम्म कतिलाई पोले ? ‘कहिले २०/२५ वटा लास आउँछन्, कहिले ८/१० वटा, कतिलाई पोलियो कतिलाई ?’ एउटा मान्छे पोलेको एक हजार ८० रुपियाँ पाउँछन् उनी । पहिले घाट व्यवसाय समितिको अफिसले लासधनीबाट पैसा लिन्छ । अनि, आफूले भष्म पारेका प्रत्येक लासका दरले साता/सातामा उनले पैसा पाउँछन् । एउटा लास जल्न दुईदेखि पाँच घन्टासम्म लाग्छ ।
आफन्त र पराईको लास पोल्दा उनलाई कुनै फरक महसुस हुँदैन । ‘बानी भइसक्यो, जसको लास पोल्नु पनि उस्तै हो ।’ उनले धेरैपटक देखेका छन्, आफ्ना पिताको मृत्यु भएपछि डङ्रङ्ग भुइँमा पल्टिएको लास त्यसै छाडेर सम्पत्तिको बखेडा झिक्न थालेका छोराहरू । मान्छेले आफ्नो अधिकतम सपना ‘पैसा कमाउने’ बनाएको छ र एक्लो बन्न थालेको छ । यस्तो बेला यहुदी उखान सम्झना आउँछ– ‘धनीहरूले आफ्नो सट्टा मर्नका लागि कसैलाई भाडामा लिन सक्ने भए गरिबले सानदार गुजारा गर्थे ।’
उमेर नपुगी आर्यघाट पुर्याइएकाहरू पनि धेरै हुन्छन् । उनले अल्पायुमा मरेका थुप्रै मानिस देखेका छन् । कोही टाइफाइड भएर, कोही अत्यधिक दारु खाएर, कोही जन्डिस हुँदा पनि खसीको मासु खाएर, कोही ब्लडप्रेसर ह्वात्तै बढेर, कोही हार्ट अट्याक भएर, कोही न्युमोनिया भएका बेला टन्न बिजुलीपानी पिएर अनि कोही चाहिँ बाटोमा हिँड्दा–हिँड्दै गाडीले ठक्कर दिएर मरेका ।
उनको जिन्दगीको यो कथा कति अरूसँग मिल्दो होला, कति नमिल्दो पनि । बिलकुलै पृथक् ढङ्गका पात्र हुन् यी । उनले मान्छेको अन्तिम प्रस्थानविन्दुलाई नै आफ्नो रोजीरोटीको प्रवेशविन्दु बनाएका छन् ।
०००
जिन्दगीको एउटा अकाट्य सत्य हेर्दै छु, आर्यघाटमा । आजै, भोलि वा अरू कुनै बेला, म पनि यसरी नै यहाँ ल्याइनसक्छु । मेरो अन्तिम बिदाइका लागि को–को आउलान् ? जोसुकै आऊन् । आई डन्ट गिभ ए ड्याम ।
घाट भग्न पाटीझैँ उदास र मौन छ । घाटमा भेटिएका लास पोलिरहेका मान्छे पनि उदास छन् । घाटका पाटी र कुरुवा–घरहरूको विशेषता अर्कै छ । कतै उप्किएका प्लास्टर, उडेर टाटैटाटा देखिने सेता रङले पोतिएका स–साना घरहरू । यी ‘कुरुवा–घर’ बागमतीका घाट चहार्ने फिरङ्गीजस्तै देखिन्छन् । संसारदेखि मुक्त भएर मैलोथैलो पहिरनमा रामनामी ओढेर आफ्नै लबजमा ‘ओम नमो सिबाय’ भन्दै जटाधारी फुस्रा बाबासामु चिलिम तान्दै मस्त रहेजस्ता । भनूँ, आर्यघाटको यही स्वच्छन्दता नै जोगीहरूलाई आकर्षित गर्न पर्याप्त छ । मानौँ, यहाँ सदियौँदेखि लामो सन्नाटा छाएको छ ।
लास जलिरहेको चितामुनिको गन्हाउने बागमतीमा चाहिँ केही दुःखी जीव छन्, जो केही सिक्का र लासबाट यदाकदा खसेको ‘सुन’ खोज्ने प्रयत्नमा ‘नर्क’ भन्न सुहाउने फोहरमा हेलिएका छन् । कुनै बेला पूजा गरिने बागमतीले ‘ढलमती’को उपाधि पाएको पनि वर्षौं भइसक्यो । समयले बागमतीको अनुहारमा चरम धमिलो पोतिदिएको छ ।
०००
चर्को रुवाइले मेरो ध्यान तान्यो । आर्यघाटमा कसैको लास आइपुगेछ । दुईजनाले वरपरबाट समाएर एउटा युवकलाई सम्झाइरहेका छन्, ऊ चिच्याइरहेको छ । ब्रह्मनालमा सुताइएको वृद्धका दुवै गाला चाउरिएर स्याप्प सुकेका छन् । नाडीको छाला हड्डीसँगै ट्याप्प टाँसिएको छ । आँखा गहिरा खाडलझैँ भएका छन् । कुर्कुच्चा धाँजा–धाँजा परेर फाटेका छन् ।
वृद्ध घिटीघिटी गरिरहेका छन् । एकैछिनमा उनले चिसो पानीमा डुबाइएका खुट्टा तनक्क तन्काए । (मृतकको पल्स अर्थात् नाडी केही मात्रामा शरीरमै अड्केको हुन्छ र यस्तो समयमा उसको खुट्टा चिसो पानीमा डुबायो भने त्यो पल्स पनि शरीरबाट मुक्त हुन्छ भन्ने मान्यता छ ।) आर्यघाटमै मर्न पाएकोमा सायद उनी आफूलाई धन्य ठानिरहेका थिए । शरीरलाई सासले छाडेको पक्का भएपछि सामान्य परम्परागत प्रक्रियापश्चात् उनलाई पनि चितामा राखियो ...।
०००
कसैले भन्न सक्दैनन्– मरेपछि जीवन हुन्छ कि हुँदैन ? विज्ञान जीवनलाई वीर्य र रज मिलेर बनेको जैविक संयोग मात्र ठान्छ र ‘मृत्यु’ लाई नै अन्त्य मान्छ । धर्मले चाहिँ जीवनलाई ‘पदार्थ र चेतनाको संयोग’ मान्छ । हिन्दूहरू मोक्षमा विश्वास गर्छन् । शरीर हुन्जेल त्यसलाई आत्माको मोह हुन्छ । आत्मा शरीरकै वरिपरि घुमिरहे मोक्षमा बाधा हुन्छ, त्यसैले जलाउनुपरेको, त्यसैले आर्यघाट चाहिएको, त्यसैले आकाशमा मान्छे डढेको दुर्गन्धित धुवाँ मडारिएको ।
०००
साँझको सात बजिसकेको छ । यहाँबाट डेग चल्न मन छैन । क्रमशः एकपछि अर्को चिता जल्दै छन् । आर्यघाट कति ‘बिजी’ ? मान्छे मरिसकेपछि पनि लाइनमा बस्नुपर्ने ? दिउँसैदेखि यहाँ आएका केटाकेटीहरू बागमतीको किनारमा सिक्का खोज्दै छन्, सुन खोज्दै छन् । सुन पाउलान् कि नाइँ यिनीहरूले ? दनदनी जलिरहेको चितामुनि भाग्य खोजीको यो शृङ्खला अनवरत चलिरहेको छ ।
वतावरणमा पिरो धुवाँ फैलिएको छ । फेरि, अर्को लास आइपुगेछ । लास आउने क्रम रोकिएको छैन । फेरि रुवाइ... फेरि चर्को डाँको ...। व्यस्त कारखानाजस्तो लाग्छ आर्यघाट । उदास कारखानाजस्तो लाग्छ आर्यघाट ।
(याम्बुरी बुक्स प्वाइन्टबाट भर्खरै प्रकाशित निबन्धसंग्रह ‘लोकेसन’को एक निबन्ध)