२०४६ सालको राष्ट्रिय जनआन्दोलनको सफलतापछि जारी नेपाल अधिराज्यको संविधान–२०४७ ले जनताको अभिव्यक्ति स्वतन्त्रता र सुसूचित हुने अधिकारको ग्यारेन्टी गरेपछि तत्कालीन सरकारले प्रसारणको क्षेत्रमा समेत खुकुलो नीति लियो । सरकारले २०४९ सालमा राष्ट्रिय प्रसारण ऐन र २०५२ सालमा राष्ट्रिय प्रसारण नियमावली जारी गरी निजी क्षेत्रलाई पनि प्रसारण क्षेत्र खुला गर्यो । यसबाट सैद्धान्तिक रुपमा सरकारी टेलिभिजनको एकाधिकार अन्त्य भए पनि व्यावहारिक रुपमा अन्त्य हुन भने अझै करिब आधा दशक कुर्नु पर्यो ।
नयाँ सञ्चार नीतिको मस्यौदा तयार हुँदै गर्दा नै मन्त्री परिषदको निर्णयका आधारमा च्यालन नेपाल र विजनेस इन्डिया नामक कम्पनीहरुले नेपालमा टेलिभिजन प्रसारणको अनुमति पाएका थिए । दुवै कम्पनीको दाबी निजी क्षेत्रबाट टेलिभिजन सञ्चालन गर्न आपूmले मात्र एकाधिकार पाउनु पर्छ भन्ने थियो । लगानीको सुरक्षा र प्रतिस्पर्धारहित मुनाफाका लागि यस्तो तर्क ती कम्पनीले गरेका थिए । एकाधिकार नपाएपछि विजनेस इन्डियाले नेपालमा टेलिभिजन प्रसारणको व्यवसायमा हात हालेन । तर च्यालन नेपालले पाएको भू–उपग्रह प्रसारणको अनुमति पत्रमा कम्पनीले काम सुरु गरेको दस वर्षसम्म अर्को कुनै कम्पनीलाई सरकारले अनुमति पत्र नदिने उल्लेख थियो । यसबाट नेपाल टेलिभिजनले भू–उपग्रह मार्फत प्रसारण गर्न पनि नपाउने जटिलता उत्पन्न भएको थियो । पछि जयप्रकाश गुप्ता सञ्चार मन्त्री हुँदा सरकाले च्यालन नेपालको भू–उपग्रह इजाजतपत्र नै खारेज ग¥यो । प्रसारणको तयारी पूरा गरी सकेको च्यानल नेपालले थाइल्यान्डको बैंककबाट भू–उपग्रह अपलिंक गरी २०५८ असार १९ गतेदेखि टेलिभिजन प्रसारण सुरु ग¥यो र नेपालको पहिलो भू–उपग्रह टेलिभिजन बन्यो । यसको भोलिपल्टदेखि नै काठमाडौंको बलम्बूस्थित नेपाल दूरसञ्चार संस्थानको अर्थस्टेसन प्रयोग गरी ‘इन्टेलस्याट’ भू–उपग्रह मार्फत नेपाल टेलिभिजनले पनि भू–उपग्रह प्रसारण सुरु ग¥यो । त्यसबेला इन्डियन एयरलाइन्सको विमानलाई काठमाडौंबाट अपहरण गरिएको घटनामा जिटिभीले एक नेपालीको नाम समेत जोडेर गलत समाचार प्रवाह गरेपछि नेपाली सरकारी अधिकारीहरु भू–उपग्रहमा टेलिभिजन प्रसारणलाई लैजान तम्सिएका थिए । २०५८ असारबाट नेपाली टेलिभिजनको इतिहासमा भू–उपग्रह प्रसारणको युग प्रारम्भ भयो ।
च्यानल नेपालको इजाजतपत्र खारेजीको घटनाले राजनीतिक वृत्तमा खैलाबैला उत्पन्न भएको थियो । २०५८ चैत्र २ गते मन्त्री परिषद पुनर्गठन गरिँदा सञ्चारमन्त्री गुप्तालाई कृषिमन्त्री र वातावरण राज्यमन्त्री शिवराज जोशीलाई सञ्चारमन्त्री बनाइयो । मन्त्री जोशीले सरकारको पूर्वनिर्णय बदर गराई च्यानल नेपाललाई नेपालबाटै प्रसारण अनुमति दिने निर्णय गराए । कृषिमन्त्री गुप्ताले आप्mनो निर्णय उल्ट्याएकोमा आपत्ति जनाउँदै मन्त्रीपदबाट राजीनामा दिए ।
च्यानल नेपालको आगमनपछि टेलिभिजन प्रसारणको क्षेत्रमा निजीक्षेत्र आकर्षित भयो । २०६० को दशकको सुरुमै थप दुई टेलिभिजन च्यानलहरु थपिए । २०६० असार २९ गते एकैदिन इमेज च्यानल र कान्तिपुर टेलिभिजनले प्रसारण सुरु गरे । इमेज च्यानलले २०५३ साल माघदेखिनै नेपाल टेलिभिजनको बिहानी प्रसारणको ९० मिनेट समय भाडामा लिई साङ्गीतिक कुराकानी र अन्य सामग्री समेत प्रसारण गर्दै आएको थियो । भूसतही रुपमा मात्र प्रसारण गर्दै आएको यो च्यानलले २०६३ माघ ११ गते भू–उपग्रह प्रसारणको पनि इजाजत प्राप्त गरेको थियो ।
कान्तिपुर टेलिभिजनले भने भूसतही प्रसारणको इजाजत २०५९ बैसाख ४ गते र भू–उपग्रह प्रसारणको इजाजत २०६३ असार १ गते प्राप्त गरेको थियो ।
निजी क्षेत्रबाट सञ्चालित तिन वटै टेलिभिजनहरु नेपाल टेलिभिजनझँै मिश्रित सामग्री प्रसारण गर्ने च्यानलका रुपमा देखा परे । समाचार, समाचारमूलक समसामयिक कार्यक्रम, गीतसङ्गीत, कुराकानी, टेलिफिल्म, वृत्तचित्र, बालकार्यक्रम लगायत सबैका लागि केही न केही पस्किने च्यानलका रुपमा यी च्यानलले आप्mनो परिचय बनाए ।
यसैबीच नेपाल टेलिभिजनले ‘एनटिभी मेट्रो’ नामक दोस्रो च्यानल सुरुगरी बहुच्यानल टेलिभिजन प्रसारण सुरु ग¥यो । एउटै मिडिया गृहबाट एकभन्दा बढी टेलिभिजन च्यानल सुरु गरिएको यो पहिलो घटना हो । २०६० असोज १० गतेदेखि दैनिक साँझ डेढ घन्टा प्रसारण सुरु गरेको यो च्यानल पनि समाचारसहितको मिश्रित च्यानलका रुपमा देखाप¥यो । केही समय एनटिभी टु भनिएको यो च्यानललाई अहिले एनटिभी प्लस भनिन्छ र समाचार बाहेकको मनोरञ्जन र खेलकुदमा केन्द्रित मिश्रित च्यानलका रुपमा २४ सै घन्टा प्रसारणमा छ ।
पछिल्लो कालखण्डमा निजीक्षेत्रबाटै केही मिश्रित च्यानलहरु प्रतिस्पर्धामा आएका छन् । माउन्टेन टेलिभिजन (२०६५), हिमालयन टेलिभिजन (२०६६), नेसनल टेलिभिजन (२०६३–हाल बन्द) निजी मिश्रित च्यानलका उदारणहरु हुन् । यी तिनवटै च्यानलहरुले भू–उपग्रह मार्फत प्रसारण गर्ने इजाजत लिएका छन् । यसैबिच निजी क्षेत्रबाट विशेषीकृत च्यानलहरु पनि सुरु भएका छन् ।
द्वन्द्व र टेलिभिजनबीच ध्रुवीकरण
निजीक्षेत्रका टेलिभिजनहरु प्रसारणमा आएपछि राजधानी र सहरी क्षेत्रका दर्शकहरुलाई नेपाल टेलिभिजनको विकल्प प्राप्त भयो । इमेज च्यानल र कान्तिपुर टेलिभिजन जन्मिदा २०५२ सालबाट सुरु माओवादी सशस्त्र सङ्घर्ष उत्कर्षमा पुगेको थियो । त्यसबेला माओवादी पराजित भएका स्थानहरुमा शाही नेपाली सेनाले टेलिभिजन पत्रकार लिएर जान्थ्यो र प्रायोजित रिपोर्टिङ गराउँथ्यो । माओवादी पक्षको क्षतिलाई दसौँ गुणा बढाएर प्रसारण गराउँथ्यो । नेपाल टेलिभिजनमा समसामयिक कार्यक्रमहरुका लागि बिचमा मुख्य खण्डहरु अन्तैबाट तयारी अवस्थामा आइपुग्थे र यी सामग्रीका अन्तर्वस्तु पूर्णरुपमा माओवादी विरोधी हुन्थे । नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक राजु सिलवालका अनुसार नेपाल टेलिभिजनका सञ्चारकर्मी ‘ओपनिङ–क्लोजिङ’ मात्र गर्न बाध्य थिए ।
निजी क्षेत्रका टेलिभिजनहरुको अवस्था पनि उस्तै थियो । सेनाकै श्रोत र सामग्रीमा निर्भर भएकोले निजी टेलिभिजनहरुले पनि समाचार र कार्यक्रमहरुमा सन्तुलन गुमाएका थिए । त्यसैलै नेपाली दर्शकले टेलिभिजनमा वास्तविक खबर हेर्न पाएका थिएनन् । टेलिभिजन पत्रकार गंगा बी.सी. लेख्छन्-
टेलिभिजन पत्रकारलाई युद्ध पत्रकारिताबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान नभएर पनि सन्तुलित समाचार प्रसारण हुन नसकेको हो । अर्को, राज्य र विद्रोही दृुवै पक्षले टेलिभिजन पत्रकारलाई सजिलै स्वीकार गर्ने अवस्था थिएन । दुवै पक्षको कारवाहीको भागीदार हुने अवस्था थियो । त्यस्तै, माओवादीले पत्रकारलाई शङ्काको दृष्टिले हेर्ने गथ्र्याे ।....यस्तै समस्याका कारण द्वन्द्वको वास्तविक खबर आउन सकेको थिएन ।
तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५९ असोज १८ मा अपदस्थ गरे । सरकारी टेलिभिजनका रुपमा नेपाल टेलिभिजनका दुवै च्यानललाई सरकारी सूचना, सत्तापक्षलाई फाइदा पुग्ने खबर, अन्य सामग्री पस्कँदै सरकारी प्रचारबाजीको संयन्त्रका रुपमा काम गराइदैँ थियो । तर निजी टेलिभिजनहरुले भने शाही कदमका विरुद्धमा दलहरुले सञ्चालन गरेका आन्दोलनका गतिविधिहरुलाई पनि समाचारमा प्रसारण गरे । २०६० चैत्र २२ मा रत्नपार्कमा दर्जनौं प्रहरीले एक जना प्रदर्शनकारीमाथि ४२ लाठी प्रहार गरेको दृश्य कान्तिपुर र इमेज च्यानल टेलिभिजनमा प्रसारण भए । निजी च्यानलहरुले प्रहरीले प्रदर्शनकारीको टाउको ताकी ताकी हानेका दृश्यहरु देखाएका थिए । त्यही घटनालाई लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट सरकारको व्यापक आलोचना भयो । अनि शान्तिपूर्ण प्रदर्शन माथिको सरकारी दमन समेत कम हँुदै गयो।
च्यानल नेपाल भने नेपाल टेलिभिजनभन्दा भिन्न प्रकृतिको थिएन । राजाको भ्रमण टोलीमा नेपाल टेलिभिजनझँै संलग्न गराइएको यो च्यानलले राजाकै गतिविधिलाई वैधानिक देखाउन जोड गरिरहेको थियो ।
२०६१ माघ १९ गते राजाले मुलुकको कार्यकारी अधिकार हातमा लिएपछि त सेनाको नियन्त्रणमा रहेर टेलिभिजनहरुले तोकिएको सामग्रीमात्र प्रसारण गर्न बाध्य हुनु प¥यो ।
माघ १९ गते बिहान नेपाल टेलिभिजनमा शाही नेपाली सेनाको एउटा टोली आएर सुरक्षा पूर्ण नियन्त्रणमा लियो । राजदरबार संवाद सचिवालयको कर्मचारी राजाको भाषण भएको क्यासेट लिएर आए । त्यसपछि सेनाले समाचार भवन नियन्त्रणमा लियो । समाचार कक्षमा ड्युटीमा रहेका वरिष्ठ समाचार सम्पादक गजुरधन राईको अनुभव यस्तो छ-
म बिहानी सिप्mटको ड्युटीमा थिएँ । हामी न्युज विल्डिङको एकतला माथि सम्पादन कक्षमा थियौँ । दौरा सुरुवाल लगाएका शाही नेपाली सेनाका व्यक्तिहरु अचानक समाचार कक्षमा पसे । तिनका कानमा एयरफोन थिए । तिनले तत्कालीन समाचर प्रमुखमा सिंहलाई खोजे, उहाँ हुनुहुन्नथ्यो । ती अरुसँग बोलेनन् । म त्यतिबेला दरबारको रिपोर्टिङ गर्ने हुनाले ती दरबारका सेनालाई मैले चिनिहालेँ । केही असामान्य कुरा भएको छ कि भन्ने मनमा लाग्यो । त्यसपछि रमा सिंह आउनु भयो र ‘रविजी र म माथि बस्ने अरु सबै तल जानु प¥यो’ भन्नु भयो । सादा पोसाकका शाही सेनाले घेरिएकी सिंहको भनाइ मान्दै हामी भुइँतल्लाको समाचार कक्षमा गयौं । त्यस बेला सिँडी, ढोका र करिडोरमा सादा पोसाकका सेना बसिसकेका थिए । तिनले बाहिर जानमिल्ने हामीलाई बताए । बाहिरतिर बर्दीधारी १०–१५ जना सेना तैनाथ थिए । हामीले पनि शाही घोषणा प्रसारण भएपछि मात्र वास्तविकता थाहा पायौं।
भाषणलाई प्रसारणपूर्व नेपाल टेलिभिजनमा सामान्य सम्पादन गरिएको थियो । बिहानी सत्रको श्रव्य दृष्य सम्पादन ड्युटीमा रहेका रविभक्त श्रेष्ठले शाही सम्बोधनको रेकर्डलाई सम्पादन गरेका थिए । अन्यत्रै रेकर्ड गरिएका शाही सम्बोधनका क्यासेटहरु सेनाले नेपाल टेलिभिजनमा ल्याएका थिए । श्रव्य दृश्य सम्पादक श्रेष्ठ भन्छन् – ‘सेनाले २ वटा क्यासेट ल्याएका थिए । क्लोज अप र लङ् सटमा राजा ज्ञानेन्द्रको शाही घोषणा खिचिएको रहेछ । हामीले रिटेक्लाई इन्सर्ट गरी सम्पादन ग¥यौं । त्यसबेला ड्युटीमा हुने सबैलाई कतैपनि नजान भनिएको थियो ।’
आदेशअनुसार राजा ज्ञानेन्द्रको शाही सम्बोधन नेपाल टेलिभिजनबाट प्रसारण गराइयो ।
नेपाल टेलिभिजनबाट प्रसारण गर्न के क्यासेट ल्याइएको थियो र त्यसमा के अन्तर्वस्तु छ भन्ने कुरा सम्पादन प्रक््िरmयामा संलग्न केही व्यक्तिमा मात्र सीमित राखिएको थियो । समयावधि पनि छोटो थियो । सम्पादन गरिसकेपछि प्रसारण गर्ने अवस्थाको क्यासेट प्रसारण स्टुडियोमा लगियो ।
स्टूडियो प्रोड्युसरका रुपमा त्यस दिन बिहानी सत्रमा कार्यरत उमेश लोहनीको अनुभव यस्तो छ – ‘स्टुडियोमा रमा सिंह आउनु भयो । अडियो टाइट छ यो राजको सन्देशमा, अहिले प्रसारण गर्नु पर्छ भन्नुभयो । हामीले क्यासेटलाई ‘क्यु’ गरेर ‘पज’ मा राख्यौं । रेडियो नेपाल सँगसँगै प्रसारण गर्ने कुरा भयो । रेडियो नेपालमा फोन गरियो । त्यहाँको ‘काउन्टडाउन’ अनुसार एकै चोटी त्यो सन्देश प्रसारण गरियो । हामीलाई स्टुडियोमा कुनै बाह्य नियन्त्रण महसुस भएन । तर प्रसारण भई सकेपछि बाहिरको माहोलबारे थाहा भयो’ ।
त्यसपछि पनि नेपाल टेलिभिजनको समाचार कक्ष कडा नियन्त्रणमै रह्यो । त्यसपछिका दिनमा पनि सेनाका मेजर ढुक्कै समाचार कक्षमै हुन्थे । के समाचार पढाउने भन्ने ‘उच्च स्तर’ बाट आउँथ्यो । सामयिक चर्चाहरु तयारी अवस्थामा नेपाल टेलिभिजनमा उपलब्ध गराइन्थे ।
माघ १९ गते नेपाल टेलिभिजनबाट प्रसारण गराइएको राजाको सम्बोधनलाई अन्य टेलिभिजनका प्रसारण स्टुडियोमा सेनाको टुकडी नै उपस्थित भई नेपाल टेलिभिजन ‘हुक’ गर्न लगाई जस्ताको तस्तै प्रसारण गराइएको थियो । कान्तिपुर टेलिभिजनमा सेनाको हस्तक्षेपबारे टेलिभिजन पत्रकार जगत नेपाल आप्mनो अनुभव लेख्छन्-
माघ १९ गते विहान ११ बजे म आप्mनो अफिस कान्तिपुर टेलिभिजन पुग्दा चारैतर्फ सैनिकको पहरा थियो । समाचार कक्षमा रहेका सहकर्मीहरु हतास र निराश मुद्रामा थिए । चार तला माथि रहेको समाचार कक्षमा पस्ने बित्तिकै देखें–अत्याधुनिक हतियारधारी सैन्य डप्mफा समाचार कक्षमा घरी वल्लो छेउ घरी पल्लो छेउ गर्दै घुमिरहेका । सँधै झैँ त्यसदिन पनि रिर्पोर्टिङ शाखाको बैठक बस्यो, तर अघिल्ला दिनहरु भन्दा नितान्त फरक वातावरणमा । बैठकमा राजनीतिक विषयवस्तुमा समाचार बनाउने एजेन्डा नै राखिएन ।... बैठक भइरहँदा समाचार प्रमुखलाई सेनाका मेजरले ‘यस्तो समाचार बनाउनु प¥यो, उस्तो समाचार बनाउनु प¥यो’ भन्दै सिकाउँदै थिए ।
सेनाको टुकडीद्वारा घेरिएको इमेज च्यानलमा पनि सेनाको निर्देशनमा शाही सम्बोधन मात्र नेपाल टेलिभिजनलाई हुक गरी प्रसारण गरियो । घटनाका साक्षी इमेज संवाददाता राजन कुइँकेल बताउँछन् – ‘सेनाले अब समाचार प्रसारण रोक्नुस् । नेपाल टेलिभिजन मात्र हुक गर्नुस् । अरु केही गर्न पाउनु हुन्न । यो माथिको आदेश हो भन्यो । कसैले प्रतिवाद गर्न सक्ने कुरै आएन’।
शाही कदमको तत्काल पछि केही समय सेनाप्रति नतमस्तक भए पनि दुई महिना बित्दा नबित्दै निजी टेलिभिजनहरुले आन्दोलनकारी दलका आवाज र गतिविधिहरुलाई निर्भीक भएर प्रसारण गर्न थालिसकेका थिए । यो क्रम २०६२÷६३ को आन्दोलनसम्म पनि कायम रह्यो ।
यस कालखण्डमा सरकारी र निजी टेलिभिजनको (च्यानल नेपाललाई छोडेर) ध्रुवीकरण पनि तीव्र भयो । नेपाल टेलिभिजनमा आन्दोलनकारी दल र अन्य सङ्घ सङ्गठनका सामग्रीहरु निषेध गरिएको थियो । कथंकदाचित प्रसारणमा आइहाले पनि नकारात्मक कोणबाट प्रस्तुत गरिन्थ्यो । अर्कोतिर कान्तिपुर टेलिभिजन यसको ठीक उल्टो थियो । इमेज च्यानलले भने केही सन्तुलित सामग्री पस्कने जमर्को गरेको थियो ।
२०६२÷६३ सालको जनआन्दोलनको सफलतापछि टेलिभिजनहरु सरकारी हस्तक्षेपबाट तुलानात्मक रुपमा स्वतन्त्र भए । खासगरी सरकारी नियन्त्रणमा रहेको नेपाल टेलिभिजनले खुकुलोपनको अनुभव गर्न पायो । नेपाल टेलिभिजनका पत्रकारहरु यो समयलाई इतिहासकै सर्वाधिक स्वतन्त्र युग भन्न रुचाउँछन् । प्रधानमन्त्री र सत्तारुढ दलका अध्यक्षको पुत्ला जलाएको समाचार पनि निर्वाधरुपमा प्रसारण भइरहेका छन् ।
विशेषीकृत च्यानलको आगमन
२०६२÷६३ सालको जनआन्दोलनको सफलतापछि टेलिभिजन च्यानल थपिने क्रम तीब्र भयो । यस कालखण्डमा नेपालमा नयाँ र विशिष्ट विशेषता भएका टेलिभिजन च्यानलहरु अस्तित्वमा आएका छन् । चौविसै घण्टा समाचार प्रसारण गर्ने उद्घोषका साथ विशेषीकृत समाचार च्यानलहरु निजी क्षेत्रबाट सञ्चालनमा आए । एभिन्युज टेलिभिजनले २०६४ असार ३२ गतेबाट न्युज च्यानलका रुपमा आप्mनो प्रसारण शुरु ग¥यो । त्यसै गरी सगरमाथा टेलिभिजनले २०६४ साउन १४ गते र एबिसी टेलिभिजनले २०६५ भदौ १९ गतेबाट समाचार च्यानलका रुपमा प्रसारण गरे । नेपाल ब्रोडकास्टिङ कम्पनीले न्युज ट्वान्टिफोर नामक अर्को समाचार च्यानल २०६७ बैशाख ८ गतेबाट नियमित प्रसारण सुरु ग¥यो ।
जी क्षेत्रबाट सञ्चालित यी समाचार च्यानलहरुले समाचारको विषयवस्तु र समाचारमूल्यको क्षेत्र बिस्तार गरे । एकअर्काका बिच प्रतिस्पर्धी बन्दै समाचारलाई चाँडो दर्शकसम्म पु¥याउनमा होडबाजी पनि बढ्दै गयो । समाचार प्रस्तुतिको शैलीमा पनि विविधता देखा प¥यो । तर पनि समाचारको एङ्गलमा सरकारी सरहकै दृष्टिकोण, समान दृश्य र घटनाप्रधान कर्मकाण्डी समाचारहरुले नै प्रसारणको प्रमुख अंश ओगट्ने विडम्बनाबाट भने यी च्यानलहरु मुक्त हुन सकेका छैनन् । अझ यी च्यानलहरुमा व्यापारिक घरानाहरुको बढ्दो प्रभावका कारण आमजनताका सरोकारलाई उजागर गर्न सक्ने सार्वजनिक डबलीको भूमिका न्युन हुनसक्ने चिन्ता पनि बढ्दो छ ।
अर्कोतिर घोषित समाचार च्यानलका रुपमा बन्दै गएको छवि पनि यी च्यानलले प्रसारण गर्न थालेका सामग्रीहरुले सङ्कटमा पर्न थालेको छ । मूलप्रवाहका मिश्रित च्यानल झैँ गीत सङ्गीत, चलचित्र, व्यक्तित्वमूलक र स्थान परिचय सम्बन्धी कार्यक्रमहरुको बढ्दो प्रसारणले के यी विशेषीकृत समाचार च्यानल नै हुन् ? भन्ने प्रश्न उब्जिन थालेको छ । यस्ता च्यानलहरुमा अधिकांश समय एउटा व्यक्तिसँग घण्टौँसम्म कुरा गरेको पनि पाइन्छ ।
गैर समाचारमूलक विशेषीकृत च्यानलहरु पनि यस अवधिमा देखापरेका छन् । नेपाल टेलिभिजनले आप्mनो दोश्रो च्यानलबाट समाचार हटाएर खेलकुद र मनोरञ्जनात्मक च्यानल बनाएको छ । त्यसैगरी गोपीकृष्ण इन्टरटेनमेन्ट प्रा.लि. ले २०६५ माघ १९ मा इजाजतप्राप्त गरी ‘टीभी फिल्मी’ नामक चलचित्रमा आधारित मनोरञ्जनात्मक च्यानल पनि भू–उपग्रह मार्फत प्रसारण गरिरहेको छ । अहिले नेवार भाषामा नेपालमण्डल च्यानलको पनि परीक्षण प्रसारण भइरहेको छ । त्यसैगरी नेपाल ब्रोडकास्टिङ च्यानल प्रा.लिले २०६७ असार १५ मा इजाजत प्राप्त गरी इ–ट्वान्टिफोर नामक मनोरञ्जनात्मक टेलिभिजन च्यानलको परीक्षण प्रसारण गरिरहेको छ । त्यसैगरी मिसनस्टार टेलिभिजनको पनि परीक्षण प्रसारण भइरहेको छ ।
(सञ्चारकर्मी टंक उप्रेतीको भर्खरै प्रकाशित किताब ‘नेपालमा टेलिभिजनः विकास र बहस’को सम्पादित अंश)