स्थानीय कृषकहरुले म्याग्दीका मुदी र राम्चे गाविसलाई खरायोपालनमा नमुना गाउँ बनाउने अभियान सुरु गरेका छन्।
कृषि र पशुपालनको पशस्तै सम्भावना रहेको म्याग्दी जिल्लाका ग्रामिण भेगका वासिन्दाहरु प्छिल्लो समय व्यवसायिक रुपमा नै खरायो पालन व्यवसायतर्फ पनि आकर्षित भएपछि मुदी र राम्चे गाविसलाई खरायो गाउँ वनाउने अभियानमा स्थानीयहरु लागेका हुन् ।
मुदी गाविसको वडा नं ४,६,७ र ९ तथा राम्चे गाविसको ३ र ४ नम्वर वडामा पर्ने राम्चे गाउँका कृषकले पशुजन्य उत्पादनमा खरायोलाई मुख्य आयस्रोत र बस्तीलाईनै खरायोपालन व्यवसायमा नमुना बनाउन “खरायो गाउँ” निर्माण अभियानमा जुटेका हुन् । सोका लागि राम्चे कृषि समूहको नेतृत्वमा सबै घरमा खरायो पाल्ने अभियान सञ्चालन गरिएको छ भने मुदीका प्रत्येक घरमा खरायो पालिएको छ ।
एक सय ५० घरपरिवारले बसोबास गर्ने राम्चेका अधिकांश घरमा खरायो पालीएको छ । हालसम्म एक सय घरमा खरायो पालीएको र बाँकी ५० घरमा पनि खरायो विस्तार गरि राम्चेलाई खरायोपालनमा नमूना बनाउने योजना बनाइएको राम्चे कृषि समूहका सदस्य भक्तबहादुर पुर्जाले वताए । त्यसैगरी मुदीका ९० घरमा खरायो पालन गरिएको स्थानीय टेकवहादुर वूढाले जानकारी दिए ।
समूहमा ३२ जना कृषक आवद्ध छन् । उनीहरुले कम्तीमा ५ देखि ३० वटा खरायो पालेका छन् । अन्य घरमा पनि कम्तीमा ५ वटा खरायो पालीएको छ । परम्परागत रुपमा खरायो पाल्दै आएका राम्चेबासीले खरायोको मासुको माग बढ्न थालेपछि उत्साहीत हुँदै व्यवसायीक बन्न थालेका समूहकी अध्यक्ष देवी गर्बुजाले वताइन् ।
उपयुक्त हावापानी तथा वातावरण, पर्याप्त घाँस, भेडाबाख्रालाई जस्तो स्याहार सुसार गर्नु नपर्ने र मानिसले उपयोग गरेर बाँकी रहेको अन्न सदुपयोग हुने भएकाले राम्चे खरायोपालनमा सम्भावनायुक्त रहेको लद्युउद्यम विकास कार्यक्रम, संगम म्याग्दीका कृषि प्राबिधिक गणेश ढकालले जानकारी दिए । राम्चेमा चिनचिला र न्युजील्याड ह्वाईट जातको खरायो पालीएको छ ।
राम्चेका राजु पुर्जाले मासु उपभोगका लागि कुखुरा, बाख्रा, भेडाभन्दा पनि सहज र सस्तो, धेरै लगानी गर्नु नपर्ने र उत्पादन भएजति गाउँबाटै बिक्री हुने भएकाले खरायोपालनले व्यवसायीकता पाउन थालेको वताए । एउटा खरायो प्रत्येक पाँच पाँच महिनामा ब्याउँछ । एकपटकमा पाँचदेखि १२ वटासम्म जन्माउने गर्दछ । एउटा खरायोको तौल बढीमा पाँच किलोग्रासम्मको हुन्छ ।
पर्याप्त क्यालोरी, पोट्रिन र कोलोस्ट्रोन तत्व पाईने खरायोको मासु स्वास्थ्यका दृष्टिले समेत उपयुक्त मानिन्छ । काठमाडौको हिमालयन ¥याबिट फर्म एण्ड रिसर्च सेन्टरमा मासुका लागि गत पुष महिनादेखि राम्चेको खरायो निर्यात हुन थालेको छ । छ महिनाको अवधिमा दुई सय रुपैया प्रतिकिलोका दरले एक हजार ३ सय ५० किलोग्राम खरायोको मासु काठमाडौ निर्यात भएको समूहले जनाएको छ ।
सदस्य भक्तबहादुर पुर्जाका अनुसार खरायोको मासु बिक्री गरेर दुई लाख ७० हजार रुपैया राम्चे गाउँमा भित्र्ीएको छ । खरायोको मासु राम्चे गाउँमा पुग्ने पर्यटकका लागि मुख्य परिकारको रुपमा चखाउने गरिन्छ। लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लद्युउद्यम विकास कार्यक्रम, गैरसरकारी संस्था संगम म्याग्दीले खरायोपालन सम्बन्धि तालीम, खोर निर्माण र बजारीकरणमा सहयोग गर्न थालेकाले थप उत्साहीत भएको राम्चेका कृषकहरुले बताएका छन् ।