एनसेलले केन्द्रीय क्याम्पस पुल्चोक ईन्जिनियरिङ कलेजका ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ।
एनसेलका प्रमुख कार्यकारी एरिम टाईलानलरले सोमवार १२ विधा अन्तर्गत यी संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा ४ वटा क्याटेगोरी अन्तर्गत ५ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता पुरस्कार प्रदान गरे।
उच्च प्राविधिक शिक्षालाई प्रोत्साहन र दक्ष जनशक्ति विकासमा योगदान पुर्याउने उद्देश्य अनुरुप एनसेलले प्रदान गरेको प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।
एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ५ वर्षका लागि ईन्जिनियरिङ अध्ययन संस्थान केन्द्रीय क्याम्पस पुल्चोकमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो।
‘एनसेल छात्रवृत्तिले लगनशिल र उत्कृष्ट विद्यार्थीहरुलाई आर्थिक व्यवस्थापन भन्दा पढाईमा बढी ध्यान दिन मद्दत गर्ने, तथा एनसेल उत्कृष्ट ता सम्मानले उत्कृष्ट नतिजा सहित उतिर्ण भएका विद्यार्थीहरुलाई उच्च लगन, मनोवल र उत्साहका साथ व्यवसायिक करिअर शुरु गर्न हौस्याउने उद्देश्य लिएको छ। यसले विद्यार्थी तथा क्याम्पसलाई सृजनशिल रहन र ईनोभेसनमा योगदान दिने विश्वास लिएका छौं,’ टाईलानलरले भने।
एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजाका आधारमा प्रदान गरिएको हो।
छात्रवृत्ति अन्तर्गत गत शैक्षिक वर्षको वार्षिक नतिजाको आधारमा ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङका १-१ उत्कृष्ट विद्यार्थी र यि तीनै संकायका छात्राहरु मध्येबाट १ उत्कृष्ट छात्रा गरि प्रत्येक व्याचका ४ जना विद्यार्थीले एनसेल छात्रवृत्ति प्राप्त गरेका हुन्।
उत्कृष्टता पुरस्कार अन्तर्गत सर्वोउत्कृष्ट नतिजा सहित ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स, र कम्प्युटर ईन्जिनियरिङ्गको पढाइ सकाएका १-१ विद्यार्थी तथा यी तीनै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी छात्राले पाउँदै आएका छन्। यस वर्ष यी तीन संकायका दुई छात्राले बराबर स्कोर ल्याएर टप गरेकाले छात्रा क्याटागोरीको उत्कृष्ट सम्मान संयुक्तरुपमा ग्रहण गरेका गरेका छन्।
‘छात्राहरुलाई प्रोत्साहन गर्नको लागि भनेर नै एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानमा छात्राहरुको लागि अलग्गै क्याटेगोरी राखिएको हो,’ टाईलानलरले भने।
एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ। जसमा कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तहसम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको छ।
यसैगरी, डिजिटल पद्धतीबाट विद्यार्थीहरुलाई पठनपाठनमा सजिलो होस् भन्ने हेतुले १४ वटा विद्यालयहरुमा ई—पुस्तकालय र ४३ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय तथा खानेपानी निर्माण, विद्यालय व्यवस्थापन र शैक्षिक सामग्री पनि प्रदान गरेको छ। जसबाट पच्चिस हजार भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष लाभ लिई रहेका छन्।
एनसेलले हाल सम्म शिक्षाको क्षेत्रमा करिब रु ७ करोड ५० लाख सहयोग गरेको छ।